17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

कपाल अर्थात् नेपाल

कविता नकुल अर्याल October 13, 2011, 5:46 am

कतै कालो कतै खैरो

कतै लामो कतै छोटो

कतै कोरिएको

कतै त्यसै छोडिएको

जगल्टा परेको छ कतै

त फिजारीएको छ कतै

जुम्रा र लिखाहरुको बिचमा पनि

चायाहरुको अस्तित्व हेर्नलायक छ

न झगडा न लफडा

केबल सुन्दर टाउको,सुन्दर कपाल

सुन्दर,शान्त र विशाल

अर्थात्,हिजोको नेपाल

कालो कालैतिर,खैरो खैरैतिर

जुम्रालाई जुम्राको ठाउ

लिखालाई लिखाको ठाउ

सबैको आफ्नै प्रदेश,आफ्नै गाउ

चायाहरुलाई कता जाउ कता जाउ

एउटै टाउकोमा पनि

केबल द्वन्द

त्यसैले कैचीहरु कस्सिएर लागेका छन्

सिध्याउन टाउकाको अस्तित्व

सुस्ता झैं काटिदैछन्

अरु कैयौ कपालहरु

जुम्राहरु अझै आन्दोलनमै छन्

लिखाहरुलाई आत्मनिर्णय चाहिएको छ

जगल्टेहरु स्वायत्तता माग्दैछन्

विचरा टाउको

न सुन्दर न विशाल

केबल काटिन लागेको कपाल

अर्थात्,आजको नेपाल ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।