श्रीओम श्रेष्ठ 'रोदन' ले तयार पारेको 'प्रसङ्गवश'(२०६७) अन्तर्वार्ताहरूको एक सङ्ग्रह हो । ८१ स्रष्टाहरूको अन्तर्वार्तालाई एकै कृतिमा समेटेर ज्ञानको सम्पे्रषण बढाउने यो एक सराहनीय प्रयत्न हो । नेपाली साहित्यका धेरै स्रष्टाहरूलाई, लेखकहरूलाई उनीहरूकै वाणीमा अथवा लेखनमा बुझ्न पाउँदा हामीलाई हर्षको अनुभव हुन्छ । पाठ्यक्रमको योजनामा, जीवनचरितमा, अनुसन्धानमा, समीक्षामा, इतिहासमा यस किसिमको कृति उपयोगी हुने देखिन्छ । अन्तर्वार्तालाई साहित्यको समाजशास्त्रको रूपमा, साहित्यको अर्थशास्त्रको रूपकमा ग्रहण गर्न सकिन्छ । समाजशास्त्रमा प्रचलित एक सिद्धान्त छ-एक्सचेन्ज थ्योरी भन्ने-विनिमय सिद्धान्तमा भन्ने । अर्थशास्त्रीय विनिमयको अवधारणाबाट पनि यसले केही लिएको छ । अन्तर्वार्ताको सन्दर्भमा विनिमयको अभिप्राय
हुन्छ - सोधपुछ, कुराकानी तथा छलफल आदि । लिनेले आफ्ना कुरा राख्छ, दिनेले सट्टामा आफ्ना कुरा दिन्छ, विनिमयको यो प्रक्रिया प्रश्नोत्तरको औपचापरिकतामा ढल्छ । ज्ञानको उत्पादन हुन्छ, त्यो विनिमयमा वितरित हुन्छ, त्यसलाई उपभोक्ताहरू प्राप्त गर्छन् । 'प्रसङ्गवश' ज्ञानको अर्थशास्त्रीय रूपकमा परिभाषित हुन्छ । समाजशास्त्रीय साटासाटमा अर्थिन्छ । अन्तर्वार्ता अन्तक्रिर्या हो, ज्ञानको उत्पादन अन्तक्रिर्याबाट हुन्छ, साहित्यिक समाजशास्त्रको विकासमा अन्तक्रिर्याको उपेक्षा हुन सक्तैन । समाजशास्त्रमा सिम्बोलिक इन्टरक्सनिजमको प्रतीकात्मक अन्तक्रिर्यावादको सिद्धान्त प्रचलित छ, जो सहभागीहरूको अन्तक्रिर्याबाट ज्ञानको, व्यवहारको रूपरेखा बन्ने मान्दछ ।
कृतिलाई विश्लेषणमा ल्याउन सामान्यीकरण अपेक्षित हुन्छ । प्रत्येक स्रष्टाको अन्तर्वार्ता बेग्लै भएकाले सबैलाई एउटै सामान्यीकरणमा ढाल्नु असङ्गत हुन्छ । यसैले सूक्ष्म सामान्यीकरणको सट्टा स्थूल सामान्यीकरण आवश्यक हुन्छ । स्थूल सामान्यीकरण त्यो हो जो सम्बद्ध स्रष्टालाई मात्र समायोजित गर्दछ, असम्बद्धलाई गर्दैन । स्रष्टा, समालोचक, लेखक तथा अनुवादक-सबैलाई यहाँ स्रष्टा शब्दद्वारा ज्यादाजसो सम्बोधन गरिएको छ । पुस्तक अग्रज कृतिहरूभन्दा मोटो, विस्तृत र भव्य हुन चाहन्छ । यसको पहिचान निम्नलिखित तीन शीर्षकअन्तर्गत सुलभ हुन्छ ः
१. स्रष्टा, समर्पण र सिर्जना
० विभिन्न अञ्चल र जिल्लाका नेपाली स्रष्टा, नेपालबाहिरका नेपाली स्रष्टा, विदेशी र विदेशी मूलका नेपाली स्रष्टा, केन्द्रीय र परिधीय, भित्रीय र बाहिरीय स्रष्टाको समावेश,
० दुवैै लिङ्गका स्रष्टा, अपाङ्ग तथा नेपाली मातृभाषा नभएका नेपालीका स्रष्टालाई स्थान,
० स्रष्टा, स्रष्टासित सम्बद्ध तिथिमिति, स्रष्टाको सिर्जनामा समर्पण, स्रष्टाका कृतिहरूको विवरण,
० स्रष्टालाई प्रेरित गर्ने तìव, स्रष्टालाई परेका बाधाव्यवधान, स्रष्टाका सन्तोष, असन्तोष, पीडा र प्रसन्नता, मूल्याङ्कनमा स्रष्टाको प्रतिक्रिया ।
२. माध्यम, विधा र विषय
० गद्य र पद्यका अतिरिक्त साहित्येतर तथा भाषेतर रचना र सिर्जनाहरूको विवरण वा चर्चा तथा तुलना,
० पद्यमा गेय तथा वर्णनात्मक विधालाई र गद्यमा आख्यान, निबन्ध र समालोचनाहरूको बारेमा प्रकाश,
० लोकसाहित्य, यात्रासाहित्य, यौनसाहित्य, हास्यव्यङ्ग्य साहित्य, नाटक तथा रङ्गमञ्चको समावेश,
० भाषिक आन्दोलन, साहित्य र पत्रकारिता, मातृभाषिक र अमातृभाषिक सिर्जना, साहित्य तथा सिनेमाको चर्चा, क्रियाप्रतिक्रिया ।
३. परिस्थिति, इतिहास, प्रवृत्ति
० राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति र सिर्जना, अन्तर्राष्ट्रिय परिस्थिति र सिर्जनाको प्रभाव, राष्ट्रिय परिस्थितिको कारकता, विदेशमा नेपाली भाषा र साहित्य,
० सामान्य इतिहास र नेपाली साहित्येतिहास, साहित्येतिहासका केही बुँदाको संलग्नता, राष्ट्रियता, देशभक्ति र पुस्ताको विषयमा जागरुकता,
० पूर्व आधुनिक, आधुनिक र उत्तरआधुनिक प्रवृत्तिहरूको समावेश ।
पुस्तकको योजना हेर्दा पुराना स्थापित लेखकहरूलाई राख्ने लक्ष्य देखिन्छ, पछिका केही स्रष्टाहरूलाई राखेर त्यसको उल्लङ्घन गरेको पाइयो, केही लिनैपर्ने र छोड्नै नहुने स्रष्टाहरू पन्छाइए । वणर्ानुक्रमको सङ्गति अपनाइएको यस कृतिमा ऐच्छिक चयनले ठूलो ठाउँ लियो । कृतिमा दुई थरीका अन्तर्वार्ता छन् ः
१. प्रश्नोत्तरको रूपमा बनाइएका अन्तर्वार्ता र २. वर्णनात्मक निबन्धको रूपमा बनाइएका अन्तर्वार्ता । रोशन थापा 'नीरव' ले यी दुईलाई भूमिकामा क्रमशः प्रत्यक्ष र परोक्ष भनेका छन्, जुन उपयुक्त छ । प्रत्यक्ष अन्तर्वार्तामा लिने वा दिने कसको भूमिका प्रमुख रहृयो भन्ने जिज्ञासा उत्पन्न हुन्छ, दिनेले लेखेर दिएको हुन सक्छ, लिनेले दिनेसित सम्पर्क गरी आफैँले तयार पारेको हुन सक्छ, पहिलो स्थितिमा लिने व्यक्ति मूलतः सम्पादक तथा सङ्कलक हुन जान्छ, दोस्रो स्थितिमा मूलतः लेखक बन्दछ । नीरवले भूमिका लेख्ने जिम्मा पाए तर उनले त्यो कुरा खुलाएनन् । कृति पढ्दा यो अनुभव हुन्छ कि रोदनको भूमिका सम्पादक, सङ्कलक र लेखक तीन ओटै चम्कामा चम्केको छ ।
कृति आधुनिकतामा स्थापित भएको छ, रूमानी लेखाइ स्रष्टा केन्दि्रत हुन्छ, आधुनिकताको प्रशस्त लेखन स्रष्टालाई नै मौलो बनाउँछ । अन्तर्वार्ता समालोचनासित तँछाडमँछाड गर्दागर्दै पनि जीवन चरितात्मक - बायोग्राफिकल समालोचनासितको सहज मैत्रीलाई त्याग्न सक्तैन । अन्तर्वार्ताको दर्शन यो भन्छ कि सिर्जनालाई बुझ्नु छ भने पहिला सर्जकलाई बुझ, उसको जीवन गतिलाई खुट्याऊ, उसले पाएका प्रेरणा र प्रभावलाई खोतल, उसका कृतिबारे उसकै भनाइ के छ त्यसलाई बोधमा तान, उसका वैयक्तिक, पारिवारिक, आर्थिक, सामाजिक तथा शैक्षिक पृष्ठभूमि जान, उसका जीवनसम्बन्धी र रचनासम्बन्धी आदर्शमा ध्यान देऊ, साहित्येतिहास, समालोचना र समालोचनासिद्धान्तका जन्जालमा नपसीकन पनि तिमी सर्जकको सिर्जनाको रमाइलो विम्ब पाउन सक्छौं, सिद्धान्त स्वतः तिम्रो अन्वेषणमा अन्तर्निहित भएर आउँछ । 'प्रसङ्गवश' यिनै मान्यतामा निर्मित भएको छ र यसको दर्शन यिनै मान्यतामा अङ्कुरित हुँदै विकसित भएको छ ।
सर्जकले आफूलाई जति चिन्न सक्छ, जति बुझ्न सक्छ त्यति अर्कोले उसलाई चिन्न र बुझ्न सक्तैन । अन्तर्वार्ता आत्मसाक्षात्कार हो हामी 'प्रसङ्गवश' मा ८१ स्रष्टाहरूको आत्मसाक्षात्कार पाउँछौंँ । आत्मसाक्षात्कार हुँदा स्रष्टा मुक्तिको अनुभव गर्छ र पाठकसित त्यो अनुभव बाँड्छ । अन्तर्वार्ता सर्जकको आत्मचित्र हो । उसको आत्माचित्रले इतिहासकारलाई सामग्री दिन्छ, समालोचकलाई सन्देश दिन्छ, जीवनचरितकारलाई जिज्ञासामा तान्छ । सर्जकीय आत्मचित्रले अध्येतालाई आफूले गरेका कामहरूको आधारमा आफ्नै आत्मचित्र बनाउने ढोका खुल्छ । मान्छे आफैँमा कुण्ठित भएर रहन सक्तैन, ऊ अरूलाई हेर्छ र आफूलाई जाँच्तछ । अन्यको बोधबाट आत्मको बोधको जुन प्रक्रिया हो त्यसलाई 'प्रसङ्गवश' गति दिन्छ, बल दिन्छ । आज व्यक्ति एक्लो हुँदैछ, समाजमै बसेर ऊ एकाँकी अनुभव गर्दो छ । 'प्रसङ्गवश' ले सम्पेषणको नयाँ बाटो खोलेको छ र अन्यसित सहभागितात्मक अनुभूतिमा हामीलाई डोर्याएको छ । 'अन्तर्वार्ता' मा निमग्न हुँदा हामी आफ्नो पृथक् सत्ता राखी राखीकन अन्यलाई भेट्छौँ र समाजिक सहभागिताको विशिष्ट अनुभूतिमा रमाउँछौं । जतिजति सभ्यताले हामीलाई सक्ल्याउँदै लैजान्छ त्यतित्यति साहित्य, संस्कृति, कला, दर्शनले हामीलाई आहृवान गर्छन् र हाम्रो विघटित हुन लागेको व्यक्तित्वको सुघटित रचनामा मद्दत गर्छन् ।
'प्रसङ्गवश' यही आहृवानको कृति हो । 'प्रसङ्गवश' उत्तरआधुनिकताको निषेधका साथ रोमान्टिक प्रवृत्तिद्वारा प्रेरित आधुनिकतामा आफ्नो स्थिति बनाउने कृति हो । ज्ञानको नयाँ उदय हुन लाग्दा त्यसको विरोध हुनु अस्वाभाविक होइन, ग्यालिलियोले कति झन्झट बेहोर्नु पर्यो, ज्ञानको एउटै रूपमा यथास्थितिवादी भएर रमाउनेहरू प्रशस्त हुन्छन् । मदनमणि दीक्षितलाई न आधुनिकतावाद रुच्तछ न त उत्तरआधुनिकतावाद नै । शास्त्रीय ज्ञानको विरोध भयो तर त्यसको आफ्नो शक्ति छ, रूमानी ज्ञानको विरोध भयो तर त्यो अमर छ, आधुनिक तथा आधुनिकतावादी ज्ञानको विरोध भयो तर त्यसले आफ्नो वर्चस्व राखेकै छ । अहिले उत्तरआधुनिक ज्ञान स्थापित हुँदैछ जो निषेध र विरोधका बीच फस्टाउन चाहन्छ ।
'प्रसङ्गवश' आधुनिक भए पनि खरो आधुनिक मान्यताबाट मुक्त हुनाले उत्तरआधुनिकता नजिकिन आउँछ । ज्ञानको वैयक्तिकतामा उत्तर आधुनिकताको चाख हो । यो कृति पनि व्यक्तिगत विचार, अनुभव र अवलोकनकै कृति हो । कडा आधुनिकता दुई कुरामा ध्यान दिन्छ ः परिमाण -क्वान्टिटी) वादमा र प्रत्यक्षवाद -पजिटिभिजम) मा । परिमाणवाद प्रत्यक्षवादकै अङ्ग हो । 'प्रसङ्गवश' परिमाणवादतिर जाँदैन, केही तथ्यहरू अवश्य छन् तर तिनको निरूपणका निम्ति त्यस कृतिको रचना भएको होइन । तथ्यहरूको, डाटाको जुन सूची दिइन्छ त्यसमा उत्तरआधुनिकताले निष्पक्षता नरहने बताउँछ । प्रत्यक्षवादीहरू प्राक्कल्पना गर्छन्, त्यसको सत्यपनमा, मिथ्यापनमा ध्यान दिन्छन्, अन्त्यमा निष्कर्ष निकाल्छन् । थेसिस बनाउने उद्देश्य नभएकाले यहाँ परिमाणवाद र प्रत्यक्षवादको सोझै उपेक्षा भयो । नीतिका, धर्मका, कलाका, साहित्यका भावात्मक विषयहरू सत्यापन तथा मिथ्यापनमा आउँदैनन्, यसैले ती वैज्ञानिक ज्ञान होइनन् । आई. ए. रिचर्डसजस्ता समालोचकले साहित्यिक ज्ञानलाई वैज्ञानिक ज्ञानअन्तर्गत राखेनन् तर पनि प्रत्यक्षवादको छहारीमा समालोचकहरू, शोधकहरू, अन्वेषकहरू, प्राक्कल्पना, प्रमाणीकरण, निष्कर्षण आदिका लागि आधार बनाउँछन्, उद्धरण राख्छन्, पाद टिप्पणी दिन्छन्, सन्दर्भग्रन्थको सूची बनाउँछन्, वस्तुपरकताको वकालत गर्छन् । उत्तरआधुनिक भने प्राक्कल्पना, प्रमाणीकरण, निष्कर्षण, उद्धरण, पाद टिप्पणी तथा सूचीकरण वस्तुपरक किसिमसित व्यवस्थित गरिने कुरामा सन्देह व्यक्त गर्छ । प्रस्तुतीकरण लेखकीय विचारधाराले तटस्थतालाई धमिल्याइदिन्छ ।
'प्रसङ्गवश' कै चयनलाई लिने हो भने योजनाकारका आग्रह, पूर्वाग्रह र मनसायका दबाबहरू क्रियमाण छन् भन्ने बोधगम्य हुन्छ । यसकारण, उत्तरआधुनिक भएर बोल्दा 'प्रसङ्गवश' तटस्थताको दाबा गर्न सक्तैन । यो त परिमाणका विपरीत-गुणमा, प्रत्यक्षवादका विपरीत कन्स्ट्रक्सनिजममा- रचनावादमा व्यवस्थित भएको कृति हो । फलतः उत्तरआधुनिकताको नजिक गएर पनि यो उत्तरसंरचनावादसित, उत्तरआधुनिकतावादसित परिचित छैन, यसका निम्ति संरचनात्मक भाषा विज्ञान अज्ञात छ, उत्तरआधुनिक आयतनका पद, परिभाषा, मान्यता, दर्शनको विपर्यासनमा उभिएको यो रोमान्टिकमूलक स्रष्टावादी कृति हो । यो स्रष्टालाई गौरव दिन्छ, उसका मूल्यलाई स्वीकृति दिन्छ, स्रष्टालाई बुद्धि, ज्ञान र कार्यको स्रोत मान्छ, यो मानवीय कर्तव्यको विशेषता राख्ने कृति हो, यसलाई भाषा वैज्ञानिक कतर्ृत्वासित सरोकार छैन ।
तर पनि 'प्रसङ्गवश' उत्तरआधुनिकबाट आफ्नो पक्षमा केही समर्थन जुटाउन सक्छ । उत्तरआधुनिक त्यो अवधारणा हो जो कुनामा, छेउछाउमा परेका, किनारीकृत, सीमान्तीकृतहरूको पक्षमा बोल्छ । राजधानी नजिकैको जिल्लाका डिल्लीरमण अर्याल बत्तीमुनिको अँध्यारामा नदेखिएझैँ भइरहेका थिए । उनीजस्ता, मोफसलका स्रस्टाहरूलाई सम्मिलित गर्नाले कृतिको स्थिति विशिष्ट भएको छ । आधुनिकतामा आभिजात्यभाव छँदैछ । 'प्रसङ्गवश' पनि मूलधारीय लेखकहरूमै केन्दि्रत छ, मानौँ स्रष्टागत आभिजात्यवादकै कदर गरेको हो । उत्तरआधुनिकताले उच्च/निम्नको डिकन्स्ट्रक्सन गरेको हुँदा हामी यस कृतिमा राखिएका किनारीकृतहरूतर्फ प्रसस्त सचेत हुन्छौँ ।
अहिले उत्तरआधुनिक समाजलाई अन्तर्वार्ताको समाज-इन्टभ्र्यु सोसाइटी भन्ने चलन चलिसक्यो । फराकिलो अर्थमा 'प्रसङ्गवश' ले साहित्यिक अन्तर्वार्ताद्वारा त्यस समाजसित निकटता लिन चाहृयो । टीभीमा अहिले अन्तर्वार्ताहरू प्रशस्त ठाउँ लिन्छन्, टेलिफोन, इमेल, इन्टरनेट, कम्प्युटरहरू अन्तर्वार्तामा निकै समय खर्च गर्छन् । ज्ञानको प्रजातान्त्रीकरणले गर्दा अन्तर्वार्तामा ठूलाबडालाई मात्र सामेल गरिँदैन, समाजका, साहित्यका साना ठानिएका घटकहरू पनि सम्मिलित गरिँदै छन् । प्रश्नोत्तरमा अद्यतन वैद्युतिक औजारहरूको उपयोग कतिसम्म गरियो र त्यसको के कस्तो असर पर्यो भन्नेतिर कृतिको नगण्य चासो छ । केही फाट्टफुट्ट उल्लेख भने कुनै कुनै अन्तर्वार्तामा परेका छन् । कृष्णप्रकाश श्रेष्ठको अन्तर्वार्ताले हामीलाई आजको इन्टरनेट युगतर्फ लगेको छ । श्रेष्ठले मस्कोबाट सञ्चालित हुने बहुभाषी, साहित्यिक इन्टरनेट पत्रिका 'स्वतन्त्र नेपाल' को नियमित प्रकाशन भइरहेको जानकारी हामीलाई दिए । मधुकृष्ण श्रेष्ठको सम्पादनमा निस्कने त्यो पत्रिका नेपाली, नेवारी, हिन्दी, रुसी, अङ्ग्रेजीसमेत पाँच भाषामा सम्मिलित गर्दछ । पश्चिमको, गोरा जातिकोे, अङ्ग्रेजी भाषाको केन्दि्रकताको डिकन्स्ट्रक्सन भइरहेछ र पूर्वले, कालाले, पहेँलाले, पश्चिमेतर भाषाले आफ्नो स्थान बनाउँदै छन्, मधुकृष्ण श्रेष्ठले यस किसिमको कामबाट नेपालीको शिर उँचो हुन्छ । विदेशमा बसेर नेपाली भाषाको, साहित्यको श्रीवृद्धिमा सक्रिय रहेका कृष्णप्रकाश श्रेष्ठ हाम्रा गौरव हुँदै हुन् । यता रामशरण दर्नालसितको प्रश्नमा अत्याधुनिक विद्युतीय बाजाहरू आए, सूर्यबहादुर पिवासितको प्रश्नमा आम सञ्चारजस्ता पद उपस्थित भए । यी केवल तथ्य मात्र होइनन्, परिवर्तनशील युगका नयाँ रूप हुन् जहाँ हामी उत्तरआधुनिक ध्वनि गुञ्जित भएको सुुन्छौँ ।
केही नारी स्रष्टाहरूले 'प्रसङ्गवश' मा आफ्नो गुनासो पोखेका छन् जसबाट यो थाहा हुन्छ कि उनीहरूको वाध्यात्मक मौनतालाई साहित्यले वाचालता दियो । उत्तरआधुनिकता तिनलाई हेर्छ जो मौन पारिए, अवाक् पारिए तर जसले कुनै न कुनै किसिमसित सीमित मात्रामा भए पनि वाणीको माध्यमद्वारा आफूलाई खोले । उत्तरआधुनिकता जाति, लिङ्ग, भाषा आदिको खण्डीकरणलाई औँल्याउँछ । नेवारलाई 'न्यार' भनेकामा वैकण्ठप्रसादलाई हेला गरेको अनुभव हुन्छ, सूर्यबहादुर पिवा मातृभाषाकै लेखन सहज हुन्छ भन्ने मान्यता राख्छन् । यी कुराहरूबाट के बुझिन्छ भने उत्तरआधुनिक रुचिलाई तान्ने कतिपय सामग्रीहरू 'प्रसङ्गवश' मा छन् ।
उत्तरआधुनिकता स्थिरतामा, सनातनतामा विश्वास राख्दैन । कृतिका प्रश्न र उत्तरहरू दोस्रोपटक बनाउने हो भने ती पुनर्लेखनमा जान्छन् र नयाँ कुरा अगाडि सार्न सक्छन् । अर्को प्रश्नकर्ताले उनै स्रष्टालाई अर्कै किसिमका प्रश्न सोध्न सक्छ र अर्कै किसिमका उत्तर तान्न सक्छ । माथि भनियो, यो रचनावादअन्तर्गत पर्ने कृति हो, रचनावादमा प्रत्यक्षवादी यथार्थको प्रभुत्व रहँदैन । हामी यस कृतिको पठन यथार्थको जाँचबुझ गर्ने उद्देश्यले गर्दैनौँ, गुणात्मकतामा अवस्थित भएकाले यसको पृथक स्वरूप छ । गुणात्मक अन्तर्वार्ताका दुई लक्षण हुन्छन् ः १. जायज हुनु र २. पत्यार दिन सक्नु । सर्सर्ती पढ्दा 'प्रसङ्गवश' का अन्तर्वार्ताहरू हामीलाई जायज लाग्छन्, पत्यार दिन्छन् तर यी लक्षणले हामीलाई प्रत्यक्षवादतिर लैजादैनन्, केवल केही आत्मगत सन्तुष्टिका मात्रागत विम्बमात्र दिन्छन् जसमा स्थिरता र सनातनताको अस्तित्व हुँदैन । जब हामी अन्तर्वार्ताका केस्राहरू केलाउँछौँ त्यस बखत कैयौँ केस्राहरू यो जनाउ दिइरहेका हुन्छन् कि तिनमा सहमति हुनु आवश्यक छैन, ती त लिने, दिनेका वैयक्तिक प्रपञ्च मात्र हुन् । दुर्गालाल श्रेष्ठको एउटा भनाइ यस्तो छः
सायद मभन्दा बलवान् परिस्थिति हो, अझ भनौं स्वयम् म नै परिस्थितिको हातको एक डल्लो माटो हुँ, त्यसले जुन रूप दिएको छ म त्यही भइ दिएको छु ः यस भनाइमा सहमत नै हुनुपर्छ भन्ने छैन । विकल्पमा तलका दुई बुँदा हामी राख्न सक्छौं ः
० मान्छे परिस्थितिसित भिड्ने प्राणी हो, ऊ परिस्थितिसित सङ्घर्ष गर्दै आएको छ र त्यसमाथि आधिपत्य जमाउँदै आएको छ, सभ्यताको अर्थ नै परिस्थिति माथिको प्रभुत्व हो, अझ स्रष्टा त परिस्थितिको भञ्जक नै हुनसक्छ र नयाँद्वारको उद्घाटन गर्नसक्छ ।
० मान्छे पशुबाट पृथक छ, उसमा बौद्धिक खुबी छ, तर्कवितर्क गर्ने क्षमता छ, राम्रो र नराम्रो छुट्याउने विवेक छ, ऊ कल्पनाको पखेटा हाल्न सक्छ, वृत्ति र भावनाहरूको सङालो बनाउन सक्छ, अवश्य हो, उसमा नियतिको घेराबन्दी छ तर त्यसैभित्र रहेर पनि ऊ जादूमय संसार बनाउँछ र नियतिलाई नै छक्क पार्छ । देवकुमारी थापाको एउटा भनाइ यस्तो छः अहिले नारी लेखिकाहरू पुरुषको बराबरीमा भइसकेका छन् तर मूल्याङ्कनमा भने समानता हुन सकेको छैन ।
यस पङ्क्तिकारलाई भन्न दिने हो भने मेरो मूल्याङ्कन भएन भन्ने दुवै लिङ्गका स्रष्टाहरू छन्, नारी लेखकहरूको मूल्याङ्कन राम्रो भएको छ, कैयौँ पुरुष स्रष्टाहरूको मूल्याङ्कन बरु राम्रो हुन सकेको छैन । देवकुमारी थापाको भनाइ डिकस्ट्रक्सनमा उल्टन्छ ।
उत्तरआधुनिक मान्यता यो छ कि जेलाई सत्य हो भनेर बनाइन्छ, जे को रचना गरिन्छ, त्यही सत्य हो, त्यही यथार्थ हो, सत्य भन्ने कुरा छैन, केवल व्याख्या मात्र छ, लेखक वा स्रष्टा एक व्याख्याकार हो, उसका कृतिमाथि समालोचक अधिव्याख्या राख्छ । व्याख्याहरूको तरेलीमा कुन ठीक, कुन बेठिक भन्ने कुरा जाँच गर्नेका आग्रह, पूर्वाग्रहद्वारा निर्धारित हुन्छ, यसैले हामी निरपेक्ष सत्य पाउँदैनौँ । तत्काल जायज लाग्नु र तत्क्षण विश्वसनीय हुनुमै हामी चित्त बुझाउन बाध्य छौँ । हामी अनेक विकल्पमा कुनैको चयन गरेर हिँड्ने गर्छौं ।