के पो आशा राख्नु मैले यस्तो उजाड संसारमा ?
किन बज्थ्यो मीठो धून शून्य दिलको झङ्कारमा ?
हेर्छु सबै मुस्कान छर्दै बगैचामा रमेका छन्
ओइलाइरहेँ झरिरहेँ वसन्तको वहारमा ।
बारबार लगातार हारै हार भोग्छ भाग्य
मेरा खुसी हराई गए त्यही भाग्यको प्रहारमा ।
आयुसामु घुँडा टेकी पाएका ती चारोटा दिन
आधी बित्यो प्रतिक्षामा आधी तिम्रै सँघारमा ।
कसलाई दोष दिनु मैले कर्मै खोटो भएपछि
बिक्दैन रे खोटो सिक्का जिन्दगीको बजारमा ।