19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

अनिदो म

कविता प्रशान्त खरेल July 25, 2011, 10:08 am

रातको निस्तब्धतामा

एकोहोरो

जलिरहेछ दियो

झलमल झलमल ।

ओभाएको तिम्रो शरिरमा

पसिना लतपतिएको चिन्ह

मधुर उज्यालोमा

प्रस्टै देखिन्छ

उसका आयातित

बस्त्रहरू भन्दा पनि

सुन्दर देखिरहेछु म

हावामा फैलिएको

पसिनाको

एकतमासको गन्ध

लट्ठ बनाइरहेको छ मलाई

खै उसका अत्तरहरू

अचेल किन

उति सुवासिला लाग्दैनन् ।

तिम्रो गठिलो शरिर

ठेला उठेका

हत्केला र पाइतालाहरू

जिस्काइरहन्छन्

उसको सुन्दरतालाई

टाढै बाट

ताता स्वासहरू

न्यानो सामिप्यताको

भोक जगाउन

सक्षम छन्

चिमोट्दै उसको

न्यानो आलिङ्गन ।

तिम्रो थकित वय

निस्फिक्रि विस्तारामा

तृप्त छ

ललकार्दै उसका

रातका छटपटिहरू

सन्तुष्टिका रेखाहरू

चम्चम् चम्किरहेकाछन्

तिम्रा निधारमा

खिज्याउँदै उसका, मेरा

अनगिन्ति अतृप्त

भोकहरूलाइ, सपनाहरूलाई ।

उफ् ! यो रात

विहानी कहिले होला ?

दियोको तेल

निख्रदैछ

विस्तारै विस्तारै

तैपनि

एकोहोरो

जलिरहेछ दियो

झलमल झलमल ।।

गौरादह ४, झापा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।