19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

उज्यालोको खोजी : 'शरणार्थी उज्यालो'

कृति/समीक्षा शिखर आरोहण July 10, 2011, 8:47 am

साहित्यको सर्वाङ्गीण श्रीवृद्धिलाई आफ्नो लक्ष्य बनाएर २०६२ सालमा चितवनमा स्थापना भएको अक्षर समूहले राजधानीबाहिर टिकटमा कविता वाचन, लघुकथावाचन, चित्रकला प्रर्दशनी, किताबहरू माथि बहसका कार्यक्रमहरू गरेर आफ्नो नामको दरिलो उपस्थिति जनाएको छ । अक्षर समूहले पछिल्लो समय पुस्तक प्रकाशन पनि थालेको छ । समूहको पहिलो प्रकाशन कवि तथा निबन्धकार संगीत आयामको कविता संग्रह 'शरणार्थी उज्यालो' भर्खरै सार्वजनिक भएको छ । कवि संगीत आयामको दोस्रो संग्रह 'शरणार्थी उज्यालो' मोफसलका स्रस्टाहरूको पीडालाई उद्गार गर्ने एक दस्तावेज भएर आएको छ । उनको यसअगाडि लामा कविताहरूको संग्रह 'चक्रव्यूह र युद्धपीडाहरू' २०६२ सालमा प्रकाशित भएको थियो ।

कविता संग्रहमा २५ थान कविता समावेश भएका छन् । ती कविताले नेपाली समाजका विविध पक्षहरूको चित्रण गर्छन् । उनी कवितामा विम्बहरूको संयोजन मीठो शैलीमा गर्छन् र आफूले भन्न चाहेको कुरा स्पष्टसँग भन्छन् । उनी आफ्नै जीवनलाई कविता बनाएर देखाउँछन् र मिथक तथा विम्बमार्फत कविताका पाठकलाई आफ्नो समाजको वास्तविकतामा टहलाइदिन्छन् । कवि आयामले विम्ब र प्रतीकहरूको चयन गर्दा नेपाली कविहरूले वा नेपाली साधारण मानिसले भोग्नु परेका विषयलाई आफ्नो स्रोतका रूपमा लिएको पाइन्छ, जसले उनका कवितालाई सुन्दर बनाएका छन् । राजधानी बाहिर रहेर लेख्ने लेखकहरू आफूहरूलाई केन्द्रले वास्ता नगरेको र मोफसलमा हुनुले निराश बनाएको बताउँछन् । कवि आयामका कवितामा पनि मोफसलको पीडा अभिव्यक्त भएको छ । उनले आफ्ना कवितामा समाजमा एक कविमात्र भएर बाँच्नुको पीडालाई विविध रंग र छायाँ-छविमार्फत् चित्रण गरेका छन् । तर, उनी आफ्ना कवितालाई उज्यालोतर्फ उन्मुख गराउन भुल्दैनन् । यस संग्रहको 'उदास वसन्तको आत्मकथा' शीर्षक कवितामा उनले लेखेका छन्, :

नरमाइलो मानेर

प्रत्येक दिनसँगै बिउँझिएको

उषाका क्षणहरूमा

एउटा उदास वसन्त

यात्रा प्रारम्भ गर्छ

दिनको गर्तमा भासिँदै गएर

रातको अँगालोले छोपिएको

एउटा हतास वसन्त

अप्ठयारा क्षणहरूसँग

साट्न थाल्छ

युगौंदेखिको जिजीविषा ।

संग्रहका प्रायः कविताहरूले उज्यालोका लागि आह्वान गरेका छन् । 'गुलामी', 'सालिक', 'समयका स्वरहरू', 'काराबास' आदि कवितामा कवि आयाम आफ्नो कवितात्मक कथ्य र विचारप्रति प्रस्ट देखिएका छन् । संग्रहका केही कवितामा भने उनी बारम्बार अन्योलमा परेका छन् । उनका केही कविताको सुरुआती, मध्य तथा अन्त्यमा कुनै पनि समानता पाइँदैन । यस्ता कवितामा उनी आफूले भन्न चाहेको वा सम्प्रेषण गर्न खोजेको कुरामा नै अन्योलमा पर्दछन् । यस्ता कविताको उदाहरणका रूपमा 'प्रेमबन्धन' कवितालाई लिन सकिन्छ । कविताको पहिला हरफहरूमा उनलाई आफ्नो प्रेम 'आएको हो या होइन' भन्नेमा नै अन्योल छ । तर, कविताको मध्यतिर अन्योल कायमै राखि कवि प्रेमसम्बन्धी अन्य मानिसका विचारलाई टिप्पणी गर्छन् र अन्त्यमा आफ्नो प्रेमको अँगालो नै शक्तिशाली भएको बताउँछन् । कविताको ठाडो अर्थ नै यही हो । यसलाई हामीले सामन्य मानिसको जीवनसँग पनि तुलना गरेर हेर्न सक्छौँ । आफ्नो विचार प्रष्ट नभइ अरूको दृष्टिकोण परख गर्न पक्कै सकिँदैन । यसरी केही कवितामा संगीत आफूलाई प्रष्ट बनाउन सक्दैनन् । त्यस्तै संग्रहका केही कविताहरूमा उनको निबन्ध लेखनीको ठाडो प्रभाव देखिन्छ । केही ठाउँमा कविताहरू कविता नभएर निबन्धका भाँचिएका वाक्यहरू जस्ता पनि लाग्दछन् । यसको उदाहरणको रूपमा हामीले उनको कविता 'कालखण्ड'लाई लिन सक्छौँ,

चेतनाका अवयवहरूलाई

बन्दी बनाएर

कैदखानाभित्र

उन्मुक्त आकाशको कुरा गर्नु

मात्र समय लेख्ने यात्रामा

इतिहासलाई एकलव्य बनाएर

द्रोणाचार्य बन्नुजस्तै हो ।

उनको यो कविताको अंशलाईर् कुनै निबन्धको वाक्य झैँ यसरी पनि पढ्न सकिन्छ ः चेतनाका अवयवहरूलाई बन्दी बनाएर कैदखानाभित्र उन्मुक्त आकाशको कुरा गर्नु भनेको मात्र समय लेख्ने यात्रामा इतिहासलाई एकलव्य बनाएर द्रोणाचार्य बन्नुजस्तै हो । यसरी सुन्दर कविताहरूलाई केही ठाउँमा यस प्रकारको संरचनाले बिगारेको पाइन्छ । उनका कविताहरू सरल छैनन् तर बोधगम्य छन् । उनका प्रतीकहरू जटिल छैनन् तर समयको पदचाप सुनाउन सशक्त भएर उभिएका छन् ।

संग्रहको अर्को आलोच्य पक्ष भनेको यसको कभर हो । कभरको सिरानमा 'कविता लेखनका २५ वर्ष' टाँसिएको छ भने पुछारको देब्रेतर्फ 'चक्रव्यूह र युद्धपीडाहरूका लेखक' भनेर झुन्डयाइएको छ । यस्ता कुराले प्रस्तुत संग्रहमा कुनै पनि महत्त्व राख्दैनन् । यसले स्रस्टा आफ्नो गुणात्मकताभन्दा पनि समयको लगानी देखाएर अगाडि आउन खोजेको देखाउँछ । त्यस्तै संगीतले यही पुस्तकको महत्त्वलाई टार्दै आफूलाई पूर्व प्रकाशित पुस्तकको छायामा रहेको देखाउन खोजेका हुन् भन्ने भ्रम सिर्जना गर्दछ । साहित्यिक पुस्तकमा भन्दा पनि यस प्रकारका प्रयोगले विकाउ विकासे पुस्तकलाई धेरै सहयोग गर्दछन् । यसले गर्दा न त प्रकाशक अक्षर समूहले लिएको आफ्नो लक्ष्यमा अगाडि बढेको छ भन्नेमा ढुक्क हुन सकिन्छ न त कवि स्वयं आफ्ना रचनामा विश्वस्त छन् भन्ने पुष्टि हुन्छ । आगामी प्रकाशनमा प्रकाशकले यस्ता कुरामा ध्यान दिनु जरुरी छ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।