19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

रक्तपिपासु क्यामेराहरू

कविता सुधीर छेत्री July 15, 2011, 5:01 am

नखिँच्नू अबदेखि मेरा अर्द्धमुदित नयनहरू

रगतका भोका क्यामेराहरूले।

नटिप्नु डुब्नलागेको घाम रक्तपिपासु क्यामेराले।

सत्याग्रह खाएर डम्म अघाएका

अन्शनकारी सन्तोषहरू र

हावामा पौडी खेलिरहेका

स्वाभिमानी झण्डाका नक्शा उतार्नलाई

चर्केका सम्वेदना-लेन्सहरू

अहँ,

पुग्दैन।

क्यामेराहरू ड्र्याकुला हुन्।

घाउहरू, रगत, विस्फोटहरू ह्नमर्‍याङ्-मर्‍याङ् चपाउँदै

निल्दै

ओकल्दै

गणतन्त्रका अँध्यारा गल्लीभित्र

ती मुत्न जान्छन्।

क्यामेराहरू मृत्युका प्रयोजक हुन्

वधशालादेखि बुफेसम्मै।

जसलाई आमजनता भन्छौ नि तिमीहरू !

त्यो माचिस सल्कँदा

कता-कता डढेलो लाग्छ, हेर्नू।

अनुहारभरि लतपत रक्तिम महोत्सव बोकेर

खुफिया गोजीमा हात घुसारी

यतै आउँदैछ त्यो महानायक।

किटाणुयुक्त पाठेघरबाट

हुलका हुल सिजोफ्रेनिक महाशयहरू

सभ्यताको व्हाइट-कलर कायामा निस्कँदैछन्।

मेरो माटोको आवाज

चियर्स-लिडरहरूका काखी र छेपारीका भञ्ज्याङ्हरूमा

साउती बनेर हराइबस्छ।

ऊ ह्न धातुको रूमालले

मेरो आँसु र पसीना सोतार्न चाहन्छ।

तिमी नखिँच्नू

भस्मेका पवित्र मृतात्माहरू

पौष्टिक उद्भिदका हरितकण।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।