14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

आमाको व्यथा र बहिनीको आँसु

कविता तुलसी प्रवास October 9, 2011, 3:33 am

जताततै शरद फुलाएर

गाउँ –गाउँ, बस्ती–बस्ती सबै झुलाएर

फेरि पनि दशैं आएको छ ।

पोहोर सालको कुरा हो,

थालीभरि अक्षेता लिएर

द्वारकुनामा जमरा उमारेर

आफ्नो एक्लो छोराको प्रतीक्षामा बसेकी बूढीआमा

लाहुरे पतिसंगै माइत जाने आशा संगालेकी चमेली

टिकाकै दिन विदेशबाट अस्तु आइपुग्दा

थरथर काँपेका हातबाट खसेर

थालीका अक्षेता भूर्इँभरि भएको थियो

विचरी बूढी आमाको यस वषर्को दशैं पनि

त्यही छोराको सम्झनामा बिते

यस वर्ष उनको घरमा

न त जमरा उम्रे न त राता टीका नै मुछिए

अबदेखिका प्रत्येक दशैंमा उनलाई

कार्गीलको कहालिलाग्दोले झस्काउने छ

सबैका निधारका राता टीकाले

उनको हृदयको घाउ सधैं सधैं चस्काउनेछ ।

फेरि पनि तिहार आएको छ

करेसाबारीमा मखमली फुलेको छ

डिलभरी सयपत्री झुलेको छ

जताततै दीपावली भैरहेको छ

सुनमायाको आँखाबाट भने

प्यारो दाजुको स्मृति आँशु बनेर खसेको छ

पोहोर सालकै कुरा हो

बजारबाट सप्तरङ्गी टीका किनेर

सयपत्री र मखमलीको माला उनेर

आफ्नो प्रिय दाजुको प्रतीक्षामा बसेकी

बिचरी ! सुनमाया

टीकाकै दिन दाजुको मृत लाश आइपुग्दा

उनका आँखाबाट मिठो सपना खसेर

भूईँभरि भएको थियो

जब–जब सयपत्री, मखमली फुल्छन्

सबेैका निधारभरि सप्तरङ्गी टीका फुल्छन्

तब तब,

सुनमायाका छातिभरि बेदना उर्लन्छन्

आफ्नो प्यारो दाजुलाई सम्झेर

आँखाबाट फेरि कैंयौं बहिनीका

सपना पोखिन्छन्

धर्तिभरिको धूलो मारेर

यसरी नै स्मृति बन्छन् धेरैका दशैं

यसरी नै आँशु बन्छन् धेरैका तिहार

अब त भयो भो,

सयपत्री नफुले हुन्थ्यो

दशैंका जमरा नउम्रे हुन्थ्यो

कार्गीलका पाखामा नेपालीका रगत बग्न नछोडुन्जेल

देशभित्रै दाजु र भाइका चित्कार बन्द नहोउन्जेल

हे भगवान

मेरो देशमा दशैं नपठाइदेऊ

मेरो देशमा तिहार नभित्र्याइदेऊ

व्यर्थै आमाको हृदय जलाउन

व्यर्थै बहिनीको आँशु बगाउन ।।

पोखरा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।