19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

मेरा गाउँलेहरु र लिस्नो

कविता दिंग्लाली कान्छो September 8, 2011, 2:25 pm

मेरो गाउँमा अन्धकारले छोपेकोबेला

जुनकिरीको उज्ज्यालोमा

मान्छेहरु हाँसेका हुन्छन

मनहरु दुखेका हुन्छन

मनहरु फुटेका हुन्छन

मनसंगै ओठहरु कामेका हुन्छन

र पनि तिनै मान्छेहरु

जिन्दाबाद र मूर्दावादका पछी लागेर

छिचिमिरा झैँ

सडक ,पर्खाल र पोस्टर

अनि झन्डाहरुमा देखिन्छन

राष्ट्रवादको नारा बोकेर I

अकस्मात् सूर्योदयको आभाष छाउँदा

मेरा गाउँका मान्छेहरु

झिस्मिसेमै खेताला बन्न पुगेका थिए

पर्मा लगाउन पुगेका थिए

ज्याला पाइन्छ कि भनेर

प्रत्येक गोधूलीसम्म

उधारोमा बेचिएका थिए

कुनै दिन मूल्य पाइएला भनेर I

यथार्थमा तिनै मनहरु

फेरी पनि दुखेका छन्

फेरि पनि फुटेका छन्

अनि जिन्दाबाद र मूर्दाबादका नाराहरुमा

फेरि पनि जुटेका छन्

आफ्नो अस्तित्वको खोजीमा

निरिह मेरा गाउँलेहरु

संधै मन फुटाएर / संधै मन दुखाएर

फेरि पनि नारा ,पोस्टर र भाषणहरुमा

सडक नाटकका पात्रहरु झैँ

शब्दहरुका रोपाई गर्न

असार बिताएर

केवल अरुकालागी

लिस्नो भै

यसरी नै बाँचिरहेका छन् I

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।