19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

विज्ञान र प्रकृति

कविता रुपेश राई October 1, 2011, 8:37 am

त्राही-त्राही बने आस्तिक, नास्तिक

मनहरू। विज्ञान र प्रकृतिको चपेटमा।

जब, चुनौती

दिएर गए प्रकृति। विज्ञानको उत्तेजित विकासलाई!

त्यत्ति बेला, आत्मा र कालले

केवल एउटै सम्झौता खोजे। जीवन/मृत्यु।

होड चल्दै गरेको सडकमा। घरमा, हस्पिटलमा। होटलमा। प्रत्येक सन्तुष्टि र असन्तुष्टिको माझमा झ्वाट्ट अन्धकार बिसाइदियो त्यो साँझ। व्याप्त विज्ञानका कुरा तिमी र मालाई भ्रममा पारेन त? उम्लँदै गरेको जमिन अनि भित्रबाट अत्तालिएर आएकी युवती। जीवन र मृत्यु लडिरहेजस्तो, मलाई सोध्छे। अब म, भित्र पस्नु हुन्छ? चिच्च्याहटहरू सुनिए, अनगन्ती मेरो-मेरो, मेरो-मेरोहरू पनि सुनिए। परिवार विर्सिए। साँच्चै, मर्नुदेखि डराएर हैरान भए। पहिलेजस्तै सबै। निस्पट्ट अन्धकारभित्रको डररररररररर...। प्रकृतिको शक्ति सोचिरहेँ। शान्त भएर चर्चा चलिरहेको बेला।

भोलि भयो,

दोषारोपणमा पत्रिकाहरू। टिभी च्यानलहरू। हाय-हाय र चः चःहरू।

विज्ञानले, होइन, यो त प्राकृतिक प्रकोप हो।

व्याप्त भुइँचालोले लथालिङ पारिएका

अस्तित्वहरू...। निरिक्षण गर्दैगरेका तस्विर र लाइभ शोहरू...।

निमिट्यान्न पारेन किन?

किनकि जान्दछ प्रकृतिले समयमा, उमार्न र नउमार्न। जस्तो मलाई लाग्यो।

सुत्दैन,

सधैँ भुसुक्क हुने निद्राहरू रातपरेपछि।

उज्यालो नै हेरिरहन्छ आँखाहरू आपतपरेपछि।

आउँदैन यो,

फेरि फर्केर कसैले, भनेपनि।

मन यो,

भित्र कत्ति लाग्दो रहेछ, शङ्कापनि।

मुटु छामेर,

आफ्नै ढुक्ढुकी यदाकदा बुझेँ।

हल्लीँदै तर्सेर

सडकमा, प्रकृतिबाट टाढिएको त्यत्तिबेला पो बुझेँ। अफवाहहरूको घारीमा।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।