आयो लौ तीज जगायो हजुर, मनको तिर्सना,
नेपाली चेली रमाउंछौं यसमा, सकिन्न बिर्सन ।
कहांको जन्म कहां भो कर्म, बिदेशी भुमिमा
नौंडांडापारी छोडियो आज, माइतीको संझना ।
बोलाइलान्थे बाउमाइती आई, तीजको दर खान
आमाको सन्देश लिएर आउंथे, “पराइ नठान”
भावना मात्रै उर्लेर आउंछ, संझना टाढियो
योमुटु आज दुईचिरा भयो, दुईतिरै बांडियो ।
रमाउंदै आउंछन् सहश्र चेली, तीजमा भेटिने
मनको वह साटासाट गरी, विरह मेटिने ।
भेटभए होलान् दिदी र बैनी, माइतिको संगमा
आफु त हजुर परदेशी जीवन, विरानो रंगमा ।
गलामा पोते नौगेढी माला, गहना मिलाई
पहिरन रातो सौभाग्य जोगाउं, नगरौं ढिलाई
चिनारी हाम्रो संस्कृति राम्रो, तिजको रहरमा
विदेशमै पनि संगिनी जुट्यौं, न्युजर्सी शहरमा ।
कहांको तिमी कहांको हामी, यो ठाउंमा भेट भयौं
बर्षमा आउने चेलीको चाड, खुशीले मनायौं
यसरी सधैं रमाउन पाउं, खुशीको पाटोमा
जोगाइराखौं संस्कति हाम्रो, विदेशी माटोमा ।
(तीज गीत)
न्यृ्योर्क