19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

समय, म अनि देश

कविता प्रदीप चापागाईं September 5, 2011, 8:05 pm

म सानै छँदा

बार्‍हखरी भर्‍याङ चढेर

क,ख,ग हुँदै

क्ष,त्र,ज्ञ सम्म पुग्थेँ

विभक्ती उपसर्गहरु

आकार ईकारहरु

अनि शब्द र वाक्यहरु

समयले नै सिकायो

चिनेँ अक्षरहरु

तोते बोलीमा

पाठशाला आँगनमा

'श्रीमन गम्भिर ' का रूपमा

महाराजको स्तुती गाउँथे

र पढ्ने गर्थेँ

च्यातिएको किताबमा

मेरो देशको ईतिहास । ।

म अहिले बुझ्ने भएँ

अड्डामा थन्किएका

अभिलेखका खातहरुमा

यदाकदा अखबारहरुमा

अनी स्मारकका

ढुंगे शिलाहरुमा

पढ्ने गर्छु

टिष्टा काँगडाका माटोहरु

दार्जिलिङ सिक्किमका थुम्कोहरु

स्वदेश नै थियो रे

फगत हाकिमहरुका वार्ताले

सन्धी सम्झौता पछि

नेपाल आमालाई चिर्दै

अंग अंग बेचियो रे । ।

म भोली बुढो हुनेछु

सन्ततीहरुको बिचमा बसेर

मैले भन्नु नपरोस्

नानी हो

सुन फल्ने तराई पनि

नेपाल आमा नै थिईन्

यही कामना गर्छु

म अस्ताउँदै गर्दा

मैले बुझाउनु नपरोस्

लज्जित ईतिहास

अनि चिनाउनु नपरोस्

अभिलेख,अखबार र शिलाहरुमा

ति बदनाम अक्षरहरु । ।

छैमले-३, काठमाडौं, हाल: सिड्नी,अष्ट्रेलिया

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।