15 वर्षदेखि निरन्तर
समकालीन साहित्य

साहित्यको बिस्तारमा नेपाली डायास्पोराको योगदान

विचार प्रा. डा. गोविन्दराज भट्टराई September 26, 2011, 1:49 am

डायास्पोरा शब्द प्रचलनमा आएको तिनहजार वर्ष वित्यो। ग्रिसेली मूलको 'डायास्पोरा'ले एक देशबाट निश्कासित भएर अन्य भूमिमा निर्बासित जीवन बिताउनेहारुको समुदाय भन्ने बुझिन्थ्यो। यसको आदिमता पुरानो छ। यो शब्द एकबचनमा डायास्पोरा मात्र थियो। ईतिहासमा डायास्पोरालाई चार चरणमा बिभाजन गरिएको छ। बाइबलमा बर्णित इग्जोडसले याहूदिहरुको आमनिष्कासनलाई जनाउँछ। पहिलो चरणमा त्यहाँदेखी यताका अफ्रिकी, आर्मेनियाली र आइरिस डायास्पोराको अध्ययन हुन्छ। त्यसले हजारौ वर्ष समेट्छ।

भर्खरै, १९८० देखी यताको एउटा कालखण्डलाई दोश्रो चरण भनिन्छ। यस कालमा डायस्पोराको अर्थ बिस्तार भएर देश निष्कासित, निर्वासित, राजनीतिक शरणार्थी, बिदेशी नागरिक, बसाईसरुवा जातिय अल्पसङ्ख्यक सबैथरी डायास्पोराभित्र पारीभाषित हुन थालए। पहिलो चरणमा बढी छरिएका हुन्थे भने दोश्रो चरणमा ति बढी सङ्गठित हुँदैगए।

१९९० पछी तेश्रो चरणमा डायस्पोराको बिषयमा अध्ययन अनुसन्धान गर्नेहरु बढे। त्यस पश्चात डायास्पोरा, डायास्पोरिक, डायास्पोराज जस्ता शब्द बिस्तार भए र विश्वविद्यालयमा र अध्ययन संस्थानहरुमा 'डायास्पोरा स्टडिज' भन्ने अध्ययन र अनुसन्धानका बेग्लै हाँगा स्थापित र बिकसित भयो।

त्यसयता उत्तरआधुनिक दृष्टिले विश्लेषण गर्दै डायास्पोरालाई हेर्ने अत्यन्तै नयाँ सिद्दान्त आएका छन। यसले डायास्पोराका पुराना पारीभाषा र मान्यतामा परिवर्तन ल्याएको छ। घरदेश र परदेश (होमल्यान्ड र होस्टल्यान्ड) बिचको त्यो अनिबार्य विभाजन खुकुलियो किनभने नयाँ समयले भन्छ- मानव जीवनलाई अथवा समाजलाई त्यस्ता द्विचर विभाजनले मात्र अर्थ्याउन सक्तैन। उनिहरुले भनेका छन मानिसको परिचय भनेको सधैं तरल, बदलिरहने, अनेक स्वरुपको र अस्थिर तत्व हो। एउटा नेपाली नागरिक संगसंगै वेलायती र अमेरिकि पनि भएको छ। त्यसले गर्दा एकपक्षिय परिचयले, परिचयको स्थिर स्वरुपले, उसलाई सिमित पार्न मिल्दैन। परिचय बारम्बार बादलिरहने तत्व हो।

नयाँ सहस्राब्दी लागेदेखी यताको समयलाई अथवा वर्तमान काललाई डायास्पोरा अध्ययनको चौथो चरण भनिन्छ। यो चाँही स्थिरत्वको समय हो। दृढिकरणको समय। कुनै डायास्पोरा(समुदाय) दुइपल्ट प्रतिस्थापित छन हङ्कङ बस्ने नेपाली झै। कुनै त धेरैपल्ट प्रतिस्थापीत हुँदै बसाई सराईमा पर्ने पनि छन। हङकङबाट फेरी वेलायत पस्ने नेपाली, अमेरिकाबाट फेरी क्यानाडा पस्नेहरु, नेपालबाट पुन: तेस्रो मुलुकमा पुनर्वास गराइएका भुटानिहरु यसका उदाहरण भए। यसप्रकारले डायास्पोरिक समुदायमा पहिचानका जटिलता पनि थपिदै छन। त्यसैले पहिचानलाई कुनै क्षेत्रबद्ध नगर्नु भन्ने मान्यता बढेको छ। त्यसलाई 'डिटेरिटोरीअलाइजेसन अफ आइडेन्टिज' अथवा पहिचानको क्षेत्रगत सीमामुक्तिको स्थिती भनिन्छ। चलायमान मानवलाई स्पेसको समयमा एक भूगोलमा बाँध्न मिल्दैन।

शुरुको डायास्पोरा निर्माण हुने क्रममा ठूलाठूला जातिय वा धार्मिक समुदाय परे। ति दिनका डायास्पोरा निर्माण हुने कारण डरलाग्दा छन।

यहूदी, आर्मेनिअस, अफ्रिकन, आइरिस, प्यालेस्टिनिअन डायास्पोराहरु प्रारम्भिक अवस्थाका 'पीडित' डायास्पोरा हुन। तिनिहरुले नयाँ भूमिमा भाषाको क्रिओलाइज्ड 'ठिमाहा' रुप बिकसित गरे, संस्कृति त्यस्तै बनाए र मूल देश सम्झिदै नयाँ मूलुकमा बसे।

दोश्रो खालका छन् करारबद्ध भएर श्रमिकको रुपमा निष्कासितहरु। त्यस समूहमा चिनिया, जापानी, तुर्की, ईटालियन, उत्तरआफ्रिकिहरु छन् यस् चरणकाहरुलाई 'प्रोलोटरिअन डायास्पोरा' भनिन्छ।

तेश्रो चरणका र खालका डायास्पोरामा खासगरी वेलायती उपनिबेश बाहिरका रुस लगायतका अन्य स्पेन, पोर्चुगल आदी देशले उपनिवेशित गराएका निष्कासितहरुमा पर्दछन। यिनिहरुलाई (सेटलर) नयाँ बसोबास गर्नेहरु अथवा उपनिवेशित डायास्पोरा भन्दछन।

अर्को प्रकृतिका छन- ब्यापार विजिनेसको प्रकृयामा बाहिरै रमाएका लेबनिज, चाइनिज, भियतनामी, जापानी र भारतीयहरु। अन्त्यमा छन् भौगोलिक क्षेत्र सीमा निर्बन्ध भएका डायास्पोराज- जस्तो कि क्यारिबिअन, सिन्धी, फार्सी, मुस्लिम लगाएतका धार्मिक डायास्पोराहरु।

वर्तमान समयमा डायास्पोरालाई समाजशास्त्री, ईतिहासकार, भाषावैज्ञानिक, भूगोलबिद र बिशेष गरी साहित्यकारले अध्ययन गर्दछन। डायास्पोरा समुदाय सबै बिषयको अध्ययनको सामाग्री र केन्द्र भएको छ। त्यसमा पनि समाजशास्त्र अगाडि छ।

पहिले काठोर समयमा वाध्यात्मक निस्कासन, निर्बासन र बसाई सराई हुन्थे। त्यसका प्राकृतिक, धार्मिक र बढी राजनीतिक कारण हुन्थे। तर आजको विश्वमा धेरैजसो डायास्पोरा निर्माणको अर्कै सहज र स्वाभाबिक प्रकृया बढेको छ। यातायात संचार सहज हुँदै गएकाले र भौगोलिक सिमा मेटिदै गएकोले स्पेसमै मानिसले चलखेल गर्न थालेकोले बसाई सराई प्रकृया अगाडि बढीरहेका छन। राष्ट्रसंघको अन्तरराष्ट्रिय बसाई सराई आयोग(IOM) को कार्यालय नेपालमा समेत स्थापित छ। नयाँ ठाउँमा पुग्नेको निमित्त, उनिहरुको जीवन सहजिकरणमा लाग्ने अनेक मानवताबादी संस्था पनि खुलेका छन।

तर अघी काठोर कालमा विभिन्न अप्रिय कारणले विस्थापित समूहको सामाजिक, आर्थिक मानसिक पक्षको अध्ययनमा समर्पित अनेक ब्यक्ती र संस्था छन। अहिले ता प्रत्येक विश्वबिद्यालयमा डायास्पोरा स्टडिज भन्ने अध्ययनको हाँगो पनि स्थापित छ।

अहिले डायस्पोरालाई अध्ययन गर्न भूमण्डलिकरण, बसाई सराई, परदेशियता जस्ता बिषयले छुने गर्छ। यो ट्रान्स्न्यासल (पारदेशिय अथवा देशपारिय) बसाई सराई हो। यसैले नेपालीमा यसको अध्ययनको शाखालाई देशपारिय अथवा परादेशिय शब्द उचित हुन्छ कि भन्ने प्रस्तावना पनि राखिएको छ। तर डायास्पोरा नै प्रिय हुँदैछ।

डायास्पोरिक समुदायमा बिशेषताहरुमा एकातिर राष्ट्र र अर्कातिर अन्यको स्थितिमा रहेका (राज्यरहित) को सम्बन्धमा व्याख्या हुन्छ। बसाई सरेका, अन्यत्र पुगेकाहरुमा परिचयको सन्दिग्धता हुन्छ। तिनिहरुलाई कुन संस्कृतिका भन्नु र कुन देशका यो दोधार सधैं रहिरहन्छ। हिजो मात्र एउटा खबर आएको छ- नेपाली मूलका अमेरिकि श्री दर्शन रौनियारले अमेरिकामा पहिलोपल्ट अमेरिकि कङ्ग्रेस/संसदमा उम्मेदवार भई चुनाव लड्ने छन। यस् अघी वेलायती नेपाली धनबहादुर गुरुङ फोक्स्टनबाट नगरपालिका सदश्यमा चुनिएका थिए। यो सानो समाचारले पनि विश्वका नेपालीले अपार खुशी ब्यक्त गरेका छन। हाम्रो जातिको त्यहा पनि सांस्कृतिक विरुवा रोपिएको छ भन्ने लाग्छ। यस्तो प्रयत्न र खुशी भाषामा, साहित्यमा, संस्कृतिमा सर्वत्र यो हुन्छ।

यस्तो प्रकारको जातिय उदयलाई 'इथ्नो-न्यासनल डायास्पोरा' भनिन्छ। त्यहाँ जातिय आधारमा राष्ट्रिय वा सामुहिक चेतनाहरु सङ्गठित हुन खोजेका हुन्छन। यस्तो चेतनालाई साहित्यले बोकिरहन्छ। यस्तो साहित्यमा बारम्बार परासांस्कृतिक तुलनाहरु आईरहन्छन।

नेपाली साहित्यले अनेक डायास्पोरालाई चिनाउन मद्घत गरेको छ, यसलाई विश्वब्यापी स्वरुपमा पुर्याउन जोड्न र आफ्न भावना ब्यक्त गर्न मद्घत पुर्याइरहेको हुन्छ। अहिलेको विश्वग्राममा आफ्ना जातिय/राष्ट्रिय समुहसँगको संपर्क र संचार अत्यन्तै सरल भएकाले गर्दा पहिले हुने अतितस्मरण र अती चिन्ता अनी एक्लोपन कम हुँदै गएको छ।

यो देशपारिय सामाजिक क्षेत्र हो- हङकङ, इजरायल, वेल्जियम, अमेरिका सबै जोडीएको छ, सबैमा जातिय एक्लोपन छ र त्यसैले जातिय सहभावको आवश्यकता पनि। त्यसैले गर्दा ति भावना जोड्न अन्तरराष्ट्रिय नेपाली साहित्य समाज जस्ता साहित्यिक संगठन हुर्किएका छन। विश्व नेपाली महासंघ जस्ता अरु अनेक नयाँ थपिदैछन। यि संस्थाले आफ्न कर्महरु विश्वसंजालमा ब्यापक बनाएका छन। अहिलेको साईबर संस्कृतिले वा ईलेक्ट्रोनिक संस्कृतिले समकालिकताको अनुभूती दिने भएकाले यतिखेरका विभिन्न जातिका/देशका डायास्पोराहरु बढ्ने क्रम तिब्र छ, त्यो झन चलायमान छ, त्यसको स्थिरिकरण पनि हुँदैछ र जीवन पनि अलिक सहज हुँदैछ। देशबाहिर समानान्तर संस्थाहरु खुल्दैछन। यसरी छरियका संस्था र राष्ट्रिय समूहको हितार्थ स्वदेश र परदेशको बिचमा सम्बन्ध सेतु भई कार्य गर्ने गैर आवासिय नेपालीहरुको संस्था एनआरएन जस्ताको स्थापना भएको छ। यो पनि सबैको आवाज हो।

प्रत्येक आतिथेय राष्ट्रको लागि डायास्पोराले समस्या पनि उत्पन्न गरिदिन्छ। भाषा साहित्य, संस्कृति, ईतिहास केही नमिल्ने जातिलाई, मिले पनि भिन्न राष्ट्रिय पहिचान भएको जातिलाई नयाँ देशमा पूर्ण स्वतन्त्रता दिनु गाह्रो, पूर्ण नियन्त्रण गर्न झन गाह्रो छ। आफ्नो कानुन अनुसार रसाउनु वा सुरक्षा दिनु सानो मुश्किलको कुरा होइन। यसरी डायस्पोरालाई स्विकार्ने ग्राहक राष्ट्रको पक्षमा पनि अध्ययन हुँदैछ।

यहूदी, वेलायती, अफ्रिकी, चिनिया, रुसी, तुर्की, ग्रिसेली, लेबनिज, कोरियन, ईरानियन जस्ता जातिबाट छरिएकाहरु आज ग्लोबल डायास्पोरा भनेर चिनिन्छन। तुर्किहरुलाई देश बाहिर अर्को देश स्थापना गर्न खोजेका, कुर्दहरु युरोपमा असाइलम (राजनैतीक शरण) खोज्दै हिंडेका, दोश्रो पुस्ताका लेबनिजले मिश्रित संस्कृति धारण गरेका अध्ययन प्रतिबेदन आईरहेका छन।

विश्वका अनेक मूलुकबाट नेपाली डायास्पोरा छरिएको चार दशक पुग्न लाग्यो। तर तिनिहरुको आरम्भ चाँही जिविकाको खोजिमा एसियाली छिमेकितिर छरिने नेपाली र त्यसपछी गोर्खा भर्तिले स्थापना गराएका क्यान्टोन्मेन्ट हुन यद्यपी आज यसका व्यापारिक, श्रमिक, आप्रवासी, विद्यार्थी, शरणार्थि अनेक स्वरुप भइसकेका छन।

वर्तमान विश्वले दक्षिण एसियाली डायास्पोराजको अनेक पक्षले अध्ययन गर्दैछ। वेलायतमा उपस्थित दक्षिण एसियाली परादेशिय सम्बन्ध एउटा चित्र भयो। साउथ एसिएन डायास्पोराजबाट सिख, तामिल, बंगाली,प्यालिस्तानी आदिका अलग अलग समुह छन। तिनिहरुको विभिन्न पक्षबाट अध्ययन हुँदैछ।

त्यहाँ अनेक देश छन् तर नेपालको नाम भर्खर एक दुई ठाउँमा आउँदैछ। यि साउथ एसियन डायास्पोरामा कसरी संस्कृति निर्माण हुँदैछ, कसरी एउटा मिश्रित समाज निर्माण हुँदैछ भन्ने अध्ययन आजको लक्ष हो। त्यसको प्रमाण भने नेपाली साहित्यले पनि टिप्न थालेको छ। म यसको हालै प्रकाशित दुई कथा सङ्ग्रहलाई लिन चाहन्छु- वेलायती परिदृश्यको लागि जया राईको बेकर स्ट्रिटका दुई आँखा र बेल्जियन मिश्रितताको लागि सञ्जु बजगाईको समुन्द्र र सपना। केदार सुनुवारको यात्रा सङ्ग्रह एथेन्सको झरी पनि त्यसैमा पर्दछ। अहिले सम्ममा नेपाली साहित्यमा ३००भन्दा अधिक कृतिले अनेक डायास्पोरिक जीवनको चित्र प्रस्तुत गरेका छन। तिनको सङ्कलन र गम्भिर अध्ययन गर्ने समय आएको छ। डायास्पोरिक सिर्जनाको के कसरी अध्ययन र विश्लेषण गर्नुपर्दछ भन्ने सम्बन्धमा प्रष्ट पार्न समालोचनाको एउटा नबिन स्वरुप पनि बिकसित भएको छ त्यो हो डायास्पोरा क्रीटिसिजम ।

त्यहाँ नागरिकता, धर्म संस्कृति र लैङ्गिकताको भिन्न स्वरुपका कुरा उठ्छन। जीवन अनेक भिन्न परिस्थितीको सम्झौताले बुनिएको देखिन्छ।

डायास्पोरिक समुदायमा त्यसको लेखनमा अतितस्मरण प्रमुख तत्व हुन्छ। नयाँ ठाउँसँगको समायोजन र अर्धविलयनको बिचमा तनाव उत्पन्न हुन्छ जसलाई 'डायास्पोरिक हाइब्रिडिटी' भनिन्छ।

अनेक इन्डियन डायस्पोरामध्ये मरिससको बहुसांस्कृतिक एक उदाहरण हो। तामिलको स्थिती अर्को, भारती जैनहरुको दोश्रो अमेरिकि पुस्ता अर्को। भारतीय आप्रवासिले उत्तरी अमेरिकामा चलाएको मन्दिर एक उदाहरणिय अध्ययन हो। हङकङमा नेपाली पण्डित संस्कृति बिजको अर्को उदाहरण हो। अमेरिकि पंजाबी,क्यानाडियन पंजाबी, लन्डनमा उडिसी, न्युजिल्याण्डमा दिवाली यस्ता अनेक उदाहरण छन। अध्ययनका क्षेत्र बढेका छन।

विश्वका सयौ डायास्पोराको अध्ययन अनेक दृष्टिले भईरहेको छ। नेपाली डायास्पोराको भने अध्ययन कतै भएको छैन यद्यपी नेपालको एक चौथाइ जनसंख्या नेपाल बाहिरै छ। हालै प्रकाशित ग्लोबल डायास्पोराज भन्ने कृतिमा विश्वका २०० जती डायास्पोराजको सन्दर्भ छ, तर नेपालको नामसम्म कतै छैन। अहिले अनेकौ डायास्पोरा स्थापित छन, अरु स्थापनाको क्रममा छन। ति साराको निर्माणमा साहित्यको अत्यन्तै ठुलो भूमिका रहन्छ। डायास्पोरा बिषयक चर्चा नेपाली सन्दर्भमा सर्वप्रथम उत्तरआधुनिक ऐना (२०६२)मा गरिएको थियो। पछी त्यसको विस्तार उत्तरआधुनिक बिमर्श(२०६४)मा भएको छ। यसै सन्दर्भमा कृष्ण बजगाईद्वारा सम्पादित डिजिटल वार्ता(२०६७)मा पनि डायास्पोरिक नेपाली साहित्यबारे राम्रो चर्चा गरिएको छ। यसै कृतिमा अनेसास जस्ता संस्थाले डायास्पोरा पुरस्कार स्थापना गर्नु, त्रिभुवन विश्वविद्यालय केन्द्रिय नेपाली विभागले डायास्पोरा अध्ययनको आरम्भ गर्नु जस्ता ऐतिहासिक कर्मको चर्चा पनि भएको छ। त्यहाँको अङ्ग्रेजी विभागमा त एम फिल पिएचडीसम्मै यो अध्ययनको बिषय भएको छ। आज नेपाल एकेडेमी जस्तो संस्थाले पनि अनेक नेपाली डायास्पोरामा उत्पादित साहित्य संस्कृतिको अध्ययन अनुसन्धान गराउने, डायास्पोरिक समुदायमा गरिएका प्रयत्नको ब्यक्ती र संस्थाको अभिलेख गर्ने र एक प्रकारको सम्बन्ध स्थापना गर्ने समय आएको छ। नेपाली साहित्यको मूलधारमा अनेक बैकल्पिक शक्तिहरु जोडीएका छन। ति अन्योन्याश्रित छन। विश्वबिद्यालय वा एकेडेमिले मात्र होइन, नेपाल सरकार परराष्ट्र विभागले पनि एक डायास्पोरिक् विङ्गको स्थापना गर्नु अत्यन्तै अनिबार्य भईसकेको छ।

धन्यवाद।

सन्दर्भसूची

कोहेन, रोविन ग्लोबल डायास्पोराज रुटलेज, ईण्डिया (२००८)।

बजगाईं कृष्ण =(सं.) स्रष्टा र डिजिटल वार्ता, अनेसास अमेरिका (२०६७)।

भट्टराई, गोविन्दराज उत्तरआधुनिक ऐना रत्नपुस्तक भण्डार, काठमाण्डौ (२०६२)।

-----उत्तरआधुनिक विमर्श मोर्डन बुक्स, काठमाण्डौ (२०६४)।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।