कवि मणिराज सिंहको ‘राजधानी छिरेपछि’ (२०६६) कवितासङ्ग्रह उनको दोस्रो कवितासङ्ग्रह हो । ‘अक्षर, खुर्पा र खुकुरीहरू’ (२०६५) नामक कवितासङ्ग्रह प्रकाशन पछि उनले ‘राजधानी छिरेपछि’ कवितासङ्ग्रहलाई प्रकाशन गराएका छन् । उनको ‘राजधानी छिरेपछि’ कवितासङ्ग्रहमा विभिन्न ४७ वटा शीर्षकमा कविताहरू सङ्कलित भएका छन् । प्रस्तुत लेखमा उनका ४७ वटै कविताहरूको छुट्टाछुट्टै विस्तृत विश्लेषण नगरी समग्रमा हेर्ने प्रयास गरिएको छ ।
प्रस्तुत कवितासङ्ग्रहमा कविका कल्पना,भावुकता, आशा, निराशा, आक्रोश, सुख, दुःख, पीडा, कष्ट, रोदन, छटपटी, शङ्का, अनुभव, चेतना, ज्ञान आदिको मिश्रण पाइन्छ । पहिलो कवितासङ्ग्रहपछि अझ खारिएका र थप अनुभव हासिल गरेका कविको कविताशिल्प यसमा परिस्कृत भएर आएको देखिन्छ । प्रस्तुत कवितासङ्ग्रह विविध पक्षसँग सम्बद्ध भएकोले विषयवस्तुमा एकरूपता पाइदैन । यसमा एकतर्फ देशको चिन्ता प्रकट गरिएको छ भने अर्कातर्फ नेताहरूको अदूरदर्सिता, सत्तामोह आदिको कडा व्यङ्ग्य गरिएको छ । जनताको जनादेश विर्सेर आफ्नै दलगत स्वार्थमा लाग्ने नेताहरूलाई कवितामार्फत सजग गराइएको छ । सहिदको बलिदानलाई विर्सेर उनकै रगतमा होली खेल्ने स्वार्थी र भ्रष्ट नेताहरूलाई कविताले सिस्नोपानी लगाएको छ । विदेशी अनुदान आएको पैसा विकास निर्माणमा नलगाई आफ्नै भुँडी भर्नेहरूलाई पनि कविताले दनक दिएको छ । कवितामार्फत तोकिएको समयमै संविधान बनाएर नयाँ नेपालको निर्माण गर्न आग्रह गरिएको छ । देश कसैको विर्ता नभएको र जनतालाई सधै शोषण गरेर उनीहरूको रगत र पसिनामाथि रजाइँ गर्ने शासक वर्गलाई कवितामार्फत झटारो हानिएको छ । राष्ट्रिय ,समसामयिकता, सामाजिक, आर्थिक, राजनैतिक विषयवस्तुको साथसाथै कवितामा शृङ्गारिक विषयवस्तु समेत समेटिएको छ ।
प्रस्तुत कविता सङ्ग्रहभित्रका प्रत्येक कविताका शीर्षकभित्र दृष्टि डुलाउँदा पहिलो शीर्षक ‘खबरदारी’ मा जनताको पीडा बुझ्न र जनताको पीडा हटाउन खबरदारी गरिएको छ । ‘नयाँ नेपाल बनाउने हैन’ शीर्षकको कवितामा असमानता र अन्याय अन्त्य गरी नयाँ नेपाल बनाउने सन्देश दिइएको छ । ‘युगसँग’ शीर्षकको कवितामा देशलाई युगान्तकारी नेताको खाँचो भएको तर नेताहरू पथभ्रष्ट भएर देश डुबाउन सक्ने आशङ्का गरिएको छ । ’एउटा पत्र छोरीलाई‘ शीर्षकको कवितामा युद्ध, त्रास, साम्प्रदायिक दङ्गा आदिले बालबालिकामा परेको असरलाई देखाइएको छ । ‘गोरखा एक वृतचित्र’ शीर्षकको कवितामा गोर्खालाई युवतीसँग तुलना गरी न्यायदाता र विरङ्गनाको रूपमा चित्रण गरिएको छ । ‘मित्र, देश कसैको पुख्र्यौली विर्ता होइन’ शीर्षकको कवितामा देशलाई विर्ता ठान्नेहरूलाई विर्ता नसम्झन आग्रह गरिएको छ । ‘पीडाका रापहरूमा तिमी’, ‘पूmलसँग’, ‘रात’, ‘चियाको कपमा उनी’, ‘तिमी’, ‘कवि र कविता’, ‘पहिलो भेट’, ‘भुल मेरो कहाँ भयो र ?’ , ‘तिम्रो साथ पाएर’ , ‘भित्रभित्रै सल्किरहेछु’ जस्ता कवितामा शृङ्गारिकता पाइन्छ । ‘नयाँ वर्षमा तिमी र म’ कवितामा शान्त र सुन्दर नेपाल बनाई नयाँ वर्ष मनाउने सन्दर्भ प्रस्तुत गरिएको छ । ‘हामी डटिरहनेछौं चोक चोकमा’ शीर्षकमा कवितामा मानवअधिकार र स्वतन्त्रताको रक्षा गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । ‘बागमती बूढीकन्या’ शीर्षकको कवितामा स्वच्छ र पवित्र बागमती ढलमती बन्न पुगेकोमा चिन्ता प्रकट गरिएको छ । ‘पीडाहरू फगत पानीका थोपाहरू’ हुन् शीर्षकको कवितामा नेपालीहरूका समस्या र तिनको मुक्तिको कामना गरिएको छ । ‘मेरो मृत्युपछि’ शीर्षकको कवितामा कृत्रिमता र देखावटीपनको विरोध गरिएको छ । ‘विदेशसिएको मन’ शीर्षकको कवितामा वास्तविकता नबुझी विदेसिने प्रवृतिको व्यङ्ग्य गरिएको छ । ‘पहिरोग्रस्त आस्था’ शीर्षकको कवितामा कुसंस्कार, कुरीति आदिले आस्थामै पहिरो गएको कुरा व्यक्त गरिएको छ । ‘स्वाभिमान र विचरो कूटनीति’ शीर्षकको कवितामा भारतका कारण कोसी नदीमा समस्या आएको र नेपाल सरकार भारतसामु निरिह भएको प्रस्तुति पाइन्छ । ‘मुनाहरू’ शीर्षककोकवितामा शासक वर्गले जनतारूपी मुनालाई बढ्न नदिएको कुरा उल्लेख गरिएको छ । ‘मङ्सिर झुल्दै छ’ शीर्षकको कवितामा राष्ट्रियता र प्रकृतिप्रेम पाइन्छ । ‘जन्मदा हाँस्नेहरू निरन्तर मृत्यु बाँचिरहेका छन्’ शीर्षकको कवितामा नियतिवादी जीवनदृष्टि प्रस्तुत गरिएको छ । ‘राजधानी छिरेपछि’ शीर्षकको कवितामा जनतालाई दुःख दिने गिद्ध, चिल, उल्लूरूपी जङ्गली मान्छेहरू ‘राजधानी छिरेपछि’ गाउँमा सुख, शान्ति छाएको सन्दर्भ प्रस्तुत गरिएको छ र यसै शीर्षकलाई पूरै कविताको शीर्षकचयन समेत गरिएको छ । ‘हाय१ म स्वाभिमानी नेपाली’ शीर्षकको कवितामा कमजोर स्वाभिमानको चित्रण गरिएको छ । ‘अनुरोध’ शीर्षकको कवितामा भौतिक संरचना ध्वस्त नपार्न अनुरोध गरिएको छ । ‘खोई हाम्रो देश’ शीर्षकको कवितामा भुटानी शरणार्थीको पीडा देखाइएको छ । ‘मान्छेको आँखाबाट झरेको मान्छे’ शीर्षकको कवितामा मानवीय संवेदना र मानवता ह्रास हुँदै गएको कुराको चित्रण गरिएको छ । ‘बिरानो आँगन’ शीर्षकको कवितामा युद्धको चपेटा, त्रास, आतङ्क आदिले गाउँ रित्तिएको प्रसङ्ग उल्लेख गरिएको छ । ‘मलाई तिम्रो साथ चाहिएको छ’ शीर्षकको कवितामा नयाँ नेपाल बनाउन सबैको साथ हुनुपर्ने सन्देश दिइएको छ । जिन्दावाद १ मूर्दावाद ११ शीर्षकको कवितामा राष्ट्रियता र लोकतन्त्र खतरामा परेको सङ्केत गरिएको छ । ‘तिम्रो महत्वाकङ्क्षा’ शीर्षकको कवितामा शोषणको चित्रण गरिएको छ । ‘म दाउरा’ शीर्षकको कवितामा आपूm मेटिएर अरूलाई सुख दिने चाहना व्यक्त गरिएको छ । ‘खोई शान्ति कहाँ छ’ शीर्षकको कवितामा हतियार रहेसम्म शान्ति कायम हुन नसक्ने भाव व्यक्त गरिएको छ । ‘मखुण्डो भिरेको मान्छे’ शीर्षकको कवितामा छेपाराले झैं रूपरङ बदल्ने अवसरवादीलाई व्यङ्ग्य प्रहार गरिएको छ । ‘विदेशी अनुदान’ शीर्षकको कवितामा विदेशी अनुदानको दुरूपयोग गर्ने र आफ्नो हैसियता थाहा नपाउनेहरूलाई व्यङ्ग्य गरिएको छ । ‘जीवन रङ्गमञ्च’ शीर्षकको कवितामा जीवनलाई रङ्गमञ्चको रूपमा चित्रण गरिएको छ । ‘देश हराएको’ शीर्षकको कवितामा राष्ट्रियता र अखण्डता गुम्दै गएको कुराप्रति चिन्ता प्रकट गरिएको छ । ‘उदण्ड साँढे’ शीर्षकको कवितामा जनविरोधी शासकलाई साँढेको रूपमा चित्रण गरिएको छ । ‘कुहिरो भित्रको आकृति’ शीर्षकको कवितामा प्रकृति चित्रण पाइन्छ । ‘चस्केर दुख्छ मुटु’ शीर्षकको कवितामा देशको सीमा मिचिएको कुराप्रति चिन्ता प्रकट गरिएको छ । अन्तिम शीर्षक ‘समयसँँग खेलवाड’ मा समयलाई चिन्नुपर्ने र समयअनुसार चल्नुपर्ने सन्देश दिइएको छ ।
प्रस्तुत कवितासङ्ग्रह विषयवस्तु, विचार तथा भाव, बिम्व तथा प्रतीकका दृष्टिले निकै सशक्त देखिन्छ । विविध विषयवस्तुको प्रयोग, गद्यलयमा प्रखर अभिव्यक्ति, बिम्वप्रतीकको सन्दर्भ अनुकूल प्रयोग शीर्षक चयनमा विविधता र सन्तुलित भाषाशैलीको प्रयोग प्रस्तुत कवितासङ्ग्रहका विशेषता रहेका छन् । लोकोक्ति तथा सूक्तिहरूको निकै कमी कतैकतै शीर्षकले विषयवस्तु समेट्न नसक्नु, विचारको तीब्रताले भाव र कलापक्ष कमजोर देखिनु प्रस्तुत कवितासङ्ग्रहका ऋणात्मक पक्ष हुन् । समग्रमा हेदा भने गद्यलयमा संरचित प्रस्तुत कवितासङ्ग्रहले समसामायिक प्रस्तुति दिंदै नेपाली साहित्यमा एउटा असल इटा थप्ने काम गरेको छ ।
सन्दर्भ सामाग्रीहरू:
त्रिपाठी, बासुदेव र अन्य, नेपाली कविता भाग–४, चौ.सं. ललितपुर साझा प्रकाशन, २०६० ।
सिंह मणिराज, राजधानी छिरेपछि, काठमाडौँ, ज्योति साहित्य प्रतिष्ठान, २०६६।
सिंह मणिराज, अक्षर, खुर्पा र खुकुरीहरू, काठमाडौँ ः ज्योति साहित्य प्रतिष्ठान २०६५ ।