14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

नवराज सुब्बाका कवितामा नारीसम्बन्धी दृष्टिकोण

कृति/समीक्षा लीला लुइटेल July 25, 2011, 5:13 am
लीला लुइटेल
लीला लुइटेल

१. आरम्भ : व्यक्तिपरिचय

नवराज सुब्बाको जन्म २०१८ साल असोज १५ गते नेपालको सुदूरपूर्वी पहाडी जिल्ला ताप्लेजुङको हाङपाङ आठराईमा भएको हो । यिनले एम्.ए. तथा एम्.पीएच्. सम्मको शिक्षा हासिल गरेका छन् । नेपाल रेडक्रस सोसाइटीका आजीवन सदस्य सुब्बा किराँत याक्थुङ चुम्लुङ विराटनगरसँग आबद्ध छन् । यसका अतिरिक्ति यिनी वाणी प्रकाशन तथा ज्योति प्रकाशनजस्ता साहित्यिक संस्थामा पनि संलग्न छन् । जनस्वास्थ्य व्यवसायसँग सम्बद्ध रहेका नवराज सुब्बाका जनस्वास्थ्यसम्बन्धी थुप्रै लेख तथा प्रतिवेदनहरू प्रकाशित भएका छन् ।

विभिन्न साहित्यिक–सामाजिक क्षेत्रसँग सम्बद्ध रहेर आफ्नो सिर्जनालाई निरन्तरता दिइरहेका नवराज सुब्बाका सिर्जनाको मूल क्षेत्र कविता र निबन्ध हो । हालसम्म यिनका जीवन मेरो शब्दकोशमा (२०६३), बीच बाटोमा ब्यूँझेर (२०६५) गरी दुईवटा कविता सङ्ग्रह प्रकाशित छन् भने मनको मझेरीमा (२०६४) शीर्षक एउटा निबन्ध सङ्ग्रह पनि प्रकाशित छ । यसका अतिरिक्ति यिनले साँम्बा लिम्बूको वंशावली (२०५६) को सङ्कलन तथा सम्पादन पनि गरेका छन् । यीबाहेक यिनका कतिपय कविताहरू विभिन्न पत्रपत्रिकामा छरिएर रहेका छन् ।

गोरखादक्षिणबाहु (२०४७), मोहन रेग्मी स्मृति वाणी पुरस्कार (२०६३), बबरसिंह थापा सेवा गुठी सम्मान पुरस्कार (२०६४), पहिलो अनलाइन वेभक्याम विश्व कविता प्रतियोगितामा प्रथम पुरस्कार (२०६४) जस्ता पुरस्कारबाट पुरस्कृत नवराज सुब्बा नाट्येश्वर नृत्यकला प्रशिक्षण केन्द (विराटनगर), नवरङ्ग साहित्य प्रतिष्ठान (झापा) आदि विभिन्न साहित्यिक सङ्घसंस्थाहरूबाट अभिनन्दित एवं सम्मानित पनि भएका छन् ।

२०३०–३१ देखि कविता सिर्जनामा लागेका नवराज सुब्बा आफ्नो कवि व्यक्तित्वलाई साकार तुल्याई नेपाली कवितामा निजी पहिचान कायम गर्न प्रयासरत छन् । दोस्रो कविता सङ्ग्रह बीच बाटोमा ब्यूँझेरमा समाविष्ट कविताका केन्द्रीयतामा नवराज सुब्बाका कवित्वको निरूपण गर्दै यिनका कवितामा अभिव्यक्त नारीसम्बन्धी दृष्टिकोणलाई प्रस्तुत गर्नु यस लेखको उद्देश्य रहेको छ ।

२. विषयप्रवेश : बीच बाटोमा ब्यूँझेर कविता सङ्ग्रहको संक्षिप्त परिचय

नवराज सुब्बाको जीवन मेरो शब्दकोशमा शीर्षक पहिलो कविता सङ्ग्रहमा ३१ वटा कविता तथा १६ वटा गीत गरी ४७ वटा रचना सङ्कलित छन् भने दोस्रो सङ्ग्रह बीच बाटोमा ब्यूँझेरमा ७७ वटा कविताहरू समाविष्ट छन् । यिनको यस सङ्ग्रहका कविताहरू प्रगीतात्मक संरचनाको प्रचलित सरदर कविताका ढाँचामा विस्तारित छन् । यसै सङ्ग्रहमा समाविष्ट पहिलो कविता बीच बाटोमा ब्यूँझेरबाट प्रस्तुत सङ्ग्रहको नामकरण गरिएको छ । यस सङ्ग्रहका कतिपय कविताको शीर्षक अभिधात्मक रहेको छ भने कतिपयको शीर्षक प्रतीकात्मक रहेको छ । यिनका कविताका शीर्षक अभिधात्मक–प्रतीकात्मक जेसुकै भए पनि तिनमा शीर्षक र कथ्यका बीच अन्तःसङ्गति रहेको पाइन्छ ।

स्वतन्त्रता र उन्मुक्तताको चाहना राख्ने कवि सुब्बाले वर्तमानमा व्याप्त विसङ्गति, विकृति, युद्ध विभीषिका, आपसी द्वन्द्व, हत्या, हिंसा, आतङ्क आदिको चित्रणका माध्यमबाट युगीन यथार्थको प्रकटीकरण गरेका छन् ।

३. विषयविस्तार : नवराज सुब्बाका कवितामा अभिव्यक्त नारीसम्बन्धी दृष्टिकोण

सिङ्गो सृष्टिका दुई पक्ष भाले र पोथी मानवका रूपमा नारी र पुरुष भनेर परिचित छन् । सिङ्गो सृष्टि नै यी दुईको सहकारिताबाट भएको हो । जीवनका प्रत्येक गतिविधिमा यी दुवैको भूमिका महŒवपूर्ण भए तापनि परिवार, समाज तथा प्रकृतिसमेतले पनि पुरुषका तुलनामा नारीलाई बढी मात्रामा जिम्मेवारीहरू दिएको छ । यस्ता जिम्मेवारी वहन गर्ने क्रममै नारीहरू अनेक प्रकारले परिवार, समाज एवं राष्ट्रबाटै शोषित तथा पीडित भएको तथ्य पनि हाम्रा सामु छर्लङ्ग छ । विभिन्न सन्दर्भबाट शोषित तथा पीडित नारीहरूका पीडा र चीत्कारलाई नेपाली सर्जकले आप्mना रचनामा कुनै न कुनै प्रकारले स्थान दिएको पाइन्छ र यसैका आधारमा सर्जकको नारीप्रतिको दृष्टिकोणलाई विश्लेषण गरिन्छ । यसरी विश्लेषण गर्ने क्रममा समालोचकले सर्जकलाई उपलब्ध समय, स्थान र वातावरणको ख्याल गर्नु अनिवार्य हुनजान्छ । अन्यथा वधूशिक्षाका सन्दर्भमा भानुभक्तको आलोचना गरिएजस्तै समालोचकद्वारा गरिएको विश्लेषण एकाङ्गी तथा पूर्वाग्रही हुनपुग्छ । कवि नवराज सुब्बाका कवितामा पनि विविध रूपका नारीका पीडालाई प्रस्तुत गरिएको छ । यस लेखमा यिनको दोस्रो कविता सङ्ग्रह बीच बाटोमा ब्यूँझेरमा अभिव्यक्त नारीसम्बन्धी दृष्टिकोणको चर्चा गरिन्छ ।

विविध प्रकारका भाव र विषयको अभिव्यक्ति पाइने नवराज सुब्बाको बीच बाटोमा ब्यूँझेर कविता सङ्ग्रहमा नारीका विविध रूपलाई सहभागी बनाएर लेखिएका कविता पनि समाविष्ट छन् । नारीसँग सम्बन्धित यिनका यस सङ्ग्रहका कविताहरू यसप्रकार रहेका छन् ः

कठघरामा उभिएर, आमाको तिर्सना, बूढीकन्याको गन्थन, अर्थहीन पीडा र खुसीहरू, सडकमा जन्मने बुद्धलाई स्वागत, धूवाँसँगै, अतीत, पराजित प्रेम, कम्लहरी, मन्दिरमा, नदी निदाएका बेला, पाइला, अगेनामा, कुष्ठरोगी ∕ बस मेरो कवितामा, सपनामा ।

कवि नवराज सुब्बाका नारीसँग सम्बन्धित कविताहरूमध्ये पनि अधिकांश कविताहरू जन्मदातृ आमासँग सम्बन्धित छन् । सिङ्गो सृष्टिकै सम्पूर्ण प्राणीको जीवनमा सबभन्दा महत्वपूर्ण र प्रिय साइनो आमा नै हो । दस महिनासम्म गर्भमा राखेर जन्म दिने र आप्mनो रगत चुसाई सन्तानलाई हुर्काउने आमा सृष्टिको स्रोत हो, ईश्वरको अर्काे रूप हो । पूर्वीय शास्त्रमा आमालाई अत्यन्त आदर गर्दै जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसि भनिएको पनि पाइन्छ ।

नवराज सुब्बाका कठघरामा उभिएर, आमाको तिर्सना, अगेनामाजस्ता कविताहरू व्यक्ति कविको आप्mनी आमाप्रतिको सम्झना, प्यार एवं श्रद्धासँग सम्बन्धित छन् । यी कवितामा अभिव्यञ्जित भावहरू नितान्त वैयक्तिक भए पनि यिनको साधारणीकरण भई शाश्वत एवं जीवन्त बन्न पुगेका छन् । आमाले आप्mना सन्तानका लागि त्याग तपस्या गर्छिन, आप्mनो सुखको बलिदान गर्छिन, वास्तवमा त्यो निःस्वार्थ हुन्छ । संसारमा सबै कुराको विकल्प हुन्छ तर आमाको विकल्प हुँदैन भन्ने भाव यिनका कवितामा अभिव्यक्त भएको छ । यसको एउटा उदाहरण हेरौँ ः

हो श्रीमान् ∕ विकल्प सबै कुराको छ

तर छैन विकल्प जननीको

हुँदैन विकल्प आमाको

आमा निर्विकल्प सत्य हुन् ।

(कठघरामा उभिएर, पृ. २७) ।

निर्विकल्प सत्यको रूपमा रहेकी आमाको सम्झनामा छट्पटाएको सन्ततिको पीडा पनि यिनका कवितामा अभिव्यञ्जित छ । आमाले सन्ततिका लागि गर्ने क्रियाकलापहरूको सम्झना गर्दै सन्ततिले जीवनका हरेक क्षणमा आमाबाट भावात्मक संरक्षण तथा ममत्वको आश गर्दै आप्mना हात फैलाइरहेको हुन्छ भन्ने कुराको अभिव्यक्ति यिनका कविताहरूमा भएको छ । यसको एउटा उदाहरण यस्तो छ ः

आमा ∕

आऊ फेरि एक पटक यी मेरा हातमा

आज दिउँसै हराएको सातो डाकिदेऊ

छोइदेऊ मेरो शिर

र फेरि एकपटक उन्यू सिउरी देऊ

आम्बी भन्दै थुःथुः गरिदेऊ यी हातमा

तिम्रा पैतालाको माटो लगाइदेऊ

यो मेरो निधारमा

आमा ∕ म अभैm कोक्रामै झुन्डिएको छु

म तिम्रो थुन्सेमै बर्काेमा गुटुमुटिएको छु

यो मन कुल्चेर कतै नगइदेऊ मेरी आमा ∕

तिमी कतै नछेल्लिदेऊ

कतै नहराइदेऊ ∕

(आमाको तिर्सना, पृ. ४२–४३) ।

यसैगरी उनको अगेनामा शीर्षक कवितामा पनि बल्न नसकेको चिसो चुलोका माध्यमबाट आमाकै सम्झना गरिएको छ, जस्तै—

तब आमा छेउमा आएर भन्थिन्

हेर छोरा ∕

आगो फुक्दा फकाएर फुक्नुपर्छ

तरुनी फकाएजस्तै ∕

आँखा च्यातेर हेरेँ

आमा छेवैमा मुस्कुराइरहेकी थिइन् ।

(अगेनामा, पृ. १२०) ।

आप्mना सन्तानले जति पीडा दिए पनि, जति घृणा भाव व्यक्त गरे पनि आमाको छाती विशाल हुन्छ । सन्तानप्रतिको वात्सल्यमा कत्ति पनि कमी नहुने भाव कवि सुब्बाका कवितामा यसरी प्रकट भएको छ ः

सडक ∕

आमाको छाती हो

कुँद, मायाका चि≈न पैतालाले

तिमी बढ ∕ सडक बढ्छ

बोलाऊ सडक बोल्छ

भरिएकै हुन्छ ममताले सडकको मन

ङ्क ङ्क ङ्क

आवाजको आवृत्तिले

आमाको स्तनमा दुध पग्रन्छ

तिम्रो कोमल पदचापले

आमाको सक्तसञ्चार उर्लन्छ,

आज सडकको छातीमा

(सडकमा जन्मने बुद्धलाई स्वागत, पृ. ६६) ।

स्थानीयताको दिग्दर्शन गर्दै जन्म जन्मभूमिको स्मरण गर्ने क्रममा पनि कविले आमाका क्रियाकलाप र वात्सल्यको पनि स्मरण गरेका छन्, जस्तै :

सधैँ कलकल बग्ने

मेरो चुँङ्वा खोला

वर्षामा सधैं बहुलाउँथ्यो

आमाले मलाई नुहाइदिने त्यो झरना

एकाएक अजङ्गको छाँगा बन्दथ्यो

आमै ∕ त्यसबेला ऊ घमन्डले उर्लन्थ्यो

चुरोटको धूँवाँझैँ बुङ्बुङ्ती उडाउँथ्यो कुहिरो

र गर्जन्थ्यो खबरदार मलाई तर्लास ∕

आमा मलाई समाउँदै त्यसको नजिक नजाऊ

बगाउँछ भन्दै तान्थिन्

(सपनामा, पृ. १३७) ।

कवि नवराज सुब्बाले मानवका अतिरिक्ति मानवेतर प्राणी गाईका माध्यमबाट आमाको पीडालाई प्रस्तुत गर्दै आमाप्रति श्रद्धाभाव प्रकट गरेका छन् । दुध दिन सकुन्जेल माया गर्ने र दुध दिन नसक्ने भएपछि कसैले वास्ता नगर्ने बुढी गाईका सन्दर्भबाट यिनले स्वार्थी मानवीय प्रवृत्तिप्रति व्यङ्ग्य प्रहार गर्दै बुढेसकालको नियतिप्रति सहानुभूति प्रकट गरेका छन् । यसको उदाहरण यस्तो छ ः

कहिल्यै नअस्ताउने मेरो आकाश

कहिल्यै नसुस्ताउने मेरी धरती

किन आज लर्खराए तिम्रा पाइला

किन धर्मरायो तिम्रो स्थूल शरीर ?

खोइ तिम्रा दुध खाई हुर्केका सन्तान ?

खोइ तिमीले चाट्दै हुर्काएका बथान ?

दुनियाँ बूढी गाईको ढलपल जीउ र दुरवस्थामा

कहाँ गए तिम्रा परिवार ?

(पाइला, पृ. १०२) ।

पितृसत्तात्मक नेपाली समाजमा लोग्नेलाई रोग लाग्यो भने स्वास्नीले अनेक सामाजिक व्यवधानहरू पार गर्दै सन्तानका अतिरिक्त लोग्नेको पनि स्याहारसुसार गर्छे र उसलाई बचाउँछे तर स्वास्नीलाई रोग लाग्यो भने लोग्नेले स्याहारसुसार गर्नुको साटो सन्तानसहित उसलाई घरबाट निकाली अर्कीको खोजी गर्न थाल्छ । यस्तो विषम नेपाली परिस्थितिलाई कवि सुब्बाले आप्mना कवितामा प्रस्तुत गरेका छन् । यसैगरी सन्तान बाबुआमाको साझा सम्पत्ति हो । तर सन्तानको जिम्मेवारी प्रायः आमाले मात्र लिनुपर्ने कटु यथार्थलाई पनि कविले अभिव्यक्त गरेका छन् । यसरी सामाजिक विकृति–विसङ्गतिलाई प्रस्तुत गर्ने क्रममा पनि उनले आमाको पीडालाई अभिव्यक्त गर्न भुलेका छैनन् । उदाहरणका रूपमा तलका कवितांशलाई लिन सकिन्छ:

(१) रेवतीदेवी ∕

चार सन्तानकी

बीस वर्षीया आमा

कुष्ठरोग लाग्यो भनेर

तिमीलाई निकाले घरबाट

श्रीमान्ले छाडिदियो

कस्तो तिम्रो नियति ∕

(कुष्ठरोगी ∕ बस मेरो कवितामा, पृ. १२४) ।

(२) देख्छु

मन्दिरभित्र

ईश्वर मूर्तिमा मुस्कुराइरहेछ

मन्दिरबाहिर

ईश्वर सशरीर रोइरहेछ

भक्तहरू मूर्तिमै भुम्मिएका छन्

ढोकैनेर जीवन ओछ्याएर

एउटी दीनहीन आमा माघको जाडामा

रोइरहेको बच्चालाई

स्तनपान गराउँदैछिन्

एक हात बच्चाको शिरमा

अर्काे हात श्रद्धालु आँखातिर पैmलाएर

आनासुकी दया टिप्दैछिन् ∕

(मन्दिरमा, पृ. ९३) ।

बुढी कन्या हुनु कुनै अपराध होइन तर विभिन्न कारणवश बुढीकन्या हुनपुगेकी महिलाको संवेदनालाई प्रस्तुत गर्ने क्रममा पनि कविले आमै हुन नपाएको गुनासोलाई अभिव्यक्त गरेका छन् । यसको उदाहरण तल दिइन्छ ः

अभैm मेरो—

ओठमा मुस्कान फक्रेको छैन

कोखबाट कोही जन्मेकै छैन ।

(बुढी कन्याको गन्थन, पृ. ४६)

वर्तमानमा प्रचलित मानवाधिकारको कलङ्ककै रूपमा रहेको कम्लहरी प्रथाबाट पीडित कम्लहरीप्रति पनि कविको सहानुभूति रहेको छ । कम्लहरीको पीडालाई प्रस्तुत गर्ने क्रममा यिनका कवितामा साहुमहाजनले गर्ने शोषण, दुव्यर्वहार आदिको प्रस्तुति नभएर अबोध तथा निरीह बालिकाको आमाको काख र वात्सल्य छुटेका कारण उत्पन्न संवेदनालाई मार्मिक रूपमा प्रस्तुत गरिएको छ । उदाहरणस्वरूप एउटा कवितांश हेरौं ः

मलाई

माघीसँग डर लाग्छ आमा ∕

मलाई यो माघमा

तिम्रो न्यानो काख छाडेर

महाजनको घरमा

जान पटक्कै मन छैन ∕

(कम्लहरी, पृ. ९१) ।

यसैगरी मानवताकै अभिशापको रूपमा रहेको तथाकथित बोक्सीको आरोपमा लछारपछार र वmुटपिट गर्ने, शरीरको अङ्ग डामिदिने, अङ्गभङ्ग गरी अपाङ्ग बनाइदिने, मानिसको दिसा खुवाउने तथा गाउँ निकाला गर्नेजस्ता त्रूmर तथा पाशविक कार्यहरूबाट असङ्ख्य नेपाली महिलाहरू शारीरिक तथा मानसिक यातना भोग्न बाध्य छन् । नारीमाथि हुने यस्ता विकृत सन्दर्भ र परिस्थितिलाई नवराज सुब्बाका कवितामा यसरी अभिव्यक्त गरिएको छ ः

केवल रमिता हेर्छन् तर

रातो अचानामा बगेको महाभारत

पढ्ने आँखा अभैm उघ्रेनन्

द्रौपदीको चीरहरणभन्दा कहालीलाग्दो

जीवनहरण दिउँसै भइरहेछ

नारीलाई बोक्सी आरोपित गरेर

लछारपछार गर्दै दुनियाँ

जननीको गला निमोठ्दै छ

मानवशून्य बन्दै मान्छे

दिसापिसाब मुखमा बलात् कोच्दैछ

घाँटी थिचेर चीत्कार दबाइँदै छ

यसरी एउटी अबलाको जीवनयात्रा निषेध भएको छ ।

नारी अर्थात् जननीवर्गप्रति गरिने यस्ता अमानवयि दुष्कार्यका विरुद्धमा समाज तथा प्रशासन लगभग मौन रहेको स्थिति देखिन्छ । यसप्रकारका शोषण एवं अत्याचारका विरुद्ध कोही नबोलेको देखेर आक्रोश भएका कविले यसरी आवाज उठाएका छन् ः

यो उपद्रव छेक्ने हात खोइ उठेका

जीवन हिँडिरहेको हरफलाई

पूर्णविराम लगाइएको बेला

यो अत्याचारविरुद्ध

कलमका बिर्का खोइ खोलिएका ?

(नदी निदाएको बेला, पृ. ९६–९७) ।

एउटी महिलाको गर्भ रहनुमा महिला मात्र नभएर पुरुष पनि उत्तिकै जिम्मेवार हुन्छ तर यस सन्दर्भमा प्राकृतिक, सामाजिक एवं प्रशासनिक रूपले महिला मात्र पीडित हुने स्थिति विद्यमान छ । पुरुष एवं महिला दुवैको समान सहभागिता हुने स्थितिमा पनि बुझ पचाउँदै नारीलाई मात्र दोषी देख्ने सामाजिक परिपाटीको विरुद्धमा पनि नवराज सुब्बाका भावहरू अभिव्यक्त भएका छन् । यसको एउटा उदाहरण यस्तो छ ः

गुहार ∕

ए समाज खोजिदेऊ ∕

चाहियो अब मलाई

यो गर्भको शिशुको बाबु

निसङ्कोच म कुमारी

पर्खिरहेछु प्रेमीलाई

पतिलाई, पितालाई

न्वारान गर्नु छ

यो शिशुको ।

(पराजित प्रेम, पृ. ७५) ।

४. समापन: निष्कर्षण

नवराज सुब्बाका कवितामा सामाजिक, राजनैतिक, आर्थिक आदि विभिन्न क्षेत्रमा व्याप्त विसङ्गति र विकृतिको चित्रण कतै स्वच्छन्दतावादी भावुकताका साथ र कतै यथार्थवादी ढङ्गले गरिएको छ । कल्पना र चिन्तनको संयोजन पाइने यिनका कवितामा निराशावादी स्वरभन्दा बढी आशावादी एवं जीवनवादी स्वर मुखरित भएको छ । प्रथम र तृतीयपुरुष दृष्टिबिन्दुमा युगीन यथार्थको प्रकटीकरण गर्ने उद्देश्यद्वारा अभिप्रेरित यिनका कविता परिवेश चित्रणका दृष्टिले समेत सघन रहेका छन् । समग्रतः यथार्थलाई कल्पनामा रङ्गाएर विचारप्रधान कविता सिर्जना गर्ने नवराज सुब्बा नेपाली कविताका फाँटमा निजी पहिचानका लागि साधनारत प्रतिभा हुन् ।

नवराज सुब्बाको बीच बाटोमा ब्यूँझेर नामक सङ्ग्रहमा समाविष्ट कवितामा नारीका आमा, कम्लहरी, प्रेमिका, दोजिया कुमारी, बूढीकन्या, माग्ने, कुष्ठरोगी, बोक्सी, सतीजस्ता विविध रूपको प्रस्तुति भएको छ । यिनका कवितामा मानवीय सहभागीका अतिरिक्त मानवेतर सहभागी गाईका माध्यमबाट पनि आमाको पीडालाई प्रस्तुत गर्दै मानवीय मूल्यकै उपहास भएको भाव अभिव्यञ्जित छ । यसरी विविध सन्दर्भबाट नारी पीडाको चित्रण पाइने नवराज सुब्बाको यस सङ्ग्रहमा विविध पक्षबाट आमाकै सम्झना गरिएको छ, आमाकै पीडालाई आत्मसात् गरी प्रस्तुत गरिएको छ र आमाप्रति अटल श्रद्धाभाव मुखरित भएको छ । यसरी मानव र मानवेतर सहभागीका माध्यमबाट आमाप्रति अत्यन्त संवेदनशील र बफादार रही आमाकै सेरोफेरोमा विविध प्रकारका सामाजिक विकृति–विसङ्गतिलाई प्रस्तुत गर्दै त्यस्ता विकृति–विसङ्गतिको अन्त्यको चाहना प्रत्यक्ष–परोक्ष रूपमा अभिव्यक्त गर्नु कवि नवराज सुब्बाका यस सङ्ग्रहमा पाइने कविताको मूल प्रवृत्ति हो । समग्रमा भन्दा सृष्टिका सम्पूर्ण नारीहरूलाई जननीका रूपमा हेर्नु र जन्मदातृ आमाकै केन्द्रीयतामा समाजका विविध वर्गका नारीसम्बन्धी दृष्टिकोणलाई प्रस्तुत गर्नु कवि नवराज सुब्बाको कवित्वमा पाइने एउटा मूलभूत वैशिष्ट्य हो ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।