19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल बोध राज पन्त ‘अनागत’ June 14, 2011, 7:15 am

तिम्रो हाम्रो बजारमा अचेल ठूलो हल्ला छ

पर्ख ! सुटुक्क एकैछिन तिम्रो मेरो सल्ला छ ।

जति परे तिमी माथि चोरिएछन् आँखाहरु

मनहरुमा डढेलोको आगो बल्ला बल्ला छ ।

आँखा संग ओंठ छैनन् मुखले भन्न गाह्रो हुन्छ

मौनताको पर्खाल पनि अब ढल्ला ढल्ला छ ।

धेरै चढें सिंढीहरु भेटिएन बस्ने ठाउँ

भनिदेऊ बिन्ति तिम्रो मनमा कति तल्ला छ ?

पानी पर्न नसकेर खडेरीले खाइएको

बाँझो खेत मेरो मन जताततै डल्ला छ ।

कल्पनाको गोधूलीमा नयन पोखी हेरिरहें

पिरतीको भाले अझै हुर्किएन चल्ला छ ।

मणिग्राम, रुपन्देही

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।