14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

प्रथम नेपाली महिला उपन्यासकार पवनकुमारी देवी

व्यक्तित्व / कृतित्व लीला लुइटेल July 4, 2011, 2:11 am
लीला लुइटेल
लीला लुइटेल

१. पृष्ठभूमि

नेपाली साहित्यका विभिन्न विधामा महिलाहरूले दिएको योगदानबारे अध्ययन–अनुसन्धान गर्ने क्रममा पवनकुमारी देवीको प्रतिज्ञा उपन्यास फेला प¥यो । हालसम्मको शोधखोजबाट प्राप्त जानकारीअनुसार अम्बालिकादेवीको राजपुत रमणी (सन् १९३२) महिलाद्वारा लिखित पहिलो नेपाली उपन्यास भए पनि नेपाली भूमिमै बसेर महिलाद्वारा लेखिएको पहिलो नेपाली उपन्यास पवनकुमारी देवीको प्रतिज्ञा हो । २०१७ मा प्रकाशित भनेर साहित्यको इतिहासमा लेखिएको पाइए पनि यस उपन्यासमा कतै पनि प्रकाशित मिति देखिएन ।

अध्ययन र खोजकै सिलसिलामा केही समयपछि पवनकुमारी देवीद्वारा लिखित प्रतिज्ञा (२०१७) उपन्यास फेला प¥यो । प्रतिज्ञा (२०१७) उपन्यासको दोस्रो छपाइ फेला परेपछि उपन्यासकार पवनकुमारी देवी र यस उपन्यासबारे सम्बन्धित समालोचक, इतिहासकार, अन्वेषक आदि तत्कालीन विभिन्न व्यक्तिहरूसँग सोधपुछ गर्दा केही पनि पत्ता लाग्न सकेन । लामो समयको अथक् प्रयासपछि पवनकुमारी देवीका छोरा डा. ज्ञानेन्द्र श्रेष्ठसँग सम्पर्क भयो । यसपछि मात्र पवनकुमारी देवी र प्रतिज्ञा उपन्यासबारे जानकारी प्राप्त भयो ।

१. परिचय

साहित्यकार पवनकुमारी देवीको जन्म १९६९ साउन १७ गते पाल्पा जिल्लाको को मेलधारा भन्ने ठाउँमा भएको हो । यिनका बाबुको नाम शेषनारायण श्रेष्ठ र आमाको नाम मुनीन्द्रकुमारीदेवी हो । दिदीको मृत्युपश्चात् परासी निवासी आप्mनै भिनाजु जुलुमबहादुर श्रेष्ठसँग विवाह भएकी पवनकुमारीले औपचारिक शिक्षा पाएकी थिइनन् । आपूmले औपचारिक शिक्षा हासिल गर्न नसके पनि अरू महिलाहरूलाई शिक्षित बनाउने उद्देश्य राखेर यिनले २०१९ सालमा नवलपरासी जिल्लामा पवन कन्या प्राथमिक पाठशाला पनि स्थापना गरेकी थिइन् । हाल यो पाठशाला माध्यमिक विद्यालयको रूपमा सञ्चालित छ । शिक्षाप्रेमी, साहित्यसर्जक पवनकुमारी देवीका प्रतिज्ञा शीर्षक उपन्यास र पवन देवीका नामबाट श्री बिन्दु भजन माला (२०४६) शीर्षक भजन सङ्ग्रह प्रकाशित भएको पाइन्छ । यिनको मृत्यु २०४७ साल असार छ गते भएको हो ।

२. विषयप्रवेश

प्रकाशन मिति, प्रकाशन स्थान, प्रकाशक आदि केहीको पनि उल्लेख नगरी बेवारिसे अवस्थामा छापिएको प्रतिज्ञा उपन्यास सानो साइजको ७२ पृष्ठमा संरचित छ । यसमा उपन्यासकारको भूमिकाको रूपमा पात्रहरूको परिचय समावेश गरिएको छ । युवासुलभ भावुकता, स्वच्छन्द प्रेम र मिलनलाई विषयवस्तु बनाएर लेखिएको यो उपन्यास वस्तुसङ्गठन, कथानकको विस्तार, भाषिकविन्यास तथा अभिव्यक्ति कौशलका दृष्टिले त्यति सबल देखिँदैन । हिन्दीमिश्रित छ्यासमिसे भाषा, वर्णनात्मक संवादात्मक शैलीको प्रयोग पाइने यस उपन्यासका ठाउँठाउँमा भजन र संस्कृतका उक्तिहरूको पनि प्रयोग गरिएको छ ।

महिला लेखनका दृष्टिले नेपाली साहित्यको इतिहासमै पहिलो हुनपुगेको पवनकुमारीको उक्त उपन्यास प्रकाशित हुन नपाउँदै दुर्घटनाको सिकार भएछ । प्रुफ संशोधनसमेत नभई छापिएको हुनाले अत्यधिक गल्तीहरूका कारण यस उपन्यासलाई पाठकसामु नपु¥याउने निर्णय उपन्यासकार र उनको परिवारले गरेछ । यसबारे मेरो गन्थन शीर्षकमा स्वयं उपन्यासकारद्वारा नै उपन्यासको भूमिकामा अभिव्यक्त गरिएको छ ।

पवनकुमारी देवीका पति जुलुमबहादुर श्रेष्ठ औषधोपचारमा संलग्न व्यक्ति भएका हुनाले पवनकुमारी देवीको पहिलोपटक छापिएको प्रतिज्ञा उपन्यासको १००० प्रतिका सम्पूर्ण पानाहरू च्यातेर औषधीको पुरिया बनाउने काममा प्रयोग गरियो । त्यसबेला सबै पुस्तक नष्ट गरिएको भनिए पनि एक प्रतिचाहिँ हेर्ने र पढ्ने मौका यस पङ्क्तिकारलाई मिलेको छ । यसरी आप्mनो दुख त्यसै खेर गएको देखेर यसलाई पुनः प्रकाशन गर्ने विचार उपन्यासकारको भएछ । उदय मासिकका तत्कालीन सम्पादक÷प्रकाशक काशीबहादुर श्रेष्ठको सहयोगबाट परिष्कार–परिमार्जन गरी २०१७ आश्विनमा यस उपन्यासलाई पुनः प्रकाशन गरियो । उपन्यासकार स्वयंले ‘पुनःमुद्रण’ भनेर आप्mनो भूमिकामै उल्लेख गरे पनि आश्वीन २०१७ अर्थात् सितम्बर १९६० मा पहिलो पटक भनी यो छापिएर बाहिर आएको देखिन्छ । यसको मूल्यचाहिँ रु. १ रहेको छ भने प्रकाशकको स्थानमा

श्रीमती पवनकुमारी देवीका निम्ति

नेपाली साहित्य मण्डल

२५।९७, चौखम्बा, वाराणसी — १ (उ. प्र.) भनी उल्लेख गरिएको छ ।

प्रतिज्ञा उपन्यास २००३ सालतिर लेखिएको अनुमान गर्न सकिन्छ । २०१६ वैशाख ३ गते अर्थात् १४।४।५९ मा लेखिएको उपन्यासको दोस्रो छपाइको भूमिकामा ‘१३–१४ वर्ष अगाडि नै लेखी तयार पारिएको’ भन्ने उपन्यासकारको भनाइले यस कुरालाई पुष्टि गर्छ । प्रथमपटक छापिएको उपन्यासमा प्रकाशन मितिको उल्लेख नपाइए पनि यो उपन्यासको पहिलो छपाइ २०१४–१५ सालभन्दा अगि भैसकेको हुनुपर्छ ।

प्रतिज्ञा उपन्यासको प्रथम छपाइको पृष्ठ ७२ मा ‘यसको आगे किस्मतका चक्कर पढ्नुस् ¤¤’ भनेर उपन्यासको अन्त्य गरिएको छ । यसबाट उपन्यासकारले किस्मतका चक्कर शीर्षक अर्काे उपन्यास लेखिसकेको अथवा लेख्ने योजना बनाएको अनुमान गर्न सकिन्छ भने अर्कोतिर प्रतिज्ञा उपन्यासको दोस्रो भागका रूपमा लेखिएको प्रतिज्ञा भङ्ग शीर्षक उपन्यास पनि अप्रकाशित अवस्थामै रहेको छ । प्रतिज्ञा उपन्यासको पृष्ठ ४६ मा प्रेमिका सुशीलाले आप्mनो प्रेमी विनोदलाई प्रेमोपहारको रूपमा ताल्चा दिएको प्रसङगलाई यसरी रहस्यमै राखिएको छ ः

... सुशीलाले एउटा अनौठोको सानो ताल्चा विनोदको हातमा राखिदिइन् । यो ताल्चा देखेर विनोदलाई गजब लाग्यो ।

...................................

(पाठकवर्ग ! ‘त्यो प्रेमोपहार’ अनौठाको सानो पितले ताल्चा सुशीलाले विनोदलाई प्रदान गरेको रहस्य के हुन सक्तछ ? थाहा छ ? )

यसरी प्रतिज्ञा उपन्यासमा उल्लिखित यस रहस्यको उद्घाटन अप्रकाशित उपन्यास प्रतिज्ञा भङ्गमा गरिएको जानकारी पाइन्छ ।

यसरी एकपटक प्रकाशित भैसकेको सारा पुस्तक नष्ट गरी त्यसलाई परिष्कार–परिमार्जनका साथ पुनः प्रकाशित गरिएको यो घटना सम्भवतः नेपाली साहित्यमै पहिलो हुनुपर्छ र त्यसपछि पनि यस्ता घटनाहरू भएको कुनै जानकारी पाइँदैन । यसबाट पवनकुमारी देवी आप्mना कमीकमजोरीलाई सार्वजनिक रूपमा व्यक्त गर्नसक्ने महान् व्यक्तित्वका रूपमा देखिन्छिन् । उनी र उनको परिवारले चाहेको भए उक्त दुर्घटनालाई ओझेलमा राखेरै पनि पुस्तक पुनः प्रकाशन गर्न सकिने स्थिति थियो । यसका साथै परिष्कृत–परिमार्जित साहित्यप्रति आस्था राख्ने सचेत सर्जकका रूपमा पवनकुमारी देवीलाई लिन सकिन्छ ।

३. विषयविस्तार : प्रतिज्ञा उपन्यासको विश्लेषण

लघु आयाममा संरचित पवनकुमारी देवीको प्रतिज्ञा (२०१७) उपन्यास आकारका दृष्टिले पहिले प्रकाशितभन्दा केही ठूलो देखिन्छ । पहिले छापिएर नष्ट गरिएको पुस्तक ७२ पृष्ठमा आबद्ध रहेको छ भने परिमार्जन गरी दोस्रोपटक छापिएको पुस्तक १०० पृष्ठमा विस्तारित छ ।

साना–ठूला सबैजसो कृतिहरू चिह्नाङ्कित वा अचिह्नाङ्कित रूपमा कुनै न कुनै ढङ्गले विभाजित हुन्छन् भने आख्यानात्मक संरचनामा आबद्ध ठूला आयामका कृतिमा विभाजन झनै अत्यावश्यक हुन्छ । पहिले प्रकाशित उपन्यासमा परिच्छेद विभाजन भद्रगोलको अवस्थामा थियो भने पछि प्रकाशित उपन्यासमा परिच्छेद विभाजन अत्यन्त व्यवस्थित रहेको पाइन्छ । आख्यानात्मक संरचनाका रूपमा रहेको यो औपन्यासिक कृति लामा छोटा सत्र भागमा अङ्कद्वारा विभाजित देखिन्छ । आवश्यकताअनुरूप परिच्छेदहरूको उपविभाजन पनि गरिएको यस उपन्यासमा उपविभाजनको सङ्केतचाहिँ ê ê ê चिह्नद्वारा गरिएको छ । यसअनुसार परिच्छेद १ र १४ पाँच उपभागमा विभाजित छन् भने परिच्छेद ७ र १७ चार उपभागमा विभाजित छन् । यसैगरी परिच्छेद २, ४, ६ र १६ लाई तीन उपभागमा विभाजन गरिएको छ भने परिच्छेद ५, ८, ११, १२ र १३ लाई दुई उपभागमा विभाजन गरिएको छ । परिच्छेद ३, ९, १० र १५ चाहिँ कुनै पनि उपभागमा विभाजित छैनन् । यसमा गरिएको विभाजन र उपविभाजनको सीमाङ्कन घटना र प्रसङ्गको परिवर्तनसँगै भएकाले त्यो सहज र स्वाभाविक छ । प्रेमप्रणयमूलक विषयलाई प्रस्तुत गरिएको यस उपन्यासको कथासार यस्तो छ ः

पाल्पा निवासी शेखर साहुकी छोरी सुशीला बिहे गर्न उमेरमा पुगेकी छे । गाउँका ठालुहरूले ऊप्रति राखेको गिद्धेदृष्टिका कारण उसलाई तराईमा रहेको मामाको मौजामा पठाइन्छ । त्यहाँ ऊ उसकी आमा र दाजु (मामाको छोरो) रामबाबुका साथमा रहेकी छ । रामबाबुले आप्mना साथी डा. विनोदलाई बोलाएका बेलामा सुशीला बिरामी पर्छे र डा. विनोदले उसको उपचार गर्छ । यसैक्रममा उनीहरूको प्रेम पर्छ । यता डा. विनोद आप्mनो घरमा फर्किन्छ भने सुशीला पनि आप्mनी आमाको साथ लागी पाल्पा फर्किन्छे । यही समयमा कसैले सुशीलाको विवाह हुने भन्ने चिठी विनोदको हातमा पारिदिन्छ । यस कुराले गर्दा विनोद थला पर्छ । ऊ बिरामी भएको थाहा पाएर उसलाई भेट्न आएको रामबाबुबाट सुशीलाको विवाहको कुरो झुठो भएको र सो चिठी पनि नक्कली भएको थाहा पाई विनोद ढुक्क हुन्छ । डाक्टरले हावापानी फेर्ने सल्लाह दिएकाले ऊ सुशीलाको गाउँमा जान्छ र त्यहाँ चिना जुराई उनीहरूको विवाहको निधो हुन्छ । उनीहरूको धुमधामसँग विवाह भएको उल्लेख गरी सुहागरातको प्रसङ्गमा पु¥याई यस उपन्यासको अन्त्य गरिएको छ ।

सङ्गठनका दृष्टिले हेर्दा प्रतिज्ञा उपन्यासमा कृति र वस्तुका सङ्गठनको विन्यास आदि, मध्य र अन्त्यका क्रममा क्रमिक रूपले भएको छ । कृतिको सङ्गठनका सन्दर्भबाट हेर्दा यसको आदि भागमा उपन्यासकी प्रमुख सहभागी सुशीला यौवनावस्थामा पुगेकी र गुन्डाहरूको गिद्देदृष्टि तथा त्यसबाट हुनसक्ने दुर्घटनाबाट जोगाउन उसलाई मावली पठाइएको प्रसङ्गबाट मूलकथ्य अगाडि सारिएको छ । मध्य भागमा सुशीला बिरामी पर्नु र मूल सहभागी डा. विनोदले गरेको उपचारबाट ती दुईमा विकसित भएको प्रेमप्रणयको सन्दर्भलाई प्रस्तुतिका साथ कथ्यको विस्तार गरिएको छ । अन्त्य भागमा प्रमुख सहभागीहरूको विवाह गराई मूल कथ्यको पुष्टीकरण गरी निष्कर्ष अगि सारिएको छ ।

विषयविस्तारका दृष्टिले पनि अगिल्लो छपाइको तुलनामा परिष्कृत र परिमार्जित रहेको प्रतिज्ञा उपन्यासको ठाउँठाउँमा वस्तुसँग सम्बद्ध कतिपय घटनाको वर्णन विस्तारपूर्वक गरिएको भए पनि अधिकांशतः घटना वर्णनमा एकरूपता र स्वाभाविकता पाइन्छ ।

यसरी प्रस्तुत उपन्यासको कृति र वस्तु दुवैको सङ्गठन व्यवस्था क्रमिक र व्यवस्थित रहेकाले उपन्यास सहज पठनीय बन्न पुगेको छ । ठाउँठाउँमा स्वच्छन्दतावादी भावुकताजन्य अभिव्यक्ति पाइए पनि त्यो यथार्थबाट सारै टाढा नरहेको र यथार्थलाई नै सहयोग गर्ने खालको देखिन्छ । समग्रतः प्रेमप्रणयसँग सम्बद्ध यथार्थमूलक सामाजिक घटनावलीलाई क्रमिक रूपमा प्रस्तुत गरिएको यस उपन्यासको कृति र वस्तुको सङ्गठन–व्यवस्थापन स्वाभाविक रहेको देखिन्छ । यस दृष्टिबाट यस उपन्यासलाई प्रेमविषयक सामाजिक उपन्यासका रूपमा लिन सकिन्छ ।

यस उपन्यासमा वर्णित सबै घटनावलीहरू तत्कालीन सामाजिक जनजीवनमा घटित हुने खालका छन् । शासकवर्ग तथा गाउँका ठालुले चेलीबेटीमाथि राख्ने गिद्धे दृष्टिको विरोध गरिएको यस उपन्यासमा वर्णित सम्पूर्ण घटना–प्रसङ्गहरू काल्पनिकजस्ता नभएर यथार्थमूलक देखिन्छन् । यो पुस्तक सत्य घटनाको आधारमा लेखिएको छ भन्ने उपन्यासकार स्वयंको भनाइले पनि यही तथ्यलाई पुष्टि गर्छ ।

यस उपन्यासलाई अल्पपात्रीय उपन्यासका रूपमा लिन सकिन्छ । यसमा विनोद, शेखर, रामबाबु, मुकुन्द, ज्योतिषी, सुरेन्द्र, कुँवर, गोरे, गंगाराम आदि पुरुष सहभागी तथा सुशीला, गौरी, लक्ष्मी, मनोरमा, तिलोत्तमा, सरस्वती आदि महिला सहभागीहरूको सहभागिता रहेको छ । यसमा विनोद र सुशीला प्रमुख सहभागी हुन् भने शेखर, मुकुन्द, रामबाबु, गौरी, लक्ष्मी सहायक सहभागी हुन् । यहाँका गंगाराम, गोरे, सरस्वती, भान्सेबाहुन, खेतालाहरू, बटुवाहरू तथा गाउँलेहरू गौण सहभागीका रूपमा रहेका छन् ।

यस उपन्यासका प्रमुख पुरुष सहभागी विनोद र सुशीला अनुकूल सहभागी हुन् । प्रमुख नारी सहभागी सुशीला धर्मकर्मप्रति आस्था राख्ने, आप्mनो सतीत्वलाई पवित्र राख्ने तथा आप्mनो प्रतिज्ञामा अटल रहने नारीका रूपमा चित्रित छ भने प्रमुख सहभागी डा. विनोदलाई उपकारी तथा भद्रभलादमीका रूपमा चित्रण गरिएको छ । सुरेन्द्र, मामा–भान्जाजस्ता प्रतिकूल सहभागीलाई प्रमुख नभएर सहायक तथा गौण सहभागीको रूपमा प्रवेश गराइएको छ । प्रतिकूल सहभागीका क्रियाकलापले यस उपन्यासमा कुनै पनि नाटकीय मोड ल्याएको तथा उथलपुथल भएको पाइँदैन । यसरी यस उपन्यासमा प्रतिकूल सहभागीको उपस्थिति त्यति सशक्त रूपले भएको देखिँदैन ।

स्थान, समय र वातावरणसूचक परिवेशका दृष्टिले हेर्दा यस उपन्यासमा विशिष्ट स्थानका रूपमा पाल्पा, देवदहनजिकका तराईको गाउँको उल्लेख गरिएको छ । यसमा पाल्पाको तानसेनको प्राकृतिक वर्णन विशेष रूपले गरिएको छ । यसका साथै देवदहको धार्मिक तथा सांस्कृतिक महत्वको पनि विशेष चर्चा गरिएको पाइन्छ । स्थानका साथै समयको पनि स्पष्ट उल्लेख भएको यस उपन्यासमा राणाकालीन बडाहाकिमको नाम स्पष्ट उल्लेख भएकाले प्रस्तुत उपन्यासमा वर्णित समय २००७ सालभन्दा अगिको रहेको छ । वातावरणका दृष्टिले यो उपन्यास सुखद देखिन्छ । कतैकतै दुखद वातावरणको झल्को दिन खोजिए पनि त्यो क्षणिक मात्र भएकाले समग्रमा उपन्यास सुखद वातावरणमा संरचित छ ।

यो उपन्यास मुख्यतः तृतीय पुरुष सर्वज्ञ दृष्टिबिन्दुमा संरचित छ । उपन्यासकारले प्रायः तटस्थ रही स्वच्छन्द रूपले घटनावलीलाई प्रस्तुत गरेकी छन् र ठाउँठाउँमा सहभागीमार्पmत आप्mना विचार पनि पोखेकी छन् । यो खासमा वैचारिक उपन्यास नभए प्रेम स्वच्छ, पवित्र र एकै व्यक्तिसँग मात्र हुनुपर्छ भन्ने विचार अभिव्यञ्जित यस उपन्यासमा मित्रसेन, बहादुरसिंह बराल, तुलसीदासप्रति पनि श्रद्धा प्रकट गरिएको छ । यी सबै दृष्टिले हेर्दा यस उपन्यासलाई स्वच्छन्दतावादी उपन्यासका रूपमा उल्लेख गर्न सकिन्छ ।

भाषाशैलीय विन्यासका दृष्टिले हेर्दा प्रतिज्ञा उपन्यासमा प्रयुक्त भाषा सरल, सहज र सुबोध छ । सहभागीको सामाजिक तथा पारिवारिक स्तरअनुसारको भाषिक प्रयोग पाइने यस उपन्यासको ठाउँठाउँमा कथ्य भाषा पनि प्रयुक्त छ । उपन्यासमा यदाकदा आलङ्कारिक अभिव्यञ्जनाको छनक पाइए पनि त्यसले उपन्यासलाई अस्वाभाविक तुल्याएको छैन । समग्रमा यसको भाषा सरल छ । ठाउँठाउँमा उखान र सूक्तिहरूको प्रयोगले भाषालाई आकर्षक तुल्याएको छ । यसमा प्रयुक्त उखान र सूक्तिहरूको नमुना यस्तो छ ः

नबिराउनु नडराउनु

सोझो औंलाले घिउ आउन्न

कहिले राजा त कहिले रंक

चन्नु न जान्नु घचेडी माग्नु

के खोज्छस् काना ? आँखो

शुभ्रस्य शीघ्रम

वपत्ति कहिल्यै एक्लै आउँदैन

यसमा मूलतः वर्णनात्मक र संवादात्मक शैली तथा अंशतः पत्रात्मक शैलीको समेत उपयोग गरिएको छ । कतिपय ठाउँमा लिङ्ग, वचनको सङ्गति तथा वाक्यविन्यासगत आदि सामान्य भाषिक कसरमसर पाइए पनि छोटाछोटा वाक्यद्वारा निर्मित अनुच्छेदयोजनामा आबद्ध प्रस्तुत कृति सबै खाले पाठकका लागि सहज पठनीय छ ।

प्रस्तुत उपन्यासको शीर्षक प्रतिज्ञा रहेको छ । प्रतिज्ञाको अर्थ वाचा हुन्छ । यसमा मूल नारी सहभागीले मूल पुरुष सहभागीलाई दिल सुम्पने प्रतिज्ञा गरेको कथ्यलाई कथात्मक रूपमा प्रस्तुत गरिएको छ । यसरी मूल नारी सहभागीको प्रतिज्ञालाई आधार मानी कथ्यअनुरूप नामाङ्कन गरिएको यस उपन्यासको शीर्षक प्रतिज्ञा साभिप्राय, सामञ्जस्यमूलक र सार्थक छ । प्रेमजन्य सामाजिक विषयवस्तुमा आधारित प्रस्तुत उपन्यासमा दैनन्दिन मानवजीवनका विभिन्न पक्षको यथार्थमूलक अभिव्यञ्जना पाइए पनि तिनले उपन्यासमा खासै भूमिका खेलेका छैनन् । युवासुलभ स्वच्छ प्रेमको चित्रण गरिएको यस उपन्यासका कतिपय ठाउँमा ईश्वरवादी चिन्तनले पनि प्रश्रय पाएको छ ।

यसरी २०१७ मा दोस्रो पटक छापेर सार्वजनिक गरिएको प्रस्तुत उपन्यास परिच्छेद सङ्गठन, कथानकको विकास र विस्तार, भाषिकविन्यास आदि पक्षमा परिमार्जन र परिष्कार गरी पहिलेको तुलनामा विस्तृत र आकर्षक बनाइएको छ । यसका अतिरिक्त पहिलो छपाइमा समावेश गरिएका भजन र संस्कृतका सूक्तिहरू दोस्रो छपाइमा समाविष्ट छैनन् ।

४. उपसंहार

समग्रतः प्रसङ्गअनुरूप चिह्नाङ्कित रूपमा विभिन्न भाग र उपभागमा विभाजित तथा आदि, मध्य र अन्त्यको क्रमिक विन्यासमा सङ्गठित प्रतिज्ञा शीर्षक प्रस्तुत उपन्यास प्रेमप्रणयमूलक सामाजिक विषयवस्तुमा आधारित आख्यानात्मक संरचना हो । यसमा युगीन सामाजिक जनजीवनसँग मेल खाने खालका विभिन्न सहभागीहरूका माध्यमबाट कथ्यलाई विश्वसनीय ढङ्गले प्रस्तुत गरिएको छ । सुखद परिवेशमा सिर्जित प्रस्तुत कृति सोद्देश्यमूलक रहेको छ । तृतीय पुरुष दृष्टिबिन्दुको प्रयोग गरी सरल र सहज भाषाशैलीय विन्यासमा स्वच्छन्द दृष्टिकोण प्रस्तुत गरिएको यो कृति सामाजिक उपन्यास हो । यी सबै कोणप्रतिकोणबाट हेर्दा यो उपन्यास एउटा सबल, पूर्ण, जीवन्त र स्वायत्त आख्यानात्मक संरचना बन्नपुगेको छ ।

अन्त्यमा, तत्कालीन समयमा नवलपरासीजस्तो ठाउँमा बसेर आप्mनो आर्थिक लगानीको पर्वाह नगरी एकपटक प्रकाशित भैसकेको सारा पुस्तक नष्ट गर्नु र आप्mना कमीकमजोरीलाई सार्वजनिक रूपमा स्वीकार्दै पुस्तक पुनः प्रकाशन गर्ने आँट गर्नु पवनकुमारी देवीको महानता हो । सामान्य साक्षर तथा दोस्रो मातृभाषी भएर पनि परिष्कृत साहित्यप्रति अनुराग राख्ने सचेत एवं महान् स्रष्टा तथा पहिलो नेपाली महिला उपन्यासकार पवनकुमारी देवीको साहित्यप्रेम र इमानदारी प्रशंसनीय छ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।