19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गाउँमा एउटा साँझ

कविता विवश पोखरेल August 25, 2011, 2:26 pm

पहाडको मायालु छातीमाथि

निर्धक्क टाउको अड्याएर

एउटा थकित दिन

विश्राम लिने तरखरमा छ

गुलाबी बिछ्यौनामा निश्चिन्त

सुतेजस्तो देखिन्छ पहँेलो घाम

निर्जनता छिचोल्दै–

निर्बाध बगिरहेछ नदी

चिरबिर चिरबिर गाइरहेछन् चराहरू

समयको उदास गीत

एउटा सग्लो दिनको अन्त्य गरेर

गोधूलिसँगै फर्किरहेछन् गोठालाहरू

पिठ्ँयूको दाउराको भारी पिँढीमा बिसाएर

कमिजको फेरोले निधारका पसिना

पुछिरहेका छन् एक हुल गाउँले

तुरतुरे धारोमा

माटो सुगन्धित फरुवा पखाल्दै

सन्तुष्टिका स्नान गरिरहेछन् किसानहरू

दिनभरि मेलापातमा हराएकी

आमाको न्यानो काखमा लुट्पुटिंदै

निस्सासिंदै चुसिरहेछ एउटा बालक

आमाको गानिएको दूध

गोठमा गाँसिदै छन्

बिहानी पूर्वाद्धमा फुकेका

बस्तुका असरल्ल दाम्लाहरू

एउटा सिलसिलाको

नवीकरण गरिरहेछ समय

क्रमशः आँखाबाट ओझेल परेको छ

अनवरत यात्रारत एउटा दिन

जीवन समरमा हारेको छ समय

गाउँलेहरू मनाइरहेछन्

समयको पराजयमा एउटा विजयोत्सव

पाहुनाजस्तै –

प्रकृतिको ढोकाबाट भर्खरै भित्रिएको छ

गाउँमा एउटा साँझ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।