14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

छेपाराको घर

कविता दिव्य गिरी October 12, 2011, 4:55 pm

छेपारो दिनभर आहाराको खोजिमा भौंतारिन्छ

जब थकाईले लखतरान हुन्छ

तब साँझपख आराम गर्न बास खोज्छ

अनि मात्र उसलाई घरको सम्झना आउँछ

तर उसको घर नहुँदा दुखित हुन्छ

चकमन्न साँझ परेपछि कराउन थालेका

झ्याउँकिरीको विरत्त लाग्दो स्वर

भ्यागुताहरूको टर्र..टर्र..टर्र आवाज

र श्यालहरूको एकोहोरो क्रन्दन

सुनेर छेपारो आहत हुन्छ

अनि ऊ आफैसँग प्रण गर्छ

भोलि त घर बनाउँछु बनाउँछु

अनि आफैलाई ढाढस दिन्छ

मेरो पनि भोलि त घर हुन्छ ।

छेपारो घर बनाउने कल्पना गर्दागर्दै

दिनभरको थकाईले भुसुक्क निदाउँछ

र रातभर घर बनाएको सपना देख्छ ।

जब झलमल्ल उज्यालो हुन्छ

छेपारो फेरि आहाराको खोजीमा दौडिन्छ

र अघिल्लो साँझ गरेको प्रण भुसुक्क भुल्छ

घर बनाउने कुरा उसको मनबाट

साँझपख हराएको रुखको छायाजस्तै हुन्छ ।

हिजोआज म गाउँ–घर र शहर बजारमा

अनगिन्ति छेपाराहरू देख्छु

जो सधैं घर बनाउने कसम खान्छन् ।

छेपाराहरूको जुलुस

सधैंजसो झण्डा ठडाएर

सधैंजसो ठूलाठूला तुल बोकेर

नारा लगाउँदै

सडक, गल्ली र चोकचोकमा हिँडिरहेका हुन्छन् ।

छेपाराहरू कालो मोटरमा

कालै शिसाले छेकिएर

सिहँदरवार भित्र–वाहिर आवत–जावत गरेको भेटिन्छ

खुलामञ्चमा भाषण गरेको पनि देखिन्छ

यस प्रकार हिजोआज म

जहिँतहिँ छेपाराहरू मात्र देख्छु

कहिलेकाहीँ म स्वयम् तिनीहरूको भीडमा

च्यापिएर हिँडिरहेको हुन्छु

र तिनीहरूको भीडभित्र हराइरहेको हुन्छु ।

सत्य भन्नुपर्दा यथार्थमा

छेपारो पीडित छु म ।

हिजो साँझ हो

मैले छेपाराहरूको यौटा ठूलै झुण्डलाई

विशाल भवनको मूल ढोका अगाडि

घर बनाउने मुद्धामा झगडा गरिरहेको देखें

तर महाशय,

यो कुरा पक्का छ

छेपारोले कहिले घर बनाउँदैन

ऊ प्रत्येक साँझ

भोलि घर बनाउने किरिया मात्र खान्छ ।

टीकाथली–५, ललितपुर

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।