14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

नेपाली नाटकमा महिला लेखन

व्यक्तित्व / कृतित्व लीला लुइटेल June 9, 2011, 5:25 am
लीला लुइटेल
लीला लुइटेल

नेपाली साहित्यमा अन्य विधाका तुलनामा नाटकको लेखन कमै भएको पाइन्छ । यस क्षेत्रमा महिलाको सक्रियता निकै कम देखिए पनि निराशै हुनुपर्ने स्थितिचाहिँ छैन । हालसम्म प्राप्त जानकारी अनुसार नेपाली एकाङ्की नाटकमा महिलाको प्रवेश राधिका रायाको ‘जीवनको इच्छा’ (भारती, ७/७, सन् १९५४) शीर्षक एकाङ्कीबाट भएको देखिन्छ । यसपछि नेपाली नाटक÷एकाङ्कीमा महिला सहभागिता अत्यन्त धीमा गतिमा भएको स्थिति रहेको छ । नेपाली एकाङ्की/नाटकका क्षेत्रमा महिलालेखनको सङ्क्षिप्त विवरण कालक्रमिक रूपमा तल उल्लेख गरिन्छ :

राधिका राया (१९८८)

सन् १९५४ को भारतीमा प्रकाशित ‘जीवनको इच्छा’ शीर्षक एकाङ्कीबाट नेपाली नाटक÷एकाङ्की क्षेत्रमा प्रवेश गरेकी राधिका रायाको जीवनको इच्छा (२०५९) नामक एकाङ्की सङ्ग्रह प्रकाशित छ । यसमा ‘जीवनको इच्छा’, ‘प्रेमको प्रतीक’, ‘प्रतिशोध’, ‘अधुरो कहानी’, ‘मुरली’, ‘म फर्केर आएँ’, ‘आदर्श प्रेम’, मैले भूल गरेँ गरी ८ वटा एकाङ्की समाविष्ट छन् । मानव जीवनका शिक्षाको आवश्यकतालाई देखाइएका यिनका एकाङ्कीमा पुस्तान्तरबाट उत्पन्न समस्यालाई प्रस्तुत गरिएको छ । काम र मामको खोजीमा विदेसिन बाध्य नेपालीहरूको मनोविज्ञानको प्रस्तुति पाइने यिनका एकाङ्कीमा जीवनलाई सत्मार्गतर्पm उन्मुख गराउनु पर्ने भाव मुखरित गर्दै समाज सुधारको चाहना अभिव्यक्त छ । साहित्य, साहित्यकार तथा कलाप्रति आस्थाको भाव अभिव्यञ्जित यिनका अधिकांश एकाङ्कीहरूमा चिठीको समावेश गरिएको पाइन्छ । मञ्चनका दृष्टिले यिनका एकाङ्कीहरू त्यति सरल र व्यावहारिक देखिँदैनन् । रेडियोबाट प्रसार गर्न लेखिएका हुनाले यस्तो स्थिति देखिएको हुनसक्छ । यिनका एकाङ्कीमा प्रयुक्त संवाद एवं भाषा सरल छ ।

मायादेवी सुब्बा (१९७७)

मायादेवी सुब्बाको ‘पागल! पागल !!’ शीर्षकको एकाङ्की २०१४ सालको स्वयं सम्पादित पालुवा नामक हस्तलिखित पत्रिकामा प्रकाशित भएको हो । यसपछि यिनका ‘रत्न’, ‘दिव्यात्मा’, ‘हिङ्का टालो’ जस्ता एकाङ्कीहरू विभिन्न पत्रिकामा प्रकाशित भएका छन् । यिनको ‘रत्न’ शीर्षक एकाङ्की देवकोटा जयन्तीको अवसर पारे २०२० मा इलामको जनभवनमा मञ्चित पनि भएको थियो । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘यात्री’ कविताको भावभूमिलाई एकाङ्कीगत संरचनामा प्रस्तुत गरिएको यिनको ‘रत्न’ एकाङ्कीमा देवकोटालाई ‘रत्न’ को उपाधि दिइएको छ । धर्मका नाममा मन्दिर गएर पूजा गर्नुभन्दा दीनदुखीको सेवा गरेर मानवरूपी ईश्वरलाई पुज्नु नै सच्चा पूजा हो भन्ने भाव मुखरित यस एकाङ्कीमा सरल बोलीचालीको भाषा प्रयुक्त छ ।

सुभद्रादेवी दङ्गाल÷सावित्री पोखरेल (१९९५)

सुभद्रादेवी दङ्गालको कलङ्की समाज नाटक २०१५ मा प्रकाशित भएको पाइन्छ । २०५० मा सामान्य हेरफेर गरी सावित्री पोखरेलका नामबाट यस नाटकको दोस्रो संस्करण प्रकाशित भएको छ । अङ्क, दृश्य केही पनि नछुट्ट्याइएको यो नाटक २३ भागमा संरचित छ । सानै उमेरमा विधवा हुनपुगेकी युवतीले दोस्रो बिहे गर्दा सहनुपरेका लान्छनाहरू खप्न नसकी आत्महत्या गर्न बाध्य हुनुपर्ने तत्कालीन सामाजिक परिस्थितिलाई मार्मिक ढङ्गले प्रस्तुत गरिएको यस नाटकमा व्यक्ति कलङ्कित नभएर सामाजिक दृष्टि कलङ्कित भएको भाव अभिव्यञ्जित छ । छोटाछोटा संवादको आयोजन गरिएको यस नाटकको भाषा सरल र सहज छ ।

शान्ता श्रेष्ठ (१९९१)

२०१६ तिरदेखि नाटक लेखनमा लागेकी शान्ता श्रेष्ठको दिन होइन साँझपछिको रात (२०४६) मा रेडियो नाटकहरू समाविष्ट छन् । रेडियो नाटकबाहेक यिनको ‘कला किन मर्छ’ नाटक २०२६ तिर राष्ट्रिय नाचघरमा मञ्चित भएको जानकारी पनि पाइन्छ । यिनको दिन होइन साँझपछिको रातमा ‘तृष्णा’, ‘प्रायश्चित्त’, ‘अन्त्यहीन अन्त्य’, ‘हिमा’ तथा ‘दिन होइन, साँझपछिको रात’ गरी ५ वटा रेडियो नाटक समाविष्ट छन् र यी सबै रेडियो नेपालबाट प्रसारित पनि भइसकेका हुन् । यिनको ‘तृष्णा’ मा नारीलाई वासनाको पुतली ठानेर उनीहरूको जीवनमाथि खेलबाड गर्ने पुरुषको कुकृत्यबाट आहत हुनपुगेकी नारीको स्थितिलाई मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ भने ‘प्रायश्चित्त’ मा प्रेमीलाई धोका दिएर अर्काे बिहे गर्ने नारीले आफ्नो पूर्व प्रेमीलाई एक्कासि भेटेपछि उसमा उत्पन्न तनाव र द्वन्द्वको स्थितिलाई देखाइएको छ । विधवाको पुनर्विवाहप्रतिको नकारात्मक सोचाइलाई प्रस्तुत गर्दै यसबाट प्रभावित प्रेमलाई ‘अन्त्यहीन अन्त्य’ मा समेटिएको छ भने बाबुआमाको सम्बन्ध नराम्रो हुँदा सन्तानमा पर्नजाने नकारात्मक प्रभावलाई ‘हिमा’ ले देखाएको छ । यसैगरी ‘दिन होइन, साँझपछिको रात’ मा पुरुषको स्वेच्छाचारिताका कारण नारीको अवसान हुनपुगेको स्थितिलाई देखाउँदै प्रेमिकाको मृत्युपश्चात् विक्षिप्त हुनपुगेको प्रेमीको पीडालाई प्रस्तुत गरिएको छ ।

विविध प्रकारका सामाजिक विकृति–विसङ्गति तथा को प्रस्तुति पाइने यिनका एकाङ्कीमा विविध वर्ग र उमेरका नारीले भोग्नुपर्ने पीडालाई प्रस्तुत गरिएको छ । नाटकको वस्तु, पात्रको अवस्था र स्थितिअनुरूप यिनका नाटकमा आन्तरिक र बा≈य दुवै प्रकारका द्वन्द्वको संयोजन गरिएको छ । पात्रको स्तरअनुरूपको संवाद योजना पाइने यिनका नाटकमा प्रयुक्त भाषिक विन्यास सरल र सहज रहेको छ ।

किरण शाक्य (१९९७)

किरण शाक्यको दीपमाला (२०२३) नाटक प्रकाशित छ । ११ दृश्यमा संरचित यस नाटकमा सकारात्मक सोचाइ राख्ने क्रियाशील युवाहरूका क्रियाकलापलाई विषय बनाइएको छ । जीवनमा शिक्षाको आवश्यकतालाई देखाइएको यस नाटकमा युवावर्ग देशको शक्ति र उर्जा हो, युवावर्ग सक्रिय भएमा देश विकास अवश्य हुन्छ भन्ने भाव अभिव्यञ्जित छ । नेपाली समाजमा क्रमशः परिवर्तन हुँदै गरेका मूल्यमान्यताको प्रस्तुति पाइने यस नाटकमा पुरानो पुस्ता र युवा पुस्ताका बीचमा द्वन्द्वको पनि संयोजन गरिएको छ र यस द्वन्द्वमा युवा पुस्ताको विजयलाई देखाइएको छ । छोटोछरितो संवादको आयोजना गरिएको यस नाटकको भाषा पात्रका स्तरअनुरूपको छ ।

पारिजात (१९९४)

नेपाली साहित्यका विभिन्न विधामा सक्रिय सक्रिय रुपले कलम चलाउने पारिजात २०२३ सालको रूपरेखामा प्रकाशित एक कठिन निष्कर्ष शीर्षक एकाङ्कीका माध्यमबाट नेपाली नाट्यक्षेत्रमा देखापरेकी हुन् । यिनका पारिजातका नाटक (२०६७) शीर्षक एकाङ्की÷नाटकको पुस्तकाकार कृति प्रकाशित छ । यसमा ‘एक कठिन निष्कर्ष’, ‘अँध्यारोको नदी’ तथा ‘आप्mनो रात’ शीर्षक एकाङ्की तथा ‘एकजोडी अन्तराल’ शीर्षक पूर्णाङ्की नाटक समावेश गरिएको छ । ‘एक कठिन निष्कर्ष’ मा पारिजात स्वयंद्वारा अभिव्यक्त बिहेसम्बन्धी अवधारणालाई विसङ्गतिवादी–अस्तित्ववादी चिन्तनको धरातलमा प्रस्तुत गरिएको छ भने त्रासद वातावरणमा संरचित ‘अँध्यारोको नदी’ मानिसको मानवीय आदिम प्रवृत्ति अभिव्यक्त नाट्यकृति हो । यसैगरी यिनको पुरुषको स्वेच्छाचारी प्रवृत्तिको विरोध गरिएको ‘आप्mनो रात’ मा नारी विद्रोहको प्रस्तुति पाइन्छ । यिनको पूर्णाङ्की नाटक ‘एकजोडी अन्तराल’ मा समाजमा देखापरेको वर्गीय विषमताको अन्त्य गर्दै वर्गहीन समाजको परिकल्पनाका साथ समतामूलक समाजको अपेक्षा गरिएको छ । विषयवस्तु, भाषा तथा शिल्पका दृष्टिले नेपाली साहित्यका कविता तथा आख्यानमा पारिजातले हासिल गरेको सिद्धि र उपलब्धि नाट्य विधामा चाहिँ प्राप्त हुन सकेको पाइँदैन ।

विद्यादेवी दीक्षित (१९६२–२०४१)

विद्यादेवी दीक्षित २०२४ मा प्रकाशित तीजको दर शीर्षक एकाङ्कीबाट यस क्षेत्रमा प्रवेश गरेकी हुन् । विद्या गद्य सङ्ग्रह (२०३६) मा यिनका ‘पार्टीको कुरा’, ‘चन्द्रसूर्य वार्ता’, ‘तीजको दर’, ‘ढीट छोरो’ र ‘भट्केको ठिटो’ गरी पाँचवटा एकाङ्की सङ्कलित छन् । सङ्क्रमणकालीन नेपाली सामाजिक, सांस्कृतिक आदि विभिन्न सन्दर्भमा देखापरेका विकृति–विसङ्गतिलाई देखाइएका यिनका एकाङ्कीमा मानवीय असन्तोषी वृत्तिलाई देखाइएको छ । काम र मामको खोजीमा विदेश पस्न रहर गर्ने नेपाली युवालाई आÇनै देशमा परिश्रम गर्न आ≈वान गरिएका यिनका एकाङ्कीमा पुरानो पुस्ता र नयाँ पुस्ताका बीचमा द्वन्द्वको पनि संयोजन गरिएको छ । एकाङ्की शिल्पका दृष्टिले त्यति परिष्कृत नदेखिने यिनका एकाङ्कीमा प्रयुक्त भाषा सरल र सहज छ ।

कमला न्यौपाने (१९९८)

२०२६–२७ देखि एकाङ्की लेख्न सुरु गरेकी कमला नेउपानेको ‘बिसाएको भारी’ नाटक २०२६–२७ तिर प्रणामी मन्दिर हाइस्कुल कालिम्पोङमा अध्यापन गर्दा मञ्चित भएको हो । प्रकाशनका दृष्टिलेचाहिँ २०२९ को रत्नश्रीमा प्रकाशित ‘सुन्दरीको विवशता’ यिनको पहिलो एकाङ्की हो । यिनका ६ वटा एकाङ्कीहरूको सङ्ग्रह बिसाएको भारी (२०६६) प्रकाशित छ । यसमा ‘बिसाएको भारी’, ‘रजनीको मार्मिक कथा’, ‘सुन्दरीको विवशता’, ‘पुनर्बिछोड’, ‘दुखीको मार्मिक अवसान’, ‘कन्यादान’ शीर्षकका एकाङ्की समाविष्ट छन् । यिनको ‘बिसाएको भारी’ मा ग्रामीण नेपाली जीवनमा व्याप्त गरिबीको यथार्थ चित्रण गरिएको छ भने ‘रजनीको मार्मिक कथा’ समसामयिक राजनैतिक विषयवस्तुमा आधारित छ । अनमेल विवाहको परिणामलाई प्रस्तुत गर्दै विवेकहीन समाजको यथार्थ चित्रण पाइने यिनको ‘सुन्दरीको विवशता’ मा विधवा समस्यालाई प्रस्तुत गरिएको छ । मानवतावादी भावनाले ओतप्रोत यिनको ‘पुनर्बिछोड’ मा नेपाली नारीका विवशता, बाध्यता आदिलाई मार्मिक ढङ्गले प्रस्तुत गर्दै वर्गीय विभेदको विरोध गरिएको छ । अभाव र गरिबीले ग्रस्त व्यक्तिको पीडाको प्रस्तुति यिनको ‘दुखीको मार्मिक अवसान’ मा भएको छ भने ‘कन्यादान’ मा पुरानो र नयाँ पुस्ताको द्वन्द्वलाई देखाइएको छ ।

समाजमा व्याप्त गरिबी, अभाव, शोषण, दमन, लैङ्गिक विभेद आदिलाई हटाएर समतामूलक समाजको चाहना अभिव्यञ्जित कमला न्यौपानेका एकाङ्कीमा नारी अस्मिताको खोजी पनि गरिएको छ । प्रायः ग्रामीण नेपाली परिवेशको चित्रण पाइने यिनका नाटकमा दुखद वातावरणको प्रस्तुति पाइन्छ । सरल भाषा एवं संवाद प्रयुक्त यिनका एकाङ्कीको भाषा त्यति परिष्कृत देखिन्न । मञ्चनका दृष्टिले यिनका एकाङ्कीहरू सहज मञ्चनीय छन् ।

माधुरी भट्टराई (१९८४–२०५९)

माधुरी भट्टराईको मूकवेदना (२०३८) रामायणमा उति महŒव नपाएकी उर्मिलाका क्रियाकलापलाई विषयवस्तु बनाएर प्रस्तुत गरिएको नाट्यकृति हो । आनो पति लक्ष्मण दाजु रामसँग वनबास गएपछि पति वियोगको विरह वेदनामा दिन काट्नु परे पनि आÇनो वेदना आपूmभित्रै लुकाएर कर्तव्यनिष्ठ रही लक्ष्मणको प्रतीक्षामा रहने उर्मिलाको सङ्घर्षपूर्ण अवस्थाको प्रस्तुति यस नाटकमा भएको छ । गद्य र पद्य दुवै प्रकारका संवादको प्रयोग पाइने यस नाटकको भाषा सरल र सहज छ ।

शारदा सुब्बा (२०२५)

२०४१ मा देउरालीमा एकथुँगा पूmलको मञ्चनपछि नाट्यलेखनमा सक्रिय शारदा सुब्बाका अघोषित नीलो पीडा (२०५५) र यशोधरा (२०६५) नाट्यकृति प्रकाशित छन् । यसका अतिरिक्त यिनका नभेटिएको बाटो, देखेका मान्छेहरू, समानान्तरलगायत थुप्रै नाटकहरू मञ्चित भएको जानकारी पाइन्छ ।

शारदा सुब्बाको यशोधरा पौराणिक सन्दर्भमा वर्तमानका विसङ्गति, विकृति, पीडा, खस्कँदो मानवता आदिलाई विषयवस्तु बनाएर प्रस्तुत गरिएको नाटक हो । कथ्यगत र प्रस्तुतिगत दुवै दृष्टिले नौल्याइँ प्रदान गर्न खोजिएको यस नाटकमा पौराणिक र वर्तमान मानव गरी दुई प्रकारका सहभागीको प्रयोग गरिएको छ । सार्वस्थानिक र सार्वकालिक विशेषतायुक्त यस नाटकको वातावरण अत्यन्त उराठिलो छ । परिष्कृत–परिमार्जित भाषिक प्रयोग पाइने यस नाटकको संवाद कवितात्मक, बौद्धिक एवं प्रतीकात्मक रहेको छ ।

समग्रमा पौराणिक विषयवस्तुलाई चयन गरी वर्तमान युगका विकृति, विसङ्गति पीडाजस्ता विविध सन्दर्भलाई पौराणिक र वर्तमान दुवै थरीका पात्रका माध्यमबाट अभिव्यक्त गरिएको यो एउटा प्रयोगशील नाट्यकृति हो ।

रश्मि खतिवडा (१९८०)

रश्मि खतिवडाको केही लघु नाटक (२०४५) शीर्षक नाट्यकृतिमा ‘बढ्दो रबाफको प्रतिक्रिया’, ‘क्याम्पसको जमघट’ र ‘पुनर्विवाह’ गरी तीनवटा एकाङ्की सङग्रहीत छन् । एकाङ्कीका शीर्षकअनुरूपका विषयवस्तुको प्रस्तुति यिनका नाटकमा पाइन्छ । मानिसमा हुने देखावटी प्रवृत्तिको विरोध पाइने यिनका एकाङ्कीमा क्याम्पसका विविध गतिविधिलाई पनि समेटिएको पाइन्छ । यसका साथै पुरुषसरह महिलाले पनि पुनर्विवाह गर्न पाउनुपर्ने भावलाई पनि यिनका एकाङ्कीमा विषय बनाइएको छ । मानक नेपाली भाषाको प्रयोग पाइने यिनका एकाङ्कीमा परिस्थितिअनुरूप लामाछोटा संवादको प्रयोग गरिएको छ ।

भारती खरेल (१९५५–२०४९)

भारती खरेलको भाइटीका (२०४९) मा ‘भाइटीका’ र ‘घमण्ड’ शीर्षकका दुई नाटकहरू समेटिएका छन् । पुरुषको स्वेच्छाचारी प्रवृत्तिलाई प्रस्तुत गर्दै नारीलाई शिक्षा दिएर सबल बनाउनु पर्ने भाव अभिव्यञ्जित यिनका नाटकमा बालमनोविज्ञानको पनि प्रस्तुति पाइन्छ । विविध प्रकारका सामाजिक विकृति, विसङ्गति आदिको प्रस्तुतिका साथ विभिन्न सामाजिक समस्यालाई देखाइएका यिनका नाटकमा समस्याको समाधान आदर्शवादी ढङ्गले गरिएको पाइन्छ । पात्रको स्तरअनुरूपको भाषिक प्रयोग पाइने यिनका नाटकमा प्रयुक्त भाषा सरल र सहज छ ।

वेदकुमारी न्यौपाने (२०१४)

वि.सं. २०५० को नाटक महोत्सवमा मञ्चन गरिएको ‘पश्चात्ताप’ नाटकका माध्यमबाट नेपाली नाटकका क्षेत्रमा देखापरेकी वेदकुमारी न्यौपानेका एउटा कथाको अन्त्य (२०५३) तथा विचलित वर्तमान (२०५८) गरी दुई नाटक प्रकाशित छन् । यिनले थुप्रै रेडियो नाटकहरू पनि लेखेकी छन् । बालविवाहको विरोध गर्दै बालविधवाको पुर्नविवाह हुनुपर्ने भाव अभिव्यञ्जित यिनको एउटा कथाको अन्त्यमा नारी जागरणलाई मूल कथ्य बनाइएको छ । समाजमा व्याप्त असमानताहरू निर्मूल गर्नुपर्ने भाव मुखरित यिनको यस नाटकमा समतामूलक समाजको अपेक्षा गरिएको छ । यिनको दोस्रो नाटक विचलित वर्तमानले २०४६ पछि नेपाली समाजमा देखापरेका विकृति र विसङ्गतिलाई प्रस्तुत गर्दै तिनको अन्त्यको चाहना राखेको पाइन्छ । लैङ्गिक विभेदको विरोधमा आवाज उरालिएको यिनको यस नाटकमा लैङ्गिक विभेद कायम रहेमा घर, परिवार एवं देशमा नै सुधार हुननसक्ने भावको प्रस्तुति पाइन्छ । सरल एवं सहज भाषामा छोटोछरितो खालको संवादको संयोजन पाइने यिनका नाटक सहज मञ्चनीय देखिन्छन् ।

भद्रकुमारी घले (१९८८ )

पौराणिक, सामाजिक क्षेत्रका विविध सन्दर्भ र प्रसङ्गलाई गीति नाटकका संरचनामा प्रस्तुत गर्ने भद्रकुमारी घलेको केही गीति नृत्य नाटिका (२०५१) शीर्षक कृति प्रकाशित छ । ‘मीरा दर्शन’, ‘सीता स्वयम्बर’, ‘वासवदत्ता’, ‘सिद्धार्थ’ र ‘कला र कलाकार’ गरी ५ वटा गीति नाटक सङ्कलित यस कृतिमा कला र कलाकार सामाजिक विषयवस्तुमा आधारित छ भने अन्य एकाङ्की पौराणिक विषयसँग सम्बद्ध छन् । आध्यात्मिक र शृङ्गार भावको प्रस्तुति पाइने यिनका गीति नाटकमा चुड्का, बालन आदि लोकलयमा आधारित गीतको संयोजन पनि गरिएको छ । छोटाछरिता दृश्यमा संरचित यिनका गीतिनाटक मञ्चनका दृष्टिले पनि सहज देखिन्छन् ।

बाबा बस्नेत (२०२२)

थुप्रै रेडियो नाटक लेखेकी बाबा बस्नेतको योद्धा (२०५३) नाटक ९ दृश्यमा संरचित छ । नो हार्दिक एवं स्वच्छ प्रेममा बाधा आएपछि त्यसैका कारण शारीरिक रूपले अशक्तआ हुनपुगेकी युवतीको कमजोर मानसिकतालाई प्रस्तुत गरिएको यस नाट्यकृतिमा मानिस शारीरिक रूपमा कमजोर हुँदैमा उसको प्रतिभा कमजोर नहुने भाव अभिव्यक्त गरिएको छ । युद्धविरोधी धारणाको प्रस्तुति पाइने यस नाटकमा जीवन सङ्घर्षलाई पनि युद्धको प्रतीकका रूपमा प्रस्तुत गरिएको छ । विछोडिएको प्रेमीसँग भेट भएपछि हृदयाघात बन्द भई प्रेमिकाको मृत्यु भएपछि प्रेमीले उसका नाममा संस्था खोलेर उप्रति आस्था प्रकटित यस कृतिको अभीष्ट आदर्श प्रेमको प्रस्तुति रहेको देखिन्छ । अपेक्षाकृत लामा संवादको आयोजना गरिएको यस नाटकको संवादमा विचारहरू घनीभूत रूपमा प्रस्तुत भएका छन् । संवादमा तार्किकताको समावेश पाइने यस नाटकको भाषा आलङ्कारिक भए पनि सरल र सहज रहेको छ ।

सुधा त्रिपाठी (२०१५)

सुधा त्रिपाठीको निःश्वासका गुजुल्टाहरू (२०५५) शीर्षक एकाङ्की सङ्ग्रहमा ‘उनी फर्कदिनन् कि !’, ‘अबेर नगरौँ’, ‘बादल फाट्न खोजिरहेछ’, ‘पहाडलाई के सजाय दिन्छौ ?’ ‘दोभान’, ‘क्षतविक्षत मुटुहरू’ तथा ‘दोषी को ?’ गरी सातवटा एकाङ्की सङ्कलित छन् । यिनका एकाङ्कीमा पाइने मूल स्वर लैङ्गिकताको विरोध हो । नारीप्रति परिवार एवं समाजले हेर्ने एकाङ्की दृष्टिकोण एवं लैङ्गिक विभेदको विरोध पाइने यिनका एकाङ्कीमा परम्पराप्रति विद्रोहको आवाज उरालिएको छ । नारी पुरुष समान नभएसम्म परिवार, समाज एवं देशले नै अग्रगति लिन नसक्ने भावको प्रस्तुति पाइने यिनका एकाङ्कीमा पुरुषको स्वेच्छाचारी प्रवृत्तिको विरोध गरिएको छ ।

इन्द्रमणि दर्नाल (सन् १९५०)

सन् १९८२–८३ देखि नाटक लेख्न सुरु गरेकी इन्द्रणमणि दर्नालका ययाति (सन् २००२), अक्षि–भू (सन् २००६, गीति नाटक सङ्ग्रह), कृष्णा ! कृष्णा !! (सन् २००९) जस्ता नाट्यकृति प्रकाशित छन् । यसका अतिरिक्त यिनका मार्गदर्शन, बन्दिनी, युगको मागलगायतका थुप्रै नाटक÷एकाङ्की मञ्चित भएको जानकारी पाइन्छ । ८ वटा नाटक एकाङ्की समाविष्ट यिनको ययातिमा पुराण, इतिहासका विविध सन्दर्भलाई नाटकीकरण गरिएको छ । यसका साथै यसमा सामाजिक विषयको पनि प्रस्तुति पाइन्छ । यिनको कृष्णा ! कृष्णा !! नाटक कृष्णा अर्थात् द्रौपदीको जन्मदेखि लिएर कुरुक्षेत्रको युद्धसम्मको अवधिमा द्रौपदीका आन्तरिक एवं मानसिक क्रियाकलापलाई आधार बनाई नाट्य संरचना प्रदान गरिएको कृति हो । सामाजिक, पौराणिक, ऐतिहासिक विषयवस्तुको प्रस्तुतिका साथ यिनका नाटकमा नारीका कमीकमजोरी केलाउनाका साथै नारीशक्तिको पहिचान पनि गरिएको छ । पौराणिक एवं ऐतिहासिक नारीका सन्दर्भबाट नारी अस्मिताको खोजी गर्नु यिनका नाटकमा पाइने वैशिष्ट्य हो । आन्तरिक र बा≈य दुवै प्रकारका द्वन्द्वको उचित संयोजन पाइने यिनका नाटकमा नारीवादी दृष्टिकोण मुखरित छ । एउटै सहभागीलाई मूल, छाया र मूर्ति गरी तीन रूपको प्रस्तुति पाइने यिनका नाटक प्रयोगशील पनि देखिन्छन् । पात्रको स्तरअनुरूपको भाषिक प्रयोग पाइने यिनका नाटकको भाषा परिष्कृत एवं परिमार्जित छ । युद्धको प्रसङ्ग भएका नाटकका कुनैकुनै दृश्य सहज मञ्चनीयचाहिँ छैनन् ।

जयन्ती ‘स्पन्दन’ (२०२९) र विजया ‘स्मृति’ (२०३९)

जयन्ती ‘स्पन्दन’ र विजया ‘स्मृति’ को दिदीबहिनी (२०५९) शीर्षक संयुक्त एकाङ्की सङ्ग्रह प्रकाशित छ । यसमा जयन्ती र विजयाका पाँचपाँच र एउटा संयुक्त गरी एघारवटा एकाङ्की समाविष्ट छन् । पारिवारिक, सामाजिक, राजनैतिक आदि क्षेत्रमा व्याप्त विकृति र विसङ्गतिलाई विषयको रूपमा समेटिएका यिनीहरुका एकाङ्कीमा कामकाजी महिलाका पीडालाई पनि प्रस्तुत गरिएको छ । देशमा व्याप्त सशस्त्र द्वन्द्वको विरोध पाइने यिनीहरुका एकाङ्कीमा शान्तिको चाहना मुखरित छ । नेताहरूको द्वैध चरित्रप्रति व्यङ्ग्य प्रहार गरिएका यिनीहरुका एकाङ्कीमा अन्याय अत्याचारका विरुद्ध सम्पूर्ण नारी एक हुनुपर्ने भाव अभिव्यञ्जित छ । यिनीहरूका केही एकाङ्कीहरू सन्देशमूलक भएका हुनाले प्रायोजितजस्ता पनि देखिन्छन् ।

माथि उल्लेख गरिएबाहेक सावित्री सिलवालको कल्पना (२०२१), सरिता प्रधानको यहाँ इतिहास दोहोरिन्छ (सन् १९७६), शारदा सिलवालको माटोको इज्जत (२०४८) नाटक तथा आशारानी राईको ‘विराटसभा’ शीर्षक एकाङ्की एवं लक्ष्मी ‘मीनु’ को कर्तव्य (सन् २००३) नामक एकाङ्की सङ्ग्रह पनि प्रकाशित भएको जानकारी पाइन्छ । यसैगरी लक्खीदेवी सुन्दासका विजय आश्रम, अन्वेषणा तथा आधुनिक युवती शीर्षकका नाटक÷एकाङ्कीहरू विभिन्न समयमा मञ्चित भएका थिए भने चन्द्रकला नेवारका सीताको वनवास तथा नेपाली जीवन नाटकहरू रेडियोबाट प्रसारित भएका थिए ।

उपसंहार

नेपाली नाटकको इतिहासमा देखापरेका महिला नाटककार र तिनका नाट्यकृतिमा प्रस्तुत धारागत प्रवृत्तिलाई यसरी उल्लेख गर्न सकिन्छ ः

स्वच्छन्दतावादी धारा

भावनाको प्रधानता भएका नाटकलाई स्वच्छन्दतावादी धारामा राखिन्छ । सौन्दर्य, प्रेम, काल्पनिकता, अतिशय भावुकता, पात्रहरूको अद्भुत संयोग र साहसिक कार्य, आदर्शवादको प्राधान्य आदि स्वच्छन्दतावादी नाटकका प्रमुख प्रवृत्ति हुन् । यस धाराका नाटक लेख्ने प्रमुख नाटककारहरूमा राधिका राया, मायादेवी सुब्बा, किरण शाक्य, विद्यादेवी दीक्षित आदि हुन् ।

सामाजिक यथार्थवादी धारा

सामाजिक जनजीवनको यथार्थ प्रस्तुति पाइने नाटकहरू यस धाराभित्र पर्छन् । समाज र जीवन जस्तो छ त्यस्तै चित्रण गर्नु सामाजिक यथार्थवादी नाटकमा पाइने प्रमुख प्रवृत्ति हो । यस धाराअन्तर्गत रही यथार्थवादी नाटक लेख्ने प्रमुख नाटककारहरू सुभद्रादेवी दङ्गाल, शान्ता श्रेष्ठ, पुण्यरश्मि खतिवडा, भारती खरेल, वेदकुमारी न्यौपाने आदि हुन् ।

मनोवैज्ञानिक धारा

मनोविज्ञानका विविध पक्षहरूको प्रस्तुति भएका नाटक मनोवैज्ञानिक धाराअन्तर्गत चर्चा गरिन्छ । मानव मनका चेतन, अचेतन, यौन, बालमन आदिको सूक्ष्म विश्लेषण गर्नु मनोवैज्ञानिक नाटकका प्रमुख प्रवृत्ति हुन् । नेपालीमा महिलाद्वारा लिखित नाटकमा यस प्रवृत्तिको प्रयोग अत्यन्त न्यून छ । भारती खरेलको ‘भाइटीका’ नाटकमा बालमनोविज्ञानको स्पर्श भेटिन्छ ।

प्रयोगवादी धारा

कथ्य र शिल्प दुवैमा नवीननवीन प्रयोग गरी लेखिएका नाटकहरू यस धाराअन्तर्गत पर्छन् । अस्तित्ववादी, विसड्डतिवादी, अतियथार्थवादी, प्रतीकवादी आदि चिन्तनको प्रस्तुति नवीन ढड्डमा गरिनु प्रयोगवादी नाटकमा मुख्य प्रवृत्ति हुन् । पारिजात, इन्द्रमणि दर्नाल, शारदा सुब्बाका नाटकमा प्रयोगवादी प्रवृत्ति पाइन्छ ।

कीर्तिपुर, काठमाडौं ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।