19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

यो साल

कविता एनपी खार्पाली August 25, 2011, 5:27 am

मैले मेरो ठानेको भूमीमाथि,

ठूलो द्वन्द चलेको पनि

शदियौंझैं लागेछ कि क्या हो मलाई,

म संझन्छु,………..

….र त्यसैले,

मेरो मन मष्तिष्कमा पनि,

त्यो भन्दा ठूलो द्वन्द ऊठेछ,

र यशोधरा र राहुललाई

चटक्कै छाडेर सिध्दार्थलेझैं,

मैले आफूलाई

त्यो भूमीको भौतिक स्पर्शबाट

पूर्ण बंचित गराएँ ।

र यहाँ यो भूमीमा

हाँसेको देखाउदै छु,

नाँचेको मंचनमा ब्यस्तछु,

खेले झैं दौडमा ब्यग्र छु

र सारांशमा “खुसी छु” को भ्रम पकाई रहेछु ।

मैले यहाँको कुरा आज सात बर्ष भयो, किरिया खान्छु,

सपनामा कहिल्यै पनि देखिन,

क्यानाडीयन म ७ बर्षे प्रोजेरियन बालक,

न मैले हिंम मानव बनाई खेलेको

सपनामा देखेको छु,

न बा-आमासंग मेक्डोनाल्डको ट्वाई संसार पुगेकोछु,

न २० इन्च हिउँ मुनी पुरीएर हराएको

सपना बाट ब्युँझेको छु,

न छँदाखाँदाको जागिरबाट

निष्काशित हुनुको पीरले

रक्सीभट्टीमा आफूलाई पाएको छु,

न त आफ्नू सबारी साधनलाई कसैले

नराम्रोसंग ठक्कर दिएपछि

आफू मरेको पीरमा संगै सुतेकी

श्रीमतीलाई अंकमाल गर्न पुगेको छु ।

यी घटना त यहाँका दिन चर्याहरू हुन,

बिपनामै हुने गर्छन,

सपनाको कुनै दरकारै छैन।

तर जीबन बानी त हो,

म पनि अब यहाँ

बिस्तारै बानी पर्न थालेको छु,

र यो साल जे भो भैगो,

आउने साल त पक्कैपनि भनेजस्तै होला भन्नेमा पुगेको छु ।

एड्मन्टन, क्यानाडा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।