15 वर्षदेखि निरन्तर
समकालीन साहित्य

बढ्दो मार्क्सवादी समालोचना लेखन

विचार याम संगीत August 4, 2011, 3:31 pm

मार्क्सवादी विद्वान् एजाज अहमदले यस्तै केही भनेका थिए, 'बुर्जुवाहरूका लागि माक्र्सवाद घाँटीमा अड्केको हाड भएको छ- निलुन् कम्युनिस्ट भएको आरोप लाग्छ, ओकलुन् गुदी कुरो केही बाँकी रहँदैन ।' नेपाली साहित्य-समालोचनाका क्षेत्रमा पनि माक्र्सवादी धार दिनप्रतिदिन कसरी हावी हुँदै गएको छ भने अब गैरमाक्र्सवादीहरू पनि यसैलाई आधार बनाएर बहस गर्न बाध्य भइसकेका छन् । ६ दशक लामो कम्युनिस्ट आन्दोलन र दशवर्षे माओवादी जनयुद्धको प्रभावले माक्र्सवादविरोधीलाई माक्र्सवादकै सेरोफेरोमा छलफल गर्नुपर्ने अवस्थामा ल्याइपुर्‍याएको छ । माक्र्सवादका उग्र आलोचकहरू पनि माक्र्सवादीकै मञ्चमा उक्लेर आफ्ना तर्क गरिरहेका भेटिन थालेका छन् ।

मोतीराम भट्टको 'कवि भानुभक्ताचार्यको जीवनचरित्र' -१९४८) देखि सुरु भएको मानिएको नेपाली समालोचना विभिन्न प्रवृत्तिगत मोडहरू पार गर्दै यहाँसम्म आइपुगेको हो । राजनीतिक-सामाजिक परिवर्तन र त्यसका आधारमा कलासाहित्यमा देखिने प्रवृत्तिगत भिन्नतालाई आधार बनाएर अध्ययन गर्ने हो भने नेेपाली समालोचनालाई आरम्भदेखि ००७ सालसम्म पहिलो, ००७ देखि ०४६ सालसम्म दोस्रो र ०४७ सालयता तेस्रो चरण भनेर निक्र्याेल गर्न सकिन्छ । ००७ सालको सेरोफेरोदेखि नै कला-साहित्यका अरू विधामा जस्तै समालोचनामा पनि

स्पष्ट दुई धारा देखा परे- माक्र्सवादी र गैरमाक्र्सवादी धारा । ००६ सालमा नेपाल कम्युनिस्ट पार्टी स्थापनासँगसँगै कलासाहित्यमा पनि माक्र्सवादी धाराको उदय भएको हो । यहाँ भने ०४७ सालयताको समालोचनामा बढ्दो माक्र्सवादी प्रभावबारे संक्षिप्त चर्चा गर्न खोजिएको छ ।

०४६ सालको आन्दोलनपछिको खुला बहुदलीय प्रतिस्पर्धात्मक व्यवस्थामा अभिव्यक्ति स्वतन्त्रता, संगठनमा आबद्ध हुने स्वतन्त्रतालगायत संविधानप्रदत्त अधिकारले स्रष्टा/समालोचकलाई उन्मुक्त वातावरण सिर्जना गर्‍यो, जसले गर्दा नेपाली समालोचनाका माक्र्सवादी/गैरमाक्र्सवादी दुवै धारमा नयाँ-नयाँ प्रवृत्ति र विशेषताहरू देखिन थाले । अर्कोतिर ०५२ सालदेखि नेकपा -माओवादी) ले सुरु गरेको जनयुद्धका क्रममा साहित्य-समालोचनाका क्षेत्रमा विशिष्ट धाराको जन्म भयो र झन् प्रस्टता र उच्चतासहित माक्र्सवाद पक्षधर र माक्र्सवादविरोधी खेमाबीच टकराव देखियो । माक्र्सवादी धाराको सबैभन्दा ठूलो द्वन्द्वात्मक यथार्थको केन्द्रमा माओवादी जनयुद्ध नै रह्यो, जसले यो अवधिलाई अझ उर्वर बनाइदियो ।

माक्र्सवादी समालोचना लेखन, पुस्तक प्रकाशन, सैद्धान्तिक बहस, सौन्दर्यशास्त्रीय विवेचना सबैतिर गुणात्मक र परिमाणात्मक विकास भयो । साहित्यिक पत्रिका र दैनिक अखबारहरूसम्म पनि माक्र्सवादी समीक्षाले स्थान लिन थाल्यो । माक्र्सवादी सौन्दर्यशास्त्रसम्बन्धी चिन्तन पनि यो अवधिमा उल्लेख्य मात्रामा बढ्यो । कृष्णचन्द्रसिंह प्रधान, गोविन्द भट्ट, डिपी अधिकारीलगायतले विकास गरेको माक्र्सवादी समालोचनालाई यो अवधिमा चैतन्य, निनु चापागाईं, ऋषिराज बराल, घनश्याम ढकाल, ताराकान्त पाण्डेय, मोदनाथ प्रश्रति, गोपिन्द्र पौडेल, जगदीशचन्द्र भण्डारी, नन्दीश अधिकारी, सुधा त्रिपाठी आदिले

जबर्जस्त रूपमा मूलधारमा स्थापित गराए । त्यस्तै, रमेशप्रसाद भट्टराई, डिआर पोखरेल, सुकुम शर्मा, रामहरि पौड्याल, जीवेन्द्रदेव गिरी, देवीप्रसाद गौतम, ईश्वरचन्द्र ज्ञवाली, रामप्रसाद ज्ञवाली, अमर गिरी, भवानी पाण्डे, पुरुषोत्तम सुवेदी, कृष्णराज अधिकारी, हेमनाथ पौडेल पनि माक्र्सवादी समालोचनामा सक्रियतापूर्वक होमिएका छन् ।

त्यसो त यही अवधिमा माक्र्सवादी समालोचनाभित्रै प्रवृत्तिगत रूपमा टड्कारो भिन्नता देखियो । माओवादी जनयुद्ध र त्यसले साहित्यचिन्तनका क्षेत्रमा उद्घाटन गरेको नयाँ यथार्थलाई केन्द्रमा राख्दा यो चरणको माक्र्सवादी समालोचनामा दुई फरक प्रवृत्ति पहिचान गर्न सकिन्छ । डा. ताराकान्त पाण्डेयका अनुसार त्यस्ता दुई धारा हुन्- जनयुद्धलाई नेपाली समाजमा विद्यमान वर्गसंघर्षको उच्चतम र उदात्त रूप मान्दै त्यसको सकारात्मक मूल्यांकन गर्ने धारा र अन्तराष्ट्रिय रूपमा मुक्ति आन्दोलनप्रति समर्थनभाव देखाए पनि नेपाली जनयुद्धप्रति तीव्र विरोध व्यक्त गर्दै यसलाई विद्रूप हिंसात्मक क्रियाकलापका रूपमा प्रस्तुत गर्ने धारा । ०६३ सालदेखि जनयुद्धले शान्तिपूर्ण मार्ग अवलम्बन गरेयता पनि माक्र्सवादी समालोचनामा मूलभूत रूपमा तिनै दुई धारा क्रियाशील छन् र जनयुद्ध पक्षधर धारा निकै शक्तिशाली भएको छ । जनयुद्धअवधिमा त्यसको सशस्त्र चरित्रप्रति सहमत हुन नसकेको माक्र्सवादी साहित्यकर्मी र सांस्कृतिकर्मीहरूको ठूलो पंक्ति गणतन्त्र, संविधानसभा, संघीयता र समावेशीकरणको मुद्दा व्यवहारतः स्थापना गर्दै जनयुद्धले आफ्नो औचित्य सिद्ध गरेपछि त्यही वैचारिक धारासँग एकताबद्ध भयो । मूलभूत रूपमा दुई धारा भए पनि पचासको दशकमा माक्र्सवादी धारामै जनयुद्धलाई क्रान्तिकारी कित्ताको आन्दोलनका रूपमा ग्रहण गर्दागर्दै पनि व्यावहारिक सवालमा त्यसप्रति आलोचनात्मक दृष्टि राख्ने धारा पनि अस्तित्वमा थियो । ०६० को दशकको मध्यतिर कम्युनिस्ट पार्टीहरूबीचको धु्रवीकरण र एकताप्रक्रिया सँगसँगै भएको सांस्कृतिक एवम् साहित्यिक संगठनहरूबीचको एकता र सम्मिलनले माक्र्सवादी समालोचनामा देखिएका प्रवृत्तिमा पनि परिमार्जन ल्याएको छ ।

माक्र्सवादी समालोचकको सानोतिनो फौज अहिले विचारमा प्रतिबद्ध भएर लेखनमोर्चामा उभिएको छ । पछिल्लो बीस वर्षमा क्रियाशील प्रमुख माक्र्सवादी समालोचक र उनीहरूका समालोचनात्मक कृतिको विवरण हेर्ने हो भने त्यसले माक्र्सवादी समालोचनाको विस्तारलाई नै संकेत गर्छ । चैतन्यका 'माक्र्सवादी कलादृष्टि र समीक्षा', 'क्रान्ति र सौन्दर्य', 'समीक्षा र सौन्दर्य', निनु चापागाईंका 'यथार्थवादी रचनादृष्टि र विवेचना', 'माक्र्सवादी चिन्तनमा सौन्दर्य', 'उत्तरआधुनिकतावाद ः भ्रम र वास्तविकता' तथा सम्पादित/अनुदितमा 'माक्र्सवादी समालोचना पद्धति' र 'माक्र्सवादी साहित्यचिन्तन', डा. ऋषिराज बरालका 'प्रगतिवाद र नेपाली उपन्यास', 'प्रगतिवाद', 'माक्र्सवाद र उत्तरआधुनिकतावाद', 'उपन्यासको सौन्दर्यशास्त्र', 'संगीत र सौन्दर्य', 'उत्तरआधुनिकतावाद र समकालीन यथार्थ', 'सूचना भूमण्डलीकरण र सांस्कृतिक साम्राज्यवाद', 'साहित्य र समाज' र 'सत्ता र संस्कृति', घनश्याम ढकालका 'माक्र्सवादी सौन्दर्यशास्त्रको विवेचना' र सम्पादितमा 'यथार्थवादी नेपाली समालोचना', 'पोखरेली समालोचना' र 'माक्र्सवादी साहित्य र जनयुद्धको सौन्दर्य', सुधा त्रिपाठीका 'भूपिका कवितामा व्यंग्यालङ्कार चेतना', 'दृष्टि चौतारी', 'महिला समालोचक र नेपाली समालोचना', र 'नारीवादको कठघरामा नेपाली साहित्य', गोपिन्द्र पौडेलका 'सौन्दर्यबोध र समीक्षा विविध' र 'कथाको सौन्दर्यशास्त्र', डा. ताराकान्त पाण्डेयका 'कला साहित्य ः भूमिका र मूल्यांकन', 'प्रगतिवाद र कविता', 'देवकोटाको व्यङ्ग्य कवित्व' र 'अर्थभ्रान्तिको उत्तरचेतनाका विरुद्ध', डा. जगदीशचन्द्र भण्डारीका 'साहित्य ः चिन्तन र विवेचन', 'प्रगतिवादी नेपाली कविता ः रेखाङ्कन र विश्लेषण', 'पृथक् सृजन, पृथक् निरूपण', 'सौन्दर्यको भूमिका' लगायतका दर्जनौं पुस्तक यो समयका प्रमुख माक्र्सवादी समालोचनात्मक कृति हुन् ।

मूलतः सांस्कृतिक लेखहरुको संकलन भए पनि अमर गिरीको 'समय, समाज र संस्कृति', प्रचण्डको 'संस्कृति, कला र सौन्दर्यचिन्तन', मोहनविक्रम सिंहको 'साहित्य र समालोचना', हेमनाथ पौडेलको 'प्रगतिवादी दृष्टिमा कवि र कविता', ईश्वरचन्द्र ज्ञवालीको 'वर्गसंघर्षको सन्दर्भ ः संस्कृति र सौन्दर्य' पनि माक्र्सवादी समालोचनाका उल्लेखनीय कृति हुन् । माक्र्सवादी समालोचनाको गोरेटोलाई विशाल र बहुआयामिक राजमार्गमा विस्तारित गर्न थुप्रै नवोदित र जुझारु समालोचकहरूको आगमन र फुटकर लेखन पनि अहिले बढ्दो छ ।

बहुदलीय व्यवस्था स्थापना र जनयुद्धको उठानको सेरोफेरोलाई आरम्भिक बिन्दु मान्दा ०४७ सालयताको समालोचनालाई समकालीन समालोचना पनि भन्न सकिन्छ । ०६२/६३ को जनआन्दोलन र गणतन्त्र स्थापनापछिको समयमा कलासाहित्यमा पनि नयाँनयाँ प्रवृत्तिहरूको विकास भइरहेको अवस्थामा केही उपबुज्रुकहरू भने पञ्चायतकालदेखि -०३६ सालयता) अहिलेसम्मको अवधिलाई एकमुष्ठ समकालीन अवधि भनिरहेका छन् र प्रवृत्ति पनि उस्तै भएको तर्क गरिरहेका छन् । तर, नेपाली समालोचनाको पचास र साठीको दशकमा कसैले चाहेर वा नचाहेर पनि नयाँ-नयाँ प्रवृत्ति उद्घाटित भइसकेका छन् र ती माक्र्सवादी धुरीकै वरिपरि घुमिरहेका छन् । साहित्य लेखनमा पनि माक्र्सवादी धारा शक्तिशाली भएर आएको छ र समालोचनामा पनि माक्र्सवादी धाराले नै अगुवाइ गरिरहेको छ ।

जनयुद्धको सौन्दर्य र त्यससम्बद्ध रचनाहरूको समीक्षा माक्र्सवादी समालोचनाको नयाँ विशेषता बनेको छ । माक्र्सवादी धाराभित्रै जनयुद्धविरोधी रचनाको सकारात्मक मूल्यांकन गर्ने र जनयुद्धलाई कुरूप चित्रण गर्ने प्रवृत्ति पनि नभएको होइन, तर जनयुद्ध र जनयुद्धकै सेरोफेरोमा रहेर क्रियाशील क्रान्तिकारी धाराले नै अहिले माक्र्सवादी समालोचनाको नेतृत्व गरिरहेको छ । माक्र्सवादी विद्वान् तथा सौन्दर्यचिन्तक निनु चापागाईंको शब्दमा 'जनयुद्धद्वारा सिर्जित यथार्थलाई प्रतिविम्बित गर्ने साहित्य नै अहिलेको प्रगतिवादको मूलधार हो ।' यस सन्दर्भमा अखिल नेपाल लेखक संघले प्रकाशन गरेको 'माक्र्सवादी साहित्य र जनयुद्धको सौन्दर्य' कृति-विवेचना र सैद्धान्तिक विमर्शसहितको महत्त्वपूर्ण र बृहत् समालोचना ग्रन्थ हो । इच्छुक सांस्कृतिक प्रतिष्ठानले प्रकाशन गरेको अनुसन्धानात्मक पत्रिका 'प्रवर्तक'को पहिलो अंक पनि जनयुद्धसम्बद्ध समालोचनाका सन्दर्भमा महत्त्वपूर्ण छ ।

गैरमाक्र्सवादी धारामा निकै चर्चामा रहेको उत्तरआधुनिकतावादविरुद्ध सशक्त वैचारिक प्रतिरोध माक्र्सवादी धाराले नै गरिरहेको छ । नेपाली समाजमा भएको वर्गसंघर्षको सौन्दर्यात्मक र सिर्जनात्मक मूल्यांकन पनि माक्र्सवादी समालोचनाले गरेको छ । माक्र्सवादी सौन्दर्यशास्त्रको फाँटलाई विस्तार गर्दै जनयुद्धको सौन्दर्यशास्त्र बहस र विमर्शको केन्द्रमा स्थापित भएको छ । जनजातीय सौन्दर्यशास्त्र र दलित सौन्दर्यशास्त्रको स्थापनामा पनि माक्र्सवादी समालोचकहरु नै क्रियाशील भइआएका छन् । माक्र्सवादसँगै जोडिएर नारीवाद र सबाल्टर्न अध्ययनसम्बन्धी लेखन र छलफल पनि बढ्दो छ ।

विचार वा संगठनमा प्रतिबद्ध होऊन् या नहोऊन्, माक्र्सवादी दर्शन बुझून् या नबुझून्, 'म पनि माक्र्सवादी हुँ' भन्न चाहनेको संख्या नेपाली साहित्य-समालोचनाका क्षेत्रमा 'दिन दुईगुना रात चौगुना' बढिरहेको छ । अघिल्लो महिना प्रगतिशील लेखक संघको सबाल्टर्नसम्बन्धी कार्यक्रममा डा. तारालाल श्रेष्ठले 'म पनि माक्र्सवादी हँु' भन्दै आफूलाई माक्र्सवादी मानिदिन गरेको अनुनय, साउन अंकको 'गरिमा' पत्रिकामा उपन्यासकार युग पाठकले माओवादीको सांस्कृतिक मोर्चाका कमान्डरहरूले आफ्नो उपन्यासको चर्चा नगरिदिएको वा आफूलाई माक्र्सवादी नमानेको भन्दै गरेको गुनासो र 'झिल्को' त्रैमासिकको पछिल्लो अंकमा झलक सुवेदीले 'माक्र्सवादी साहित्य र जनयुद्धको सौन्दर्य' ग्रन्थभित्र सबै माक्र्सेली स्रष्टाका समालोचना परेनन् भनेर गरेको टिप्पणी यहाँनिर उल्लेखनीय छन् । यसको अर्थ हो, माक्र्सवादी समालोचनाको क्षेत्रफल अझै तीव्र गतिमा फैलिने सम्भावना छ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।