14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

तीजगीत र नेपाली नारीका संवेदना

विचार तुलसी प्रवास August 25, 2011, 12:57 am

१.पृष्ठभूमि:

लोक साहित्यका विभिन्न विधा,उपविधा मध्ये लोकगीत एउटा महत्वपूर्ण विधा हो । अंग्रेजीमा “फोल्क लिटरेचर” ९ँयपि ीष्तभचबतगचभ० को समानार्थी रुपमा नेपालीमा लोकसाहित्य शब्दको प्रचलन हुने गरेको छ । यसको अर्थ हुन्छ जन साधारणले मौखिक परम्पराबाट रच्दै र हुर्काउँदै ल्याएको साहित्य । लोकजीवनका तीता–मीठा अनुभूतिहरुको त्यो सहज अभिव्यक्ति जहाँ शास्त्रीय बन्धन र कलात्मक सचेतता हुँदैन, त्यो नै लोकसाहित्य हो । श्रुति परम्परामा बाँच्ने अलिखित विधा भएकोले लोकसाहित्यमा रचयिताको कुनै अस्तित्व हुँदैन । लय वा भाका प्रधान भएर वाणीका रुपमा अभिव्यक्त भएको हार्दिक अनुभूति नै गीत हो । जब लोकले आफ्ना विरह वेदना सौन्दर्य तथा श्रृङ्गार भावलाई सहज र स्वाभाविक पाराले उन्मुक्त स्वर लहरीमा पोख्दछ त्यसले लोकगीतको संज्ञा पाउँछ । “शिक्षा लोकगीतको शत्रु हो” भन्ने किट्रिचको भनाइअनसार लोकगीत अशिक्षित समाजमा अझ बढी फस्टाउन सक्तछ । जहाँ शिक्षाको प्रकाशले स्पर्श समेत गरेको हुँदैन त्यस्तो समाजमा लोकगीत अझै मौलाउन सक्दछ । शिक्षाले ल्याएको आधुनिकताको भुँवरीमा लोकगीत हराउन पनि सक्तछ ।

लोकका कुनै एक दुई प्रतिभाद्धारा लोकजीवनका हाँसो ,आँसु, दर्द,पीडा , स्थिति, परिस्थितिजन्य भावनाहरुलाई आफ्नो मधुर स्वर लहरीद्धारा अभिव्यक्त गरेपछि त्यही लहरीलाई पछ्याउँदै त्यहाँको लोकजीवन झुम्न थाल्दछ । त्यो लहरी अनेकौं डाँडा–पाखा ,भञ्ज्याङ चाहार्दै सबैको हृदयलाई आल्हादित तुल्याउँदै जान्छ त्यही नै लोकगीत हो । लोकगीत लोकको साझा सम्पत्ति हो । मौखिक परम्परामा जीवित हुने हुँदा यसका रचनाकारको कुनै अस्तित्व हुुँदैन । त्यसैले पनि लोकसाहित्यलाई अपौरुषेय साहित्य मानिने गरिन्छ । वेदलाई पनि तत्कालीन लोकसाहित्यकै नमूना मान्ने गरिन्छ । सामवेद विशुद्ध गीत हो जो विभिन्न यज्ञ उत्सवमा बाजाका साथ गाइन्थ्यो । सुन्ने ,कण्ठ गर्ने र गाउँने हुनाले यसले “श्रुति”नाम पायो । यो परम्परा लोकमा रहिरह्यो । विवाह आदि उत्सवमा गाइने परम्परागत माँगल गीतमा वैदिक क्रियाकै भावभूमि भेटिन्छ । हुनसक्छ तिनै वैदिककालीन गेयात्मक क्रियाकलापहरु जनजिब्रोमा सर्दासर्दै भाषिक परिवर्तनका चक्रमा पिंधिदै आज यस रुपमा आएका छन् । यसैले लोकसाहित्य परम्परालाई दोस्रो वैदिक परम्परा भनिएको हो !

लोकगीतमा अन्जानमै भए पनि लय ,छन्द,विम्ब,अलङ्कार आदि काव्यात्मक गुणहरु भित्रिएका हुन्छन् । लोकगीत रचना गर्ने व्यक्ति अशिक्षित हुने भएकोले उसलाई शास्त्रीय छन्द, अलङ्कार आदिको ज्ञान हुँदैन । आन्तरिक उद्गार जस्तो भाकामा उद्गारित हुन्छ त्यही छन्द बन्दछ । वेदनाको तरङ्गले अभिव्यक्तिको बाङ्गो सोझो जस्तो बाटो समाउँछ त्यही नै अलङ्कार हुन्छ । प्रकृति परिस्थितिले हृदयमा प्रभाव पार्छ , तदानुसारको भाव र रसको उदय हुन्छ । यसरी नितान्त नैसर्गिक रुपमा लोकगीतको मूल फुट्छ र झर्ना बनेर झर्दछ । वास्तवमा लोकगीत झरना जस्तै हुन्छ । हजारौं वर्ष पुरानो भएर पनि झरनाको पानी नित्य नयाँ हुन्छ, न कहिल्यै सुक्छ ,न कहिल्यै रोकिन्छ बरु उसका जल कल्लोलमा नयाँ–नयाँ संगीत र नव–नव नृत्यहरु थपिंदै जान्छन् ।

लोकगीतले लोकको आवाज गुञ्जाउँछ । समाजमा हाँसो र खुसी दुवै छन् । हाँसो ,उमंग र रमझमले भन्दा पीडा, दुःख र आँसुले मानवीय संवेदनालाई छिटो प्रभावित पार्दछ । नेपाली समाज अझै पनि संवेदनामुक्त छैन । यहाँ अनेकौं पीडा छन् । बाध्यता छन् । आँसु यहाँको निरन्तर मुहान जस्तै बनेको छ । कहिले कुन परिस्थिति त कहिले कुन बाध्यताले आँसु बगिरहन्छ नेपाली समाजमा । समाजका यिनै आँसुका ढिकाहरुलाई टपक्क टिपेर तीजगीतमा उतार्ने गर्छन् महिलाहरूले । यस्ता गीतहरुले समाजका हरेक मानिसको हृदयलाई छुन्छन् । हृदयलाई छुनु भनेको तीजगीतको बजार पनि बढ्नु हो ।

२.ऋतु पर्वगीत अन्तर्गत तीजगीत ः

वर्षभरिका प्राकृतिक तथा मौसमसम्बन्धी विविधताका आधारमा १२ महिनालाई ६ वटा ऋतुहरूमा विभाजन गरिएको छ । मानिसमा प्रकृतिको प्रत्यक्ष तथा परोक्ष प्रभाव परिरहेको हुन्छ । यस प्रभावले उसका भावना र विचारमा पनि परिवर्तन ल्याउन सक्छ । यसले गर्दा प्रत्येक कालखण्डका गीतहरू भिन्नाभिन्नै पाराका हुन पुग्छन् । यस्ता गीतहरुलाई ऋतु गीत भन्न सकिन्छ तर ऋतुहरुको नामबाट भने कुनै गीतको पनि नामकरण भएको छैन बरु महिनाको आधारमा असारे, भदौर, मंसीरे, फागुन आदि गीतहरु नामकरण भएका छन् । अतः ऋतुगीतको छुट्टै अस्तित्व नमानी त्यसलाई पर्वसँग जोडेर ऋतुपर्व गीत भनिएको हो ।

समाजका हरेक जातिले आफ्नो जीवन संघर्षलाई हलुको पारी पीर व्यथा र वेदनाका भारीहरू बिसाई एकैछिन भए पनि रमाउन विभिन्न विश्रान्तिका क्षणहरूको व्यवस्था गरेको हुन्छ , जसलाई हामी पर्व भन्दछौँ । हामी नेपाली वर्षभरिमा के —कति पर्व मनाउँछौं त्यसको लेखाजोखा छैन । यहाँ प्रत्येक जाति र वर्गले आ—आफ्नै प्रकारका पर्वहरू मनाउने गर्दछन् । यस्ता पर्वमा गीतहरू गाउने नाच्ने परम्परा पुस्ताँैदेखि चल्दै आएको छ । त्यस्ता पर्व गीतहरुमध्ये तीज गीत प्रमुख गीत हो ।

३.तीजगीत र नारी संवेदना

वर्षायाममा पर्ने नेपाली नारी जातिको महान् पर्व हरितालिका तीजको अवसरमा गाइने गीत नै तीजगीत हुन् । विशेष गरी हिन्दु नारीले आफ्ना पतिको दीर्घायुको कामना गरेर ब्रत बसी पूजाआजा गरी तीज पर्व मनाउने गर्छन् । यस पर्वमा विवाह भएका छोरी चेलीलाई माइतबाट लिन जाने, तीजको अघिल्लो दिन सबै बसेर मीठा—मीठा परिकारहरु ‘दर’ खाने र भोलिपल्ट निराहार बसी ब्रत गर्ने परम्परा रहिआएको छ । नेपाली नारीले भोग्नुपरेको अभाव , पीडा, व्यथा , अन्याय आदिका आवाजहरु यस पर्वमा गुन्जने गर्दछन् । आफ्नो घरका पीडा र व्यथाहरु माइतीमा गएर साथी— साथी जम्मा भई थपडी बजाएर गाउने र कम्मर मर्काउँदै घुमी— घुमी नाच्ने यस पर्वले नारी जातिलाई ठूलो स्वतन्त्रता प्रदान गरेको महसुस हुन्छ ।

अधिकांश नेपाली समाज मध्यमवर्गीय समाज भएकोले यहाँका नारीहरुमा अनगिन्ती पीडा र वेदनाका कथाहरु छन् । घरमा सासुले बुहारीमाथि गर्ने व्यवहार, नन्द भाउजूको द्वन्द्व, पति पत्नीको असमानताका व्यवहार आदिले नेपालीे समाजलाई नराम्ररी प्रभावित पारेको छ । वर्तमान समयमा नेपाली नारीहरु पनि केही शिक्षित र सचेत बनेकाले उनीहरुका गीतहरुमा परिवर्तनको स्वर पनि भेट्न सकिन्छ । समय समयमा हुने विभिन्न प्रतियोगितामा तीज सम्बन्धी गीतहरुले विविधता पाएका छन् । नारी जातिको मुक्तिका गीतहरु वर्तमानमा प्रशस्तै सुन्न पाइन्छ । आजभोलि नारीले मात्र नभएर पुरुषले पनि तीज गीतहरु गाउन थालेको भेटिन्छ । तर पनि नारीकै संवेदनाका आवाजहरुको प्रधानता तीज गीतमा रहेको पाइन्छ ।

तीजगीतमा नारी संवेदनाका आवाजहरु विभिन्न परिस्थिति अनुसारका हुन्छन् । नेपाली नारीका संवेदनाहरू निम्न कुराहरूले जन्माएको भेटिन्छ ः—

३.१.पारिवारिक असमानता ः

विश्व समाजले एक्काइसौँ शताब्दीको खुड्किलो पार गर्न लागिसक्दा पनि नेपाली समाज अझै सभ्य र सुसंस्कृत बन्न सकिरहेको छैन । पारिवारिक कलह, मनमुटाव, असमानता आदि नेपाली समाजमा नराम्रोसँग जरो गाडेर संस्कारकै रूपमा स्थापित भएका छन् । विवाह गरेर ल्याएकी अर्काकी छोरीलाई विभिन्न बहानामा हेला गर्ने, लाञ्छना लगाउने जस्ता अमानवीय कार्य यत्रतत्र देखिन्छ । जुन कुराको अभिव्यक्ति नारीहरूले तीज गीत मार्फत घन्काउने गर्दछन् ।

उदाहरण ः

भित्र बाहिर गरे पनि रुचाउँदिनन् सासूले

रुँदा रुँदै पछ्यौरी यो भिज्यो अाँसुले ।

................................................

यो घरको भाँडाकुँडा होटेलकै छ चाल

घाँस काट्न वन जाँदा कोरें कपाल ।।

३.२. लैङ्गिक असमानता ः

तीज विशेष गरी नेपाली नारीहरूको चाड हो । छोरा जन्मिदा बढाइँ गर्ने र छोरी जन्मिदा पुर्परोमा हात लगाउने नेपालीको प्रवृत्ति अझै पनि पूर्ण रूपमा अन्त्य भैसकेको छैन । घरभरि छोरी भैसक्दा पनि छोराकै चाहनामा अर्को वर्ष फेरि छोरी जन्माउने बाबु आमाले छोरीप्रति गर्ने ब्यबहार असमान र अमानवीय रहँदै आएको छ । एउटै कोखबाट जन्मेको सन्तानलाई गरिएको यस्तो असमान प्रवृत्तिको विरोध गीत बनेर तीजको समयमा व्यक्त हुने गर्दछन् ।

उदाहरण ः

छोरालाई दिनदिनै माष्टरको काखमा

हामीलाई दाउरा, घाँस वन पाखामा ।

.........................................

भाइलाई भने बाबाले कापी किताब किन्दिने

मलाई भने बाबाले डोको बुन्दिने ।।

३.३. बाध्यात्मक परिस्थिति ः

वर्ष दिनमा एकपटक आउने चाड तीजमा माइत जान नपाएर कर्म घरमै तड्पिएर बस्नु पर्दाको पीडाले नेपाली नारीहरूमा अर्को संवेदना जागृत गराइदिन्छ । यसरी माइत जान नपाउनुको पछाडि अनेक बाध्यात्मक परिस्थितिले अवरोध पुर्याएका हुन्छन् । कसैका माइती लिन नआएर, कसैलाई उर्लँदा नदीनालाहरूले छेकेर, कसैका कर्कस सासूहरूले विदा नदिएर आदि विविध परिस्थितिका कारणले तीजका गीतहरू सिर्जना भएका हुन्छन् ।

उदाहरण ः

तीज आयो भन्छन् सबै माइत जान्छन्

मै छोरी अभागिनी कसका माइत जाऊँ ?

ंंंं.....................................................

बर्ष दिनको तीजमा बाबा लिन आउनुभो

अँधेरी खोलाले छेक्यो बरिलै ।।

३.४. राष्ट्रिय परिवेश ः

समयको परिवर्तनसँगै नेपाली नारीहरूमा पनि चेतनाको स्तर बृद्धि हुदै गएको देखिन्छ । जसको फलस्वरुप आफ्ना व्यक्तिगत पीडाका साथसाथै देश दुखेका आवाजहरू पनि तीजगीत मार्फत गुञ्जन थालेका छन् । हत्या र हिँसाबाट आक्रान्त नेपाल आमाका आँसुहरू गीत बनेर पोखिन्छन् ।

उदाहरण ः

कैले दुख्छ नारायणहिटी कहिले रुकुम रोल्पामा

कहिले बग्छ रगत भेल हाम्रै डोल्पामा ।

.........................................................

जो मरे नि नेपाल आमा धुरुधुरु रुनेछिन्

आफ्नै सन्तान गुमाउँदा दुखित हुनेछिन् ।।

४.निष्कर्ष ः

नेपाल पितृसत्तात्मक मुलुक हो । यहाँका नारीहरूमा अनेकथरि पीडाहरू गुम्सिएर रहेका छन् । त्यही पीडा पोखेर मन हलुको पार्ने पर्वको रुपमा तीजलाई लिने गरिएको छ । यही रमाइलो पर्वमा कर्मघरका गुनासाहरु साथी साथी जम्मा भएर गीत मार्फत पोख्ने गरिन्छ । तिनै गीतलाई तीजगीत नाम दिइएको छ । तीजगीत नेपाली लोकगीतको एउटा महत्वपूर्ण पाटो हो । समाजको आधा आकाश ढाकेका नारीहरूका सिर्जना तीजमा मुखरित हुने गर्दछन् । नारी जातिका संवेदना जागृत हुने विभिन्न कारणहरू छन् । तिनै संवेदनाका आवाजहरूले सबैको मन रुवाउने गर्दछन् । समयको परिवर्तनसँगै आधुनिकीकरणको प्रभावले पुरानो सँस्कृतिमा केही विकृति भित्रिने खतरा तीज गीतमा पनि मडारिएको छ । यसतर्फ हामी सबै सचेतवर्ग होशियार हुनु जरुरी छ ।

सन्दर्भ सामग्री:

१. अधिकारी, नारायणप्रसाद स्याङ्जाली लोकगीतको अध्ययन,सङ्कलन र वर्गीकरण ज्याग्दी खोलामा केन्द्रित), स्नातकोत्तर शोधपत्र, त्रि.वि.वि.,२०४३ ।

२. न्यौपाने, कुसुमाकर (२०६६),पश्चिमाञ्चल क्षेत्रमा प्रचलित नेपाली लोकगीतहरूको अध्ययन(विद्यावारिधी शोधप्रबन्ध), काठमाडौँ ः त्रि.वि. मानविकी तथा सामाजिक शास्त्र संकाय, डीनको कार्यालय ।

३. अधिकारी,बिश्वप्रेम, आँधीखोले लोकसंस्कृति र लोकगीत ,स्याङ्जा , विजयकुमार अधिकारी, २०५७ ।

४. खनाल, तुलसीराम, आँधीखोले लोकगीतको सङ्कलन, वर्गीकरण र अध्ययन, स्नातकोत्तर शोधपत्र, त्रि.वि.वि ,२०६० ।

५. थापा , धर्मराज र सुबेदी हंसपुरे,नेपाली लोकगीतको विवेचना,काठमाडौँ, पा.वि.के,त्रि.वि.,२०४१ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।