14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

माचिस र छेपारो

कविता प्रवीण खालिङ July 31, 2011, 2:01 am

ऐना फुटे जस्तो

चर्को जिन्दावादले

बस्तीको निन्द्रा डिस्टर्ब भएपछि

गॉंउले सिरानीमा राखेको माचिस छाम्छ।

थाहा छ,

आगोको बिउ जोगाउन कति साह्रो छ ?

उ सतर्क छ

विजय जुलुसको झरीमा

माचिस ओस्सिनु हुँदैन

अनि

उ छामिबस्छ खल्ती घरि घरि

र ढुक्क हुन्छ

आगोको अनिकाल परेको गॉंउमा

जोगिएको एक बाकस माचिस छामेर।

गल्लीहरूमा

क्यामोफ्लाईज छेपाराहरू

विकासको घाम ताप्न आइपुगेका छन्‌

समयको गति रोक्न

एन्टीक्लग सम्झौताको धजा हल्लाउँदै

देउरालीमा उभिएर

फेरि ऱङ परिवर्तन गर्दै झुक्काइरहेका छन्‌।

तर

अझै उठेको छैन शान्ति,

शब्दहरू ब्युतिएका छैनन्‌

एक दिन

बुटले कुल्चीएका रगताम्मे अक्षरहरू

विस्तारै उठ्‌नेछन्‌

अनि

देशको संविधानलाई माटोको टिका लगाई माग्नेछन्‌

त्यतिबेला विकासको घाम डुबिसकेको हुनेछ

गल्लीमा छेपाराहरू चिसिने छन्‌

तर

गाउँले जोगाएको आगोको बीउ रोप्नेछ

खल्तीको माचिस पार्ने छ

फेरि आगो बाल्नेछ।

गान्तोक

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।