19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

सम्बोधन तिमीलाई

कविता रीता खत्री August 29, 2011, 7:51 am

तिम्रो आँखामा

आँसुको अथाह समुद्र बगेको हेरिरहें

जब पोलेर आए आफ्नै मुटुलाई

पीरको झरिलो अगेनामा

शुष्क ओठहरू अझ शुष्क बने

निस्तेज बने आवाजहरू

तिमी बग्नु थियौ एउटा समय नदी

बग्यौ,

म अभागी बगर उभिरहें

मौन.....

जीवनको थकित किनारामा ।

अचम्म लाग्छ–

घुटुक्क निलेर कसरी स्विका¥यौ तिमीले

एउटा कृत्रिम खुसी ?

कसरी उमा¥यौ उदास अनुहारमा

अनुपम मुस्कान ?

बालुवामा कोरिएका

पाइतालाका डोबहरूजस्तै

मेटाएर अतीत

बिन्ती धमिला सम्झनाहरूले

नदुख्नु कहिले

तिमी मेरो जीवनको सुवासित पूmल

मेरो हृदयको प्रेमिल मूल

बर्खे खहरे भएर नसुक्नु कहिले

र पीरका बलेंसीबाट झरेका

अविरल झरीले नरुझ्नु कहिले

चिम्म बन्द गरेर आँखा

सम्झनू

परस्पर हात समाउँदै तर्दै गरेका

जीवनका अप्ठयारा साँघु

काँडाका सडक टेकेर हिंद्दै गरेका

दुखका लामो उकालो

आँखाका आँसु साटासाट गरेर

मेटाएको मायावी तिर्खा

सम्भवतः अझै होलान्

तिमी र म हिंडेका

साँघुरा आली र गोरेटाहरूमा

सामूहिक पद्चापका कोमल छाप

मनभित्र अझै रहिरहेका होलान्

जीवनका साँघुरा भीरमा

अनायास चिप्लिएर तिमी लड्दा

नमीठो गरी आपूm दुख्नुुको पीडा

कता हराए ती प्रेमिल जोडी

आँखामा धमिला यादहरू बोकेर

अझै सोधिरहेका होलान्

कुहुकुहु गर्दै वनका चरीहरू

तिम्रो र मेरोे प्रतीक्षामा

मौन पर्खिरहेका होलान्

ढुङ्गे फलैंचा धारा

र डाँडा भञ्ज्याङ, चौतारीहरू

फेरि एकपल्ट

ईष्र्याको सहरमा फैलिरहेको होला

तिम्रो र मेरो सम्बन्धको नमीठो हल्ला

हाम्रो सपनाको

दुखद मृत्यु हुनुको भ्रममा

खुसी होलान् धेरै आरिसे मन

दुःखी होलान्

केही शुभचिन्तक र आफन्त

हुनदेऊ अब केही नसम्झनू

हिंडेर छाडेको बाटो नसम्झनू

पहिरोमा बगेर गएको

जीवनको उदास पाटो नसम्झनू

मुटुमा यदाकदा बल्झने

दुखःका खाटो नसम्झनू

मात्र यति सम्झनू

एउटा अनियन्त्रित आँधीमा पनि

दुई हत्केलाले जोगाएर प्रेमदीप

हामीले जितेका छौं एउटा युद्ध

त्रासदीको गहिरो भासबाट

निकालेर सुन्दर जीवन

स्वप्निल उद्यानमा रोपेका छौं

प्रेमको सुन्दर पूmल

र कोरेका छौं

समयको निष्पक्ष इजलासमा

एउटा शाश्वत नजिर

प्रेम शरीर होइन आत्मा हो ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।