19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

आशा हराएको खबर

कविता रुपेश राई June 18, 2011, 7:07 am

एक बिहान

मेरा मित्रले भनेका थिए-

‘कवितामा अटाउँदैन कमान, उपन्यास लेख्नपर्छ, उपन्यास।’

हिजो बिहान

दर्पणको अनुहारमा

‘आशा हराएको खबर’ले

मलाई त्यो बिहानको

स्मरण गराइरहेथ्यो।

जुन बिहान पूर्वबाट भानूले

ममताको चूल्हो, छिचोल्दै गरेको।

पावनको कामुक

स्पर्शले उत्साहित बन्दै गरेकी

आशा।

तितेपातीका दाउरामा,

ढिँड़ो हुँडँल्दै गरेकी आमालाई

आफ्नो इच्छा प्रकट गर्छे-

‘आमा, हामी पनि ग्यास चुला ल्याए... हुन्न?’

कति सानो प्रश्‍न, कति ठूलो प्रहार...

आमाको वाक्ये फुटेन।

भित्रबाट भक्कानिएर

आएका पीड़ाका लेदाहरू

बल्झफ्ती थुकसँग भित्रै निली पठाएर...

भन्छे- ‘छोरी, तिम्रै आशा छ।

तिम्रो पापा

पर्देश गएको खबरै छैन।

म, एकमात्रको

कमान खर्च, जाउलो धान्नमै सकिन्छ।

‘कड़्सारा’बाट बाँचेको पैसा, तिमीलाई पढ़ाउनु छ।’

आशामा यस्ता इच्छा कयौँ छ्न्

आमामा यस्ता समस्या कयौँ छन्।

तर त्यहाँ

एउटा सम्झौता छ

एउटा वाध्यता, सन्तोक

गर्ने आदत पनि बसेको छ!

कमानलाई

अझै, पूर्वको भानूले

छिचोल्न सकेको छैन।

सुखको बतासले

अङ्गाल्न सकेको छैन।

तर कुन बतासले अङ्गाल्दा

आशामा एक इच्छा कम भयो होला?

र आमामा एक समस्या ज्यादा।

म, सोँच्दै छु,

आज मलाई पनि

चित्त दुखेको छ, आमा प्रति।

चः चः चः चः

हो साथी...

‘कवितामा नअटाएर

अटाएको कमान, गरीबको एक

गाँसमा नअटाएर अटाएको कयौँ भोक होला।’

– मैले भनेको थिएँ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।