18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

बोधगम्य कविताको सँगालो: 'सेलाएको घाम'

कृति/समीक्षा प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल September 11, 2011, 5:10 pm
प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल
प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल

२०२२ साल माघ १० गते लमजुङ जिल्लामा पर्ने श्रीमन्ज्याङ गाउँको एउटा मध्यम वर्गीय ब्राह्मण परिवारमा पिता ताराप्रसाद घिमिरे र माता इन्दुदेवी घिमिरेका कान्छा सुपुत्रका रूपमा जन्मिएका विद्याप्रसाद घिमिरेले व्यवस्थापनमा स्नातक गरेका छन् । बाबु सरकारी जागिरे भएकाले यिनको विद्यालयीय पढाइ स्थिर हुन सकेन । जागिरका सिलसिलामा बाबुको सरुवासँगसँगै विभिन्न ठाउँका विद्यालयमा भर्ना हुँदै यिनले आफ्नो अध्ययनलाई अगाडि बढाए । २०४५ सालमा प्रहरी सहायक निरीक्षक पदबाट प्रहरी सेवामा प्रवेश गरेका घिमिरे २०६३ सालमा प्रहरी निरीक्षक पदमा बढुवा भई हाल सोही पदमा कार्यरत छन् । २०६० सालदेखि पत्रपत्रिकाको सम्पादनतर्पm उन्मुख भएका घिमिरे २०६३ सालदेखि प्रहरी द्वैमासिक पत्रिका र प्रहरी मासिक बुलेटिनको सम्पादकका रूपमा कार्य गरिरहेका छन् ।

घरायसी पारिवारिक परिवेश धार्मिक प्रवृत्तिको भएको हुँदा आफ्ना बाबुले पढ्ने गरेका धार्मिक कृतिहरू पढ्दापढ्दै साहित्यिक सिर्जनतर्पm प्रवृत्त भएको बताउने विद्याप्रसाद घिमिरेको साहित्ययात्राको थालनी २०५२ सालमा प्रहरी पत्रिकामा प्रकाशित ‘समर्पण’ शीर्षक कविताका माध्यमबाट भएको हो । यिनका थुप्रै कविता, गीत र समसामयिक विषयमा आधारित लेखरचनाहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित छन् । २०६२ सालदेखि आफ्ना गीतलाई स्वरसङ्गीतबद्ध गराउन थालेका घिमिरेका हालसम्म एक दर्जनजति गीतहरू स्वरसङ्गीतबद्ध भइसकेका छन् । जागिरले प्रहरी भए पनि साहित्यिक पत्रिकाको सम्पादन तथा विभिन्न साहित्यकारहरूसँगको सम्पर्कका कारण यिनको लेखनीले विस्तारित हुने अवसर पाएको देखिन्छ । यिनले बीपी घिमिरेका नामबाट समसामयिक राजनीतिका साथै आध्यात्मिक विषयसँग सम्बद्ध विश्लेषणात्मक लेखहरू पनि थुप्रै लेखेका छन् । यिनका यस खाले लेखहरू कुनै न कुनै ढङ्गले युगीन यथार्थलाई झल्काउने खालका छन् ।

प्रहरी पेसामा संलग्न भएर पनि साहित्य सिर्जनालाई निरन्तरता दिने थोरै प्रहरी साहित्यकारहरूमा विद्याप्रसाद घिमिरे पनि एक हुन् । यिनको सेलाएको घाम शीर्षक कविता सङ्ग्रहमा चिह्नाङ्कित रूपमा अविभाजित तर पङ्क्तिपुञ्जगत आधारमा स्पष्ट रूपले विभाजित प्रायः छोटा आयामका ४१ वटा कविता सङ्कलित छन् । यिनमा १९ वटा कविता पूरै गद्यकविताका ढाँचामा संरचित छन् भने २२ वटा कविता श्लोकका ढाँचामा लेखिएका हुँदा झट्ट हेर्दा शास्त्रीय छन्दोबद्धजस्ता लाग्छन् तर ती पनि कुनै शास्त्रीय छन्दविशेषमा आबद्ध नभई तुकबन्दीयुक्त ढङ्गबाट संरचित छन् । यिनलाई पनि मुक्तछन्दकै कविताको कोटिमा राख्न सकिने हुँदा प्रस्तुत कविता सङ्ग्रह मुक्तछन्दका कविताको सँगालो हो । मुक्तछन्दका भएर पनि स्पष्टतः छुट्टिने गरी पङ्क्तिविन्यास गरिएका यस सङ्ग्रहका कतिपय कविता मुक्तक ढाँचाका समेत छन् ।

कवि घिमिरेको यस सङ्ग्रहमा सङ्कलित कविताहरूमा विषयगत विविधता पाइए पनि त्यो मूलतः वर्तमान युगीन राष्ट्रिय र मानवीय जनजीवनसँग सम्बद्ध छ । मानवजीवनलाई निरर्थक रूपमा खेर जानदिन नदिई सार्थक तुल्याउनु पर्ने र जीवनमा सदैव सत्कार्य गर्नुपर्छ भन्ने घिमिरेका कवितामा पनि त्यसैप्रकारको अभिव्यक्ति पाइन्छ । बाटोघाटो, झर्ना, नदी, खोला, छहरा, बगैँचाका पूmल, झरी, स्वच्छ नीलो आकाश, उडिरहेका पन्छी, उषाकालमा उदाइरहेको सूर्य, कसैको मृत्यु, सुखदुख आदि सबै ठाउँमा साहित्य रहेको ठान्ने घिमिरेका कवितामा पनि यिनै विविध पक्षको अभिव्यक्ति भएको देखिन्छ । सामाजिक विशृङ्खलतालाई प्रोत्साहित गर्ने र समाजलाई अधोगतितर्पm धकेल्ने सिर्जनाका पूरै विपक्षमा उभिएका घिमिरेका रचनामा सामाजिक सद्भाव र अग्रगतिकै स्वर मुखरित छ ।

कवि विद्याप्रसाद घिमिरेले आफ्ना कवितामा जीवनका उज्याला र अँध्यारा दुवै पक्षको चित्रण गरेका छन् । यिनको यस सङ्ग्रहमा सङ्कलित धेरजसो कवितामा प्रेमको अभिव्यक्ति पाइन्छ र त्यो प्रेम प्रणयमूलक मानवीय प्रेम, राष्ट्रप्रेम र प्रकृति प्रेमका रूपमा प्रकट भएको छ । मानवीय प्रेमप्रणयमा आधारित यिनका कवितामा प्रेमाग्रह, प्रेमप्रणयजन्य पर्खाइ वा प्रतीक्षाका पीडा, अप्राप्तिमा प्राप्तिको प्रेमजन्य अनुभूति, मिलनको सुखद संस्मरण, बिछोडका पीडा आदि विभिन्न सन्दर्भको अभिव्यक्ति पाइन्छ । मिलनातुर क्षणको सुखद अनुभूतिका साथै वियोगजन्य पीडालाई यिनले सहजतापूर्वक कवितात्मक बान्कीमा उनेका छन् । अव्यक्त प्रेमजन्य अनुभूति, सहानुभूति, सपनामा माध्यमबाट प्रेमको प्रकटीकरण, पीडादायी संस्मरण आदिको अभिव्यञ्जना यिनका कवितामा पाइन्छ । यस सङ्ग्रहभित्रका धेरजसो कवितामा यस्तै मानवीय प्रेमप्रणयमूलक भावको स्वच्छन्द अभिव्यक्ति गरिएको छ ।

विद्याप्रसाद घिमिरेका राष्ट्रप्रेममा आधारित कवितामा राष्ट्र, राष्ट्रियता, देशप्रेम, देशका विविधताको वर्णन, राष्ट्रमुक्तिको चाहनाको अभिव्यक्ति आदि पाइन्छ । यस्ता कविताहरूमा ‘माटोमै छ राष्ट्रियता’, ‘मोह प्रकृतिको’, ‘मेरो देश’, ‘मुक्ति खोजेको देश’ आदि उल्लेख्य छन् । यिनले प्रकृति प्रेमका सन्दर्भबाट पनि राष्ट्रप्रेमको भावाभिव्यञ्जना यसरी गरेका छन् ः

प्रकृति हो साँचो स्वर्ग दैवी उपहार

यै स्वर्ग बचाउने वर पाऊँ ईश्वर

हामी बाँच्ने धर्ती यही पुजूँ यही धरा

सम्पदा यो प्रकृतिको पारूँ हराभरा ।

(‘मोह प्रकृतिको‘, पृ. ५०) ।

देशमा पैmलिएको अशान्ति तथा सङ्कटग्रस्त राष्ट्रिय अस्मिताप्रति चिन्ता व्यक्त गर्दै वर्तमान युगीन यथार्थलाई प्रकृतिका बिम्बका माध्यमबाट कवि घिमिरेले यसरी अभिव्यक्त गरेका छन् ः

मेरो सगरमाथाको शान

आज बस्तीबस्तीमा पग्लिएको देख्दैछु

गुराँसको लाली धुवाँले कालो बनेको हेर्दैछु ।

अनि, अन्नपूर्णको अस्मिता

चूर्णचूर्ण र खण्डित हुँदै गएको महसुस गर्दैछु ।

(‘अन्नपूर्ण, गुराँस र सगरमाथा’, पृ. ३५) ।

विद्याप्रसाद घिमिरेका प्रकृतिप्रेममा आधारित कवितामा स्वच्छन्द प्रकृतिचित्रण पाइन्छ । यस खालका कवितामध्ये ‘आस्था र प्रकृति’, ‘मोह प्रकृतिको’, ‘शरदागमन’, ‘धर्तीको स्वर्ग ः पोखरा’ आदि उल्लेख्य रहेका छन् । यिनले कतिपय कवितामा प्रकृतिका माध्यमबाट जीवनको समेत चित्रण गरेका छन् । यिनको प्रकृति चित्रण स्वच्छन्दतावादी कविको भैmँ स्वच्छन्द खालको छ । उदाहरणका रूपमा तलको कवितांशलाई लिन सकिन्छ ः

उदाउँदो घाम हेरेँ मिठो स्वाद आयो

गगनमा सिताराको मादकता छायो

मिरमिरे प्रभातमा पंक्षी गीत गायो

यो मनसित प्रकृतिले बल्ल मित लायो ।

(‘मोह प्रकृतिको‘, पृ. ४९) ।

सुख–दुख, हाँसो–रोदन, जन्म–मृत्यु, उदय–अस्तजस्ता विपरीतधर्मी जीवनका यथार्थको चित्रण पनि कवि घिमिरेका कवितामा पाइन्छ । यससम्बन्धी उदाहरणका रूपमा ‘म मृत्यु सिक्दैछु’ जस्ता कवितालाई लिन सकिन्छ । जीवनका आरोहावरोहको चित्रण पाइने यिनका कवितामा वर्तमान युगीन कटुयथार्थको अभिव्यक्ति र सहरप्रतिको वितृष्णा पनि भेटिन्छ । यससम्बन्धी उदाहरणका रूपमा तलको कवितांशलाई लिन सकिन्छ ः

मसानघाटमा बाँचिरहेछ मान्छे

चिहानमा नाचिरहेछ मान्छे

मुर्दाघरमा हाँसिरहेछ मान्छे

उपाहसका आवाजसँगै ।

चिहान र मसानघाट मात्र देखिन्छ

यस सहरमा मान्छे देखिँदैन ।

(‘आजभोलि’, पृ. २५) ।

धेरै देखेको छु उपकारका नाममा लुट्नेहरू

भेटेको छु उद्धारका नाममा डुबाउनेहरू

(‘असहज गन्तव्य’, पृ. ३४) ।

विवश जीवनको चित्रण पाइने यिनका कवितामा मान्छे जीवित छँदा पूर्ण बेवास्ता गर्ने अनि मरेपछि सम्झिटोपल्ने मानवीय वृत्तिको चित्रण पनि पाइन्छ । यससम्बन्धी उदाहरणका रूपमा ‘भिखारीको मृत्यु र मेरो आत्महत्या’ शीर्षक कवितालाई लिन सकिन्छ । विदेशीहरूको इसारा र उक्साहटमा गरिने विध्वंसात्मक कार्यको चित्रण र हाम्रो अस्तित्व लुटिएका सन्दर्भको प्रतीकात्मक वर्णन ‘प्यासी गाग्रा र घैँटाहरू’ शीर्षक कवितामा गरिएको छ । यिनले वर्तमान विकृत यथार्थको स्वच्छन्द चित्रण, धर्म र कर्मका क्षेत्रमा व्याप्त विकृति तथा गुम्दो र गिर्दाे नैतिकताको चित्रण ‘मन्दिर र मदिरा’ शीर्षक कवितामा गरेका छन् । ह्रासोन्मुख संस्कृतिको चित्रण ‘संस्कृति र हामी’ शीर्षक कवितामा गरिएको छ भने निरीह मानवको दुर्नियति ‘मूर्ति’ शीर्षक कवितामा गरिएको छ । यिनले ‘श्रद्धाञ्जलि सहिदप्रति’ शीर्षक कवितामा सहिदप्रति श्रद्धाभाव व्यक्त गरेका छन् भने ‘युवाशक्ति’ शीर्षक कवितामा युवाको महिमागान गाएका छन् ।

विसङ्गत वर्तमान परिवेशको चित्रण, जीवनयात्राको अभिव्यक्ति, वर्तमान युगीन विसङ्गत परिस्थितिप्रति चिन्ता, विधवाका दुर्दशाको चित्रण, जीवनका कारुणिकताको वर्णन, युगीन यथार्थको प्रस्तुति आदिको अभिव्यञ्जना पाइने कवि घिमिरेका कवितामा वर्तमान युगीन राजनैतिक विसङ्गतिप्रति व्यङ्ग्यसमेत प्रहार गरिएको छ । यससम्बन्धी उदाहरणका रूपमा तलको कवितांशलाई लिन सकिन्छ ः

भू–राजनीतिका हरेक वृत्तमा जताततै भो खल्बली ।

नेपाली आँखामा नेपाल पग्लियो आँसु बनेर भल्भली ।।

गरिबजनको यो तातो जलले पोलेन यिनको छाती ।

छेपारा वर्णका यी नेतागणले हुनै दिएनन् सहमति ।।

(‘सहमति’, पृ. ७०) ।

जताततै असहज परिस्थिति भएकाले सहजताको खोजी नै निरर्थक भएको भावाभिव्यक्ति पाइने कवि घिमिरेका कतिपय कवितामा आक्रोश, व्यङ्ग्य, विद्रोह र सहानुभूतिको स्वरसमेत मुखरित भएको पाइन्छ । यिनका कतिपय कवितामा घुमाउरो पाराले आध्यात्मिक चेतनाको अभिव्यञ्जनासमेत भेटिन्छ ।

यस सङ्ग्रहका अधिकांश कवितामा परिवेशसूचक स्थान र समयको स्पष्ट उल्लेख नपाइने हुँदा यिनलाई सार्वस्थानिक र सार्वकालिक विशेषतायुक्त रचना मान्न सकिन्छ भने कवितामा वर्णित वातावरण सुखद–दुखद, आशावादी–निराशावादी, संयमित–आक्रोशपूर्ण खालको छ । यस सङ्ग्रहका कवितामा युगीन राष्ट्रिय सन्दर्भअनुरूप सकारात्मकभन्दा नकारात्मक बहुल वातावरणको प्रस्तुति पाइन्छ । युगीन जीवनका विविध पाटासँग सम्बद्ध यथार्थको प्रकटीकरण यस सङ्ग्रहका अधिकांश कविताको उद्देश्य रहेको देखिन्छ । कतिपय प्रथम पुरुष र कतिपय तृतीय पुरुष दृष्टिबिन्दुमा संरचित यिनका सबैजसो कवितामा कुनै न कुनै विचारको प्रस्तुति पाइन्छ तर त्यो विचार राजनीति सापेक्ष नभई राजनीति निरपेक्ष रहेको छ अर्थात् यिनका कवितामा अभिव्यञ्जित विचार कुनै राजनीतिक वादविशेषमा केन्द्रित नभई मानवीय संवेदनामा केन्द्रित रहेको देखिन्छ ।

यस सङ्ग्रहका कवितामा सरल, सहज, स्वाभाविक र प्रायः मानक एवं परिनिष्ठित भाषाशैलीय विन्यास पाइन्छ । ठाउँठाउँमा पाइने कथ्यमिश्रित भाषाले कवितालाई थप मिठासता प्रदान गरेको छ । कतिपय ठाउँमा प्रयुक्त भाषामा बनावटीपनको झझल्को पाइए पनि समग्रमा यिनको भाषिक विन्यास स्वाभाविक छ । प्राकृतिक बिम्बको प्रचुर प्रयोग पाइने यिनका कवितामा प्रयुक्त भाषा लयात्मक गुणले ओतप्रोत छ र यसलाई थप लयात्मक तुल्याउन तुकबन्दीयुक्त भाषिक विन्यासका साथै समानान्तरताले पनि विशिष्ट भूमिका खेलेको छ । यिनका गद्यकवितामा पाइने समानान्तरतासम्बन्धी उदाहरणका रूपमा तलको कवितांशलाई लिन सकिन्छ ः

नचाख्नेलाई थाहा छैन मदिराको स्वाद

नझुम्नेलाई थाहा छैन मदिराको माद

नझुक्नेलाई थाहा छैन मदिराको स्वाद

तर तुलनीय छ मदिरा र मन्दिर ।

(‘मन्दिर र मदिरा’, पृ. १९) ।

युगीन जनजीवनसँग सम्बद्ध विभिन्न पक्षहरूलाई कतै सोभैm र कतै प्रतीकात्मक रूपमा प्रस्तुत गरिएका विद्याप्रसाद घिमिरेका कविता मुक्तछन्दका भए पनि लयात्मक गुणयुक्त छन् भने धेरजसो कवितामा आनुप्रासिक संयोजनका साथ तुकबन्दी गरिएकाले ती झनै लयात्मक गुणयुक्त छन् । यिनका कवितामा पाइने तुकबन्दी अधिकांशतः स्वाभाविक देखिन्छ । यसको शीर्षकका लागि चयन गरिएको सङ्ग्रहभित्रकै एउटा कविता सेलाएको घाम पदावलीले सोझो रूपमा तापविहीन चिसो सूर्य भन्ने अर्थ दिन्छ । यसको शीर्षक अभिधार्थमा नभई प्रतीकार्थमा विशिष्ट अर्थयुक्त छ । वर्तमान युग र मानव जीवन नै विपरीतधर्मी गुणले आक्रान्त रहेकाले यसको शीर्षक प्रतीकात्मक सन्दर्भबाट सामञ्जस्यमूलक, औचित्यपूर्ण र सार्थक छ ।

विषयवस्तुगत विविधता, स्वच्छन्द प्रेमप्रणयमूलकता, राष्ट्रवादिता, भाषिक सरलता आदि विद्याप्रसाद घिमिरेको यस सङ्ग्रहका कवितामा पाइने खास विशेषता हुन् । क्लिष्ट र जटिल प्रयोगशीलताका सन्दर्भबाट यो कविता सङ्ग्रह ऋणात्मक देखिन्छ भने सरल र बोधगम्यताका सन्दर्भबाट धनात्मक देखिन्छ । यो यिनको पहिलो कविता सङ्ग्रह भएर पनि निकै परिष्कृत, परिमार्जित र स्तरीय एवं झरिलो–भरिलो छ ।

त्रिभुवन विश्वविद्यालय, काठमाडौं

email: [email protected]

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।