तिम्रो हाम्रो बजारमा अचेल ठूलो हल्ला छ
पर्ख ! सुटुक्क एकैछिन तिम्रो मेरो सल्ला छ ।
जति परे तिमी माथि चोरिएछन् आँखाहरु
मनहरुमा डढेलोको आगो बल्ला बल्ला छ ।
आँखा संग ओंठ छैनन् मुखले भन्न गाह्रो हुन्छ
मौनताको पर्खाल पनि अब ढल्ला ढल्ला छ ।
धेरै चढें सिंढीहरु भेटिएन बस्ने ठाउँ
भनिदेऊ बिन्ति तिम्रो मनमा कति तल्ला छ ?
पानी पर्न नसकेर खडेरीले खाइएको
बाँझो खेत मेरो मन जताततै डल्ला छ ।
कल्पनाको गोधूलीमा नयन पोखी हेरिरहें
पिरतीको भाले अझै हुर्किएन चल्ला छ ।
मणिग्राम, रुपन्देही