19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

जीवनको रीत

कविता मणि लोहनी July 10, 2011, 8:58 am

छाडेर गए पनि तिमीले

दुःख लागेन मलाई ।

यो हाम्रै मनजस्तो कहिल्यै नअडिने पृथ्वी पनि

एकछिन त अडिएजस्तो लाग्यो

विरुपाक्षजस्तो टक्क रोकिएर समयले

धारेहात लगाइरहेझैँ लाग्यो

छाडेर गएपछि तिमीले

भगवान् पनि तिम्रै साथमा उभिएर

मलाई सरापी रहेझैँ लाग्यो ।

छाडेर जाँदा तिमीले लिएर गएकी थियौँ

मेरा ओठका खुसीहरू

सपनाहरू मेरा आँखाका

लिएर गएकी थियौ मेरा चौडा छातीका साहसहरू

र बाँकी थिए मसँग

पीडाकै पाइलाजस्ता कलेँटीहरू ओठमा

नपुङ्सकको पत्नीको श्रापझैँ आँसुहरू आँखामा

र गडेथ्यो छातीमा, आफैँसँग हारेको मानिसको अनुहारजस्तो दुःख ।

छाडेर गएपनि तिमीले

दुःख लागेन मलाई ।

हामीले छोएको र देखेको मात्रै

सत्य रहेनछ

सँगै हुनु र रमाउनु मात्रै पनि

जीवन होइन रहेछ

हो, जसरी हाँस्यौ नि तिमी मेरो अँगालोमा

हो, जसरी अग्लिए नि म तिम्रा सपनाहरूसँग

यी सबै पनि पूर्ण रहेनछन् ।

कोही हुनु, नहुनुले

कहाँ रोकिदोरहेछ र यो घुमिरहने पृथ्वी

कसैको हुनु, नहुनुमा

कहाँ अडिदोरहेछ र यो बगिरहने समय ।

सँगै हुँदा हामीले

कपडाजस्तै फुकालेर आफ्ना अहमहरू

एकसाथ नबाँचेका पनि होइनौँ

बेपरवाह छाडेर आफ्ना खुसी र रहरहरू

एकअर्कालाई न्यानो नबनाएका पनि होइनौँ

ओच्छ्याएर आफ्नै छाती मैले

तिमीलाई दुःखहरूबाट सुरक्षित राखेको पनि हो

समातेर मेरो पाखुरा

संसार बैरी हुँदा तिमी मेरो पक्षमा उभिएकी पनि हौ ।

र पनि यस्तै भयो

सँगै हुन सकेनौँ हामी ।

भेटिनु र छुट्टनु

एउटा प्रक्रिया रहेछ

जसरी पलाउँछन् पातहरू रुखबाट

जसरी र्झछन् पातहरू रुखबाट

यो एउटा सिलसिला रहेछ जिन्दगीको

कहिल्यै नअडिएजस्तै पृथ्वी

कहिल्यै नरोकिएजस्तै समय

एउटा रीत रहेछ जीवनको ।

तिमीसँग छुट्टएिको वर्षौंपछि

आज मैले बुझें

छुट्टनिकै लागि भेटिएका रहेछौँ हामी ।

छाडेर गए पनि तिमीले

दुःख लागेन मलाई ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।