रौं भेटियो
नङ भेटियो
र भेटियो खप्परको अस्तु ।
ईतिहास वाग्मतीको पानी पनि होईन
जहाँ सुगुँरले बिष्ट्याएको छ ।
सुगुँर, जो आकाश देख्दैन
घाम देख्दैन
केवल घामको सुनौलो मोलम्बा
माटोको छातीमा देख्छ ।
त्यही घामको मोलम्बा चपाउँछ
हरेक रात र बिष्ट्याउँछ
हरेक विहान घाम नझुल्कदै
फेरी चपाउँछ र
रात हुन्छ
म पनि मौन एक सुगुँर भएको छु ।
म पनि यात्रु प्रतिक्षालयको यात्रुजस्तो
मेलम्ची कुरेर बसेको छु ।
मेरो हरेक तिर्खामा धाराको टुटिले
शंख बजाएको छ
हावाभरी मलामीको बाटो जस्तो अश्रुग्याँस फैलिएको छ ।
तावाभरी रोटी जलेको छ
रोटी अर्थात् मेरो टाउको
टाउको अघि कान नजलोस्
मेरो कानले मेरो आखाँ छोपेको छ
मेरो कानले मेरै मृत्युको आवाज सुन्न चाहेको छ
कार्वनमोनोअक्साईडको छुरी रोपिएको ओजनतहले
आँखाँ चिम्लन थालेको छ
मलाई बाठो नभन
मोलमलाई नगरि मैले एउटा व्यस्त पसलबाट
छत्रे टोपी किनेको छु ।
संविधान सभा भवनमा एउटा झुट बोलिएको छ-
'वाग्मतीको पुलमुनी धेरै पानी बगिसकेको छ ।'
कति बेसरम हेर त !
भर्खरै वाग्मतीमा बिष्ट्याउने उही सुगुँर थियो ।
तर,
म पनि एक सुगुँर भएको छु ।