15 वर्षदेखि निरन्तर
समकालीन साहित्य

वर्षा

कविता चैतन्य अधिकारी  July 8, 2011, 5:08 pm

वर्षा भैरहेछ,

छड्के कोण पारेर

झ्यालबाट आकाशतिर, बादलहरुतिर चियाउँदा

आँपका पातहरुमा पटपट बजिरहेको पानी

र बलेंसिमा चुहिरहेको स्यार्र स्यार्र,

फूलहरूमाथिबाट बिस्तारै कुदिजान्छ बतास

अध्यारो र उज्यालोको दोसाँधमा

ओत लाग्न भुर्र उडी आउछन चराहरु

र बिस्तारै पिंग खेल्छन नरिवलका पातहरु

मौन भएर पनि कति संगीतपूर्ण छ आजको दिन

फेरि मलाई मेरो गाउँको याद आउँछ

असार साउनको सम्झना हुन्छ

स्याखु ओढेर धान रोप्दै होलान रोपाहारहरु

पानी छहलिइरहेको होला खेतका आलीहरुबाट

र राग घंकिदै होला असारे गीतको

मूल फुटे होलान चौर पाखाहरुमा

र पातहरु बगाएर कुलो पछ्याउंदै होलान केटाकेटीहरु

हिलो कुल्चिदै रमाउंदै होलान

जीबनको रमाइलो गतिशील हुनुमै छ

उठ्नु, दौडनु र अघि जानुमै छ

कहिलेकाहीं फूलको मनलाई आफ्नो मनसँग मिसाउनु

कहिलेकाहीं पहाडको हृदयसंग आफ्नो हृदय साट्नु

कहिले आफैं बतास भएर उड्नु

कहिले आफै फेवाताल भएर रुक्नु

र स्वयम्भूका आँखासंग आँखा जुधाउनु

फेरि मलाई मेरा भन्ज्यांग चौतारीहरुको याद आउँछ

मेची किनारदेखि काली बगरसम्म सम्झना आउँछ

कपास छरेजस्तै फुस फुस बर्षिरहेको पानी

छाँगो खसेजस्तै दर्र दर्र बर्षिरहेको पानी

आकाशले पोल्टामा कति साँच्न सक्यो होला बर्षात ?

कसले गर्जने होला त्यति साह्रो !

कसले झिम्काउने होला चट्यांग बिजुली

कौशीमा उभिएर क्षितिजतिर टोलाउँदा

घामको अत्याचारले पिल्सिएका खेतहरु

बतासको क्रुरताले सुकेका सयपत्रीका ओठहरु

र चराचर काकाकुलवत प्राणीहरु

हात फैलाएर स्वागत गरिरहेछन् बर्षातको

निथ्रुक्कै चप्लक्कै भिजेर / थापिएर

कृतज्ञता दिईरहेछन बर्षातलाई

कर्कलाका पातहरुमा मोति बनेको पानी

छानाहरूबाट तप तप खसिरहेको पानी

फेरि मलाई मेरो जन्मथलोको सम्झना ल्याउँछ

फेरि मलाई आफ्नै पाखापखेराको याद दिलाउँछ !

पोखरा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।