19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

सानो सम्झेको मन पर्छ

कविता कृष्ण प्रसाईं July 12, 2011, 7:53 am

मेरा सारा मौनतालाई चिरेर–

मनै बिथोलिने गरी–

एक पटक त उसले,

आफू सिंगैको मोल सोधी,

मानौं, ऊ रेडियो र टेलिभिजन भएर,

मेरो घरमा भित्रिएकी हो ।

सबै थोक किन्नु पर्ने शहरको संस्कृतिमा,

मानौ, ऊ पनि सौदा भएर

मेरो घरमा किनिएकी हो ।

सौदा र उसमा–

फरक यति छ,

जबरजस्ती हक जमाउने अधिकार छ उसलाई ।

पटक–पटक सिमाना नाघेर

घोडा बनाउने पनि,

छुट छ उसलाई ।

उसका यस्ता मनोमानी विरुद्ध,

म कुनै विरोध गर्न सक्दिनँ ।

रिसाएर कट्टी गरिरहने उसको जिरह विरुद्ध

म उसलाई निषेधाज्ञा भर्न पनि सक्दिनँ ।

मैले बरोबर हात्ती भैरहनु पर्र्ने,

उसको उर्दीलाई कुनै कानून पनि लाग्दैन ।

जानेर होस् वा नजानेर

जुन नगर भन्यो, ऊ त्यही गर्छे ।

जुन नखा भन्यो, ऊ त्यही खोज्छे ।

कहिलेकाहिँ उल्टो बोलेर–

सुल्टो सम्झाउँनु पर्छ उसलाई ।

आफै कमजोर छु सायद,

अयोग्य ठानेर उसलाई—

कुनै साजय दिन पनि सक्दिनँ

ऊ रुनु मेरो कम्जोरी हो भनेर,

तपाईले विश्वास गर्नु भएको छैन भने,

अरु कोही नभएर,

उमेरले चालिस वर्ष कान्छी–

ऊ मेरी सात वर्षे छोरी प्रविधि हो ।

मलाई उसको हा“सोमा मेरो सृष्टी मुस्कुराएको मन पर्छ ।

कलम र कापी समातेर उसले–प्रश्न सोधेको मन पर्छ ।

र कहिलेकाहिँ ,

मेरो उमेर स्वात्तै घटाएर,

ऊ जस्तै सानो सम्झेको मन पर्छ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।