14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

सांस्कृतिक दृष्टिबाट कुमारी शोभा उपन्यासको विश्लेषण

कृति/समीक्षा लीला लुइटेल June 19, 2011, 7:29 am
लीला लुइटेल
लीला लुइटेल

१. प्रारम्भ : संस्कृतिको परिचय

मानव जीवनको पहिचानका रूपमा रहेको संस्कृतिसँग साहित्यको पनि निकट सम्बन्ध रहेको हुन्छ । प्रायः सबैजसो साहित्यिक कृतिहरूमा पनि कुनै न कुनै ढङ्गले संस्कृति अभिव्यक्त भएको हुन्छ । साहित्यले संस्कृतिको निर्माण गर्ने र संस्कृतिले साहित्यलाई मार्ग प्रशस्त गर्ने सन्दर्भमा यी दुवै परस्परव्यापी हुन्छन् । कुनै पनि साहित्यमा प्रयुक्त संस्कृतिको अध्ययन–विश्लेषणका लागि सर्वप्रथम संस्कृतिको पहिचान गर्नु आवश्यक हुन्छ ।

कुनै वस्तुलाई परिमार्जन गरेर वा सुसंस्कृत रूप दिएर चम्किलो तुल्याउने काम संस्कृति हो । संस्कृति शब्दको निर्माण वृm धातुमा सम् उपसर्ग र ति प्रत्यय लागेर भएको छ । यस शब्दले आफ्ना सन्ततिहरूलाई सुमार्गतर्पm उन्मुख गराउन पुर्खाहरूद्वारा प्रतिपादित विभिन्न खालका क्रियाकलापलाई बोध गराउँछ । हरेक मानव समुदाय कुनै न कुनै ढङ्गले कुनै न कुनै प्रकारको संस्कृतिमा आबद्ध हुन्छ । एउटा जाति वा सम्प्रदायको संस्कृति अर्को जाति वा सम्प्रदायको भन्दा भिन्न हुनसक्ने भएकाले संसारमा संस्कृतिगत विविधता पाइन्छ र यही विविधताका कारण हरेक जातिका चालचलन, रीतिथिति, रहनसहन, आचारविचार, भावना आदिमा पनि विविधता रहेको देखिन्छ । प्रत्येक जातीय संस्कृतिको योगबाट राष्ट्रिय संस्कृतिको निर्माण हुनसक्ने भएकाले जातीय संस्कृति राष्ट्रिय संस्कृतिको अभिन्न अङ्ग हुन्छ ।

कुनै राष्ट्र वा जातिको सामाजिक जीवन, राजनीति, अर्थनीति, चालचलन, गीत, नृत्य, वाद्यवादन, चाडबाड, जात्रा, कला आदिमा प्रतिबिम्बित हुने र तिनका कलाकौशल, बौद्धिक विकास आदि झल्काउने सम्पूर्ण क्रियाकलापको परिष्कृत रूपलाई संस्कृति भनिन्छ । धेरै लामो समयदेखि देशकाल सापेक्ष भई आन्तरिक, वैचारिक एवं परम्परागत धारणाका रूपमा विकसित हुँदै समाजले आत्मसात गरिसकेको रहनसहन, आचारविचारसम्बन्धी भावना र तिनका माध्यमबाट कुनै राष्ट्र, वर्ग, समाज, जाति आदिको पहिचान गराउने मूल्यमान्यता, भौतिक अभिव्यक्तिहरूसमेतको सामूहिक नाम नै संस्कृति हो । यसका साथै संस्कृतिले कला, भाषा, साहित्य, दर्शन, धर्म, नीति, इतिहास आदि विभिन्न विषयको समग्रतालाई पनि बुझाउँछ । संस्कृतिलाई पारम्परिक गीत, नृत्य, वाद्यवादन, चाडबाड, तीर्थ, व्रत, पर्व, धर्म, संस्कार, मूर्तिकला, चित्रकला, वास्तुकला, जात्रा आदिका सन्दर्भबाट पनि अथ्र्याइएको पाइन्छ । परम्परित मूल्यमान्यता, रीतिरिवाज, चालचलन, धर्म, संस्कार, आस्था, व्यवहार, इतिहास पूर्वजन्म, पुनर्जन्म, कर्म, भाग्य, ईश्वरीयता, लोकोक्ति, लोकप्रचलन मात्र नभएर नवसिर्जित मूल्यमान्यता आदि पनि संस्कृतिभित्र पर्न सक्छन् । यसका साथै संस्कृतिको निर्माण गर्न मनोविज्ञानले पनि महत्वपूर्ण भूमिका खेल्छ र सञ्चारका विभिन्न माध्यमहरू पनि संस्कृतिको विकासका संवाहक हुनसक्छन् ।

भौगोलिक स्थिति, रहनसहन, लवाइखवाइ, शिक्षादीक्षा आदिले संस्कृतिमा विविधता पैदा गर्छन् । संस्कृति परिवर्तनशील हुनाका साथै र एक पुस्ताबाट अर्काे पुस्तामा हस्तान्तरणीय हुन्छ । समयक्रममा देखिने राष्ट्रिय–अन्तर्राष्ट्रिय क्षेत्रका राजनैतिक–आर्थिक घटना तथा परिवर्तनले पनि संस्कृतिलाई प्रत्यक्ष–परोक्ष प्रभाव पार्दछन् । सामाजिक प्रचलनबोधक संस्कृतिलाई विविधतामय तुल्याउन स्थान, समय, जात, धर्म आदिले पनि महत्वपूर्ण भूमिका खेल्छन् । कुनै ठाउँ, समय, जात र धर्मको संस्कृति अर्को ठाउँ, समय, जात र धर्मका लागि बेठीक, विपरीत र अस्वीकार्यसमेत हुने गरेको पनि पाइन्छ । यसका साथै राम्रो–नराम्रो, असल–खराब, ठीक–बेठीक भन्ने कुरा पनि सापेक्षित हुन्छन् । कुनै स्थान वा जातिविशेषको संस्कृति अर्को स्थान वा जातिविशेषका लागि अनौठो र अग्रा≈य हुन पनि सक्छ ।

मूलतः मानव र मानवताको संरक्षण एवं संवद्र्धनका लागि निर्मित साहित्य, कला, दर्शन, सङ्गीतलगायत यावत् गतिविधि र क्रियाकलापहरू तथा मानवीय जीवनपद्धति सबै संस्कृतिभित्रै अटाउँछन् । ज्ञान–विज्ञान दुवैलाई समेट्ने सांस्कृतिक सन्दर्भबाटै मानव जाति र सिङ्गो विश्व मानव समुदाय परिचालित हुनेहुँदा संस्कृतिभित्र मानव समुदायले गर्ने सम्पूर्ण आध्यात्मिक–भौतिक गतिविधि र क्रियाकलाप पर्छन् । राजनैतिक–आर्थिक दृष्टिले संस्कृतिको परिभाषा सामन्तवादी–पूँजीवादी, समाजवादी, प्रजातन्त्रवादी, प्रगतिवादी, जनवादी, साम्यवादी आदि भनेर गरिएको पनि पाइन्छ । कतिपय धार्मिक आस्थाले समेत सामाजिक सम्बन्धको विस्तार गरी विभिन्न संस्कृतिको निर्माण गर्न सहयोग पु¥याउँछ । यसरी अत्यन्त व्यापक र विस्तृत क्षेत्र ओगट्ने संस्कृतिलाई कतिपय सन्दर्भमा देश, काल, जाति, धर्म आदिमा सीमित गरेर हेर्ने अवस्था पनि रहनसक्छ, तर त्यसरी हेर्दा पनि यसको व्यापकतालाई भने भुल्नु हुँदैन ।

२. विषयप्रवेश ः कुमारी शोभा उपन्यासको सङ्क्षिप्त परिचय

नेपाली उपन्यासको इतिहासमा मनोविश्लेषणवादी उपन्यासकारका रूपमा सुपरिचित विजय मल्लका अनुराधा (२०१८) र कुमारी शोभा (२०३९) गरी दुईवटा औपन्यासिक कृतिहरू प्रकाशित छन् ।

विजय मल्लको दोस्रो उपन्यास कुमारी शोभा लामाछोटा तेर भाग वा परिच्छेदमा विभाजित छ । अङ्कद्वारा विभाजनको सङ्केत गरिएको यो उपन्यास १७४ पृष्ठको बा≈संरचनामा आबद्ध रहेको छ । जीवित देवीका रूपमा पुजिने द्योमैजु अर्थात् कुमारीको केन्द्रीयतामा मनोविश्लेषणलाई मूल विषय बनाइएको यस उपन्यासमा नैसर्गिक प्रेम र परम्पराको द्वन्द्वमा किचिन पुगेको मानसिकतालाई सहज तथा स्वाभाविक रूपमा प्रस्तुत गरिएको छ ।

बाल्यकालमै कुमारी बनाइएकी र रजस्वला भएपछि कुमारीबाट अवकाश पाएकी शोभा उपेन्द्रलाई चाहन्छे तर कुमारीको पहिलो लोग्ने मर्छ भन्ने पारम्परिक अन्धविश्वासका कारण ऊ आतङ्कित बनेकी छे । चाहना र आतङ्कको द्वन्द्वका कारण ऊ मुर्छा पर्ने, काम्ने, टोलाउन तथा शिथिल बन्ने स्थितिमा पुग्छे । उता उपेन्द्र शोभालाई नपाए बिहे नै नगर्ने स्थितिमा पुगेको छ भने शोभाचाहिँ उपेन्द्रबाट टाढा रहन भिक्षुणी बन्न चाहान्छे तर उसलाई यसमा पनि स्वीकृति मिल्दैन । अर्काेतिर शोभालाई जसरी भए पनि बिहे गर्न खोज्ने बाबुकाजी ट्रक दुर्घटनामा परेर मर्छ । यसपछि औषधिका कारण क्रमशः शोभाको स्थितिमा सुधार हुँदै जान्छ र आप्mनो प्रेमी अर्थात् उपेन्द्रसँग मिलनको सङ्केतका साथ उपन्यासको अन्त्य भएको छ ।

कुमारी शोभा उपन्यासकी केन्द्रीय सहभागी शोभा नैसर्गिक प्रेम तथा अन्धविश्वासको द्वन्द्वमा किचिन पुगेकी छ । उसको व्यक्तित्वका दुई पाटाहरू छन् । तीमध्ये पहिलो पाटो सामान्य मानवका रूपमा प्रेमिका व्यक्तित्व रहेको छ भने दोस्रो पाटो विशिष्ट मानवका रूपमा देवीको नैतिक चरित्र देखापर्छ । ऊभित्रको विशिष्ट मानवले सामान्य मानवलाई दमन गरी कुण्ठित बनाएको छ । यसको परिणाम उसमा हिस्टेरियाका लक्षणहरु देखापर्छन् । अनुकूल सहभागीको बाहुल्य रहेको यस उपन्यासको प्रतिकूल सहभागीलाई मृत्युको मुखमा पु¥याइ सजाय दिइएको छ । यसका प्रायः सहभागीहरू अन्धविश्वासले किचिएका छन् भने मूल पुरुष सहभागीचाहिँ परम्परालाई तोडेर नयाँ मूल्यको स्थापनामा प्रयासरत देखिन्छ । काठमाडौंको नेवारी पारिवारिक तथा सामाजिकताको सेरोफेरोमा दुखद एवं त्रासद वातावरणमा संरचित यस उपन्यासको अन्त्यमा सुखद एवं आशावादी वातावरणको सङ्केत गरिएको छ । द्योमैजु अर्थात् कुमारीले बिहे गर्न हुन्न भन्ने सामाजिक अन्धविश्वासको विरोध गर्दै कुमारीले पनि स्वेच्छाले बिहे गर्न पाउनु पर्छ भन्ने अवधारणा प्रस्तुत गर्नु यस उपन्यासको मूल उद्देश्य रहेको छ । तृतीपुरुष दृष्टिबिन्दु र वर्णनात्मक शैलीमा संरचित यस उपन्यासमा पूर्वदीप्ति शैली पनि प्रयुक्त छ । सरल र सहज भाषामा लेखिएको यस उपन्यासमा नेवारी शब्दको प्रयोग अत्यधिक रूपमा भएको छ । यसले उपन्यासलाई स्वाभाविक एवं प्रभावकारी बनाएको छ ।

प्रस्तुत उपन्यासको शीर्षक कुमारी शोभा राखिएको छ । कुमारीको अर्थ जीवित देवीका रूपमा पुजिने कन्या हो । उपन्यासका सबै घटना र सहभागी बाल्यकालमा कुमारी बनाइएकी उपन्यासकी केन्द्रीय नारी सहभागी शोभासँग सम्बद्ध भएका र उपन्यासको कथानक पनि उसैको सेरोफेरोमा घुमेको हुँदा उसका नामका अगाडि कुमारी जोडेर राखिएको यस उपन्यासको शीर्षक अभिधात्मक र सामञ्जस्यमूलक रहेको छ ।

३. विषयविस्तार ः कुमारी शोभा उपन्यासमा अभिव्यक्त सांस्कृतिक पक्षहरू

कुनै विशेष संस्कृतिमा आधारित उपन्यासलाई सांस्कृतिक उपन्यास भनिन्छ । यसप्रकारका उपन्यासमा कुनै जातिविशेषको रहनसहन, परम्परा, संस्कार आदिको चित्रण विस्तृत रूपमा गरिएको हुन्छ । मनोविश्लेषणलाई मूल प्रतिपाद्य बनाइएको विजय मल्लको कुमारी शोभा उपन्यासमा काठमाडौंको नेवारी संस्कृतिको प्रस्तुति पाइन्छ । यिनले यस उपन्यासमा वस्तुचयन, पात्रविधान, संवादयोजना, परिवेशवर्णन आदि विभिन्न सन्दर्भ र प्रसङ्गमा नेवारी संस्कृतिका विभिन्न रूपहरूको दिग्दर्शन प्रस्तुत गरेका छन् । यस उपन्यासमा प्रयुक्त संस्कृतिसम्बन्धी विविध सन्दर्भहरूलाई विभिन्न शीर्षक–उपशीर्षकहरूमा विभाजन गरी यसरी केलाउन सकिन्छ ः

(१) ईश्वरीय संस्कृति

(२) लोकप्रचलित संस्कृति

(३) वर्गीय संस्कृति

(४) लोकोक्तिमूलक संस्कृति

(५) गायन, वादन र नर्तनमा आधारित संस्कृति

(६) चाडपर्व, तीर्थ, व्रत, जात्रा आदिमा आधारित संस्कृति

(१) ईश्वरीय संस्कृति

ईश्वरसँग सम्बद्ध विभिन्न गतिविधि एवं क्रियाकलापलाई ईश्वरीय संस्कृतिअन्तर्गत समावेश गर्न सकिन्छ । ईश्वरीयता भनेको अमूर्त एवं अलौकिक शक्तिमा विश्वास गर्नु हो । प्राचीन कालदेखि नै मानिस प्रत्यक्ष एवं परोक्ष रूपमा ईश्वरीय चिन्तनसँग प्रभावित रहेको छ । कुमारी शोभा उपन्यासमा कुनै न कुनै रूपमा ईश्वरीय संस्कृतिलाई प्रस्तुत गरिएको छ । यसप्रकारको सांस्कृतिक प्रस्तुति प्रार्थना, आराधना, पूजाआजा, मन्दिरको दर्शन, व्रत तथा विपद्का समयमा ईश्वरको पुकारा गरी ईश्वरमाथि आस्था र भरोसा गरेको सन्दर्भबाट अभिव्यक्त भएको पाइन्छ । कुमारी शोभा उपन्यासमा अभिव्यक्त ईश्वरीय संस्कृतिसम्बन्धी केही उल्लेखनीय अभिव्यक्तिगत तथ्याङ्कहरू तल दिइन्छ ः

लौ परमेश्वर रक्षा गर हाम्रो ¤ (पृ. ४२) ।

संसारमा परमेश्वरबाहेक मानिसको सहारा को हुन सक्छ ? (पृ. १०१) ।

परमेश्वरलाई पुकारा गर्छु, बिन्तिभाउ गर्छु (पृ. १०८) ।

हे ईश्वर ¤ (पृ. ११५) ।

मेरो कर्ममा त्यस्तो भाग गर्ने लेखेको रहेनछ (पृ. १३४) ।

यो भगवान्कै इच्छा हो (पृ. १६२) ।

सब कुरा परमेश्वरकै हातमा सुम्पिदेऊ (पृ. १६३) ।

(२) लोकप्रचलित संस्कृति

जनजीवनमा परम्परादेखि नै अमीट छाप पार्ने गरी प्रचलनमा रहेका विभिन्न संस्कारजन्य सन्दर्भहरूलाई लोकप्रचलित संस्कृतिअन्तर्गत राखिन्छ । विजय मल्लका उपन्यासमा लोकप्रचलन, सामाजिक अन्धविश्वास, भाग्यवाद, किरिया हाल्ने प्रचलन आदि अनेक सन्दर्भहरूलाई समेटिएको पाइन्छ । यीमध्ये प्रमुख केही सन्दर्भहरूलाई तल प्रस्तुत गरिन्छ ः

(क) लोकप्रचलन

क्ुमारी घरमा हुने भोजमा पूर्वकुमारीलाई निम्तो आउनु (पृ. १) ।

क्ुमारीबाट सबैले टीका थाप्नु (पृ. ३) ।

पर सरेपछि कुमारी हुने अधिकार खोसिनु (पृ.५) ।

पूर्णिमाको दिन चिबहाल, देउताघर र मन्दिरमा बत्ती दिनु (पृ.३३) ।

तारेमाम भनेर अभिभादन गर्नु (पृ. ५५) ।

बिहेको बेला ढोकामा पञ्चबुद्ध र कलशको चित्र बनाउनु (पृ. ५५) ।

जन्मदिनमा दहीचिउरा बाँड्नु (पृ. ५५) ।

मन्दिरबाट फर्कंदा समयबजी र रक्सी खानु (पृ. ६८) ।

बिहान सबेरै कौला गर्नु (पृ. ८१) ।

आफन्तको मृत्यु हुँदा भोकै बस्नुपर्ने (पृ. १७०) ।

(ख) अन्धविश्वास

विभिन्न प्रकारका सामाजिक अन्धविश्वासहरू पुख्र्यौली सम्पत्तिका रूपमा एक पुस्ताबाट अर्को पुस्तामा मौखिक वा श्रुतिपरम्पराका रूपमा हस्तान्तरण भइरहेका हुन्छन् । शिक्षित तथा युवा पुस्ताले यस्ता अन्धविश्वासहरूलाई अस्वीकार गर्न खोजे पनि तिनले कुनै न कुनै रूपमा समाजमा स्थान पाइरहेका छन् । वास्तवमा व्यक्ति जस्तोसुकै शिक्षित र सभ्य भए पनि समाजमा प्रचलित अन्धविश्वासबाट विमुख भई त्यसलाई पूर्ण रुपमा अस्वीकार गर्न सक्दैन । बाहिरी देखावटी रूपमा अस्वीकार गरेजस्तो देखिए पनि तिनका मनमा यस्ता संस्कारहरूले जन्मजात रूपमै घर बनाइसकेको हुन्छ । कुमारी शोभा उपन्यासमा अभिव्यक्त यस्ता अन्धविश्वासहरू उदाहरणको रूपमा तल प्रस्तुत गरिन्छ ः

हिस्टेरियाको रोगीलाई देउता आएको धारणा व्यक्त गर्नु (पृ. ४०) ।

देवीदेवताको दोष लागेको सम्झेर चिना देखाउन खोज्नु (पृ. ४०) ।

मानिसलाई बोक्सीले सताउने, बोक्सीलाई डाम्ने विचारको प्रस्तुति (पृ.४४) ।

द्योमैजुलाई बिहे गर्ने पहिलो व्यक्ति चाँडो मर्र्छ (पृ. ५३) ।

दोष लागेको भनेर अजिमाको पूजा गर्नु (पृ. ५६) ।

द्योमैजुले छुनेबित्तिकै रोग निको भएको विश्वास गर्नु । (पृ. ६४) ।

औषधीले ठीक पार्न सकेन भनेर गुभाजुलाई झारफुक गर्न लगाउनु (पृ. ६९) ।

मोहिनी लगाएर केटीलाई जालमा पार्ने प्रयास गर्नु (पृ. ११८) ।

बिहेको जन्तीमा चिराग बोकेर हिँड्नु (पृ. १२१) ।

बोक्सीलाई डामेमा बोक्सी भाग्छे भन्नु (पृ. १२८) ।

(ख) भाग्यवाद

प्रत्येक मानिस आफ्नो जीवनमा अनेक उद्देश्यका साथ यात्रा गरिरहेको हुन्छ । यात्राको दौडानमा अनेकौं प्रयत्न गर्दा पनि सबै स्थितिमा मानवले सफलता हासिल गर्न सक्तैन । यस्तो स्थितिमा निराशाबाट बच्न ऊ आफ्नो शक्तिभन्दा बाहिरको अलौकिक एवं अमूर्त शक्तिको सहारा लिन खोज्दछ । यसप्रकारको शक्तिमध्ये भाग्यवाद पनि एक हो । यसले मानिसका बा≈य क्रियाकलाप एवं विश्वास दुवैमा प्रभाव पारेको हुन्छ । कुमारी शोभा उपन्यासमा अभिव्यक्त भाग्यवादका उदाहरणहरू यसप्रकार छन् ः

तर उनको भाग्यमा कहाँ लेखिएको छ र ? (पृ. २४) ।

अब भाग्यमा के के लेखेको छ हेरुँ (पृ. ४९) ।

मेरो कस्तो भाग्य हो यो ! (पृ. ५३) ।

सब भाग्यको खेल हो (पृ. ७७) ।

म कस्ती अभागिनी ! (पृ. ७७) ।

यो कस्तो भाग्य हो उनको ¤ (पृ. ९३) ।

मेरै भाग्यमा मलाई छोडिदेऊ (पृ. १०८) ।

भाग्यले दर्शन पाइयो (पृ.१२८) ।

मेरो कर्ममा त्यस्तो भोग गर्ने लेखेको रहेनछ (पृ. १३४) ।

मेरी बहिनीको भाग्य पनि खुल्छ (पृ. १५३) ।

भाग्य नै यस्तो (पृ. १५६) ।

जसको खप्परमा जे लेखेर ल्याएको छ त्यही हुन्छ (पृ. १६३) ।

आखिर आज मर्न लेखेको रहेछ त्यसलाई (पृ. १७१) ।

(ग) किरिया हाल्ने प्रचलन

आफ्ना भनाइहरूलाई जोड दिएर त्यसमाथि अरूलाई विश्वास पैदा गराउन मानिसले किरिया खाने, प्रतिज्ञा गर्ने आदि काम गर्दछ । कुमारी शोभा उपन्यासमा अभिव्यक्त किरियासम्बन्धी तथ्याङ्कहरू यसप्रकार छन् ः

रामोराम सतोसत् (पृ. ८४) ।

धरोधर्म सतोसत् ¤ (पृ. १३६) ।

म मारेको हत्ते (पृ. १५५) ।

(३) वर्गीय संस्कृति

समाजमा उच्च, मध्यम र निम्नवर्गका मानिसहरूको बसोबास रहन्छ । समाजमा बसोबास गर्ने विभिन्न वर्गका व्यक्तिहरूमा पाइने आनीबानी, क्रियाकलाप, चालचलन, लवाइखवाइ आदि गतिविधिहरूसँग सम्बद्ध व्यवहारलाई वर्गीय संस्कृतिभित्र समावेश गर्न सकिन्छ । कुमारी शोभा उपन्यासमा मालिक र नोकरको संवादमा प्रयुक्त भाषाका माध्यमबाट उच्च र निम्नवर्गीय विभेदलाई प्रस्तुत गरिएको छ । वर्गअनुरूप प्रयुक्त हुने नेपाली भाषाका उच्चतम, उच्च, मध्य र निम्न आदरार्थी सबै रूपको भाषिक विन्यास गरी भाषाका माध्यमबाट समेत उपन्यासकारले वर्गीय संस्कृतिलाई स्वाभाविक रूपमा सहजतापूर्वक अगि सारेका छन् ।

(४) लोकोक्तिमूलक संस्कृति

कुमारी शोभा उपन्यासमा विभिन्न प्रकारका लोकोक्ति पनि प्रयुक्त छन् । लोकोक्तिको प्रयोग गर्दा कतिपय लोकोक्तिहरू सामाजिक प्रचलनबमोजिम नै प्रयुक्त भएका छन् भने कतिपयलाई केही भिन्न ढङ्गले प्रस्तुत गरिएको छ । संस्कृतिकै अभिन्न अङ्गको रूपमा लिइने यस्ता लोकोक्तिको प्रयोगमा जीवन्तता, सहजता र स्वाभाविकता पाइन्छ र यिनले यस उपन्यासलाई सहज, स्वाभाविक, कलात्मक बनाउन महत्वपूर्ण भूमिका खेलेका छन् । यस उपन्यासमा प्रयुक्त लोकोक्ति सम्बन्धी केही उदाहरणहरू तल दिइन्छ ः

तपाईंको मुखमा दुधभात (पृ. १३३) ।

हाड नभएको जिब्रो फट्कार्न पाए पुग्यो (पृ. १४०) ।

देखा जायेगा (पृ. १५५) ।

(५) गायन, वादन र नर्तनमा आधारित संस्कृति

गायन, वादन र नर्तनलाई जुनसुकै संस्कृतिको अभिन्न अङ्ग मानिन्छ । कसैकसैले त यिनलाई मात्र संस्कृति पनि भन्ने गर्छन् । वस्तुतः यी मात्र संस्कृति नभएर यी पनि संस्कृतिभित्र पर्दछन् । कुमारी शोभा उपन्यासमा दापा बजाउने (६), ब्यान्ड बाजा बजाउने (२९), धिमे बाजा बजाउने (३०), मुर्दा लाने बेलामा टुमटुम छ्याँ, टुमटुम छ्याँको धुन बजाउने (१२०) आदि प्रसङ्गको उल्लेखबाट वादनसम्बन्धी संस्कृतिको प्रस्तुत भएको छ भने महाकाली, भक्कु भैरवका नाच (३०) आदिको प्रसङ्बाट नृत्यसम्बन्धी संस्कृतिको प्रस्तुति पाइन्छ ।

(६) चाडपर्व, तीर्थ, व्रत, जात्रा आदिमा आधारित संस्कृति

विभिन्न जातजाति, धर्म र सम्प्रदायका व्यक्तिहरूबाट मनाइने विभिन्न चाडपर्व, तीर्थ, व्रत, जात्रा आदि सम्बद्ध जाति वा राष्ट्रको संस्कृतिका अभिन्न अङ्ग हुन् । नेपाल बहुभाषी, बहुजाति र बहुधर्मी मानिसहरूले बसोबास गर्ने मुलुक भएको हुँदा यहाँ विभिन्न प्रकारका चाडपर्व, जात्रा आदि पनि प्रशस्त मात्रामा रहेका छन् । अझ त्यसमा पनि काठमाडौंको नेवारी समाज त चाडपर्व, जात्रा आदिका लागि विशेष उल्लेखनीय रहेको छ ।

विजय मल्लको कुमारी शोभा उपन्यास नेवारी संस्कृतिमा आधारित भएकाले यसमा नेवारहरूले मनाउने चाडपर्व, तीर्थ, व्रत, जात्रा आदिको पनि उल्लेख भएको पाइन्छ । इन्द्रजात्रा, कुमारी जात्रा, कुमारीलाई कालरात्रिमा बलि चढाउने प्रचलन, खड्ग साट्ने तथा पज्रां, सम्यक आदि प्रचलनको उल्लेखबाट विजय मल्लले यस्ता संस्कृतिको झझल्को दिएका छन् ।

४. समापन

नेपाली उपन्यासको इतिहासमा मनोविश्लेषणात्मक उपन्यासहरू सिर्जना गरेर विजय मल्लले यसको श्रीवृद्धिमा विशिष्ट योगदान पु¥याएका छन् । उनले आफ्ना उपन्यासमा मनोविश्लेषणसम्बन्धी विविध प्रकारका सिद्धान्तलाई प्रयोग गर्न खोजेको पाइन्छ । यिनको अनुराधा विशुद्ध मनोविश्लेषणात्क उपन्यास हो र मनोविश्लेषणका सिद्धान्तलाई प्रयोग गर्ने क्रममा नैतिक मूल्य एवं स्वाभाविकताका दृष्टिबाट यो उपन्यास दुर्घटित पनि हुनपुगेको छ । मनोविश्लेषण नै मूल उद्देश्य भए पनि कुमारी शोभा उपन्यासमाचाहिँ विशेष सावधानीका साथ स्वाभाविकतामा आँच आउन नदिई नैतिक मूल्यहरूलाई स्थापना गरिएको छ । यस उपन्यासले जीवित देवी मानिने द्योमैजु अर्थात् कुमारीको मनोग्रन्थि केलाउँदै उसैका केन्द्रीयतामा नेवारी संस्कृतिको विस्तृत सेरोफेरो चाहारेको छ । मनोविश्लेषणलाई साध्य बनाउने क्रममा वस्तुको आवश्यकता र प्रसङ्गअनुसार साधनका रूपमा संस्कृतिको प्रस्तुति भएको यो उपन्यास मनोविज्ञान र संस्कृतिको उत्कृष्ट सङ्गम बन्नपुगेको छ । समग्रमा भन्नुपर्दा मनोविश्लेषणका साथै सांस्कृतिक प्रयोगका दृष्टिबाट यो उपन्यास अत्यन्त सहज, स्वाभाविक, सशक्त एवं सबल भएर देखापरेको छ र यही नै यस उपन्यासको उल्लेखनीय र विशिष्ट पक्ष हो ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।