18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

समयको चौरास्तामा

कविता पञ्च विस्मृत June 28, 2011, 2:44 pm

१.

हेरिरहेछु अनवरत

समयको चौरास्तामा उभिएर

जन्मिरहेको मान्छे

हुर्किबढिरहेको मान्छे

बुढ्याउलीले अँठयाउदै लगेका

मृत्यूले लुछ्दै लगेका मान्छेहरू

त्यसरी नै

म न जन्मिनै सकें नौलो आयाम

न हुर्कि बढ्नै सकें उल्लेख्य

न त बुढ्याउलीले छुन सक्यो

मलाईदेखि

न मृत्युले नै र्याल काढ्न सक्यो

यसरी नै तर

ठीङ्ग उभिएर सगरमाथा

हेरिरहेछु अनवरत अनवरत

यसरी नै...

२.

हेरिरहेछु अनवरत

समयको चौरास्तामा उभिएर

दिल खोलेर रमाइरहेका मान्छे

पीडा खसाएर रोइरहेका मान्छेहरू

त्यसरी नै

म न उत्ताउलिएर रमाउन सकें

न त स्वयम्लाई भूलेर हाँस्न सकें

न नानाभाती सम्झि सम्झि

रून नै सकें

यसरी नै तर लम्पसार परेर

एउटा तिरस्कृत विराट मरूभूमी

धर्ती अवयव

हेरिरहेछु अनवरत अनवरत

यसरी नै...

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।