19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

स्वाधीनता

कविता हरि घिमिरे June 26, 2011, 8:17 am

मनुष्यको स्वाधिनताको महान सपना हुन्छ

बिहान फक्रेर बेलुका ओइलिने

एउटा फुल फुले जस्तो होइन

पत्थरका कुना-कुनामा किराहरु

आफ्नो साम्राज्य फैलाएर

स्वाधीनताको गीत गाइरहेका हुन्छन्

आकाससँग उन्मुक्तिको साइनो गाँसेर

म कठघरामा उभिएर भए पनि

तिमीसँग स्वर मिलाउँन चाहन्छु

एक दिनका लागि होइन

एक छिनका लागि होइन

तिम्रा-उसका रगतका थोपाले

सिञ्चिएको हरियो दुबोको चौरमा

गाउँका बच्चा खेल्न पाउँन्

बेरोकटोक हाँस्न पाउँन्

मुजा परेका जेष्ठनागरिकले आफ्नो लठ्ठी दह्रोसँग टेक्न पाउँन् ।

धृतराष्ट्रले धर्तीलाई चिन्न सक्तैनन्

केवल अगाडि दुर्योधन हुन्छन्

फलामको मूर्तिलाई चकनाचूर पार्नेले

मान्छेको स्वतन्त्रताको गीत गाउँनेको गला निमोठ्न

मान्छेको भविष्य हेर्दैनन्

तैपनि स्वाधीनताको सङ्लो सपनामा

सपूतहरु निरासाको कथा भन्दैनन् ।

भर्जिनिया, अमेरिका

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।