19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

संस्कृत महाकाव्यको ऐतिहासिक विकासक्रम र विशेषता

व्यक्तित्व / कृतित्व राजु भुसाल June 28, 2011, 7:16 am

१. विषयप्रवेश

भाषा, भाव र लयको समन्वित रुप कविता हो । कविताको वृहद् रुप महाकाव्यमा युग, समाज, सभ्यता संस्कृति तथा जीवनका विविध आयामलाई विस्तृत रुपमा समन्वित गरिएको हु्न्छ । पूर्व तथा पश्चिम दुबैतिर महाकाव्यको सुदीर्घ परम्परा रहेको छ । पूर्व तथा पश्चिम दुवैतिर युगवाही, जीवनवाही महाकाव्यहरु अपेक्षाकृत कम लेखिए भने अहिले आएर महाकाव्यको स्थान गद्यमहाकाव्य अर्थात् उपन्यासले लिइरहेको देखिन्छ ।

संस्कृत साहित्यमा सर्वाधिक महŒवपूर्ण स्थान महाकाव्यकै रहेको छ भने त्यसपछि नाटकलाई लिइन्छ । संस्कृतमा महाकाव्यको परम्परँ ई.पू. ५०० वर्ष अगाडि मानिने वाल्मीकिको ‘रामायण’ (आदिमहाकाव्य) र व्यासको ‘महाभारत’ (आर्ष ऐतिहासिक महाकाव्य) बाट प्रारम्भ भएको हो । त्यसो त संस्कृत महाकाव्यको परम्परा खोज्दै जा“दा ‘ऋग्वेद’ सम्म पुग्न नसकिने होइन, किनभने ऋग्वेदीय सूŒाmहरुमा महाकाव्यका शैलीजस्तै विस्तृत आयाम बोकेका विभिन्न गाथाहरु पाइन्छन् । वेदमा देवस्तुतिका अतिरिŒाm तत्कालीन दानशील उदार राजाहरुको स्तुतिहरु उपलब्ध छन् । ऋग्वेदमा श्यावाश्य ऋषिले आफ्नो आश्रयदाता राजा तरन्त तथा उसकी विदुषी महिषी शशीयसीको दानको खुब प्रशंसा गरेका छन् । त्यसैगरी ‘संहिता’, ‘बाह्रमण‘आदिमा प्राचीन कीर्तिसम्पन्न राजाहरुको विषयमा अनेक गाथाहरु पाइन्छन्, जसमा प्राचीन, ऐतिहासिक राजाहरुको जीवनीको कुनै विशिष्ट घटनाको साहित्यिक उल्लेख पाइन्छ तर पनि यसमा महाकाव्यिक विशेषता, भाव र लयको समन्वितरुप आदि नपाइने हुनाले यिनलाई महाकाव्यिक विकासको पृष्ठभूमि मानेर ‘रामायण‘ र ‘महाभारत‘ बाट पूर्वीय महाकाव्य प्रारम्भ भएको मान्नुपर्छ ।

‘रामायण‘ र ‘महाभारत‘ मा विभिन्न प्रकारका आख्यान–उपाख्यानहरु रहेका छन् र मूलतः तिनैको परिशोधन–परिवर्तन एवम् परिवद्र्धन गरेर प्रायजसो उŒारवर्ती संंस्कृत महाकाव्यहरु लेखिएका पाइन्छन् (जोशी, २०६५ः ११९) । प्रत्येक साहित्यमा प्रतिभाशाली कविहरुले लेखेका यस्ता मर्मस्पर्शी काव्य हुन्छन्, जसलाई प्रेरणा बनाएर पछिल्लो समयका कविहरुले काव्य रचना गर्छन् । संस्कृत साहित्यमा पनि यस्ता उपजीव्य काव्य छन् जसलाई प्रेरणा बनाएर उŒारवर्ती कविहरुले काव्यको रचना गरेका छन् । यस्ता उपजीव्य ग्रन्थ तीन छन्ः ‘रामायण‘, ‘महाभारत‘ र ‘श्रीमद्भागवत्‘ । यी काव्यहरुको अहिलेको साहित्यमा पनि विशाल, मार्मिक तथा अवान्तर प्रभाव रहेको छ । पछिल्लो काव्य तथा नाटकलाई विषय निर्देश गर्नमा ‘रामायण‘ महŒवपूर्ण छ । ‘रामायण‘ यस्तो एउटा अक्षुण्य स्रोत हो, जसमा डुबुल्की मारेर कवि तथा पाठक आफूलाई पवित्र पारेको अनुभूत गर्छन् र त्यसको स्वरुप र काव्यशैलीले ह्दय कृतकृत भएको अनुभव गर्छन् । ‘महाभारत‘ त व्यासजीको प्रसाद हो, यो त विचार रत्नको अगाध समुद्र नै हो, जसमा गोता मार्ने कवि आज पनि आफ्नो काव्यलाई चमत्कृत र अलङ्कृत बनाउन समर्थ हुन्छ । ‘रामायण‘ र ‘महाभारत‘ यी दुवैलाई कविहरु उपजीव्य ग्रन्थ मान्छन् तर संस्कृत साहित्यमा यस्तो अर्को ग्रन्थ छ, त्यो हो पुराणहरुको मुकुट ‘श्रीमद्भागवत’ । ‘श्रीमद् भागवत’ संस्कृत साहित्यको गीति तथा प्रगीतको अक्षय स्रोत नै हो । यसको माधुर्य भावनालाई ग्रहण गरेर कृष्णभŒाm कविहरुले आफ्ना काव्यमा लालित्य, सरसता तथा माधुर्य भर्दछन् ।

यी तीनै ग्रन्थहरुमा उपजिव्यता तथा काव्यको दृष्टिले समानता हु“दाहु“दै पनि स्वरुपगत तथा कालगत भिन्नता पाइन्छ । ‘रामायण’ महाकाव्य हो, ‘महाभारत’ इतिहास हो तथा ‘श्रीमद्भागवत’ पुराण । वाल्मीकिले ‘रामायण’मा मर्यादा पुरुषोŒाम भगवान रामचन्द्रको आदर्श चरित्रको अङ्कन रसात्मक शैलीद्वारा गरेका छन्, जसमा सुन्न सुख दिने वर्णमात्र नभएर सह्दयका ह्दयलाई मुग्ध गर्ने वाग्विलाश पनि पाइन्छ । महाभारत शान्तरस प्रधान काव्य हो, जसमा व्यासले पाण्डव र कौरबको सङ्घर्ष देखाएर भारतीय संस्कृति र परम्परालई अत्यन्त कलात्मक रुपमा देखाएका छन् । त्यसैले यो मानव सदाचारको सौम्य शिक्षा एवम् विराट कोश हो । ‘श्रीमद्भागवत’ चरित्रप्रधान भएको हुनाले पुराण हो, जसमा मानवहरुको कल्याणका लागि भगवानको अवतार, अनेक प्रकारका लीलाहरु र तत्सम्बन्धी कथाहरुको विवरण छ । स्वरुपगत भेदका अतिरिŒाm यसको अर्को भेद हो–वाल्मीकिको ‘रामायण’ रामचन्द्रको कर्मस“ग सम्बन्धित भएकाले कर्मप्रधान ग्रन्थ हो, ‘महाभारत’ आचार, नीति तथा लोकव्यवहारको विशाल भण्डार भएकाले र ‘श्रमद ्भागवतगीता’ जस्तो आध्यात्म ग्रन्थ समावेश भएकाले ज्ञान प्रधान हो अनि ‘भागवत’ मा न्याय–अन्याय, राग–द्वेष, मैत्री–कलहलाई मेटाउने भगवानको मधुर लीलाहरुको वर्णन भएकाले भŒिाm प्रधान हो । यसरी ‘रामायण’ ‘महाभारत’ तथा ‘भागवत’ कर्मकालिन्दी, ज्ञान सरस्वती तथा भŒिाm गंगाको भव्य त्रिवेणी हो (उपाध्याय, २००१ः २३) ।

‘रामायण’ ‘महाभारत’ र ‘श्रीमद् भागवत’ मा समयको पनि भेद छ । कतिपयले ‘महाभारत’ लाई रामायणभन्दा अगाडिको ग्रन्थ मान्दछन् तर अध्ययनबाट ‘महाभारत’ भन्दा ‘रामायण’ नै आदि ग्रन्थ देखिन्छ । ‘रामायण’मा ‘महाभारत’का कुनै पात्र वा घटनाको वर्णन पाइ“दैन तर ‘महाभारत’को ‘वनपर्व’मा ‘रामोपाख्यान’ नामले अनेक अध्यायमा रामको वर्णन पाइन्छ । त्यस्तै ‘भागवत’को रचना ‘महाभारत’ पछाडि मानिन्छ । ‘भागवत’को प्रथम स्कन्धको पञ्चम अध्यायमा ‘भागवत’को निर्माणको उद्देश्य पाइन्छ । जसअनुसार आचार–विचारको विशाल ‘कोश’ ‘महाभारत’को रचना गरेर व्यासलाई आन्तरिक शान्ति मिलेन । त्यसपछि महर्षि नारदको उपदेशलाई ध्यानमा राखेर उनले भŒिाmप्रधान ‘भागवत’ निर्माण गरे । ‘महाभारत’ वीररस प्रधान भएकाले यसमा चिŒालाई उŒोजित बनाउने भीषण सङ्ग्रामको धेरै चर्चा छ, भगवानको सरस वर्णन छैन । त्यसैले त्यसप्रकारको त्रुटिबाट बच्न, त्रुटिलाई टाढा गराउन मधुरलीला चरित्रवाला भगवानको वर्णन गरेर व्यासले शान्ति प्राप्त गरे । यसरी यी तीनवटा उपजीव्य ग्रन्थबीच रुपगत, आत्मगत तथा कालगत भेद छ ।

२. विषयविस्तार

संस्कृत महाकाव्य परम्परामा वाल्मीकिको ‘रामायण’ र व्यासको ‘महाभारत’ देखि लिएर श्रीहर्षको ‘नैषधीयचरित्र’ (ईसाको बाह्रौं शताब्दी) सम्म अनेकौं महाकाव्यहरु निर्माण भएको देखिन्छ । यी महाकाव्यहरु विषय र शैलीका दृष्टिले पनि फरक–फरक छन् । आर्षमहाकाव्यकालपछि पाणिनि, कालिदास र अश्वघोषका कृतिहरुको चर्चा पाइन्छ । त्यसपछि संस्कृत महाकाव्य परम्परा अलिकति भिन्न (बौद्विक) किसिमको देखिन्छ, जसलाई विचित्रमार्गी महाकाव्यकाल भनिन्छ । जसको प्रतिनिधिन्व भारवि, माघ र श्रीहर्षले गर्दछन् । यसैलाई आधार बनाएर विद्वान्हरुले महाकाव्यलाई विभिन्न दृष्टिले वर्गीकरण गरेको देखिन्छ । गोपीकृष्ण शर्माले ‘संस्कृत साहित्यको रुपरेखा’ कृतिमा गरेको चरणविभाजन युŒिाmसङ्गत देखिन्छ । उनले गरेको चरणविभाजनलाई निम्नानुसार देखाउन सकिन्छ (२०५६ः ९६)

प्रथम चरण– आर्षमहाकाव्य काल (ई.पू.६०० देखि ई.पू. १०००सम्म)े

द्वितीय चरण– विचित्रमार्गी महाकाव्यकाल (ई.पू.५०० देखि ईसाको चौंथो शताब्दीसम्म)

तृतीय चरण– विचित्रमार्गी महाकाव्यकाल (ईसाको पा“चौ शताब्दीबाट बाह्रौं शताब्दीसम्म)

यसरी ‘रामायण’ र ‘महाभारत’ पछि संस्कृत महाकाव्य परम्परामा कलात्मक महाकाव्यको युग प्रारम्भ हुन्छ । कलात्मक महाकाव्य परम्परामा पाणिनि, कालिदास र अश्वघोषका कृति महŒवपूर्ण मानिन्छन् भने त्यसपछिको युग विचित्रमार्गी परम्परामा भारवि, माघ र श्रीहर्ष पर्दछन् ।

२.१. प्रथम चरण आर्षमहाकाव्यकाल (ई.पू. ६०० देखि ई.पू. १०००सम्म)

संस्कृत महाकाव्य परम्परामा वाल्मीकिको ‘रामायण’ र व्यासको ‘महाभारत’लाई आर्ष महाकाव्यका रुपमा लिइन्छ । यी दुई महाकाव्य उपजीव्य महाकाव्य पनि हुन् । जुन काव्यलाई आधार बनाएर उŒारवर्ती कविहरुले काव्यको सिर्जना गर्दछन् त्यस्तो काव्यलाई उपजीव्य भनिन्छ। ‘रामायण’ र ‘महाभारत’लाई उपजीव्य बनाएर वा त्यसबाट प्रेरणा लिएर पछाडिका कालिदास भारवि प्रवृŒिा कविहरुले काव्य रचना गरेको हुनाले यी उपजीव्य ग्रन्थ पनि हुन् । यी दुई काव्यमा उपजीव्यता तथा काव्यका दृष्टिले समानता हु“दा हु“दै पनि स्वरुपगत भिन्नता तथा कालगत भिन्नता पनि पाइन्छ ।

संस्कृत साहित्य परम्परामा वाल्मीकिको ‘रामायण’लाई आदिकाव्य र वाल्मीकिलाई आदिकवि भनिन्छ । ‘रामायण’को मूल कथावस्तु रामकथा हो । रामकथाको अस्तित्व वैदिक कालदेखि नै पाईन्छ । ‘वेद’ ‘ब्राह्रमण’ ‘अरण्यक’ र ‘उपनिषद’मा पनि रामकथाको चर्चा पाइन्छ । वाल्मीकिलाई अनुष्टुप छन्दका आविष्कारक मानिन्छ । ‘रामायण’मा चौबीस हजार श्लोक छन् । विद्वान्हरु रामायणको श्लोकलाई गायत्रीमन्त्रस“ग तादात्म्य गर्छन् । गायत्री मन्त्रमा २४ अक्ष्ँर छ । रामायणको २४ हजार श्लोकमध्ये प्रत्येक हजार श्लोक गायत्रीमन्त्रको प्रत्यक अक्षरबाट

प्रारम्भ हुन्छ । यसप्रकारको संयोजन रामायणमा मात्र पाइन्छ । वाल्मीकिको ‘रामायण’ संस्कृत साहित्यको विकासको पहिलो आधार ग्रन्थ हो । पहिलो पटक रचना गरिएको यसमा जुन किसिमको सौन्दर्य आविष्कार गरिएको छ त्यो अन्यत्र पाईदैन । जीवनलाई ओजस्वी र उदाŒा बनाउन वाल्मीकिले जुन आदर्श रामायणमा पोखे त्यो भारतवर्षमा सधैं अनुकरणीय छ । वाल्मीकिको काव्यको सबैभन्दा ठूलो पक्ष हो उदाŒाता । पात्रको चित्रण गर्दा होस् या प्रकृतिको वर्णन गर्दा होस् उदाŒाता आएको हुन्छ । यसमा आएका राम अनुशासन, आज्ञाकारिता एवम् आदर्शका सच्चा प्रतीक हुन् । उनी कर्मयोगी हुन् । राम कृतज्ञताका सच्चा प्रतिमूर्ति हुन् । रामको चरित्रका बारेमा कवि लेख्छन्ः

कथञ्चिदपकारेण कृतेनैकेन तुष्यति ।

न स्मरत्यकाराणां शतमप्याल्मवŒाया ।।

(राम सधैं दान दिन्छन्, कहिल्यै लिंदैनन् । यिनी अप्रिय कहिल्यै बोल्दैनन् । सत्यको पक्षपाती राम आफ्नो प्राण बचाउन पनि नियमलाई उलङ्घन गर्दैनन् )

रामायणमा राम र सीताकै चरित्रमार्फत कविले आफ्नो उद्देश्य व्यŒाm गर्न चाहेका हुन् । मर्यादा पुरुषोŒाम राम र जनक नन्दिनी सीताकै माध्यमबाट कविले समाजलाई कर्मशील बनाउन चाहेका हुन् । राम र सीताको निर्मल चरित्र वाल्मीकिको कोमल काव्य प्रतिभाको उपज हो । वाल्मीकिको दृष्टिमा चरित्रनै मानवको सर्वश्रेष्ठ सम्पŒिा हो । चरित्रले युŒाm मनुष्यको खोजी तथा उसको वर्णन नै रामायणको उद्देश्य हो । (उपाध्याय, २००१ः ४३) वास्तवमा चरित्रले नै मान्छेलाई देवता बनाउ“छ । यही नै मानवताको चरम अभिव्यŒिाm हो । त्यसैगरी आदर्श पिता, आदर्श माता, आदर्श भ्राता, आदर्श पति, आदर्श पत्नी सबै गृहस्थ जीवनका चाहना र सत्य हुन् । यदि कसैले आदर्श जीवनको अपेक्षा गर्छ भने त्यो ‘रामायण’बाट नै पाउ“छ भन्ने विचार वाल्मीकिको रहेको छ ।

रामायणमा ह्दय पक्षको बाहुल्यता पाइए तापनि कला पक्षलाई पनि छाडिएको छैन । वाल्मीकिको भाषाले उनको आन्तरिक भावलाई अभिव्यŒाm गर्न समर्थ भएको देखिन्छ । साना–साना प्रायः समास विहिन पद, सरस तथा सरल शब्दको प्रयोग जुनरुपमा वाल्मीकिले गरेका छन् त्यसप्रकारको संयोजन अन्यत्र पाइ“दैन । वाल्मीकिले रामायणमा अलङ्कारको प्रयोग केवल चमत्कारका लागि गरेका छैनन् यिनको अलङ्कारविधान रसानुकुल नै देखिन्छ । रामायणमा उपमा, रुपक तथा उत्प्रेक्षाको सुन्दर प्रयोग पाइन्छ । वास्तवमा श्रेष्ठ कविको काव्यमा या श्रेष्ठ कविले आफ्नो काव्यमा जाने–बुझेर शोभा बढाउनाका लागि अलङ्कारको प्रयोग गर्दैनन्, उनीहरुको भावमा आपसे–आप अलङ्कारको उपस्थिति हुन्छ । अशोक बाटिकामा एकान्तमा बसेकी सीताको वर्णन गर्दा होस् या हनृुमानको वर्णन गर्दा होस अलङ्कारको चमत्कृत पइन्छ ।

‘रामायण’को अङ्गीरस ‘करुण’ हो । वाल्मीकिले ‘रामायण’को प्रारम्भमा (शोक श्लोकत्वमागत) नै करुण रसको सूचना दिएको प्रतीत हुन्छ । सीताको अत्यधिक वियोगका प्रसङ्गहरु, रामको वनवासजस्ता पक्षबाट पनि बुझ्न सकिन्छ । त्यसैगरी अङ्गरसका रुपमा ‘श्रृङ्गार’ र ‘वीर’ रस आएको देखिन्छ ।

‘महाभारत’ पूर्वीय लौकिक संंंंंस्कृत साहित्यको दोस्रो ऐतिहासिक महाकाव्य हो । कौरव र पाण्डवको इतिहासको मात्र वर्णन गर्नु यसको उद्देश्य होइन, यसमा हिन्दू धर्मको विस्तृत एवम् पूर्ण चित्रण पनि छ । त्यसैले हिन्दूहरुले यसलाई आफ्नो धर्मग्रन्थ मान्दछन् । यसको पठन–पाठन, श्रवण–मनन आदि सबै प्रकारले मनुष्यको कल्याणकारक छ । भारतीय साहित्यको सर्वश्रेष्ठ ग्रन्थ ‘श्रीमद् भागवतगीता’ यसैको एउटा अंश हो । त्यसैगरी ‘विष्णुसहस्रनाम’ ‘अनुगीता’ ‘भीष्मस्तवराज’ ’ ‘गजेन्द्रमोक्ष’ जस्ता आध्यात्मिक ग्रन्थ पनि यसैमा रहेका छन् । त्यसैले यी पा“च ग्रन्थ यसमा पाईने हुनाले पनि ‘पञ्चरत्न’ का नामले पनि यसलाई चिनिन्छ । यही गुणका कारणले पञ्चमवेदका रुपमा पनि ‘महाभारत’ प्रख्यात छ ।

महर्षि वेदव्यासद्वारा रचना गरिएको ‘महाभारत’को अहिलेको संंस्करणमा १ लाख श्लोक पाइन्छ । त्यसैले यसलाई ‘शतसाहस्र संहिता’ पनि भनिन्छ । ‘महाभारत’ एकैपटक विकास भएको ग्रन्थ होइन । धेरै पहिला प्राचीन कालमा अनेक गाथाहरु भारतवर्षमा प्रचलित थिए, जसमा कौरव तथा पाण्डवहरुको वीरताको वर्णन पाइन्छ । ‘वेद’हरुमा पनि यत्रतत्र वीरपुरुषहरुको उल्लेख छ । यी सबै गाथाहरु तथा आख्यानहरुलाई एकत्रित गरेर महर्षि वेदव्यासले जुन काव्यको रुप दिए त्यो आजकल ‘महाभारत’ को नामले प्रसिद्ध छ । (उपाध्याय,२००१ः ५९)‘महाभारत’ विकासका प्रमुख तीन चरण यसप्रकार छन्ः

२.१.१.‘जय’–‘महाभारत’को मौलिक रुप जय नामले प्रसिद्ध थियो । पाण्डवहरुको विजय वर्णनको कारणले यसको नाम ‘जय’ राखिएको हो ।

२.१.२. ‘भारत’–‘जय’ काव्यभन्दा पछि विकसित भएको ग्रन्थ ‘भारत’ हो । (सोही काव्यको नाम) नामले नै भारतवंशी कौरव र पाण्डवहरुको युद्धको वर्णन यसमा छ भन्न सकिन्छ ।

२.१.३.‘महाभारत’–‘महाभारत’ आध्यात्म, धर्म तथा नीतिको विशद् विवेचना गरिएको विशाल विश्वकोश हो । यसमा एक लाख श्लोक छन् ।

‘महाभारत’ केवल भरत वंशहरुको कथा होइन, यो त भारतवर्षको अन्तर्आत्माको, धार्मिक, नैतिक, सामाजिक एवम् राजनीतिक आदर्श एवम् जीवनको महाकाव्य हो । यसमा जगत एवम् जीवनको विपुल परिभाषा गरिएको छ । धारा प्रवाहरुपमा कथानक आउनु, हरेक घटनामा कौतुहल सिर्जना हुनु यसको विशेषता हो । महाकाव्यको गुणले सर्वथा सिञ्चित हु“दाहु“दै पनि मुख्यतः यो इतिहास हो भने अंशत ‘महाकाव्य’ हो । यहा“ सत्य, प्रकाश र धर्म अनि असत्य अन्धकार र अधर्मबीच युद्ध भएर सत्यको जित भएको देखाइएको छ । यसमा वेदव्यासले भारतीय अर्थनीति, राजनीति तथा अध्यात्म–शास्त्रको सिद्धान्तको सारांश यति सुन्दरताका साथ प्रस्तुत गरेका छन् त्यो वास्तवमा भारतको धर्म तथा तŒवज्ञानको विश्वकोश हो (उपाध्याय, २००१ः ७२) । धर्म नै भारतीय संस्कृतिको प्राण हो । त्यसैले व्यासले यसमा अधर्मले राष्ट्रको नाश तथा धर्मले राष्ट्रको उत्थान हुने कुरा व्यŒाm गरेका छन् ।

विश्वसाहित्यमा ऐतिहासिकताका दृष्टिले ‘महाभारत’ को जे महŒव छ त्यस्तै आध्यात्मिक महŒव पनि रहेको देखिन्छ । हिन्दू धर्मको महŒवपूर्ण ग्रन्थ ‘श्रीमद्भागवतगीता’ यसैमा रहेको छ । त्यसैगरी ‘गजेन्द्रमोक्ष’ ‘अनुगीता’‘भिष्मस्तभराज’ र ‘विष्णुसहस्रनाम’ समेत यसैमा भएको हुनाले यसको आध्यात्मपक्ष अत्यन्त सशŒाm रहेको देखिन्छ । गीतालाई भŒिाm, कर्म र ज्ञानको त्रिवेणी मानिन्छ । गीताले मानिसलाई बा“च्न सिकाउ“छ । वास्तवमा व्यासको अभिप्राय ‘महाभारत’ लेखेर केवल युद्धको वर्णन गर्नुमात्र थिएन, भौतिक जीवनको निस्सारता देखाएर साध्यका रुपमा ‘मोक्ष’को प्रतिपादन गर्ने उद्देश्यले यसको रचना भएको हुनाले आध्यात्मिक दृष्टिले पनि ‘महाभारत’को महŒव रहेको देखिन्छ । मानिसको आध्यात्मिक कल्याण इन्द्रिय निग्रहबाट नै हुन्छ । मानिस इन्द्रियको दास बनेर पशुभाव मात्र प्राप्त पर्छ तर इन्द्रियलाई स्वामी बनायो भने जीवनलाई सफल बनाउन सक्छ भन्ने कुरा यसमा पाइन्छ ।

‘महाभारत’को अर्को विशेषता राष्ट्रभावना हो । यसमा पाइने राष्ट्रभावना वडा उदाŒा, विशुद्ध तथा ओजस्वी छ । राजाको कर्तव्य के हो ? जनताको कर्तव्य के हो ? राजा र जनताबीच कस्तो सम्बन्ध हुनुपर्छ ? राजाले कसरी आफ्नो देशको सुरक्षा गर्न सक्छ ? आदि राष्ट्रविषयक पक्षलाई यसमा अन्यन्त सशŒाm रुपमा देखाइएको छ । राष्ट्रमा धर्म विग्रियो भने समाज तथा राष्ट्रको सर्वनाश हुन्छ । वास्तवमा राजनीतिक नेताका लागि ‘महाभारत’ एक विलक्षण आदर्शका रुपमा उपस्थित छ । रसप्रयोगका दृष्टिले महाभारतमा वीर, करुणा, हास्य रसहरुको प्रयोग पाइए तापनि शान्तरस चाहि“ छताछुल्ल भएर प्रवाहित भएको छ । त्यसैले यसको अङ्गीरस शान्त हो भने अरु (वीर, करुण, हास्य, शृङ्गार) अङ्ग रक्षकका रुपमा आएका छन् । ‘महाभारत’ चरित्र चित्रणका दृष्टिले पनि उल्लेख्य रहेको छ । महाभारतका सबैजसो पात्रहरु (कृष्ण, युधिष्ठिर, भीम, अर्जुन, नकुल, सहदेव, विदुर, कर्ण, आदि) स्वतन्त्र किसिमका छन् । मूल आख्यान र सहायक आख्यानहरुमा विषय प्रस्तुतिको रोचकताका साथै काव्यिक उपकरण जस्तै अलङ्कार, ध्वनि, बक्रोक्ति, रसपरिपाक आदिका दृष्टिले पनि महाकाव्यको काव्यशिल्प महŒवपूर्ण छ । (शर्मा, २०५६ः ७८) त्यसैले महाभारत पूर्वीय संस्कृत साहित्यको विकसनशील महाकाव्यका रुपमा प्रसिद्ध छ ।

२.२. द्वितीय चरण (कलात्मक महाकाव्यकाल (ई.पू.५०० देखि इसाको चौथो शताब्दीसम्म)

आर्षमहाकाव्यकालपछि संस्कृत महाकाव्य परम्परामा पाणिनि (ईसापूर्व दोस्रो वा तेस्रो शताब्दी) देखा पर्छन् । (शर्मा,२०५६ः ९६) पाणिनि संस्कृत साहित्यका प्रसिद्ध वैयाकरण हुन् । यिनको अष्टाध्यायी सुप्रसिद्ध व्याकरण ग्रन्थ हो । यिनले ‘जाम्बवतीविजय’ नामक महाकाव्यको रचना गरेका छन् । यसमा १८ सर्ग भएको चर्चा छ तर यो काव्य अहिले उपलब्ध छैन । (शर्मा, २०५६ः ९६) जाम्बवतीलाई लिन श्रीकृष्ण भगवान पाताल गएर विजयप्राप्त गरेको विषयवस्तु यसमा पाइन्छ । श्रृङ्गाररसको विशेष वर्णन, प्रकृतिको मानवीकरण, मधुरता तथा सरसता यसका विशेषता हुन् ।

अश्वघोषको जीवनीका बारेका मतैक्य पाइदैन । यिनी ‘महाभारत’ र ‘रामायण’को मर्मज्ञ थिए भन्ने कुरा यिनको काव्यको अन्तरङ्गको अध्ययनबाट पुष्टि हुन्छ । यिनको दुई महाकाव्य ‘वुद्वचरित्र’ र ‘सौन्दरानन्द’ मध्ये पहिलोमा भगवान वुद्धको सङ्घर्षमय जीवनका अनेक घटनाहरुको वर्णन पाईन्छ भने अर्कोमा चाहि“ वुद्धका सौतेनी आमापट्टिका भाइ नन्द र उसकी पत्नी सुन्दरीको मूक मनोवेदनाको अभिव्यŒिाm पाइन्छ । यिनको महाकाव्यमा स्वाभाविकता पाइन्छ । उनको प्रसादमयी काव्य पढेर जोकोहीको पनि मन खिचिन्छ । उनले आफ्ना काव्यमा मानवताको सन्देश दिएका छन् । यसका अतिरिŒाm तत्कालीन दरबारिया सा“स्कृतिक वातावरणको चित्रण पनि यिनका महाकाव्यमा पाइन्छ (शर्मा,२०५६ः ९९) अश्वघोष मूलतः बौद्धभिक्षु भएकाले यिनको उद्देश्य बुद्ध धर्मप्रचार गर्नु हो । सौद्धान्तिक दृष्टिले प्रबल र कवितात्मक दृष्टिले दुर्बल भएका यिनका काव्य उच्चतम श्रेणीका भए पनि कलात्मक महाकाव्य परम्पराको आरम्भ गर्ने श्रेय यिनलाई जान्छ । (शर्मा,२०५६ः १०१) त्यसैले अश्वघोषका महाकाव्यहरु आर्ष महाकाव्य र ललित महाकाव्यका सेतु हुन्; सन्धिकालका विशिष्ट साहित्यिक कृति हुन् (शर्मा,२०५६ः १०१) ।

वाल्मीकिबाट पर्याप्त प्रेरणा र स्फूर्ति प्राप्त गरेका कालिदास (ई.पू.प्रथम शताब्दी)ले ‘रघुवंश’ र ‘कुमारसम्भव’ महाकाव्यको रचना गरेको पाइन्छ । यिनी पूर्वीय तथा पाश्चात्य दुबै दृष्टिकोणले संस्कृत साहित्यका सर्वमान्य कवि मानिन्छन् । सुन्दर काव्य लेखेर होस् या काव्यको वर्णन छटाले या सरस गीति काव्य रचना गरेर होस् यिनको ख्याति आजसम्म उŒिाकै सशŒाm छ । महाकवि कालिदासले संस्कृत काव्यसाहित्यको समृद्धशाली परम्परा प्रारम्भ गरे । कालिदास असामान्य प्रतिभा लिएर जन्मेका थिए । उनको असामान्य व्यŒिाmत्वको छाप सबै कृतिमा परेको पाइन्छ । उनका कृतिले आज देशकालको परिस्थितिलाई तोडेर सार्वदेशिक र सार्वकालिक महŒव प्राप्त गरेका छन् ।

‘रघुवंश’ कालिदासको सर्वश्रेष्ठ ग्रन्थ मानिन्छ । रघुको जन्मको पूर्वपीठिकाबाट यस ग्रन्थको प्रारम्भ हुन्छ । राजा दिलिपको गौसेवा, उसको पराक्रम, अद्भुत दानशील स्वभावको वर्णन यसमा छ । त्यसैगरी इन्दुमती स्वयंवर प्रसङ्ग, अन्य राजाहरुलाई परास्त गरेर रघुपुत्र आजको इन्दुमतीस“गको विवाहको वर्णन यसमा कलात्मकरुपमा गरिएको छ । यसको १० औं सर्गदेखि लिएर १५ औं सर्गसम्म राजा रामको वर्णन अन्यन्त सुन्दर तरिकाले गरिएको छ । १४ औं सर्गमा सीताको चरित्रको वर्णन छ भने पछाडिका कतिपय सर्गमा अनेक राजाहरुको वर्णन पाइन्छ ।

‘कुमार सम्भव’ कालिदासको अर्को महाकाव्य हो । यसमा सत्र सर्ग छन् । आचार्य वलदेव उपाध्यायले यसको आठसर्गमात्र कालिदासको ठान्छन् । (उपाध्याय, २००१ः १५१) । यसमा हिमालयको वर्णन, पार्वतीको जन्म, ब्रह्रमाको स्तुति, पार्वतीको तपस्या, कामदेवको दहन, शिवपार्वतीको वर्णन आदि पाइन्छ ।

कालिदास प्रतिभा सम्पन्न स्वतन्त्र कवि हुन् । कालिदासको काव्यमा ह्दयपक्षको बाहुल्यता पाइन्छ । आनन्दवर्धन तथा जर्मन महाकवि गेटेले पनि उनको उदाŒा तथा महनीयताको प्रशंसा गरेका छन् । यिनले कलात्मक महाकाव्यको प्रतिनिधित्व गर्दै जादुमय काव्यको रचना गरेको हुनाले यिनलाई आर्षमहाकाव्य र विचित्रमार्गी परम्पराका बीचका प्रकाशमान मणिका रुपमा लिइन्छ । रसमयी पद्धति अथवा ‘सुकुमार मार्ग’का कविले आफ्नो भावको तीव्रता तथा उदाŒाताको प्रकटन गर्न अलङ्कारको प्रयोग पनि बडा औचित्यपूर्ण तरिकाले गर्दछन् । ‘उपमाकालिदासस्य’ को पदवी उनका लागि सच्चा देखिन्छः

उपमा कालिदासस्य भारवेरर्थगाौरवम् ।

दण्डिनः पदलालित्यं माघे सन्ति त्रयो गुणाः ।।

अभिनब गुप्तले बडा मार्मिक शब्दमा भनेका छन्– रसाभिभूत ह्दयभएका कविद्वारा अभिव्यŒाm अलङ्कारले कटककुण्डलादिवत बाहिरी सौन्दर्य नदिएर त्यसले भित्री सौन्दर्य नै दिन्छ । यसप्रकारको सौन्दर्य कालिदासको काव्यमा पाइन्छ । (उपाध्याय,२००१ः १५४) ।

व्ाँगर्थाविव संपृŒाmौ वागर्थ प्रतिपŒाये ।

जगतः पितरौ बन्दे पार्वती परमेश्वरौ ।।

कालिदासका काव्यमा उपमा प्रयोगका प्रशस्त उदाहरण छन् । कालिदासीय उपमा कतै शास्त्रीय, कतै प्रकृतिसम्बद्ध र कतै मूर्तअमूर्त वस्तुको बीचको उपमाका रुपमा देखापरेको छ (शर्मा, २०५६ः १०९) ।

प्रकृति चित्रणका दृष्टिले पनि कालिदासका काव्य महŒवपूर्ण छन् । कालिदास प्रकृतिका पुजारी थिए । उनको सूक्ष्म दृष्टिले प्रकृतिको सूक्ष्म रहस्यलाई हाम्रा अगाडि ल्याएको छ । यिनको प्रकृति वर्णन गर्ने शŒिाm यति सजीव छ कि त्यो हाम्रा अगाडि ना“च्न सक्छ । मानव र प्रकृति बीचको तादात्म्य देखाएर उनले प्रकृतिको जसरी वर्णन गरेका छन् त्यो अन्य कविले गरेको देखिदैन । ‘मेघदूत’ कविको प्रकृतिको वर्णन गरिएको अद्भुत रचना हो । ‘ऋतुसंहार’मा ऋतुको वर्णन गर्दा होस् या ‘रघुवंश’को प्रथम सर्गमा प्रकृतिको वर्णन गर्दा होस् उनको सुन्दर वर्णन अत्यन्त समञ्जस्य देखिन्छ । कालिदासको प्रकृति वर्णनमा अनेक विशेषता पाइ्रन्छ । कविले मानव सौन्दर्यको तीब्रता तथा यथार्थको अभिव्यञ्जन गर्दा प्रकृतिको आश्रय लिन्छन् । कतै कविले प्रकृति र मानवीय परस्पर मैत्री सम्बन्ध पाउ“छन् । त्यस्तै रस परिपाकका दृष्टिले कालिदास सिद्धहस्त मानिन्छन् ।‘रघुवंश’मा श्रृङ्गार, वीर, करुण र शान्त रसहरुको समन्वय गर्दै अन्तमा शान्त रसको परिपाक भएको छ भने कुमारसम्भवमा पनि श्रृङ्गार आदि रसको अभिव्यŒिाmस“गै वीर रसको परिपाक भएको छ । (शर्मा,२०५६ः ११५) लयप्रयोगका दृष्टिले कालिदासका काव्यमा २० छन्दको प्रयोग पाइन्छ । समग्रमा परिष्कारपूर्ण शैली र स्वच्छन्दवादी भाव, सम्प्रेष्य भाषाशैली, व्यञ्जनाधर्मी काव्यशिल्प, नागर परिवेशको चित्रण, सूŒिाmमयता, उŒिाm वैचित्र्य, अपूर्व कल्पनाशŒिाm, कल्पनाको मोहकता, भावसंयोजन आदि कालिदासका विशेषता हुन् ।

२.३.तृतीय चरणः विचित्रमार्गी महाकाव्य परम्परा (इसाको पा“चौं शताब्दीदेखि इसाको बाह्रौं शताब्दीसम्म)

वाल्मीकि, कालिदास आदिका रसमयपद्धति र सुकुमारमार्गका महाकाव्यको युगपछि संस्कृत महाकाव्य परम्परामा भट्टि, भारवि, माघ तथा श्रीहर्षजस्ताका अलङ्कारबहुल एवम् पाण्डित्यपूर्ण विचित्रमार्गका महाकाव्यहरुको परम्परा देखापर्छ । भावपक्षभन्दा कलापक्षलार्य बढी महत्व दिने कारणले कालिदासपछिका कविहरु र तिनका महाकाव्यहरु विचित्रमार्गी परम्परामा दह्रिन पुग्छन् । वास्तवमा भारविको आगमनपछि काव्यमा भाव र कलाको सन्तुलन विच्छिन्न भई आलङ्कारिक छटा, शब्दचमत्कार र बाह्य आडम्बरले काव्यको आन्तरिक पक्ष दबिएको अनुभव हुन्छ (शर्मा,२०५६ः ११६) । मानव जीवनका व्यापक छाया र छविलाई यस युगका काव्यले उद्घाटन गर्न सकेको देखिदैन । वास्तवमा यस युगका मानव जीवनका शाश्वत पक्षलाई यिनले पक्रन सकेनन् र दरबारकै सेरोफेरोमा उनीहरुको दृष्टि केन्द्रित रह्यो (शर्मा, २०५६ः ११६) ।

विचित्रमार्गी परम्पराका पहिला कवि भट्टिस्वामी हुन् । यिनको समय ४७० देखि ५०० सम्मको मानिन्छ । यिनको काव्यको नाम ‘भट्टिकाव्य’ हो । उनले आफ्नै नामअनुसार महाकाव्यको नाम राखेको पाइन्छ । यसमा बीस सर्ग र ३६२४ पद्यकोे मनोरम रुप पाइन्छ (उपाध्याय,२००१ः १९०) । मर्यादा पुरुषोŒाम रामचन्द्रको जीवनका घटनाहरुको सरस वर्णन पाइने यस महाकाव्यको उद्देश्य मनोरञ्जनका अतिरिŒाm संस्कृत व्याकरण तथा अलङ्कार शास्त्रको पूर्ण ज्ञान गराउनु पनि रहेको छ । (उपाध्याय, २००१ः १९०) कविका अनुसार यो काव्य विद्वान्का लागि दीपतुल्य छ भने व्याकरण नपढेका व्यŒिाmका लागि अन्धकार समान छ ।

‘भट्टिकाव्य’ काव्यमा व्याकरणको ज्ञान छ तापनि महाकाव्यात्मक परिपाटीलाई छाडिएको छैैन । महाकाव्यका आवश्यक गुणलाई अत्यन्त कलात्मक रुपमा संयोजन गरिएको छ । विभिनन् किसिमका अलङ्कार र गुणहरुको प्रयोग पनि यसमा पाइन्छ । समग्रमा व्याकरणका बारेमा चर्चा गर्नु, अलङ्कारको उत्कृष्ट संयोजन गर्नु, प्रकृति अनि ऋतुहरुको पनि मनोरम वर्णन गर्नु, काव्यको परिचयका साथ–साथ संस्कृत व्याकरणको पनि यथेष्ठ ज्ञान एवम् पाण्डित्यको प्रदर्शन गर्दै उŒाm प्रकारको शास्त्रीय महाकाव्य लेखेर संस्कृत महाकाव्य परम्परामा नय“ा मोडको सूत्रपात गरेका छन् ।

यसपछि उल्लेखनीय महाकाव्यका रुपमा भारविको ‘किरातार्जुनीयम्’ देखा पर्दछ । समयका बारेमा भारवि कालिदासको कवित्वबाट प्रभावित भएको अनि ई. ७०० तिरका माघको समयबीच ईसाको छैटौं शताब्दी (५५० देखि ६०० सम्म) भारविको समय रहेको प्रतीत हुन्छ (शर्मा,२०५६ः ११७) । भारविको ‘किरातार्जुनीयम्’ महाकाव्य महाभारतको एक प्रसिद्ध आख्यान (जुवामा हारेका पाण्डवहरु वनबास जानु र अर्जुनले तपस्या गरी किरातरुप महादेवबाट अमोघ पशुपत अस्त्र प्राप्त गर्नु) मा आधारित छ ।

‘किरातार्जुनीयम्’ मा अठार सर्ग छन् जसमा पाण्डवहरुको वनवासदेखि लिएर अर्जुनले पाशुपत् अस्त्र पाउँदासम्मको वर्णन छ । यस महाकाव्यको बीच–बीचमा ऋतु, पर्वत, सूर्यास्त तथा जलक्रिडाहरुको पनि विस्तृत वर्णन पाइन्छ । पूरै चौथो सर्ग शरदऋतु, पञ्चमसर्ग हिमालयपर्वत, षष्ठसर्ग युवती प्रस्थान, अष्ठसर्ग सुराङ्गना विहार तथा नवमसर्ग सुरसुन्दरी सम्भोगमा लगाइएको छ । यस काव्यको प्रधानरस वीर हो भने श्रृङ्गार रस पनि अङ्ग रसका रुपमा आएको छ । यस काव्यको प्रारम्भ ‘श्री’ शब्द (श्रीयः कुरुणामधिपस्य पालिनिम्) बाट भएको छ भने अन्तमा ‘लक्ष्मी’ शब्दको प्रयोग गरिएको छ ।

‘अर्थ गौरवम्’ भारविको मूल विशेषता हो । भनिन्छ– ‘भारवेरर्थगौरवम्’ । महाकवि कालिदासको उपमाजस्तो सुन्दर, मधुर र प्रभावकारी हुन्छ, महाकवि भारविको भाषाशैली त्यस्तै रहेको छ । थोरै शब्दमा धेरै भन्न सक्नु भारविको विशेषता हो । भारविले धेरै महŒवपूर्ण कुरालाई थोरै शब्दमा भनेर आफ्नो अनुपम चातुर्य ‘किरातार्जुनीयम्’ मा देखाएका छन् । भारविले आफ्नो काव्यलाई अलङ्कारले विभुषित गर्ने खुब प्रयत्न गरेका छन् । ऋतु, जलक्रीडा चन्द्रोदयको वर्णन यिनले सुन्दर भाषामा गरेका छन् । अलङ्कार प्रयोगका दृष्टिले कालिदासलाई ‘दीपशिखाकालिदास’ भनेजस्तै भारविलाई ‘आतपत्रभारवि’ भनिन्छ । ‘किरातार्जुनीयम्’ को पा“चौं सर्गको ३९ औं श्लोकमा भारविले निदर्शनाअलङ्कारद्वारा अप्रस्तुतविधानको संयोजन गरेकाले यिनलाई ‘अतपत्रभारवि’ भनिएको हो (शर्मा, १५६ः १२०) ।

भारवि अर्थपक्षलाई भन्दा कलापक्षलाई ध्यान दिने कवि हुन् । कालिदासको समयसम्म भावनात्मक पक्षको प्रधानता रह्यो भने भारविले यसपक्षलाई छाडेर कलापक्षप्रति बढी ध्यान दिए (शर्मा, १५६ः १२०) । त्यसैले मल्लिनाथले यिनको काव्यलाई ‘नारिकेलपाक’ को संज्ञा दिएका छन् (उपाध्याय,२००१ः १८५) । भारविले एउटै अक्षरको प्रयोग गरेर पनि श्लोकको रचना गरेका छन्, जुन यसप्रकारको छः

ननोनन्नुनो नुन्नोनो नाना नानाननाननु ।

नुन्नोऽनुन्नोननुन्नेन्नो नाने नानुन्ननुन्ननुन ।।

यति भएर पनि यिनको कवितामा विचित्र चमत्कार छ–मनोरम गाम्भीर्य, जसले पाठकहरुको ह्दयलाई आफूतिर खिच्न सक्छ । राजनीतिको विशिष्ट वर्णन पनि ‘किरातार्जुनीयम्’मा पाइन्छ । द्वितीय सर्गमा युधिष्ठिर र भीमसेनको संवादले जोकोहीलाई पनि खिच्न सक्छ । भीमसेन र द्रोपदीले आफ्ना सम्मानको सुरक्षाका लागि युधिष्ठिरलाई जसरी उत्साहित गरेका छन् त्यो मानवका लागि उत्साहजनक छ ।

भारवि छन्दका कवि हुन् । यिनको सवैभन्दा प्रिय छन्द ‘वंशस्थ’ हो । उपजाति, स्वागता, वियोगिनी, पुष्पिताग्रा छन्दको प्रयोग यिनको काव्यमा पाइन्छ ।

निष्कर्षमा भारवि वर्णनात्मक तथा तार्किक प्रसङ्गमा विशेष उल्लेखनीय छन् । लययुŒाm माधुर्य गुणको प्रयोगमा कमजोरी पाइए तापनि अलङ्कारको विषयमा यिनको प्रसिद्धि विशेष उल्लेखनीय छ । जेहोस् पाण्डित्यपूर्ण एवम् अलङ्कारबहुल विचित्रमार्गी महाकाव्य परम्पराको प्रारम्भ भट्टिस्वामीबाट भएको भनिए तापनि यसको विशाल गोरेटो निर्माणमा यिनको महŒवपूर्ण योगदान छ ।

पूर्वीय विचित्रमार्गी महाकाव्य परम्परामा महाकवि भारविपछि देखा पर्ने कवि माघ (इसाको सातौं शताब्दी उŒारार्ध ) हुन् । यिनको एउटा मात्र महाकाव्य ‘शिशुपालवध’ २० सर्ग तथा १६५०श्लोकमा आवद्व छ । माघले भारविद्वारा प्रतिष्ठापित विचित्रमार्ग वा अलङ्ककृत शैलीलाई आफ्नै काव्य ‘शिशुपालवध’ मा चूडान्त परिणतिमा पु¥याउन नितान्त सफलता प्राप्त गरे (जोशी, २०६५ः १२३)। त्यसैले भनिन्छ कालिदासको ‘उपमा’ भारविको ‘अर्थगौरव’ र दण्डीको ‘पदलालित्य’ यी तीनै गुण महाकवि माघमा पाइन्छ । जस्तैः

उपमा कालिदासस्य भारविरर्थ गौरवम् ।

दण्डिन पदलालित्यं माघे सन्ति त्रयोगुणः ।।

श्रीकृष्णद्वारा युधिष्ठिरको राजसूय यज्ञमा चेदिनरेश शिशुपालको वधको प्रसङ्ग पाइने यस ‘शिशुपालवध’ महाकाव्यमा उद्धव, बलदेव र श्रीकृष्ण बीचको सल्लाहको वर्णन, द्वारकाका नारीको चित्रण, ऋतुवर्णन, जलक्रीडाको वर्णन आदि पाइन्छ । यसको प्रेरणाको स्रोत मुख्यरुपमा ‘श्रीमद्भागवत’ हो भने गौणरुपमा महाभारत ।

माघ संस्कृत महाकाव्य परम्पराका विशिष्ट साधक हुन् । यिनको ‘शिशुपालवध’ महाकाव्य विचित्रमार्गी परम्पराको महŒवपूर्ण कृति हो । संस्कृत महाकाव्य परम्परामा वृहत्त्रयी अन्र्तगत यिनको ‘शिशुपालवध’ महाकाव्य पर्दछ भने अरु दुई हुन्– भारविको ‘किरातार्जुनीयम्’ र श्रीहर्षको ‘नैषधीयचरित’ । कतिपय विद्वान्हरुले त माघले भारविलाई पनि उछिनेका छन्, भनेका छन् । त्यसैले भनिन्छ ‘तावत् भा भारवेर्भाति यावन्माघस्य नोदयः’ ।

‘माघे सन्ते त्रयोगुण’ । ‘उपमा’ ‘अर्थगौरव’ तथा ‘पदलालित्य’ यी तीनै गुणको कमनीयता यिनको कवितामा पाइन्छ । कतिपय आलोचकहरुले पूर्वोŒाm वाक्य कुनै माघभŒाm पण्डितको उनीप्रतिको सद्भाव हो भनेका छन् तर पनि माघमा कालिदासमा जस्तो उपमा नपाइएला तर सुन्दर उपमाको अभाव यिनमा छैन, न त अर्थगौरवको कमी । पदको लालित्य विन्यासमा निःसन्देह यिनी प्रशंसनीय छन् (उपाध्याय, २००१ः २०२) । माघको ‘पदशैय्या’ यति राम्रो छ कि कुनै पनि शब्द आफ्नो ठाउ“बाट हटाउन सकिन्न ।

माघ सरल कवि मात्र छैनन् ‘धर्मशास्त्र’ का प्रकाण्ड विद्वान् पनि थिए । वेद, दर्शनदेखि लिएर राजनीतिसम्मको विशिष्ट परिचय उनको काव्यमा पाइन्छ । उनको ज्ञान हिन्दूदर्शन, नाट्यशास्त्र, अलङ्कारशास्त्र, व्याकरण, सङ्गीत आदिशास्त्रमा वडा उत्कृष्ट थियो(उपाध्य,२००१ः २०३) । त्यसैले राजशेखरले माघलाई शास्त्रकविको नाम दिएका छन् । साथै काल्पनिक विचित्रता र वर्णनात्मक विचित्रताका आधारमा कविमाघलाई ‘घण्टामाघ’ पनि भनिएको छ (शर्मा, २०५६ः १२९) ।

भारविमा जस्तै माघमा अर्थगौरवको उत्पादनमा विशेष क्षमता छ । माघले ‘शिशुपालवध’ महाकाव्य भारविकै काव्यकलास“ग प्रतिस्पर्धा गर्न लेखेको प्रतीत हुन्छ (शर्मा, २०५६ः १३२)। रचनागत समानताका आधारमा पनि भारविस“ग माघको तुलना गर्न सकिन्छ । पदविन्यासमा पनि माघ दण्डीकै बराबर मानिन्छन् । नूतन–नवीन शब्दको यिनले यति धेरै प्रयोग गरेका छन् कि नया“सर्ग आउ“दा नया“–नया“ शब्दको प्रयोग पाइन्छ (उपाध्याय, २००१ः २०६)। त्यसैले भनिन्छ–‘नवसर्गगते माघे नवशब्दो न विद्यते’ । वास्तवमा यो कथन अतिवादी नभएर वस्तुवादी नै छ ।

‘शिशुपालवध’ मा यमक, अनुप्रास, उपमा, उत्प्रेक्षा, समासोŒिाm, रुपक आदि अलङ्कार पाइन्छ । उपमाको प्रयोगमा कालिदासलार्ई भेट्न नसके तापनि उपमा प्रयोग भने उत्कृष्ट नै छ । श्लेषालङ्कारको प्रयोगमा माघले भारविलाई पनि उछिनेका छन् (खनाल, २०६३ः ५०)। यसरी अलङ्कार प्रयोगमा यिनको प्रसिद्धि यत्रतत्र देखिन्छ । छन्दका दृष्टिले यसमा धेरै छन्द पाइए तापनि ‘मालिनी’ छन्दको प्रयोगमा विशेष सफलता मिलेको छ । समग्रमा उपमा, अर्थ गौरव र पदलालित्यमा प्रसिद्धि, विद्वतापूर्ण अभिव्यŒिाm, आलङ्कारिक चमत्कार, नया“–नया“ शब्दको प्रयोग आदि यिनका महŒवपूर्र्ण विशेषता हुन् ।

श्रीहर्ष (बाह्रौं शताब्दी) संस्कृत विचित्रमार्गी महाकाव्य परम्पराका अन्तिम तर महŒवपूर्ण प्रतिभा हुन् । यसपछि पनि संस्कृत महाकाव्यहरु लेखिएकै हुन्, तर श्रीहर्षसम्मका प्रतिभाका महाकाव्यहरुका दा“जोमा ती आउन सक्दैनन् (शर्मा, २०५६: १३४)। निषधदेशका राजा नल र दमयन्तीको प्रेमकथामा आधारित ‘नैषधीयचरित’ महाकाव्यमा लामा–लामा २२ सर्ग र २८३० श्लोक छन् । आरम्भमा राजा नलको विशद् वर्णन छ । राजाले हंसलाई दमयन्तीकहा“ पठाएको, हंसले त्यहा“ गई एकान्तमा नलको सौन्दर्यको वर्णन गरेको, राजा भीमले दमयन्तीका लागि स्वयंवरको आयोजना गरेको, देवताहरु नलको रुप धारण गरेर सभामा उपस्थित भएको, देवताहरुले नलप्रति दमयन्तीको अनुराग देखेर आफ्ना विशिष्ट चिन्हद्वारा नललार्ई चिन्ने वातावरण बनाएको तथा नल दमयन्तीको विवाह भएको प्रसङ्ग यसमा छ । अन्त्यमा नल र दमयन्तीको श्रृङ्गार वर्णन, स्वयंवरमा आएका राजाहरुको वर्णन, कलियुगको चित्रण, देवस्तुति तथा सूर्योदयको वर्णन पनि पाईन्छ ।

‘नैषधीय चरित’ महाकाव्य श्रीहर्षको उत्कृष्ट काव्य सिर्जनाको ज्वलन्त नमुना हो । श्रृङ्गाररसको विभिन्न दशाको चित्रण गर्नमा श्रीहर्षको प्रतिभा चरम सीमामा पुगेको छ । श्रृङ्गारपक्षको यसप्रकारको विचित्र संयोजन थोरै काव्यमा पाइन्छ, जुन श्रीहर्षको काव्यमा छ । श्रीहर्ष नारीरुपको वर्णनमा बडा शŒिाmशाली छन् । यसमा दमयन्तीको रुपको वर्णन अनेक अवसरमा गरिएको छ तापनि हरेकपटक नया“पन पाइन्छ । कविमा कल्पनाको दारिद्रता छैन । विप्रलम्भ शृङ्गारको वर्णनमा पनि श्रीहर्ष अद्भुत छन् । यस्तै श्रृङ्गारसको भावनालाई लक्ष्य गरेर केही विद्वान्हरु अश्लीलताको आरोप पनि लगाउ“छन् तर यिनको काव्यकृति अध्ययनगर्दा त्यस खालको आरोप निरर्थक प्रतीत हुन्छ (शर्मा,२०५६: १४२) ।

अलङ्कार प्रयोगमा श्रीहर्ष श्लेष, यमक, अनुप्रासमा विशेष चाख राख्छन् । यिनले एउटै श्लोकमा चार देवता र एक नलसमेत पा“च जनाको छुट्टाछुट्टै अर्थ द्योतन गर्ने श्लेषात्मक आलङ्कारिक योजना गरेर आफ्नो विलक्षण कवित्वको परिचय दिएका छन् (शर्मा,२०५६ः १३७) । अलङ्गारको छटाले यिनको काव्य अत्यन्त सुन्दर छ ।

निष्कर्षमा श्रीहर्ष संस्कृत विचित्रमार्गी महाकाव्य परम्पराका एक उच्च कोटिका कवि हुन् । यिनले श्रृङ्गाररसको प्रयोग आफ्नो काव्यमा जसरी गरेका छन् त्यो कसैले पनि गर्न सकेको देखिंदैन । यिनी अलङ्कृत शैलीका सर्वश्रेष्ठ काव्य रचयिता हन्, (उदितेनैषधे काव्ये क्व माघः, क्व च भारविः) भन्नेकुरामा कुनै सन्देह छैन ।

३. समापन

संस्कृत महाकाव्यको परम्परा ई.पू.५०० वर्ष अगाडि मानिने वाल्मीकिको ‘रामायण’ (आदिमहाकाव्य) र व्यासको ‘महाभारत’ (आर्ष ऐतिहासिक महाकाव्य) बाट प्रारम्भ भएको हो । संस्कृत साहित्यमा ‘रामायण’, ‘महाभारत’, र ‘श्रीमद् भागवत्’लाई उपजीव्य बनाएर पछाडिका थुप्रै महाकाव्यकारहरु (अरु साहित्यकारहरुसमेत)ले थुप्रै महाकाव्यहरुको रचना गरेका छन् । ‘रामायण’ र ‘महाभारत’ पछि संस्कृत महाकाव्य परम्परामा कलात्मक महाकाव्यको युग प्रारम्भ हुन्छ । कलात्मक महाकाव्य परम्परामा पाणिनि, अश्वघोष र कालिदास पर्दछन् । आर्षमहाकाव्य परम्परा र विचित्रमार्गी परम्पराका बीचमा देखिने कालिदासकै महाकाव्यात्मक योगदानका कारण संस्कृत साहित्यले सफलताको बाटो लिएको हो । त्यसैले कालिदासलाई संस्कृत महाकाव्य परम्पराका मध्यमणिका रुपमा लिइन्छ । वाल्मीकि, कालिदास आदिका रसमयपद्धति र सुकुमारमार्गका महाकाव्यको युगपछि संस्कृत महाकाव्य परम्परामा भट्टि, भारवि, माघ तथा श्रीहर्ष जस्ताका अलङ्गारबहुल एवम् पाण्डित्यपूर्ण विचित्रमार्गका महाकाव्यहरुको परम्परा देखापर्छ । भावपक्षभन्दा कलापक्षलाई बढी महत्व दिने कारणले कालिदासपछिका कविहरु र तिनका काव्यहरु विचित्रमार्गी परम्परामा दरिन पुग्छन् ।

सन्दर्भसामाग्रीः

उपाध्याय, बलदेव, संस्कृत साहित्यका इतिहास, दशम संस्करण, वाराणसीः शारदा निकेतन, ई.२००१ ।

खनाल, चूडामणि, संस्कृत साहित्यको परम्परा, काठमाण्डौः साझा प्रकाशन, २०६३ ।

गैरोला, वाचस्पति, संस्कृत साहित्यका इतिहास, वाराणसीः चौखम्बा विद्याभवन, ई.२००९ ।

जोशी, कुमारबहादुर, महाकवि देवकोटा र उनका महाकाव्य, चौथो संस्करण, काठमांडौः साझा प्रकाशन, वि.स.२०६५ ।

पौड्याल, वीणा, वेदपुराणका केही रत्नहरु, काठमांडौः साझा प्रकाशन, २०६७ ।

लुइटेल, खगेन्द्रप्रसाद, कविता सिद्धान्त र नेपाली कविताको इतिहास, काठमांडौः ने.रा.प्र.प्र, २०६० ।

शर्मा, गोपीकृष्ण, संस्कृत साहित्यको रुपरेखा, द्वितीय संस्करण, अभिनव प्रकाशन, काठ्माडौंः २०५६ ।

बुटवल बहुमुखी क्याम्पस

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।