19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

म नारी

कविता भरत बागलुङे June 14, 2011, 7:12 am

म नारी

पुरुषहरूकी कमारी

जीवन भन्नुको अर्थ

यद्यपी हैन भने

म हारि रहेछु युग–युग भरी ।

आउ लोग्ने मान्छेहरू

म बैंश पोखेर

नाङ्गा सडकहरूमा

सर्वाङ्ग उत्तानो परिदिन्छु

अनियन्त्रित भोग मलाई

म दुखे पनि नदुखे झैँ सहीदिन्छु ।

भो पर्दैन मलाई पूजा गर्न

दुर्गा, महाकाली, सरस्वती भनेर

पर्दैन मलाई फकाउन

नाक, कान छेडी गहना झुण्ड्याउन

म निर्धी, अबला, निर्बल छु

पाइला–पाइलामा म हारिरहेछु ।

म मेशीन–छोरा जन्माइदिने

पुरुषको इच्छामा सर्वाङ्गिने

म दुखेर पनि रुन पाउँदिन

म स्वइच्छामा हाँस्न सक्दिन

आउ स्वागत छ हर घडी

ए ! लोग्ने मान्छेहरू

म तिम्रो आगमनलाई रोक्न सक्दिन ।

म नारी

पुरुषहरूकी कमारी

जीवन भन्नुको अर्थ

यद्यपी हैन भने

म हारि रहेछु युग–युग भरी ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।