18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

ध्यान कविताको राम्रो बान्की: 'घामको वर्षा'

कृति/समीक्षा प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल September 6, 2011, 4:49 am
प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल
प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल

नेपाली साहित्यका कविता, कथा, निबन्ध आदिका क्षेत्रमा निरन्तर क्रियाशील व्यक्तित्व कृष्ण प्रसाईंको साहित्ययात्राको प्रारम्भ २०३३ सालको सूर्याेदय पत्रिकामा प्रकाशित देवकोटाप्रति उठेको सम्झना शीर्षक कविताबाट भएको हो । यिनका हालसम्म छरिएका केही पृष्ठ (२०४४, सम्पा.), प्रक्षेपण (२०४७, कथा), नेपाली समसामयिक कविताहरू (२०४८, सम्पा.), घाम नभएको बेला (२०६२, कविता), अनुभूतिका छालहरू (२०६५, निबन्ध) आदि पुस्तकाकार कृतिहरू प्रकाशित भइसकेका छन् । केही गरौं भन्ने भावनाका साथ अगि बढिरहेका कृष्ण प्रसाईंले जेन दर्शनमा आधारित घामको वर्षा शीर्षकको महत्वपूर्ण कविताकृति तयार पारेका छन् । यो कृति आद्योपान्त पढ्दा यसभित्रका रचना जेन दर्शनमा आधारित रहेकाले यिनको प्रस्तुत कृतिका बारेमा चर्चा गर्नुभन्दा पहिले नेपालीका सन्दर्भमा नौलो विषयवस्तुुका रूपमा आएको जेन दर्शनबारे सङ्क्षेपमा प्रकाश पार्नु आवश्यक छ ।

जापानी शब्द ZEN को व्युत्पत्ति चिनियाँ शब्द chan'an-na बाट भएको हो र यसको अर्थ बुद्धमार्गी ध्यान/चिन्तनमनन medation भन्ने हुन्छ । यसले आत्मिक जागरण भन्ने अर्थं पनि दिन्छ । जेन दर्शन बुद्धधर्मसँग सम्बद्ध एउटा प्राचीन दर्शन मानिन्छ । यस दर्शनले धर्मग्रन्थभन्दा बढी ध्यान, चिन्तनमनन र सहजज्ञानबाट बुद्धि वा ज्ञानोद्दीपन बढी सुगमताका प्राप्त हुन्छ भन्ने दृष्टिकोण राख्छ । पश्चिमा मुलुकमा विशेषगरी दोस्रो विश्वयुद्धपछि जेनको अस्तित्वका बारेमा बढी चासो राखी व्याख्या गर्न थालिएको देखिए पनि यसको व्याख्यामा भन्नेले जान्दैन, जान्नेले भन्दैन (they who tell do not know; they who know do not tell) भन्ने लाओत्सुको दृष्टिकोणले निरन्तर अवरुद्ध तुल्याएको ठानिन्छ । यसर्थ अद्यावधि यसको उत्पत्ति, मान्यता र विषयवस्तुसम्बन्धी अवधारणा त्यति स्पष्ट भएको देखिन्न । यसो हुनुमा अरुचि नभई अदीक्षा प्रमुख कारक रहेको देखिन्छ ।

सत्यको सीमाभित्र रहेको ठानिने जेनको उत्पत्तिसम्बन्धी बुद्धसँग गाँसिएका अनेक किंवदन्तीसमेत पाइन्छन् । बुद्धधर्मको एउटा सम्प्रदायका रूपमा लिइने जेन दर्शनको बीजाधान भारतमा, विकास चीनमा र विस्तार जापानमा भएको ठानिन्छ । जेन दर्शनको प्रत्यक्ष सम्बन्ध बुद्धधर्मसँग भएको र बुद्ध नेपालका भएकाले यसको बीजाधान नेपालमा भई अन्य मुलुकतिर विकसित र विस्तारित गएको मान्न सकिन्छ । यसको बढी प्रचारप्रसार जापानमा भएको देखिन्छ । जेन शब्दको नेपाली प्रतिरूप अहिलेसम्म छैन । यस दर्शनको प्रकृति र प्रवृत्ति हेर्दा यसका लागि ध्यान शब्दको प्रयोग गर्नु उपयुक्त हुन्छ ।

जुनबेला जे गर्छाै त्यही मात्र गर each moment, whatever you're doing, just do it भन्ने दृष्टिकोणलाई अनुसरण गर्ने जेन दर्शनका अनुसार अस्तित्व भन्ने कुरा मस्तिष्कीय शून्यावस्थामा प्राप्त हुन्छ । विचारलाई परिशोधन गर्ने गतिविधिका रूपमा लिइने ध्यान दर्शनअनुसार अस्तित्व भन्ने कुरा क्षणिक÷तात्कालिक हुन्छ र इन्द्रियजन्य अनुभूति र विचार तत्काल परिवर्तन भएभैmँ यो पनि पलपलमा परिवर्तन भइरहन्छ । हरेकको विषयगत प्रभाव वैयक्तिक अनुभवमा आधारित हुन्छ र हरेकमा हरक्षण असङ्ख्य विचारहरू आइरहन्छन् । मौनध्यानमा केन्द्रित रहने जेन दर्शनले परम सत्यबारे रहस्यमय सूत्रीकरण, आवाज शून्यीकरण र अमूर्त विचारबाट क्रमशः मस्तिष्कको शून्यावस्थाबाट स्वयंमा अस्तित्वको अनुभूति हुन्छ भन्ने दृष्टिकोण राख्दछ । सबै एक र एक नै सबै (बिि ष्क यलभ बलम यलभ ष्क बिि) को अनुभूति हुनु निर्वाण वा ज्ञानोदय हो भन्ने दृष्टिकोण जेन दर्शनको रहेको छ ।

अनुभूति क्षणिक र परिवर्तनशील भएकाले त्यसैअनुरूपका सङ्क्षिप्त रचनालाई ध्यान दर्शनले महत्व दिन्छ । मानवीय मूल्यलाई विशेष महत्वका साथ पहिचान गराउने यस दर्शनले प्रकृति चराचर जगत्लाई समेत उत्तिकै महत्व दिई व्याख्या गर्दछ । यसखाले रचनाको आयामगत सीमा नभए पनि यो अत्यन्तै छोटो हुन्छ । अति छोटोमा झ्वाम्मै अनुभूतिको प्रकटीकरण गर्दा बन्ने ध्यान कविताको पहिलो आधारभूत विशेषता आयामगत सङ्क्षिप्तता हो भने भावगत गम्भीरता यसको अर्काे उल्लेख्य विशेषता हो । छोटो हुनु मात्र यसको विशेषता होइन, छोटा आयामका कवितामा हाइकु, ताङ्का आदि पनि पर्छन् तर ध्यान कविता यीभन्दा पृथक् अस्तित्व भएको छुट्टै संरचनाका रूपमा देखापर्छ । हाइकु, ताङ्कामा अक्षर गणना, पङ्क्तिविन्यास आदिमा शास्त्रीय परिपाटीबद्ध नियम हुन्छ भने ध्यान कवितामा त्यस्तो कुनै नियम हुँदैन । यसर्थ शास्त्रीय परिपाटीबद्ध नियमविना नै छोटो आयाममा गहकिलो भावका साथ संरचित हुनु ध्यान कविताको खास पहिचान हो ।

कोरियालगायत कतिपय विदेशी मुलुकमा ध्यान दर्शनमा आधारित कविता, कथा आदि रचनाहरूको सिर्जना गरिएको पाइए तापनि नेपाली साहित्यमा यसप्रकारका रचनाहरू उति पाइँदैनन् । यसै परिप्रेक्ष्यमा कृष्ण प्रसाईंको ध्यान दर्शनमा आधारित प्रस्तुत कविता सङ्ग्रह प्रकाशित हुनु ज्यादै सराहनीय र महत्वपूर्ण कार्य हो । १०८ वटा ध्यान कविताको सँगालोको रूपमा रहेको प्रस्तुत कृतिका प्रत्येक रचनाको शीर्षक दिइएको छैन । विनाशीर्षक नै सङ्ख्याङ्कनका साथ प्रस्तुत गरिएको यस सङ्ग्रहका सबै रचनाहरू क्रमशः नेपाली, अङ्ग्रेजी र कोरियाली गरी एकै ठाउँमा तीन भाषामा प्रस्तुत गरिएको छ । यसभित्रका सबै रचनाहरू छोटाछोटा दुईदेखि आठ पङ्क्तिसम्ममा संरचित छन् । यी रचनाहरू अत्यन्त छोटो आयाममा संरचित भएर पनि अपूर्ण नभई पूर्ण, जीवन्त र स्वनिष्ठ छन् । प्रत्येक रचनामा अनुभूतिको एक भुल्को भुलुक्क उम्लिएर वाष्पीकृत भएको छ । यस सङ्ग्रहभित्रका रचनाले पढ्दापढ्दै निमेषभरमै पाठकको मनलाई झस्काएर तरङ्गित पार्दछन् ।

छोटो एक बसाइमै सजिलै पढिसकिने कृष्ण प्रसाईंको यस कृतिभित्रका प्रत्येक रचनाले पाठकलाई एकप्रकारको अनौठो अनुभूति दिन्छन् र समग्र कृति पढिसक्दा एउटा छुट्टै प्रकारको अद्भुत अनुभूति प्राप्त हुन्छ । जीवनजगत्, प्रकृति, युगीन परिवेश आदिसँग सम्बद्ध विविध खाले वस्तुसत्यलाई टपक्क टिपेर अनुभूतिमय तुल्याई रोचक र मार्मिक ढङ्गमा प्रस्तुत गर्नु यस कृतिको विशिष्ट पक्ष हो । विषयगत विविधता, आयामगत सङ्क्षिप्तता, भाषागत सरलता र भावगत गम्भीरताका कारण यस कृतिमा सङ्कलित रचनाले प्रत्येक पाठकलाई आ≈लादित तुल्याउनाका साथै चिन्तनशील पनि तुल्याउ“छन् । कृष्ण प्रसाईंको यसप्रकारका रचनाको प्रस्तुति नेपाली कविताका फा“टमा विशिष्ट उपलब्धिका रूपमा देखापरेको छ ।

त्रिभुवन विश्वविद्यालय

नेपाली केन्द्रीय विभाग

कीर्तिपुर, काठमाडौं

फोन: ०१४३३२१७८

[email protected]

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।