19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

'निषिद्ध बस्तीमा' कवितासंग्रह: आँखी झ्यालबाट

कृति/समीक्षा मिश्र वैजयन्ती September 9, 2011, 8:42 pm

कवि विवश पोखरेलको साहित्यिक परिचय नेपाली साहित्यमा कवि आफैँले उजिल्याइसकेको अवस्थामा फेरि अर्को कृति प्राप्त भएको छ ‘ निषिद्ध बस्तीमा’ (२०६६) । अनिदो रात र बत्तीमा पुतलीहरु (कवितासंग्रह २०५१) समय विम्व ( कथासंग्ह २०५९) , स्नेहअस्त्र ( कथासंग्रह २०६१) , साँढेको दाइँ (व्यंग्यनिबन्धसंग्रह २०६२) , कर्कलाको छाता ( बालकवितासंग्रह २०६३) , फुच्चे भाइको घोडा ( बालकवितासंग्रह २०६३) कविका अघिल्ला कृतिहरु नेपाली साहित्यले प्राप्त गरिसकेको छ । विभिन्न संघसंस्थाहरुबाट पुरस्कार, मान , सम्मान तथा कदरपत्रले साहित्यमा अनुमोदन भइसकेका कवि विवशले तरंग , पालुवा, नागबेली, वाणी जस्ता पत्रिका कृतिहरुको सम्पादन पनि गरिसकेका छन् । तीन दसक लामो साहित्यिक यात्रामा परबाट देख्ता कवि विवश नेपाली साहित्य र नाट्य अभिनय क्षेत्रमा समेत निरन्तर साधनारत छन् ।

कवि विवश पोखरेलको पछिल्लो पटक निस्केको ‘निषिद्ध बस्तीमा’ कवितासंग्रह ४२ वटा कविताहरुको संग्रह हो । जबर्जस्ती बाँचिरहेकाहरुका जीवनका स्वादहरु बोकेर आफ्नै आँगनको अदालतको कठघरामा उभिएका छन् निषिद्ध बस्तीमा कवितासंग्रहका कविताहरु । उता निषेधका पुनारावृत्तिहरुमा यता निरिह आवाज बोकेर उभिएका अनुनयी अनुहारहरु देखिन्छन् छर्लङ्ग । युद्ध छ, युद्धबाट प्राप्ति पनि छ तर त्यो कतै बन्दी छ । सूर्य जन्माउने प्रसव बिर्सेर यसैउसै थाङ्ने बेथाले थङ्थिलिएको क्षितिजजस्तो छरिएको रोगी समयले पीडित बाँचिरहेको युग छ हामीसँग र कविका कविताहरु ऐँठन बाँचेको युगलाई सम्बोधन गरिरहेका छन् ।

निषिद्ध बस्तीमा भित्रका कविताहरुका केही विशेषताहरु छन् । मानिस सम्झौता बाँचिरहनु, मानिसले उसको स्वत्वको स्थापनार्थ वास्तविक संसारको खोजी गर्नु, सार्वजनिक विषयवस्तुलाई पनि वैयक्तिक नजरले हेर्नु , विसंगतिप्रति वितृष्णा, पलायनवादी विद्रोह आफनै देशमा अनागरिकजस्तो बाँच्नुपर्ने जनताका स्थिति (निषिद्ध हुनाका भाव) यसका खास प्राप्ति हुन् ।

यस कवितासंग्रहका कविताहरुमा अत्यासलाग्दो सम्झौता बाँचिरहेका मानिसहरुको जीवन छ । तिम्रो कारागारमा कवितामा ‘विसंगतिका धानचमरा लागेका मकैबारीमा÷ बुख्याँचा उभिएको छु ’ ले सम्पूर्णमा नेपालीहरुको स्थितिलाई सम्बोधन गरेको र मानिस नै संबोधित भएको छ । उसको रहर बुख्याँचा बाँच्नु होइन । उसले बुख्याँचा बाँच्नु उसको रहरलाग्दो र प्राप्त गर्ने आशा गरेको जीवन बाँच्न नपाएको सम्झौता हो । देशले आफनो जमिनमाथि धेरै युद्ध , आतंक, आन्दोलन देखिसकेको यो अवस्थामा नेपालीहरुको आजको स्थिति नचाहेकै स्थिति हो । नागरिक हुन नसक्नुको पीडा, गाउँ बस्तीमा चेतना र विकास राहत र सहयोग, अवसर र प्राप्ति हुन नसक्नुको पीडा, प्रेम प्राप्त गर्न नसक्नुको पीडाभित्र पनि पाएजस्तै हाँस्नु परेको स्थितिले मानिसको वास्तविक संसारको प्राप्ति नगरेको अवस्था छ । मानिसले युगौँदेखि उसले आफनो वास्तविक संसारका लागि संघर्ष गरेको हो र आज पनि हिजोभन्दा अझ असन्तुष्ट हुँदै गइरहेको परिस्थितिलाई कविले कवितामा संबोधन गरेका छन् । ( व्यक्ति वा समूहले चाहेजस्तो हुनु नै वास्तविक संसार हो ।) जता फर्के पनि उसको जीवन सम्झौतावादी , समन्वयवादी भइरहेको छ । अलिकति उसको जस्तो, अलिकति त्यसको जस्तो, अलिकति अर्काको जस्तो बाँच्नुपरेकोले मानिसले सधैँ आफूलाई अन्धकारमा रुमलिएको पाएको विषयमा कविताहरु उत्प्रेरित छन् । एउटा नागरिक अनिच्छित सत्ताका अधिनमा बस्न चाहँदैन तर बस्नुपरेको छ ( तिम्रो कारागारमा) , कुनै नगरवधूले यौन बेच्न चाहेकी हुन्न तर बेच्न विवश छे ( एउटी नगरवधूको डायरी) ,आफनै घर र वास जलेको हेर्ने रहर हुँदैन तर हेरेर बस्न बाध्य छन् जनता ( कपिलवस्तु) , आफू बाँचेको युगलाई छर्लंग हेर्न मन हुने आमाले देख्न पाउँदिनन् । (अन्योल बूढी आमा र विरामी देश), आफनै प्रेम प्राप्त गर्ने मायालुले प्राप्त गर्न नसके पनि सम्झेर बस्नु परेको छ ( एउटा प्रेमकविता) , नैतिक शिक्षा खोजिरहेकी कविकी छोरी (अन्योल छोरीसँग) जस्ता धेरै कविताहरु सम्झौताका सेरोफेरोमा छन् । मृत मान्छेको सहरमा, सन्त्रास परिदृश्य, मकै पोल्ने आमासँग, फूलको मृत्युमा, तपाईं, जीवनसँग भाग्दाभाग्दै , निषिद्ध बस्तीमा, बाँदर आतंक, असन्तुष्टि, कुटिल समय र देश, अहिले तपाईँकै तरबार चलेको पालो छ , बुद्धिकान्तको घडी, तिहारमा, चिठी, सालिक, यथार्थको कठघरामा बिर्खदाइ , वर्तमान , साँझ, किन मालिदाइ ? कविताहरु सम्झौता बाँचिरहेकाहरुको कोलाज हुन् ।

मानिसले आफनो वास्तविक संसारको खोजी तीन तरिकाले गरेको देखिन्छ । व्यक्तिगत संसारको खोजी, सामूहिक संसारको खोजी र सामाजिक वा सार्वजनिक संसारको खोजी । व्यक्तिका इच्छाहरुसँग सम्बन्धित संसार उसको व्यक्तिगत संसारको खोजी हो । यो बढी जटिल हुने गर्छ । समूह र समाजसँग जोडिएर बसेको मानिसको व्यक्तिगत संसार निकै असहज पनि बन्न पुग्छ । सामुहिक संसारमा जाती, भाषा, विचार, धर्म , लिंग, आर्थिक स्तर आदिबाट निसृत वर्ग पर्छ । यसले आज विश्वलाई गाँजेको छ । वर्गीयताका कुरा पनि यसैमा पर्छन् । हरेक वर्गले आफनो स्वत्व स्थापना गर्न खोज्दा वर्र्गीैय टकराव हुन्छ र त्यसको खोजीमा मानिस लागिरहन्छ । अर्को उसको सामाजिक वा सार्वजनिक संसार हो । यो प्राप्त गर्न मानिसले आफूभित्रका सबै स्वार्थहरु त्यागेर सन्त बन्न सक्नुपर्छ । मानिस जसरी भए पनि आफनो पक्षधरता निर्माण गर्छ । यस कविताका प्राय कविताहरु वैयक्तिक निर्णयमा छन् । सामूहिक र सामाजिक सरोकारका विषयहरु पनि वैयक्तिकताका भावमा छन् ।

निषिद्ध बस्तीमा भित्रका कविताहरुले विद्रोह गरेका छन् तर निर्णय गरेका छैनन् । विद्रोहको चरित्र कारणप्रधान हुनुपर्छ नभए ती घुर्की र पलायनको स्थितिमा रहन्छन् । कवितामा आक्रोश छ तर व्यथित आक्रोश । कविभित्र विद्रोहको आगो छ तर विद्रोहलाई क्रान्तिको रुप दिँदा कविले आफना कवितामा माक्र्सवादी चिन्तनको गन्ध आउला भनी अपनाइएको सचेतता छ —लाग्छ । उनले नकार स्थितिहरुलाई घृणा गरेका छन् तर त्यसको अन्त्यको आह्वान गरेका छैनन् । समाज परिवर्तनको आह्वान गर्दा , स्थितिको उदांगोलाइृ दोहन गर्दा राजनीति हुँदैन । मानवको पृथ्वीमा यौन मनोवैज्ञानिकवादी फ्रायड र भौतिकवादी कार्लमाक्र्सको देनलाई कसैले नकार्नसक्ने स्थिति छैन । यस्ता कुनै वादहरु आफैँमा पूर्ण पनि हुँदैनन् र यिनीहरुबाट अपुगको स्थितिलाई अन्यबाट ग्रहण गर्न सकिन्छ । यस्ता वादहरु सिमाना कसेर बस्दैनन् । विचार बिनाको साहित्य लेखेकैले धेरै नेताहरु कसैलाई संसदमा गाली गर्नुपर्यो भने पनि विचार सकिएपछि नेता पनि कवि हुन्छ भनेर विपक्षीलाई गाली गर्न भ्याउँछन् । ( एकपटक परी थापाले यसै भनेका थिए । ) मानिस आफू बाँचेको राज्यमा भएका युद्ध , क्रान्ति, सफलता, विफलता, नीति र कारणहरुले सचेत रहन चाहने कसैलाई पृथक गर्न सक्छ ? आक्रोश पनि पोख्ने र सरोकारसँग असम्पृक्त पनि हुने विद्रोहलाई पलायनवादी विद्रोह भन्नुपर्ने हुन्छ । जीवनसापेक्ष, समाजसापेक्ष गरिने विद्रोहले तत्कालमा निराशा उत्पन्न गराए पनि परन्तुमा तयो आशावादी विद्रोह हुन्छ । निषिद्ध बस्तीमा भित्रका कविताहरुमा असल विद्रोहका झिल्का मात्र होइन राँका पनि पाउन सकिन्छ तर व्यथित छन् । कवि युद्धको नायक आफैँ हुने सपना देख्तैनन् ः

“ शुद्धोदन ! जोगाऊ,/मेरो सपना — मेरो आकाङक्षा/ अनि मेरो गन्तव्य/र मु्क्त गर यो प्यारो देशलाई /

गिद्ध खिचलोबाट । ”

—अदृश्य शुद्धोदनको खोजीमा

वास्तवमा हामी बाँचिरहेको युग हजारौँ प्रश्नचिन्ह बोकेर समाधानको आह्वान गरिरहेको युग हो । प्रत्येक सामाजिक, आर्थिक, नैतिक , शैक्षिक , आध्यात्मिक, साँस्कृतिक, राजनैतिक पर्यावरणमा प्रश्नैप्रश्नहरु असरल्ल छन् । प्रत्येक सचेतकहरुमा उत्तरको अपेक्षा गरिएको छ , अनुरोध भइरहेको छ । कवि पोखरेलका कविताहरुमा यो प्रश्न र अनुरोधहरु छताछुल्ल छन् । कविको प्रश्न गिद्धवादी /लुछाचुँडीवादी/ सत्तावादी/ दलालवादी नीति र त्यसको खिचलोतिर छ र त्यसबाट मुक्तिका निम्ति आफू होइन अरुलाई (शुद्धोदनप्रभृत्तिलाई) अनुरोध गरिरहेका छन् ।

कविताका पलायनवादी दृष्टिकोणहरुले पाठकलाई पनि निराश बनाउँछन् । किन मालीदाइ ? कवितामा “कृत्रिम उज्यालो भोग्नुको नियतिमा /कतिन्जेल भ्रम बाँच्छौ मालीदाइ ?” कविताका मालीदाइ नै को हुन् भनेर ठम्याउन नपाउँदै “अँध्यारो यो फुलबारीमा÷मधुरो लालटिन बालेर तिमी किन÷ जाग्राम बसिरहेछौ मालीदाइ ?”भनेर उनी एकदमै निराशामा घुस्रिएका विचारहरु पोख्छन् । अझ उनी “चोरियून् पूmलहरु÷चोरियून् पूmलका सौन्दर्य÷रङ र सुवासहरु चोरियून्” भनेर हारेर भागेका , पछाडि सरेका निराशाहरु समेत पोख्छन् । उता वर्तमान कवितामा “घाँटीमा —/सन्त्रासको ‘एम्बुस’झुन्ड्याएर /निरीह वर्तमान शरणागत छ/आस्थाको तुलसीमठनजिक” भन्छन् । तुलसीमठ जीवनअन्त्यको पहिलो खुड्किलो भएको छ । आस्था यसरी मरिसक्यो कि वास्तवमा सबै सबैहरु सन्त्रास बोकेर वर्तमानमा मरिरहेका छन् । कसैको आस्था पनि जीवन्त र भरलाग्दो छैन । जतिसुकै बलियाहरुको स्थिति पनि यही नै छ वास्तवमा र लाग्छ कविभित्र आफू बाँचेको युगप्रति साह्रै वितृष्णा छ । किन आयो यो वितृष्णा ? कवि मान्छेभित्र पसेका छन् । यहाँका मान्छेहरुलाई आफनै ईश्वरप्रति विश्वास छैन । विचार र गतिप्रति विश्वास छैन । कृत्रिम छ मान्छे र अविश्वासको जंगलमा सन्त्रास बोकेर बाँच्नेहरुका मनमै पसेका छन् उनी । त्यहाँका निराशामा आफू छिरेर पाठकलाई पनि त्यतै तानेका छन् । समयको माग निराशा हो त ? त्यसैले कवि सार्वजनिक सरोकारमा वैयक्तिक भएका छन् ।

यस संग्रहका कविताहरुमा पलायनवादी स्वर मात्र छैनन् सम्भावित विद्रोहको भयपूर्ण संकेत पनि उत्तिकै शक्तिशाली छ । संसारका प्राय युद्धहरु असमानताका कारण , भोकका कारण , आर्थिक वेमेलका कारण , स्वाभिमानका कारण भएका पाइएका छन् । विभक्त हुनाका भावले मानिसले आफूलाई समानान्तर प्राप्त गर्न खोजेकै कारण युद्ध भएका र मानिसले सुखको संसारको अभिलासाले नै क्रान्तिको प्रयास गरेका देखिन्छ । जब जब क्रान्ति सफल हुँदैनन् तब तब क्रान्तिको रुपहरु परिवर्तन हुँदै आएको उदाहरण पनि हामीसँग प्राप्त छन् तर युद्ध नै समाप्त भएको चाहिँ छैन । “विसर्जनका लागि/हातमा आफनै अस्तु बोकेर कपिलवस्तु÷एउटा बेग्लै कोसी खोजिरहेछ /एउटा बेग्लै बाग्मती खोजिरहेछ ” कपिलवस्तु शीर्षकको यस कविताको प्रतिनिधि कपिलवस्तु होस् वा अन्योल बूढी आमा र विरामी देश कविताकी बूढी आमाले देखेको दृश्य “चौबाटोमा पिलिकपिलिक /बलिरहेछन् राता बत्तीहरु÷नीला बत्तीका प्रतीक्षामा उभिएका/मान्छेहरुलाई म मुठभेटमा तैनाथ /महाभारत युद्धका सिपाहीँजस्तो देख्छु ” होस् जताततै असन्तुष्टि र विद्रोह अनि युद्ध र क्रान्तिका लप्काहरु प्राप्त छन् । तिमी, म र समय कविताभित्रको “ अब त समयसँग सम्झौता होइन/लाप्पा खेलेर जित्नपर्छ तिमीले/आकांक्षाको कुरुक्षेत्रमा जीवनको महाभारत” कविता विचारले क्रान्तिको पाइनलाई जुरुक्कै उचालेको यथार्थलाई नकार्न सकिन्न ।

कवितासंग्रहमा निराशा मात्र छैनन् सपनाहरु पनि छन् । सपना मानिसको गन्तव्य , साध्य हो । यो कवितासंग्रहमा कविका उज्याला सपनाहरु पनि प्रशस्त उनिएका छन् । शान्त ,स्निग्ध उज्यालो प्राप्त गर्न कवि कतै कुनै भड्किलो कामना पनि गर्दैनन् । घाम आउने सम्भाव्यता हेरिरहेकी आमा, निश्छल, निश्वार्थ मुस्कान बोकेको बालकको तस्बिर, छोरालाई खोलापारि भित्तासम्म पु्र्याइमागेर अडेस लाग्न चाहने र विरामी देशबारे सोच्ने आमा, नैतिक शिक्षा मागिरहेकी छोरी , मायालु हातले इन्द्रेनी पुतली टिप्न इच्छुक कविकी छोरी, कविले यो माटोमा शान्तिको एउटा बोधिवृक्ष उम्रेको चाहनु यस कविताका उज्याला सपनाहरुको सन्जाल हो । उनी खेती कवितामा “सानो छोरालाई कोक्रामा सुताएर /भविष्यको मुग्ध लोरी सुनाउँदै ÷तिमी हातमा सपनाको बीउ बोकेर आऊ. ......म माटामा राष्ट्रियताको खेती गर्छु” उनको राष्ट्रवादी सपनाको उच्च मूल्यांकन गर्नुपर्छ ।

कवि विवश पोखरेलको यो निषिद्ध बस्तीमा कवितासंग्रहमा नेपालीले आफनै जमिनमा पाएको कुरा नपाएको अवस्थाको चित्रण छ । प्रजातन्त्र प्राप्तिको लडाइँ गरे , पाए तर भोग गर्न दिइएन, लोकतन्त्र र गणतन्त्र पनि पाएर पाएनन् , शान्तिका लागि लडे तर पाएनन्, उन्नतिका लागि लडे , पाएनन् । स्वाभीमान, मर्यादा, आत्मसम्मान, जीवनको सुख, आफनो जमिन र आकाशको कथा दन्त्यकथाजस्तै भएको छ । सबै बाटाहरु निषेधको स्थितिमा रहेको वर्तमान नेपाल र नेपाली यथार्थ चित्रण उतारिएको यो कवितासंग्रहको मुख्य प्राप्ति नै निषेध जीवन हो । त्यसरी नै कविताहरु अनिर्णित छन् जसरी यहाँका विचार, दल, सत्ता, शासन, अनिर्णित अवस्थामा छन् । कविताहरुले विम्व र प्रतीकहरुलाई दुरुह बोकेका छैनन् । सोझो भावमा सिधा कुरा गरेर वास्तविक विषयलाई यथार्थताको नजिकबाट उदाँगो पार्न खोजिएका यस संग्रहका कविताहरु आम जनता भएर सडकमा निस्किएकाजस्ता छन् ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।