गरिबहरूको रोजीरोटी बन्द अर्थात् नेपाल बन्दका दिन ज्याला मजदुरी गर्नेहरू चोकको एक कुनामा जम्मा भए । भरे साँझ के खाने, बच्चाहरूलाई के भनेर सम्झाउने भन्ने चिन्ताले ग्रस्त थिए । अनिश्चितकालीन नेपाल बन्दको खबरले झन चिन्तित भए तिनीहरू ।
“गत महिनामा मात्र मैले दुईपटक खुन बेचेँ”— रिक्सा चलाउने रामेले भन्यो ।
“पोहरसाल त हो मैले एउटा मृगौला बेचेको”— ठेला चलाउने हर्कबहादुरले सुनायो ।
“केही महिनाअघि मैले पनि एउटा आँखा बेचेँ नि”— भारी बोक्ने धनबहादुर बोल्यो ।
“मैले पनि भर्खरै पाठेघर बेचेँ”— दाउरा बेच्ने मनमायाले भनी ।
“साला जिन्दगी ! चाडबाड आउन लाग्यो । छोराछोरीहरू रोगी पिलन्धरे छन् । सम्पत्तिको नाममा यही एउटा ज्यान मात्र बाँकी छ । अब खै के बेच्ने ? हामी गरिबहरू धनीमानीहरुका स्पेयर पार्टस् को रूपमा पो जन्मिएका रहेछौं हगि !”— हर्कबहादुरले तितो ओकल्यो ।