18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

अर्धवृत कवितासङ्ग्रह पढ्दा

कृति/समीक्षा सदानन्द अभागी September 6, 2011, 4:37 am
सदानन्द अभागी
सदानन्द अभागी

दीपा एवाई राईसँग मेरो कान्तिपुर एफ. एम.मा साहित्यिक अन्तरवार्ताको सिलसिलामा संयोगले पहिलो पटक भेट हुन पुग्यो । दीपाले “अर्धवृत”को बारेमा बोलेर हेम भण्डारीसँग बाहिर निस्कनु भयो र हेम भण्डारीले मेरो परिचय गराइदिएर मलाई अन्तरवार्ताको लागि भित्र बोलाउनु भयो । उहाँ हङकङबाट आप्mनो साहित्यिक यात्रामा नेपाल आउनु भएको हुँदा उहाँसँग म पनि केही जिज्ञासा राख्ने बिचार गरें । हेम भण्डारीसँग मेरो भावी प्रकाशन “यात्री” उपन्यासको बारेमा केही कुराकानी सकेर बाहिर त आइयो तर दीपाको व्यस्तताले गर्दा उनको कवितासङ्ग्रह उपहारलिनु सिवाय हाम्रो साहित्यिक गतिविधिको बारेमा छलफल हुन भने सकेन । अर्धबृत राम्रोसँग पढें । ओरिएन्टल पब्लिकेशनले प्रकाशन गरेको यो कवितासङ्ग्रह (७० +१५). ८५ पृष्ठको र मूल्य रु १०१ (हङकङ डलर ४१.००) छ । दीपा एवाई राईले यो कवितासङ्ग्रहलाई समुच्च साहित्य÷ विचार शृङ्खला भनेर समुच्च विचारका ५ वटा मान्यताहरु (अस्तित्व, भिन्नता, शून्यता, प्रकट र सौन्दर्य) सहित आप्mनो दर्शन र कविता दुबै एकै समयमा “अर्धवृत” कवितासङ्ग्रहमार्पmत प्रस्तुत हुन प्रयास गरेको पाइयो । “अर्धबृत”को आवरण चित्रले नै नरनारीको समान उपस्थितिले मात्र पूर्णवृत हुने अर्ध नारीस्वर बोलिरहेको भान हुन्छ ।

नेपाली साहित्यमा नारीवादी लेखहरु नलेखिएका होइनन् तर पनि दीपा एवाई राइको यो “समुच्च बिचार” जस्तो नारी र पुरुष बीच हरेक क्षेत्रमा समान अधिकार, सर्बत्र सम्मान, उपस्थिति, प्रतिष्ठा, आदिमा सशक्त आवाज बुँदागत रुपमा उठाएर विचारको रुपमा, आएको नारीवादी कवितासङ्ग्रह सायद यो नैे पहिलो हुनु पर्दछ । यो विचारलाई प्राध्यापक ( नेपाली) डा. टङ्कप्रसाद न्यौपानेले लेख्नु हुन्छ – “जानेर या नजानेर यो विचार भारतीय नेता तथा चिन्तक जयप्रकाश नारायणका सर्बोदयवादका नजिक पुगेको बुझिन्छ ।” प्रा. डा. गोविन्दराज भट्टराई ले – “ पूर्णवृतको यात्रामा म सधैं तिमीसँगै हुने छु दीपा” शीर्षक दिएर लेख्नु हुन्छ –“उनका सोचहरु समुच्च विचारमा छन्, ती अनुसारका अभ्यास अर्धवृतका कवितामा ।............. तिमी भित्र दर्शन र कविता एकै चोटी अवतरित भएछन् । तिम्रा कविता नै बिचार हुन् , तिम्रो समुच्च विचारको म हरेक पल्ट स्वागत गर्छु ।” “साहित्यमा नवीन सिधान्तः समुच्च विचार” शीर्षक दिएर देश सुब्बा लेख्नु हुन्छ –“डेरिडाले उल्लेख गर्ने ग्याप, नागार्जुनले उल्लेख गर्ने शून्यता सात्र्रले उल्लेख गर्ने अस्तित्व,, देश सुब्बाले उल्लेख गर्ने प्रकट र प्रकृतवादमा जोडिएर आएको विचार रहेछ “समुच्च बिचार।”

संयुक्त विचरमा, कृतिकारले भन्न चाहेको ५ वटा मान्यताहरुमा पूर्णवृतमा आधावृत ओगटेको नारीको अस्तित्व, भिन्नता, शून्यता, प्रकट र सौन्दर्यतामा धर्म के हो र धर्मले नारीलाई कसरी प्रदर्शित गरेको छ ? संस्कार, रीतिरिवाजले के भन्छ ? कानुनले कसरी न्याय गर्दैछ ? भन्ने नारीवादी चिन्तन बोकेर सारगर्भित प्रश्न उठाइएको छ र कविता मार्फत नारीमाथी गरिएका असमान व्यवहारमा विद्रोहका आवाजहरु गुञ्जिएका छन् ।

कृतिकारले उठाएको प्रथम मान्यता अस्तित्व हो– विश्व ब्राह्माण्ड अस्तित्वको आधारमा कायम छ, यहाँ सबैको अस्तित्व छ तर व्याक्ति परिवार, समाज, विश्वमा भैरहेका नारीप्रतिको असमनता, भेदभावमा परिवर्तन आउन नसक्नु र नारीहरुले सम्पूर्ण कामहरु गर्न सक्दा सक्दै पनि नारी अस्तित्वलाई आत्माबाटै नस्वीकारिनु हो त्यसैले नारीहरुको अस्तित्वलाई आत्माबाटै स्वीकार गर्नुपर्छ भन्ने कृतिकारको ठहर छ ।

कृतिकारले उठाएको दोस्रो मान्यता भनेको भिन्नता हो । नारी आचरण, दोष, श्राप, र नारीलाई भोग्य बस्तु ठान्नु, र कज्याउने भावनाको धर्मसंसस्कार, बोकेका धर्मग्रन्थहरु के सहि छन् त ? नारीहरु धार्मिक छन्, पूजा आराधना गर्छन्, धर्मको पालना गर्छन् तर तिनीहरुको उत्थान छैन, रीतिरिवाज, कानुनद्वारा निर्मित, समाजबाट नारीहरु दमित छन्, यसबाट नारीले मुक्ति पाउनु पर्छ र नारीलाई दमन गर्ने ,सम्पूर्ण धर्मसंसकार, रीतिरिवाज र कानुन परित्याग गर्नु पर्दछ । नारी अस्तित्वको लागि, नारी र पुरुष समानताको लािग नयाँ कानुनको निमार्ण हुनु पर्दछ भन्ने धारण आएको छ कृतिकारको।

कृतिकारको तेस्रो मान्यता भनेको शून्यता हो। यसमा कृतिकारको कथन छ –“अहिले विश्वमै नारीको स्थिति शून्य छ, व्यवसाय, राजनीति, कानुन, साहित्य, कला, सङ्गीत, विज्ञानमा ।.... त्यस शून्यतामा महिलाको उपस्थिति हुनुपर्दछ ।”

कृतिकारको चौथो मान्यता भनेको प्रकट हो। यस मान्यतामा कृतिकारको कथन छ –“विश्व, ब्रह्माण्ड, जीवन, जगत सबै विच्छिन्न छ । खण्ड खण्ड छ । एउटा खण्डबाट अर्को खनण्डमा जोडिएर जीवन र जगत बनेको छ । प्रत्येक खण्डको मिलन बिन्दु प्रकट हो । एउटा खण्डबाट अर्को खनण्डमा जाँदा देखिने हुने नयाँ रुपको सबै भन्दा उपयुक्त शब्द प्रकट हो ।” कृतिकार चाहानु हुन्छ नारी र पुरुष नयाँरुपमा प्रकट हुनु पर्दछ । यसरी प्रकट हुन नसके नारीहरु पुरुष, समाज, धर्मसंस्कार, कानुनको खेलौना मात्र बन्न पुगिन्छ ।

कृतिकारको पाँचौ मान्यता भनेको सौन्दर्य हो। यसमा कृतिकारले जसरी संसारमा उपस्थित सजीव र निर्र्जीव बस्तुबाटै संसार सुन्दर देखिएको हो त्यसरी नै समाज, देश, परिवारमा नारीको भूमिकालाई, अस्तित्वलाई स्वीकार्ने, नारीको सर्बत्र सम्मान, उपस्थिति र प्रतिष्ठा भएमा मात्र, घर समाज, देश र विश्व सुन्दर देखिन्छन् भन्ने धारणा आएको छ। कृतिकारले नारीवादी चिन्तनलाई अगाडी सारेकी छन् तर पुरुष अस्तित्व र अधिकारलाई पनि हनन् गरेकी छैनन् । “.....किन भने नारी पुरुषबाट नै पूर्ण जीवन हुन्छ” भन्ने उनको कथन छ ।

यी मान्यताहरुमा कृतिकारले समुच्च विचारलाई पुष्ट्याइँ दिनको लागि सोह्रवटा कविताहरु सूत्रकोरुपमा प्रस्तुत गरेकी छन् । पहिलो कविता हो “नाङ्गी द्रौपदी” जङ्गल र तालहरुमा गोपिनी नङ्ग्याउने कृष्णले भारी सभामा द्रौपदीलाई नाङ्गिनबाट जोगाए तर नाङ्गी द्रौपदी भने के चाहान्छिन् हेरौंं –

“कृष्णवादको बिरुद्धमा,

दुश्शासनवादको विरुद्धमा

मनुवादको विरुद्धमा

सुलीमा चढेर

नाङ्गिन चाहान्छु”.........................

मेरा स्वछन्दताका सीमा रेखासम्म नाङ्गिन चाहन्छु ।”

नारी–मानवता– ज्ञान प्रेम र सृष्टिकी प्रतिक सुम्निमा, आज युग बद्लिएको बेला, सीताले अन्तर्राष्ट्रिय अदालतमा रामसँग अग्नि परिक्षा लिन न्यायिक माग गर्दा अदालतले सजायस्वरुप रामलाई अग्नि परिक्ष दिन दिएको आदेश, युगान्ती सौताहुँ हजुर... मा श्रीमानका निम्ति सन्तान जन्माउ, बाँझी सौताकी सौता बनेकी नारीले व्यासऋषिबाट गर्भिणी बनाइयोस् र श्रीमानको वंश थामियोस् भन्ने अभिव्याक्ति, एकातिर सन्तानवती, पुत्रवती, सौभाग्यवती, आशीर्वादकोश्राप प्राप्त गर्ने नारीले अर्कोतिर कुमारी आमा बन्न नमिल्ने समाजको प्रतिवन्ध, जीवित लोग्नेकी बिधवाले मागेको अस्तित्व, शिवजीको जटामा गुजुल्टिएर बगेकी गङ्गाले स्वच्छन्दताको घोषणा गर्दै स्वतन्त्र गङ्गाको रुपमा बगेकी गङ्गा, चिहान भित्रको मान्छेमार्फत आडम्बरी ढोंगका अहम्ले बाँध्न नसक्ने अभिव्याक्ति, इतिहासले विर्सेकाहरुको(अमरनारीहरु जसलाई इतिहासले विर्सेको छ को) सालिक निर्माण गर्र्ने अवधारणा, एक अर्धवृत परिधिबाट, “खोक्रा र ढोंगी आदर्शका सामाजिक रुढिवादका नारी दमनकारी नीति र विचारहरुको मृत्युको घोषणा गर्दै नयाँ दिग्दर्शनको प्रतिवादन गर्न तिमीलाई आवाहन छ” भनि गरिएको आह्वाहन, कंसहरुबाट “अवोध, शिशुहरु खोला, नाला र झाडीहरुमा तुहाउन वाध्य पारिएको र देवकीका गर्भबाट कंसहरुका विरुद्धमा दुर्गा अवतार भएर भ्रूण रक्षागर्ने अभिव्याक्ति । समाजमा रहेको विश्वास, आस्था, चरित्र स्वभावमा भरिएको जडतामा नारीहरुबाट थालिएको धावा बोलाइको धारणा, कामुक जलरीमार्फत –“ जब म आँखा खोलेर हेर्छु तिम्रा अनुहारमा स्पष्ट अट्टहास गरिरहेको कुनै दानव पो देख्छु” भन्दै चेतना र अचेतनाको दृष्टिबाट हेर्न फरक पर्दछ भन्न खोजिएको धारणा, मधुमासका अथाह आवाजहरुमा अमूर्त चाहानाले भरिएको यो मद होस हृदय आज मधुमासित छ” भन्दै पोखिएको धारणा, “म र बगि रहेको मेरो अस्तित्व” मा नारीको यौवन सौन्दर्य भइरहँदा सबै ठाउँमा सोभनीय देखिने, उपभोगमा आउने र जव ओइलिन थालिन्छ तव त्यही नारी अस्वभनीय हुने र प्mयाकिने धारणा सहित गहन अभिव्याक्तिहरु प्रस्तुति भएको छ कविताहरुमा । कविताले समुच्च विचारलाई प्रतिविम्वित गराउन खोजेको छ । हरेक कविताहरुले महिला पुरुषको समान सहभागिताको अवधारणाका आवाजहरु बोकेको पाइन्छ । नारीको हेरक स्थानमा उपस्थिति चाहेको छ कृतिकारको भवनाले,। मेरो पनि धारणा नर र नारी एक रथका दुई पाङ्ग्राहुन् एकको अभावमा रथ चल्न सक्दैन, पूर्णवृत हु्न सक्दैन, यसमा दुईमत छैन तर कविताले “समुच्च विचार” भन्दै उठाएका प्रश्नहरुमा, पौराणिक कालको समाज, धर्मक्रम, त्यससमयमा सिर्जित महाकाव्यहरुको अभिव्याक्ति, भगवानका रुपमा लिएका कृष्णवादको विरुद्धमा दुश्शासनवादको र मनुवादको विरुद्धमा सुलीमा चढेर नाङ्गिन चाहान्छु भन्दै आलोचनाकोरुपमा प्रस्तुत अवधारणाले निश्चय पनि थप प्रश्नहरु उब्जाएको छ । के ती महाकाव्यहरुले नारीमाथी नराम्रै नराम्राव्यवहार थुपारेको थियो, के ती महाकाव्य, र त्यसैको परिणती आज संसारका महिलाहरुले सबै क्षेत्रमा अनुपस्थिति व्यहोर्न परेको हो त ? आदि आदि थुप्रे प्रश्नहरु यहाँ उब्जिन्छन् । साहित्य समाजको दर्पण हो, ती धार्मिक ग्रन्थहरु पनि त्यस समयको समाजलाई आर्थिक सामाजिक धार्मिक न्यायिक धरातलमा सुमार्गमा डो¥याउन र सुन्दर संसार बसाउनको लागि रचिएका ज्ञानका मार्ग दर्शन हुन्, जसले धार्मिक स्थान ओगट्न सफल भए, समाजले हिजो देखि आज सम्म धार्मिक मार्गदर्शनको रुपमा स्वीकारो । निश्चय पनि समाजमा परिर्वन आउने गर्छ र समाजमा आवश्यक्ता अनुसारको परिवर्तन हुँदै गएको छ र परिवर्तनको खाँचो पनि अवश्य पर्छ । पौराणिक कालका कतिपय धर्मिक ग्रन्थका कार्य बिभाजन आजको समाजमा मेल खाँदैनन्, पुराणमा भनिएका सकरात्मक पक्षलाई व्यवहारमा आएका छैनन्, ती सकरात्मक पक्षलाई व्यवहारमा उतार्दा र नकरात्मक पक्षलाई त्याग्दा सुन्दर समाजकै लागि, पूर्णवृतकै लागि ती पौराणिक महाकाव्यहरु, वेदहरु रचिएका थिए र ती काव्यहरु त्यस समयका सार्थक उत्पादन हुन् जो आजको समाजको लागि पनि त्यत्तिकै सान्दर्भिक र आवश्यक छन् । ती धार्मिक ग्रन्थमा उठाइएका नारी र तथा पुरुष पात्रहरुको खराव आचरणहरुको परिणति के हुन्छ भन्ने यथार्थता पनि त्यहाँ उल्लेख गरिएका कुराहरुलाई गहिरिएर अध्ययनगर्दा यथार्थता प्रष्टिन्छ । त्यस समयको समाज र आजको समाजमा ठूलो परिबर्तन छ। पूर्णवृतमा पुग्नलाई नर नारीको समान उपस्थिति ्पौराणिककाल देखि आजसम्म सबैले स्वीकारेकै कुरा हो । त्यही कुरा तपाइँको समान उपस्थितिको अवधारणा ÷ चाहना पनि विचारको रुपमा र दर्शनको रुपमा प्रस्तुत भएको छ र धेरै सह्रानीय छ । समान भनेको प्रतिस्पर्धा हो । प्रतिस्पर्धि समाजको सिर्जना होस् । तपाइँको समुच्च विचारले अर्धवृतबाट पूर्णवृतको आकारलिन पौराणिक काव्यका सकरात्मक पक्षलाई पनि समेििटयोस् र सुन्दर संसारको निमार्णमा हामी सबै लागौं भन्दै, यहाँको अर्धवृतको सरल भाषामा गरिएको, सुन्दर प्रस्तुती, शोषित पीडित नारीहरुको आवाजलाई बुलन्द पार्दै लेखिएका कविताहरुको र यहाँको नारीवादी चिन्तनको प्रस्तुतीको सम्मुच्च विचार र दर्शनको लागि धन्यवाद दिन चाहान्छु ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।