14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

नेपालीमा महिला उपन्यासकारको अवस्थिति

व्यक्तित्व / कृतित्व लीला लुइटेल June 13, 2011, 2:10 am
लीला लुइटेल
लीला लुइटेल

१. परिचय

नेपाली साहित्यमा महिलालेखन प्रारम्भदेखि नै छिटफुट रूपमा भएको पाइए पनि उपन्यासका क्षेत्रमा भने महिलाको प्रवेश माध्यमिक कालको अन्त्यतिरदेखि मात्र भएको देखिन्छ । १९८९ मा प्रकाशित अम्बालिकादेवीको राजपुत रमणीलाई नेपाली उपन्यासको इतिहासमा महिलालेखनको पहिलो प्रारम्भिक प्रयासका रूपमा लिइन्छ । राजपुत रमणी (सन् १९३२) बाट थालिएको नेपाली उपन्यासको महिलालेखनले हालसम्म आइपुग्दा सात दशकको समयावधि पार गरिसकेको छ । यस समयावधिमा देखापरेका महिला उपन्यासकार र तिनका औपन्यासिक कृतिहरूको कालक्रममा संक्षिप्त परिचय प्रस्तुत गरी नेपालीमा महिला उपन्यासकारको अवस्थिति केलाउनेतर्पm यो लेख केन्द्रित रहेको छ ।

२. विषयप्रतिपादन

अम्बालिकादेवीको राजपुत रमणी महिलाद्वारा लिखित पहिलो नेपाली उपन्यास हो । भारतीय भूमिमा बसेर लेखिएको यस उपन्यासको कथावस्तु पनि भारतीय इतिहासमा नै आधारित छ । यसमा बङ्गाल निवासी प्रसिद्ध साहू जगत्की बुहारी राजपुत रमणीलाई बङ्गालकै नबाब सरफरज खाँले अपहरण गरेर लगेपछि सतीत्व रक्षाका लागि उनले गरेको अथक प्रयास तथा अदम्य साहसलाई प्रस्तुत गरिएको छ । यसका अतिरिक्त बालकको साहस, राजपुतको स्वामीभक्ति, पशुले मानवलाई गरेको सहयोग, राजाले प्रजाप्रति गर्नुपर्ने कर्तव्य, जातीय स्वाभिमानजस्ता विविध पक्षहरू पनि यस उपन्यासमा अभिव्यक्त भएका छन् । नारीको शक्ति, साहस र विद्रोही रूपलाई देखाउँदै सतीत्व रक्षाको सन्देश प्रदान गर्नु मूल उद्देश्य रहेको यस उपन्यासमा अन्जानमै भए पनि नारीवादको प्रस्तुति भएको पाइन्छ । सरल भाषा र वर्णनात्मक, संवादात्मक शैलीमा लेखिएको यस उपन्यासमा पद्यको प्रयोग पनि प्रचुर मात्रामा गरिएको छ । यस्तो प्रकारको प्रयोग तत्कालीन आख्यानहरूको मूल प्रवृत्तिका रूपमा रहेको देखिन्छ ।

नेपाली उपन्यासको इतिहासमा महिलालेखनको दृष्टिले दोस्रो प्रयासका रूपमा पवनकुमारी देवीको प्रतिज्ञा उपन्यास देखापर्छ । प्रकाशन मिति, प्रकाशन स्थान केहीको पनि उल्लेख नपाइने तथा युवा सुलभ भावुकता, स्वच्छन्द प्रेम र मिलनलाई विषयवस्तु बनाएर लेखिएको यो उपन्यास वस्तुसङ्गठन, कथानकको विस्तार, भाषिकविन्यास तथा अभिव्यक्ति कौशलका दृष्टिले त्यति सबल देखिँदैन । हिन्दीमिश्रित छ्यासमिसे भाषा, वर्णनात्मक संवादात्मक शैलीको प्रयोग पाइने यस उपन्यासका ठाउँठाउँमा भजन र संस्कृतका उक्तिहरूको पनि प्रयोग गरिएको छ । यो उपन्यास छापिएर बाहिर आएपछि पुस्तकमा भएका त्रुटिहरूको भरमार र मुद्रणदोषले त्यो पुस्तक नेपाली साहित्य–जगत्मा उपहासास्पद ठहरिने आशंका हुनजाँदा त्यस संस्करणलाई छाप्दा लागेको खर्च नोक्सान सहेर पनि प्रचारित नगर्ने निश्चय गरी त्यस संस्करणका सारा पुस्तकका पानाहरू च्यातेर औषधीको पुरिया बनाउने काममा प्रयोग गरिएको जानकारी पाइन्छ । यसपछि संशोधन र परिमार्जन गरी २०१७ आश्विनमा यो उपन्यास पुनः प्रकाशनमा आयो । पहिले प्रकाशित पुस्तकको तुलनामा २०१७ मा प्रकाशित प्रस्तुत उपन्यास परिच्छेद सङ्गठन, कथानकको विकास र विस्तार, भाषिक विन्यास आदि पक्षमा परिमार्जन र परिष्कार गरी पहिलेको तुलनामा विस्तृत र आकर्षक बनाइएको छ । यसका अतिरिक्त पहिलो प्रकाशनमा समावेश गरिएका भजनहरू यस संस्करणमा हटाइएको छ । युवासुलभ भावुकता, स्वच्छन्द प्रेम र मिलनलाई विषयवस्तु बनाइएको यस उपन्यासमा अभिजात वर्गीय ठालुहरूको स्वेच्छाचारीपनको विरोध गरिएको छ । पाल्पा तथा तराइको परिवेशको चित्रण पाइने यस उपन्यासको भाषा सरल तथा सहज छ । प्रस्तुत उपन्यासको प्रथम छपाइको पृष्ठ ७२ मा यसको आगे किस्मतका चक्कर पढ्नुस् भनेर उपन्यासको अन्त्य गरिएको छ । यसबाट उपन्यासकारले अर्काे उपन्यास लेखिसकेको अथवा लेख्ने योजना बनाएको अनुमान गर्न सकिन्छ भने अर्कोतिर प्रतिज्ञा भङ्ग शीर्षक उपन्यास अप्रकाशित अवस्थामै रहेको छ । प्रतिज्ञा उपन्यासको पृष्ठ ४६ मा उल्लेख गरिएको ताल्चा उपहारको रहस्योद्घाटन अप्रकाशित उपन्यास प्रतिज्ञा भङ्गमा गरिएको छ ।

२०२० सालमा मायादेवी सुब्बाको पश्चात्ताप उपन्यास देखापर्छ । नारी सद्गुणी भए श्रीसम्पत्ति वृद्धि हुने र दुर्गुणी भए विपत्ति झेल्नुपर्ने भाव अभिव्यञ्ति यस उपन्यासमा विराटनगर र यसको सेरोफेरोको चित्रण पाइन्छ । आदर्शवादी स्वरको प्रधानता रहेको यस उपन्यासमा पात्रको स्तरअनुरूपको भाषिक प्रयोगका साथै पूर्वाञ्चलमा बोलिने भाषिकाको प्रभाव रहेको देखिन्छ । यसपछि शान्ति प्रधानको करुणा (सन् १९६५) शीर्षक उपन्यास दार्जिलिङबाट प्रकाशित भएको पाइन्छ । मानवजीवनको सार नै परोपकार र निःस्वार्थ मानवसेवा हो भन्ने भावना अभिव्यक्त प्रस्तुत उपन्यासमा इसाई धर्मका संस्थापक येशुको महिमागान गरिएको छ । ठाउँठाउँमा बाइबलका सूक्तिहरू समावेश गरिएको यस उपन्यासको भाषामा दार्जिलिङे भाषिकाको प्रभाव यथेष्ट रूपमा परेको देखिन्छ ।

पारिजात नेपाली उपन्यासको इतिहासमा विशिष्ट प्रतिभाका रूपमा प्रतिष्ठापित छन् । नेपाली उपन्यासमा यिनको प्रवेश शिरीषको पूmल (२०२२) बाट भएको हो । शिरीषको पूmल प्रकाशन हुनुपूर्व नै यिनका संघर्ष, वर–पिपल, मानव अन्तर्यामी र शारदा गरी चारवटा उपन्यास लेखिएका र चित्त नबुझेर ती सबै जलाइएका थिए । शिरीषको पूmलका अतिरिक्त यिनका महत्ताहीन (२०२५), बैंसको मान्छे (२०२९), तोरीबारी बाटा र सपनाहरू (२०३३), उसले रोजेको बाटो (२०३४), अन्तर्मुखी (२०३५), पर्खालभित्र र बाहिर (२०३५), अनिंदो पहाडसँगै (२०३९), परिभाषित आँखाहरू (२०४६) र बोनी (२०४८) जस्ता उपन्यास प्रकाशित छन् । नेपाली उपन्यासको इतिहासमा शिरीषको पूmलको प्रकाशन युगान्तकारी घटना हो । यसले नेपाली उपन्यासमा अस्तित्ववादको प्रवेश गराएको छ । विसङ्गतिवादी, अस्तित्ववादी तथा शून्यवादी दर्शनबाट प्रभावित यो उपन्यास जीवनको पलायनतर्पm उन्मुख छ । यिनको महत्ताहीनमा चाहिँ जीवनको अस्तित्वहीनता, निस्सारता र विसङ्गतिको चेपमा किचिएर बाँच्न विवश मानवीय बाध्यतालाई प्रस्तुत गरिएको छ । राल्फाली संलग्नता र दर्शनको चरम रूप बैंसको मान्छे उपन्यासमा समेटिएको छ । यिनका तोरीबारी बाटा र सपनाहरू र अन्तर्मुखी सामाजिक यथार्थमा आधारित उपन्यास हुन् । तत्कालीन राजनैतिक व्यवस्थाका विविध पक्षहरूको विरोध सूक्ष्म एवम् कलात्मक ढङ्गले गरिएको तोरीबारी बाटा र सपनाहरू प्रगतिवादी चेततर्पm उन्मुख उपन्यास हो भने अन्तर्मुखी विसङ्गति, पीडा र छटपटीका बीचमा बाँच्न विवश केटीको कथालाई दैनिकीका शैलीमा लेखिएको कृति हो ।

पारिजातका उपन्यासमा प्रगतिवादी चिन्तनको प्रारम्भ उसले रोजेको बाटोबाट भएको हो । आर्थिक विषमताका कारण उत्पन्न वर्गीय विभेदको अभिव्यञ्जना पाइने यस कृतिमा माक्र्सवादी द्वन्द्वात्मक भौतिकवादको प्रस्तुति पाइन्छ । यिनको पर्खालभित्र र बाहिरमा सामाजिक वर्गीय विभेदको कारकलाई देखाउँदै तत्कालीन राजनैतिक व्यवस्थाको चरम शोषण र त्यसका विरुद्ध उत्पन्न विद्रोहको ज्वालालाई अभिव्यञ्जित गरिएको छ । २०३६ सालको विद्यार्थी आन्दोलनलाई विषयवस्तु बनाइएको अनिंदो पहाडसँगै उपन्यासलाई पारिजातको प्रगतिवादी स्वरको उत्कर्ष बिन्दुका रूपमा लिइन्छ ।

साहित्यका अन्य विधाहरूमा प्रगतिवादी चिन्तन मुखरित भएकै समयावधिमा प्रकाशित पारिजातका परिभाषित आँखाहरूमा नेपाली समाजमा व्याप्त विकृति, विसङ्गति, नारीशोषण, शैक्षिक क्षेत्रमा व्याप्त अराजकता आदिको पर्यालोकन गरिएको छ । लघु संरचनामा आबद्ध बोनी यिनको अन्तिम उपन्यास हो । सामाजिक विकृति, विसङ्गति, अन्याय, अत्याचार तथा शोषणको निर्मूल गर्न प्रत्येक नागरिक र विशेष गरी नारी सचेत र सजग हुनुपर्ने भाव अभिव्यञ्जित यो उपन्यास पत्रात्मक शैलीमा संरचित छ । यसपछिसरिता प्रधानको अर्चना (२०२८) र कृष्णकुमारी राईको समर्पिताको अस्तित्व (२०२९) प्रकाशित भएका छन् । भावुकताको प्रधानता भएका यी उपन्यासहरूले दार्जिलिङको नेपाली जनजीवनलाई समेटेका छन् ।

नेपाली उपन्यासका क्षेत्रमा सक्रिय रूपले कलम चलाइरहेकी गीता केशरीका कसिङ्गर (२०३४), सौगात (२०४६), आवाज (२०४७), मुक्ति (२०४८), खोज (२०५०), अन्तिम निम्तो (२०५१), विश्वास (२०५२), खुला आकाश (२०५४), नोकरी (२०५५), र निष्कर्ष (२०६०) जस्ता उपन्यास प्रकाशित छन् । यिनको कसिङ्गरले जवानीमा गरेका गल्तीको सजायको भागीदार नारी मात्र हुनुपर्ने असमान सामाजिक स्थितिलाई केलाउँदै त्यसको विरोधमा आवाज उठाइएको छ भने सौगातले अनमेल विवाह, लैङ्गिक असमानता, नारीउत्पीडन, अस्तित्वचेत आदिलाई देखाउँदै समतामूलक समाजको निर्माणका लागि नारी र पुरुषमा समझदारी र सहयोगको भावना विकसित हुनपर्ने धारणा अगि सारेको छ । यिनको आवाजमा आर्थिक विपन्नताका कारण आप्mनो सन्तानलाई घरेलु मजदुरका रूपमा पठाउनु पर्ने विवशता, नोकर्नीका रूपमा जिउन बाध्य केटीहरूका पीडा, यौनशोषणलाई मूल कथ्य बनाइएको छ । चेलीबेटी बेचबिखन, लैङ्गिक विभेदजस्ता सामाजिक कुरीतिको अन्त्य हुनुपर्ने भाव अभिव्यक्त यस उपन्यासमा नारी विकासका लागि बाधक तत्वका रूपमा रहेका अशिक्षा र कुसंस्कारको उन्मूलन गर्नुपर्ने भावको प्रस्तुति पाइन्छ ।

राणाकालदेखि २०४६ सालको जनआन्दोलनसम्मका विभिन्न राजनैतिक घटनाक्रमलाई समेटिएको गीता केशरीको मुक्तिमा नारीले भोग्नुपरेका सामाजिक, आर्थिक, शारीरिक, मानसिक विविध प्रकारका समस्यालाई केलाइएको छ । यिनको खोजले चेलीबेटी बेचबिखन, बेचिएका चेलीले भोग्नुपर्ने शारीरिक र मानसिक यातना, बुहारीलाई जिउँदै जलाएर मार्ने त्रूmर र पाशविक कार्य, लागू पदार्थको कारोबार, जेलमा हुर्कन विवश बालबालिकाका दयनीय स्थितिजस्ता विविध सामाजिक समस्या र अपराधहरूको खोजी गरी यिनीहरूको अन्त्य हुनुपर्ने चाहना राखेको छ । यिनको अन्तिम निम्तो जनस्वास्थ्यमूलक विषयवस्तुलाई औपन्यासिक शिल्पसंरचनामा ढालिएको कृति हो । वर्तमान विश्वमा भयावह रूपमा रहेको एड्ससँग सम्बन्धित विविध पक्षलाई समेटेर जनचेतना प्रदान गर्ने उद्देश्यद्वारा सिर्जित यस उपन्यासमा चेलीबेटी बेचबिखनको समस्यालाई पनि देखाइएको छ । बालविवाह, अनमेल विवाह, साटोविवाह, बोक्सी प्रथा, जातीय विभेदजस्ता विविध सामाजिक समस्याको प्रस्तुति पाइने विश्वासमा नारीचेतना र जगृतिको सन्देश प्रदान गरिएको छ । सामाजिक विद्रोहका साथै नारीवादी अवधारणालाई अभिव्यक्त गरे पनि अन्त्यमा यसले आदर्शप्रतिको मोहलाई भने त्याग्न सकेको देखिँदैन । सडकबालकका दिनचर्या र स्थितिलाई विषयवस्तु बनाइएको खुला आकाशमा सुधारवादी, नीतिवादी र आदर्शवादी अवधारणा अभिव्यक्त छ । प्रजातन्त्रको पुनस्र्थापनापछि विभिन्न क्षेत्रमा व्याप्त विकृति, विसङ्गति, अन्याय, अत्याचार, नारीशोषणलाई विषयवस्तु बनाउइएको यिनको नवौं उपन्यास नोकरीमा पश्चिम नेपालमा व्याप्त देउकी प्रथाबाट उत्पन्न सामाजिक समस्यालाई देखाउ“दै त्यसबाट मुक्तिको चाहना अभिव्यञ्जित छ । बलात्कारलाई मुख्य विषय बनाइएको यिनको पछिल्लो उपन्यास निष्कर्ष (२०६०) मा नारीशक्तिको पहिचान गर्दै नारीवादी अवधारणाको सशक्त प्रस्तुति पाइन्छ ।

परेकी भागीरथी श्रेष्ठका मालती (२०३४) र यस्तो एउटा आकाश (२०४६) शीर्षक उपन्यास प्रकाशित छन् । यिनको मालतीले ग्रामीण नेपाली समाजमा व्याप्त जातिभेद, आर्थिक विषमता, शोषण, अन्याय–अत्याचारको विरोध गर्दै समाजबाट यस्ता विकृतिको अन्त्य हुनुपर्ने चाहना राखेको देखिन्छ । यिनको यस्तो एउटा आकाशमा पतिपत्नीका बीचको बेमेलबाट उत्पन्न समस्या र दुःखद वातावरणलाई प्रस्तुत गर्दै तिनको समाधानको खोजी पनि गरिएको छ । यिनको मालतीमा प्रगतिवादी चेतको छनक पाइन्छ भने एउटा यस्तो आकाश आदर्शाेन्मुख यथार्थवादी उपन्यास हो । वानीरा गिरीका कारागार (२०३५), निर्बन्ध (२०४४) र शब्दातीत शान्तनु (२०५६) जस्ता औपन्यासिक कृतिहरू प्रकाशित छन् । यिनको कारागारमा आप्mनै भनाउँदा स्वार्थी व्यक्तिहरूका कुचक्रको जालोमा फसाइएर अविवाहित रहन बाध्य तुल्याइएकी नारीको मनोदशालाई अत्यन्त शिष्ट, शालीन र यथार्थपरक ढङ्गले प्रस्तुत गर्दै मानवीय अस्मिताको खोजी गरिएको छ । यिनको अर्को उपन्यास निर्बन्धमा आप्mनै बाबुको स्वेच्छाचारी प्रवृत्तिको विरोधमा उत्रेकी विद्रोही छोरीको बाह्य तथा आन्तरिक क्रियाकलापका माध्यमबाट नारीभित्र रहेको बदलाको चाहना र विद्रोही स्वरूपलाई नकारात्मक सन्दर्भबाट प्रस्तुत गरिएको छ । यिनका कारागार र निर्बन्धमा वैयक्तिक भावनाको प्रस्तुति पाइन्छ भने शब्दातीत शान्तनु सामाजिक तथा सामूहिक भावनाको पर्यालोकनका साथ आञ्चलिकताको स्पर्श दिइएको कृति हो । शब्दातीत शान्तनुलाई पश्चिमी साहित्यमा देखापरेको उत्तरआधुनिक प्रवृतिअन्तर्गत पर्ने विधाहीनताको उत्कृष्ट नमुनाका रूपमा लिन सकिन्छ । प्रवाहपूर्ण, सशक्त, चित्रात्मक र सुरुचिपूर्ण भाषिकविन्यासमा कुशल गिरीका उपन्यासमा गद्यलयमा संरचित प्रबन्धकाव्यको झल्को पाइन्छ ।

दार्जिलिङकी सशक्त उपन्यासकार विन्द्या सुब्बाका पूmलहरू, पहाडहरू, धर्साहरू (२०४३), अथाह (२०५५) जस्ता उपन्यास प्रकाशित छन् । यिनको पूmलहरू, पहाडहरू, धर्साहरूमा निराशा र पलायनजन्य जीवन भोगिरहेको व्यक्तिको मनोविश्लेषण गरिएको छ भने दोस्रो उपन्यास अथाह आन्तरिक र बाह्य सन्दर्भका कारणबाट मानसिक सन्तुलन गुमाउन पुगेकी युवतीको मनोविश्लेषणमा आधारित छ । वस्तुविन्यास, पात्रचयन, तथा अभिव्यक्ति कौशलमा सफल उपन्यासकार विन्द्याका उपन्यासको भाषिकविन्यासमा स्थानीयताको छाप पाइन्छ भने शैलीचाहिँ एकालापीय रहेको छ ।

भारती खरेलका गङ्गा जमुना (२०४६), एउटी आमाको कथा (२०४६), कुमारी आमा (२०४६), लाहुरे (२०५२) जस्ता उपन्यास प्रकाशित छन् । नेपाली उपन्यासमा रुद्रराज पाण्डेले आरम्भ गरेको आदर्शोन्मुख यथार्थवादी प्रवृत्तिलाई आत्मसात् गरेर यिनले उपन्यासको सिर्जना गरेकी छन् । यसपछि पुरुषको स्वेच्छाचारी प्रवृति र नारीको मातृत्व शक्तिलाई विषयवस्तु बनाएर पुष्प सुब्बाद्वारा लेखिएको उपन्यास भोलिको प्रतीक्षामा (सन् १९९०) प्रकाशित भएको छ । दार्जिलिङ र काठमाडौंको सेरोफेरोमा घुमेको यस उपन्यासमा मातृत्व शक्ति र नारीवादी अवधारणाको सशक्त प्रस्तुति पाइन्छ । यसै समयको हाराहारीतिरदेखि नेपाली उपन्यासका क्षेत्रमा देखापरेकी श्रेष्ठ प्रिया पत्थरका पतिङ्गर (२०४८), पुकार (२०४९), रङ्गभूमि (२०५०), मर्यादा (२०५२), कसिङ्गर (२०५३) तथा पुनरावृत्ति (२०५७) जस्ता उपन्यासहरू प्रकाशित छन् । यिनका अन्य उपन्यासमा घटनाको नाटकीय प्रस्तुति, रोमाञ्चकता, अतिशय भावुकता स्वच्छन्दताजस्ता प्रवृत्तिको बाहुल्य रहे पनि पुनरावृत्ति उपन्यासमा चाहिँ पश्चिम नेपालमा प्रचलनमा रहेको कमैया प्रथालाई विषयवस्तु बनाएर सामाजिक यथार्थलाई प्रस्तुत गरिएको छ । स्थानीय जमीन्दारहरूले कमैया र उसका परिवारमाथि गर्ने शारीरिक, मानसिक, आर्थिक तथा यौनजन्य शोषण र त्यसबाट उत्पन्न सामाजिक समस्यालाई प्रस्तुत गरिएको यस उपन्यासमा प्रयुक्त भाषामा स्थानीयताको छाप प्रशस्त मात्रामा रहेको पाइन्छ ।

सुस्मिता नेपालका एकान्त पनि रुन्छ (२०५३), मेरा छातीका कोलाजहरू (२०५५), उडेका उमेरहरू (२०६०) र कालाकाला रातहरूमा टेक्दै (२०६०) जस्ता उपन्यासहरू प्रकाशित छन् । यिनको एकान्त पनि रुन्छ उपन्यासमा ग्रामीण नेपाली नारीका पीडा, लैङ्गिक असमानता, पुरुषको स्वेच्छाचारी प्रवृत्तिजस्ता विभिन्न सन्दर्भहरूलाई समेटिएको छ । यिनको मेरा छातीका कोलाजहरूमा निर्जीव सडकलाई मानवीय संवेदना प्रत्यारोपण गरेर प्रजातन्त्रको पुनस्र्थापनापछि देशमा व्याप्त अन्याय, अत्याचार, बलात्कार, हिंसा, हत्या, आतङ्क, अभाव, गरिबी, बालश्रमम, नेताहरूका स्वार्थी, ढोंगी र सत्तालिप्साा, आडम्बर, बेरोजगारीजस्ता सहरको सुन्दरताभित्र लुकेका कुरूपतालाई प्रस्तुत गरिएको छ भनृ उडेका उमेरहरू किशोरकिशोरीका भावना र समस्यालाई औपन्यासिक संरचना प्रदान गरिएको कृति हो । यसैगरी कालाकाला रातहरूमा टेक्दै उपन्यासले बाबुआमाविहीन टुहुरी केटीले भोग्नुपरेका सामाजिक, शारीरिक र मानसिक यातनाहरूलाई अत्यन्त कारुणिक रूपमा प्रस्तुत गरेको छ ।

इन्दिरा प्रसाईंको विश्वामित्र (२०५५), रनमाया (२०५८), शिखा (२०५९) र उसको लोग्ने र बिरालो (२०६०) प्रकाशित छन् । पैसाको पर्याप्तताका कारण वासनालिप्त बन्न पुगेको पुरुषको द्वैधचरित्र तथा मानसिकताले उत्पन्न गराएको त्रासदी परिणामलाई सूक्ष्म र कलात्मक ढङ्गमा अभिव्यक्त गरिएको विश्वामित्रमा सबै कुरा बाँड्न सक्ने नारीले आप्mनो लोग्ने बाँड्न सक्तिन भन्ने कथनलाई उद्घाटन गरिएको छ । रनमाया विगत केही समय यतादेखि नेपालीभाषी भुटानीहरूले भोग्नुपरेका सामाजिक तथा प्रशासनिक अत्याचार, अपमानका साथै मानसिक पीडा र सङ्कट र त्रासदीहरूलाई मार्मिक ढङ्गमा औपन्यासिक स्वरूप प्रदान गरिएको कृति हो । यिनको शिखामा आत्मीय प्रेमको तृष्णामा छट्पटिएकी नारीको पीडालाई प्रस्तुत गरिएको छ भने उसको लोग्ने र बिरालो आत्मिक प्रेम र आप्mनो अस्मिताको खोजीमा भौंतारिएकी नारीको मनोविश्लेषण गरिएको सुन्दर कृति हो । इन्दिरा प्रसाईंको रनमाया सामाजिक यथार्थवादी उपन्यास हो भने अन्य उपन्यासहरू प्रेमप्रणयका साथै नारीको मनोविश्लेषणमा आधारित छन् । नारीका विविध रूपलाई प्रस्तुत गरिएका यिनका उपन्यासमा निराशावादी जीवनदृष्टिको अभिव्यञ्जना पाइन्छ । अस्मिताको खोजीमा छट्पटाएका नारीका मानसिक पीडा र सङ्कटलाई चरममा पु¥याएर त्रासदीय परिस्थितिमा यिनका उपन्यासहरू अन्त्य गरिएको छ । सरल र संक्षिप्त कथानक, अस्तित्वसचेत पात्रको संयोजन, परिवेश चित्रणमा सघनता पाइने यिनका उपन्यासको भाषा सरल भएर पनि सूत्रात्मक र काव्यात्मक देखिन्छ ।

शान्ता श्रेष्ठका सङ्घर्षभित्रका अनौठा पाइला (२०५८) र घाउ उसको दुखाइ मेरो (२०६०) शीर्षक उपन्यास प्रकाशित छन् । यिनको पहिलो उपन्यास सङ्घर्षभित्रका अनौठा पाइलामा धर्मको आडमा छिपाएर गरिने काला करतूत तथा चेलीबेटी बेचबिखनका सन्दर्भहरूलाई विषयवस्तु बनाइएको छ भने दोस्रो उपन्यास घाउ उसको दुखाइ मेरोले त्रूmर र पाशविक बाबुको विवेकहीन कार्यले गर्दा नारकीय जीवन भोग्न बाध्य महिलाको पीडालाई प्रस्तुत गरेको छ । नारी शोषणका विविध रूपलाई विभिन्न सन्दर्भबाट प्रस्तुत गर्दै सामाजिक विकृति–विसङ्गतिहरूमाथि तीखो व्यङ्ग्य प्रहार गरिएका यिनका उपन्यासको भाषा सरल र शैली वर्णनात्मक रहेको छ । यसपछि नवीन विषय र नवीन कथ्यका साथ शोभा भट्टराईको अन्त्यहीन अन्त्य (२०५८) उपन्यास देखापर्छ । अपुरुष पतिबाट शारीरिक र मानसिक रूपमा प्रताडित नारीको व्यथालाई आत्मानुभवका साथ औपन्यासिक संरचना प्रदान गरिएको यस कृतिमा नारीविद्रोहलाई शिष्ट, शालीन र विवेकपूर्ण ढङ्गमा प्रस्तुत गर्र्दै नारीवादी अवधारणालाई अगि सारिएको छ । कौतूहलपूर्ण रोचक प्रस्तुति र प्रवाहपूर्ण तथा काव्यात्मक भाषाको प्रयोगले यस कृतिलाई विशिष्टता प्रदान गरेको छ । यसैगरी सुजातको बन्धन (२०५८) मा लैङ्गिक असमानताको विरोध गर्दै नारीवादी धारणा अभिव्यक्त भएको छ भने यसै वर्ष प्रकाशित अप्सरा लावतीको आमाको चाहनाले नारीको त्याग, समपर्ण र बलिदानलाई स्वच्छन्दवादी ढङ्गमा प्रस्तुत गरेको छ । गौरा रिजालद्वारा लिखित अघोषित द्वन्द्वहरू (२०६०) ले विभिन्न परिस्थिति र वर्गका नारीहरूले भोग्नुपरेका उत्पीडनलाई देखाउँदै यस्ता विषम परिस्थितिको अन्त्यका लागि नारीहरू आपैंm सचेत तथा सङ्घर्षशील भएर अगि बढ्नुपर्ने धारणा अभिव्यक्त गर्दै नारीवादी चिन्तन प्रस्तुत गरेको छ ।

भाषा भण्डारीका सम्झौता (२०६०) र परिवर्तनको पृष्ठभूमि (२०६१) शीर्षकका दुई उपन्यासहरू प्रकाशित छन् । विसङ्गति र निस्सारताका बीचमा किचिएर विस्फोट हुनपुगेको नारी विद्रोहलाई प्रस्तुत गरिएको सम्झौता उपन्यास मनोविश्लेषण र नारीवादी चिन्तनको उत्वृmष्ट सङ्गमबिन्दुका रूपमा देखापरेको छ । यिनकै अर्को उपन्यास परिवर्तनको पृष्ठभूमिले देशमा व्याप्त विविध प्रकारका सङ्कटमय परिस्थितिका कारण उत्पन्न पीडा तथा त्रासदीहरूलाई प्रस्तुत गर्दै जीवनप्रति आशावादी दृष्टिकोण अभिव्यक्त गरेको छ ।

२०६२ मा प्रकाशित पद्मावती सिंहको समानान्तर आकाश उपन्यासको मूल कथ्य महिला सशक्तीकरण हो । स्वस्थ, सभ्य तथा समतामूलक समाजको चाहना अभिव्यञ्जित प्रस्तुत उपन्यासमा महिला सशक्तीकरणका लागि नारी शिक्षित मात्र नभई स्वावलम्बी, चेतनशील र अस्तित्वका लागि सचेतसमेत हुनुपर्ने दृष्टिकोण अगि सारिएको छ । २०६२ सालमै प्रकाशित सुषमा आचार्यको निर्णय निर्णय उपन्यासमा सृष्टिका दुई रूप नारी र पुरुषका बीचमा व्याप्त सामाजिक असमानतालाई चिरफार गरेर देखाउँदै नारीप्रति राखिने सङ्कीर्ण सामाजिक सोचाइको विरोध गरिएको छ । जन्मैदेखि गरिने लैङ्गिक विभेद, बालविवाह, अनमेल विवाह तथा नारीलाई शिक्षा तथा चेतनाबाट वञ्चित गरिने परिपाटीप्रति विरोध गरिएको यस उपन्यासमा पूर्व र पश्चिम दुवैतिरका पौराणिक तथा ऐतिहासिक सन्दर्भबाट नारीको सम्पन्न र दयनीय अवस्थाको तुलनात्मक चित्र प्रस्तुत गर्दै नारी शक्तिको महिमागान गरिएको छ ।

२०६३ मा प्रकाशित रुकु कार्कीको मधुरिमा उपन्यासमा विविध प्रकारका सामाजिक समस्याको प्रस्तुतिका साथ पुरुषको स्वेच्छाचारी प्रवृत्तिबाट आहत हुनपुगेकी नारीको पीडालाई प्रस्तुत गर्दै दुखपीडालाई बिर्सेर जीवनलाई सकारात्मक सोचाइतर्पm लगाई सिर्जनशील कार्य गर्नुपर्छ भन्ने भाव मुखरित छ भने जीवनज्योति (२०६५) मा २०५२ सालमा सुरु भएको जनयुद्धदेखि २०६५ जेठ १५ गते भएको गणतन्त्र घोषणासम्मको समयावधिलाई समेटिएको छ । सामाजिक अन्धपरम्परासँग सम्बद्ध कतिपय प्रसङ्ग अपसगुन, स्वप्न आदिको प्रस्तुति पाइने यस उपन्यासमा छोरीले आमाको काजव्रिmया गर्ने, अन्तर्जातीय विवाह गर्नेजस्ता प्रसङ्गबाट चाहिँ आधुनिक संस्कृतिको निर्माणतर्पm सङ्केत गरिएको छ ।

वेश्यो (पुरुष वेश्या) का आन्तरिक एवं बाह्य क्रियालापहरूलाई प्रस्तुत गरिएको मनीषा गौचनको वल्लीको डायरी (२०६३) नेपाली साहित्यको इतिहासमै नितान्त नवीन र पृथक् विषयवस्तुमा लेखिएको छ । मानवीय जीवनमा आइपर्ने जटिलता एवं उपहासात्मकताको सूक्ष्म अन्वेषण गरी विसङ्गति र विकृतिका माझबाट विवेक र कर्मशीलताको प्रस्तुति यस उपन्यासको कथ्यगत वैशिष्ट्य हो । जीवनका अँध्यारा पाटा र त्रासदीहरूको मार्मिक प्रस्तुति पाइने यस उपन्यासमा वेश्योसँग अन्जानमा बिहे गर्न पुगेकी एउटी नारीले भोगेका पीडा र त्रासदीहरू अत्यन्त रोचक र कौतूहलपूर्ण ढङ्गमा प्रस्तुत गरिएको छ । शान्ति थापाको मोहनी डट् कम (सन् २००९) मा असमेली नेपाली जनजीवनका विविध सन्दर्भहरूलाई विशृङ्खल रूपमा प्रस्तुत गर्दै सन् १७७९ मा असममा भएको ‘बहिरागत हटाओ’ आन्दोलन र त्यसको परिणामलाई केलाइएको छ । जातीयताका नाममा भएका सङ्कीर्णता तथा मानवताविरोधी क्रियाकलापको विरोध गरिएको यस उपन्यासमा मानवतावादी अवधारणा मुखरित छ ।

प्रभा कैनीको अनावृत्त (२०६७) मा ज्ञान, विज्ञान, प्रविधि, विचार र चिन्तनका क्षेत्रमा विश्व पलपल परिवर्तन हुँदै एक्काईसौं शताब्दीमा प्रवेश गरिसकेको वर्तमान अवस्थामा अधिकांश नेपाली महिलाहरू अभैm पनि मध्ययुगीन बर्बरता र पाशविकताको सिकार बनेर बाँच्न बाध्य स्थितिलाई देखाइएको यस उपन्यासमा जन्मदेखि मृत्युसम्मका विभिन्न संस्कारहरूमा पाइने लैङ्गिक विभेदका विविध सन्दर्भ केलाउँदै यसका कारकहरूलाई अत्यन्त सूक्ष्म ढङ्गमा विश्लेषण गरिएको छ ।

केही समय देशमा भएको सशस्त्र युद्धका विभिन्न पक्षलाई लिएर पनि नेपाली महिला उपन्यासकारले उपन्यासको सिर्जना गरेका छन् । यस सन्दर्भमा मञ्जु बम ‘अनुग्रा’ को सरला रेग्मीको प्रवाह (२०६६), सङ्घर्षको गोरेटो (२०६७) लाई उदाहरणका रुपमा लिन सकिन्छ ।

माथि उल्लेख गरिएबाहेक महिलाद्धारा लिखित अन्य उपन्यासको तल कालक्रममा उल्लेख गरिन्छ ः

सावित्री देवसा चोइटिएको उपासना (२०३८)

प्रेमा शाह मम्मी (२०४०)

राधा रसाइली बदलिँदो समाज (सन् १९८८)

कमला न्यौपाने उसको सपना (२०३४)

ललिता देवान आँसु (सन् १९७७)

उषा सुन्दास बिन्दु (१९७८)

सविता श्रेष्ठ ‘बेहोशी’ अनन्तमा मिल्ने आशामा दुई समान्तर रेखाहरू (२०४४)

माया निराशी ज्योतिको सपना (२०४५), पश्चात्तापको आँसु (२०४९)

ईशा शाह एउटा कथाको अन्त (२०४८), उजाडिएको सिउँदो (२०४८)

शान्ति पराजुली सुमा (२०४८)

सङ्गीता स्वेच्छा पखालिएको सिउँदो (२०४९)

गीता शर्मा खुस्बु (२०४९)

रोहिणी शाह प्रेरणा (२०५०)

शवनम श्रेष्ठ मनिषा (२०५०)

पुण्यरश्मि खतिवडा जयन्त र जुनू (२०५१), अक्लान्त (२०५२), अपूरो अभिलाषा (२०६०),

नीलम कार्की निहारिका मौन जीवन (२०५१), नियतिको खेल (२०५३)

शोभा राना बेवारिसे (२०५२), शिकार (२०५६)

ईश्वरी खड्का सविता पोइल गई (२०५४)

गायत्री विष्ट जूनकीरी (२०५४)

सीता पाण्डे अन्तद्र्वन्द्वमा (२०५६)

तृष्णा राज्यश्री वmुँवर अन्तद्र्वन्द्व (२०५६)

मा वेदकुमारी न्यौपाने धूवाँ (२०५७)

टीकाकुमारी याखा को औंलाको सिन्दूर (२०५७)

पुष्पलता आचार्य मादीकी पूर्णिमा (२०५९), लामो अन्तरालपछि (२०६०)

इन्दिरा बुढाथोकीको अमूर्त सपना (२०५९)

शुभ श्रेष्ठको अस्मिताको खोजीमा (२०६०)

ऋचा ढुङ्गेलको अल्झिएका जीवनहरू (२०६०)

पीताम्बरा उपाध्याय बाटोमा बसेको बाघ (२०६०)

बिनिता राई साथीको मन (२०६०)

कविता पौडेल बाल चीत्कार (२०६१)

सुमित्रा अधिकारी श्राप परेको नाताले

भीमकुमारी श्रेष्ठ सङ्घर्षशील पाइलाहरू (२०६२)

शारदा ढुङ्गाना अन्तिम द्वन्द्व (२०६२), अचानोमा परेको जीवन (२०६३), प्रश्नचिह्न (२०६५)

द्वारिका कुईकेल ब्लफ कलर

उन्नती बोहरा ‘शीला’ सिक्काका दुई पाटा (२०६३)

पुष्पा जोशी पवित्रा (२०६३)

कल्पना भट्ट ‘वैरागी’ पापी संसार (२०६४)

राधिका दाहाल पल्लो घरकी बूढी फुपू (२०६४), एक चोक्टो मासु (२०६६)

उर्मिला सापकोटा अस्मिता (२०६५)

मीनादेवी भट्टराई चीत्कार (२०६५)

पार्वती श्रेष्ठ अभाव

निरूपा प्रसून अभिषेक

बाबा बस्नेत रातकी रानी (२०६६)

राधिका राया कला (२०६६)

ललिता दोषी उन्माद (२०६६)

विष्णा विरही रित्तारित्ता आँखा (२०६६)

कमला पराजुली क्षितिजको बदलिँदो रङ (२०६७)

गीता पोख्रेल आत्मघाती शङ्का (२०६७)

लिली रिमाल पूर्णिमाको आकाश (२०६७)

नेपाली उपन्यासको इतिहासमा महिलाहरू एकललेखनमा मात्र नभएर सहलेखनमा पनि संलग्न भएको पाइन्छ । प्रेमा शाह र मञ्जु काँचुली आकाश विभाजित छ (२०३१) तथा बेञ्जु शर्मा देहमुक्त (२०४०) को लेखनमा संलग्न देखिन्छन् भने सीता पाण्डे अवतार विघटन (२०४५) र पुष्पलता आचार्य रोजी (सन् २००४) को लेखनमा सहभागी भएका छन् ।

३. विषयान्त

नेपाली उपन्यासको इतिहासमा महिलालेखनले तय गरेको सात दशकको यात्रा अवधिमा थुपै उपन्यासकार र तिनका औपन्यासिक कृतिहरू देखापरेका छन् । अध्ययनको क्रममा भेटिएका उपन्यासकार र तिनका उपन्यासहरूलाई धारागत प्रवृत्तिलाई यसरी उल्लेख गर्न सकिन्छ ः

(१) आदर्शाेन्मुख यथार्थवादी धारा

आदर्शलाई लक्ष्य बनाएर सामाजिक यथार्थलाई प्रस्तुत गर्ने उपन्यासहरू आदर्शाेन्मुख यथार्थवादी धाराअन्तर्गत पर्दछन् । यसअन्तर्गत पर्ने उपन्यासकार र तिनका उपन्यासहरू यसप्रकार छन् ः

अम्बालिका देवी राजपुत रमणी

गीता केशरी खोज, विश्वास (२०५२)

भारती खरेल गङ्गा जमुना (२०४६), एउटी आमाको कथा (२०४६), कुमारी आमा (२०४६), लाहुरे (२०५२) ।

(२) स्वच्छन्दतावादी धारा

अतिभावुकता, स्वतःस्पूmर्त प्रेम, हार्दिक संवेग, काल्पनिकताजस्ता सन्दर्भलाई समेटेर लेखिएका उपन्यासलाई स्वच्छन्दतावादी उपन्यास भनिन्छ । यस वर्गभित्र पर्ने उपन्यासकार तिनका उपन्यासहरू निम्नलिखित छन् ः

पवनकुमारी देवी प्रतिज्ञा (२०१७)

सरिता प्रधान अर्चना (२०२८)

उषा सुन्दास बिन्दु (सन् १९७८)

(३) सामाजिक यथार्थवादी धारा

समाज, जीवन र घटनाहरूको यथार्थपरक प्रस्तुति पाइने उपन्यासलाई यस धाराभित्र समेट्न सकिन्छ । यस धाराभित्र पर्ने उपन्यासकार र उपन्यासहरू निम्नलिखित छन् ः

पारिजात अन्तर्मुखी

वानीरा गिरी कारागार (२०३५), निर्बन्ध (२०४४), शब्दातीत शान्तनु (२०५६)

सुस्मिता नेपाल एकान्त पनि रुन्छ (२०५३), कालाकाला रातहरूमा टेक्दै (२०६०)

इन्दिरा प्रसाईं रनमाया (२०५८)

कविता पौडेल बाल चीत्कार (२०६१) ।

(४) आलोचनात्मक यथार्थवादी धारा

सामाजिक कुरीति, विकृति, विसङ्गति, शोषणजस्ता सन्दर्भको विरोध गर्दै समाजबाट तिनलाई निर्मूल गर्नुपर्ने चाहना अभिव्यञ्जित उपन्यासहरू यसअन्तर्गत पर्दछन् । यस्ता उपन्यासहरू निम्नलिखित छन् ः

पारिजात तोरीबारी बाटा र सपनाहरू (२०३३), परिभाषित आँखाहरू (२०४६)

गीता केशरी कसिङ्गर (२०३४), नोकरी (२०५५)

सुस्मिता नेपाल मेरा छातीका कोलाजहरू (२०५५),

(५) प्रगतिवादी धारा

माक्र्सेली द्वन्द्वात्मक भौतिकवादको धरातलमा शोषितपीडित जनताको पक्षमा आवाज उराल्नु प्रगतिवादी उपन्यासका विशेषता हुन् । पारिजातको उसले रोजेको बाटो (२०३४), पर्खालभित्र र बाहिर (२०३५) तथा अनिंदो पहाडसँगै (२०३९) प्रगतिवादी उपन्यास हुन् ।

(६) मनोविश्लेषणवादी धारा

मानवमन र यौनको मनोविश्लेषण गर्ने उपन्यासलाई मनोविश्लेषणवादी उपन्यास भनिन्छ । यस धाराका उपन्यासकार र तिनका उपन्यासहरू यसप्रकार छन् ः

विन्द्या सुब्बा पूmलहरू, पहाडहरू, धर्साहरू (२०४३), अथाह (२०५५)

इन्दिरा प्रसाईं विश्वामित्र (२०५५), शिखा (२०५९), उसको लोग्ने र बिरालो (२०६०) ।

(७) प्रयोगवादी धारा

कथ्य, शिल्प, भाषा आदिमा नयाँनयाँ प्रयोग गरेर लेखिएका उपन्यासलाई प्रयोगवादी उपन्यास भनिन्छ । यसअन्तर्गत पर्ने उपन्यासकार र तिनका उपन्यासहरू निम्नलिखित छन् ः

अम्बालिका देवी राजपुत रमणी (१९८९) ऐतिहासिक यथार्थको प्रयोग

पारिजात शिरीषको पूmल (२०२२) अस्तित्वादी प्रयोग

वानीरा गिरी शब्दातीत शान्तनु (२०५६) विधाहीनताको प्रयोग

शोभा भट्टराई अन्त्यहीन अन्त्य (२०५८) नारीवादी प्रयोग

पुष्प सुब्बा भोलिको प्रतीक्षामा(सन् १९९०) नारीवादी प्रयोग

बेञ्जु शर्मा देहमुक्त (२०४०) सहलेखनको प्रयोग

सीता पाण्डे अवतार विघटन (२०४५) सहलेखनको प्रयोग

समग्रमा विभिन्न स्थान, परिस्थिति र वर्गका नारीहरूले भोग्नुपरेका शारीरिक, मानसिक र सामाजिक यातना तथा शोषणहरूलाई प्रत्यक्ष–परोक्ष ढङ्गमा प्रस्तुत गर्दै नारी अस्मिताको खोजी गरी लैङ्गिक समानताको लागि आग्रह गर्नु नेपाली महिला उपन्यासकारका उपन्यास सिर्जनाको मूल अभीष्ट रहेको देखिन्छ । आदर्शाेन्मुख यथार्थवाद, स्वच्छन्दतावाद, सामाजिक यथार्थवाद, आलोचनात्मक यथार्थवाद, मनोविश्लेषणवाद, प्रयोगशीलताजस्ता विविध धारा र प्रवृत्तिलाई आत्मसात् गरेर लेखिएका कतिपय महिला उपन्यासकारका कृतिहरूमा उत्तरआधुनिक प्रवृत्तिको प्रयोग पनि सफल र सटीक ढङ्गमा भएको छ । यस दृष्टिबाट हेर्दा सिङ्गो नेपाली उपन्यास जगत्मा महिलाहरूको संलग्नता र योगदान परिमाणात्मक र गुणात्मक दुवै दृष्टिले उल्लेखनीय र उपलब्धिपूर्ण मान्नुपर्छ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।