19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

आँधी

कविता मिश्र वैजयन्ती September 27, 2011, 9:35 am

आँधी—हावामा उडेको धुलो हो कि !

सँगसँगै उडेको पतिङ्गर पनि हो ?

अर्थात् कि आँधी केही हो अरु थोकै !

मनको अमीलो हावा

छातीमा ठोक्किएर

आँखाबाट अविरल बलेँसी चुहुँदा

एक्लो यात्रा बोकेर हिँड्ने

मलिनताको शान्ति हो आँधी !

कि हृदयभरि पीडाका गीत बोकेर

हिउँदको सिरेटो सुम्सुम्याउने

न्यास्रिएको गुराँस हो आँधी !

कोक्याएको जिब्रोले

स्वतन्त्रताको मीठो स्वाद चबाउने

षडयन्त्र विरुद्घको तुमुल ध्वनि हो आँधी !

कि नअख्रिएका आँखाबाट

विस्मयका राग सुम्सुम्याउँदै

कथित स्यावासीका थपडी बजाउने

भूईं कुहिरोले छोपेको ऐंठन हो आँधी !

आँधी घर उडाउँछ ,

थर उडाउँछ

तर किन डर उडाउँदैन ?

आँधी पात उडाउँछ,

बात उडाउँछ ,

तर किन अन्तर्घात उडाउँदैन ?

आँधी जिस्किएर खेल्ने

कमजोर सिँगौरी हो कि !

आँगनका चरा तर्साउने फित्कौली हो ।

आँधी मीठो बद्मासीको हल्ला हो कि !

रापिलो छट्पट्टिको किल्ला हो ।

भोकको जोशिलो विद्रोह हो कि !

जोशमा गरिने उपद्रो हो !

पेचा नबनुन्जेल मान्छेहरू

आतङ्कित बन्छन् आँधीसँग ।

मान्छेभित्र मान्छेको

जाँगर जागेपछि

पशु रहँदैनन् मान्छेहरू ,

रक्तबीज भै विचारमा

बाँच्न थालेपछि

मारेर सकिँदैनन् मान्छेहरू

मान्छेभित्र मान्छेको

आगो बलेपछि

मेसिनबाट मान्छे बन्छन् मान्छेहरू

भूईंचालो आएपछि

मान्छेका पाइतालामा

रोक्न सकिँदैन कम्पनहरू ।

विस्फोटनको तयारीमा रहेको आँधी

छामिदैन मनका गगनभेदी नारासँग ,

आँधी देखिंदैन मनभित्र मान्छेको

मन फुटेर छताछुल्ल पोखिएपछि

भित्रैमात्र बास बस्दैन आँधी

गुम्सिएर आँशुसँग ।

बरु पोखिएर तूफानसँग

उडाउँदै हिँड्छ बुख्याँचालाई आँधी

आगो बनेर दन्किएपछि

कसरी रोक्न सकिन्छ र आँधी !

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।