मेरा सारा मौनतालाई चिरेर–
मनै बिथोलिने गरी–
एक पटक त उसले,
आफू सिंगैको मोल सोधी,
मानौं, ऊ रेडियो र टेलिभिजन भएर,
मेरो घरमा भित्रिएकी हो ।
सबै थोक किन्नु पर्ने शहरको संस्कृतिमा,
मानौ, ऊ पनि सौदा भएर
मेरो घरमा किनिएकी हो ।
सौदा र उसमा–
फरक यति छ,
जबरजस्ती हक जमाउने अधिकार छ उसलाई ।
पटक–पटक सिमाना नाघेर
घोडा बनाउने पनि,
छुट छ उसलाई ।
उसका यस्ता मनोमानी विरुद्ध,
म कुनै विरोध गर्न सक्दिनँ ।
रिसाएर कट्टी गरिरहने उसको जिरह विरुद्ध
म उसलाई निषेधाज्ञा भर्न पनि सक्दिनँ ।
मैले बरोबर हात्ती भैरहनु पर्र्ने,
उसको उर्दीलाई कुनै कानून पनि लाग्दैन ।
जानेर होस् वा नजानेर
जुन नगर भन्यो, ऊ त्यही गर्छे ।
जुन नखा भन्यो, ऊ त्यही खोज्छे ।
कहिलेकाहिँ उल्टो बोलेर–
सुल्टो सम्झाउँनु पर्छ उसलाई ।
आफै कमजोर छु सायद,
अयोग्य ठानेर उसलाई—
कुनै साजय दिन पनि सक्दिनँ
ऊ रुनु मेरो कम्जोरी हो भनेर,
तपाईले विश्वास गर्नु भएको छैन भने,
अरु कोही नभएर,
उमेरले चालिस वर्ष कान्छी–
ऊ मेरी सात वर्षे छोरी प्रविधि हो ।
मलाई उसको हा“सोमा मेरो सृष्टी मुस्कुराएको मन पर्छ ।
कलम र कापी समातेर उसले–प्रश्न सोधेको मन पर्छ ।
र कहिलेकाहिँ ,
मेरो उमेर स्वात्तै घटाएर,
ऊ जस्तै सानो सम्झेको मन पर्छ ।