19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

वेद र क्रिकेट

कविता सुधीर छेत्री July 2, 2011, 6:15 am

ससाना वैदिक टाउकाहरू

बालुवाको बगरमा क्रिकेट खेलिरहेछन्।

लामा उद्देश्यपरक दाह्रीले

गेरूवा-वस्त्रमाथि अल्झेको टाउकोबाट

योगको निमन्त्रणा दिइरहेछ।

पर पोखरीमा

छायॉं ढलपल गर्नु नै कत्रो अध्यात्म छ।

ताछेका टाउकाहरू

अहिले

विकेटहरूबीच कुद्दैछन्।

हरियो डॉंडाको समवेत गम्भीरताले

यो गुरुकुलको अनुशासन निक्कै बुझेजस्तो

हलुका टाउको हल्लाउँदैछ।

थप्पडीको सिम्फोनी,

उच्चारणको कोरस,

अर्थहरूको सारेगम।

आचार्यज्यू अलि लामो छुट्टी पाऊँ न !

परीक्षाको प्रश्न कठिन पाएर

एउटी बालिकाले आत्महत्या गरी। आज।

गुरूजी मरीमरी शङ्ख फुकिबस्छ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।