19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

हराएको पासवर्ड

कविता सुधीर छेत्री June 11, 2011, 10:25 am

कङ्क्रिटका करङ्हरू उचालेर

एउटा अस्थिपञ्जरले तर्साउनखोज्छ दिउँसै।

भ्रमको गृहयुद्धमा

रथको पाङ्ग्रा फुस्किएर

कर्ण फूटपाथमा घस्रिरहेछ।

टेलिफोनको नम्बर गनाउँछ

डायरीको चेपबाट अङ्कहरू कुहेर,

धुँवाको आकार भएको मान्छे

चुरोटबाट निस्केर भाग्छ हावामा।

पातुलो रङ्गी-विरङ्गी रिबनले

मलाई बेर्छ र

उचाल्छ, उडाउँछ

अनि

अनुहारको रोगन चम्काउने

कुनै किरिमको विज्ञापनमा नायक बनाउँछ।

एक जादुमय बाघचालले

मेरो अस्तित्वको गोटी सार्छ।

मेरा चिल्ला गालाहरू सङ्गमर्मरका छन्

म बिक्री हुनचाहन्छु

आश्चर्यको भाउ कति छ

जोखेर किन्न सक्नुहुन्छ,

मैले टाउकोमा सिउरेको टोपीले

संस्कृतिका दिदी बहिनी हुर्काएर

बर्षौंदेखि यो पहिरोमा डोजर चलाइरहेछ,

मेरा लोकभाकाहरूले जिब्रो उधिँदै

अर्थनैतिक मस्तिष्कलाई कुटेले गोडेर

छन्दका फाटेका लुगाहरू सिउन

गाउँले कविको आलिशान घरमा

अक्षरको नेमप्लेट उप्काउन बाध्य छन्।

हिप्पोक्रिसीको लेउमा चिप्लेर

अस्मिताको छेउमा पछारिएको त्यो

मेरो दाम तोक्न

कुटनीतिका पेगहरू पिउँदै

कवितामा खबर लेख्छ-

छाड़ा-छाड़ा लेखेको टी-सर्ट लगाएर

रूपनारायणकी धनमती

स्वा बेच्न गएकी,

ट्राफिकिङ्को फेला परी।

मेरो निधारमा थिच

म तिमीलाई गीत सुनाउँछु

मलाई निचोरेर डाउनलोड गर

पैसा लाग्दैन

तिम्रो पासवर्ड कति हँ !

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।