१. परिचय
डा. ध्रुवचन्द्र गौतम (जन्म, २०००) नेपाली साहित्यमा नौला–नौला वान्की र विषयका आख्यान सिर्जना गर्ने बेजोड आख्यानकार हुन् । यिनले नेपाली साहित्यका प्रायः सबै विधामा सशक्त रुपमा कलम चलाई उत्तिकै सफलता पनि प्राप्त गरेका छन् । नेपाली कथा साहित्यको फा“टमा ‘यात्रानुभूति’ (२०२०) कथा लिएर प्रवेश गरेका धु्रवचन्द्र गौतमले करिब पा“चदशक यात्रा गरेका छन् । यिनले कथा लेख्न प्रारम्भ गर्दा नेपाली साहित्यमा ‘आयामेली आन्दोलन’ (२०२०) प्रतिभाहरू इन्द्रबहादुर राई, ईश्वर बल्लभ र बैरागी काइलो“) प्रारम्भ भएको थियो । आयामेली आन्दोलनले परम्परित सिर्जनालाई चेप्टो साहित्यभन्दै विषयवस्तु, शिल्प–संरचना र भाषाशैलीमा नया“पन खोज्यो । त्यस परिप्रेक्ष्यमा देखा परेका ध्रुवचन्द्र गौतम अहिले नेपाली साहित्यमा (विशेषत ः आख्व्यान र नाटकमा) बलियो खम्बाका रुपमा उपस्थित छन् । यिनलाई बलियो र दरिलो कथाकारका रुपमा चिनाउने कथासङ्ग्रहहरू निम्न छन्ः
अँध्यारो दीपमा (२०३५)
गौतमका केही प्रतिनिधि कथाहरू (२०४४)
संरक्षक (२०४८)
धु्रवचन्द्रका एकाउन्न कथाहरू (२०५८)
साठी वर्षमा हृदयघात तथा कथा दृष्टिकोण (२०६०)
पहिलो प्रेमको संस्मरण (२०६६)
तत्कालीन समयमा प्रचलितभन्दा पृथक् संरचनाका कथा लिएर नेपाली साहित्यको कथा विधामा प्रवेश गरेका ध्रुवचन्द्र गौतमका प्रारम्भिक कथाहरूमा दुरुहता र क्लिष्टता पाइन्छ । “२०२० र २०३० को दशकमा लेखिएका यिनका कथामा मानवीय जीवनमा अस्तित्वको प्रश्न, प्रेम र त्यसबाट उत्पन्न समस्या, प्रेमजन्य विकृति र विस·ति, विवाहित र अविवाहित नारी मनस्थिति, आर्थिक अभावबाट उत्पन्न समस्या, बेरोजगारी र त्यसबाट सिर्जित अन्य सामाजिक समस्या, रहस्यात्मकता सहरिया दुष्प्रवृत्ति, यौनजन्य समस्या आदि अनेक विषयवस्तुको मार्मिक अभिव्यञ्जन गरिएको छ” (लुइटेल, २०६०ः१७) । २०३० भन्दा पछाडिका कथाहरूमा संरचनागत थप नौल्याई, विषयवस्तुगत व्यापकता, प्रस्तुतिगत विविधता र स्वैरकल्पनाको आधिक्यता पाइन्छ । वास्तवमा स्वैरकल्पना यिनको कथा र उपन्यासको एउटा महत्वपूर्ण टेक्निक नै बनिसकेको छ । अयथार्थको माध्यमबाट यथार्थको प्रकटीकरण गर्ने शैली स्वैरकल्पनाको प्रयोग यिनका कथामा नियोजित नभएर स्वतस्फूर्त रुपमा भएको पाइन्छ । “स्वैरकल्पना र श्यामव्यङ्ग्यको विशिष्ट प्रयोग यिनको प्रयोग धर्मिताको एउटा महत्वपूर्ण पाटो हो” (लुइटेल, २०६०ः १८) २०४०–५० को दशकमा यिनका कथामा आर्थिक अभाव, राजनैतिक सामाजिक विकृति विस·तिबाट उत्पन्न सामाजिक समस्या र त्यही पीडाकै बीचमा जीवन धानी रहेको मान्छेको अस्तित्वको खोजी गरिएको पाइन्छ । यिनले ४० को दशकबाट नै सूत्र उपन्यास लेखनको प्रारम्भ पनि गरेका छन् । “धु्रवचन्द्रका अधिकांश कथाहरू यथार्थलाई प्रकटीकरण गर्ने मौलिक शिल्पयुक्त छन् । त्यसैले विशिष्ट छन्, पृथक् छन् , आफ्नौ बेग्लै स्कुल बनाउन सक्षक छन् ।” (प्रेरणा, २०६०ः१५४) अनौपचारिक शिल्प विधान, कथ्यलाई सोझै नभनेर विम्ब, प्रतीक, मिथक, स्वैरकल्पना र श्यामव्यङ्ग्य आदिका माध्यमले अभिव्यक्ति गर्नु यिनको निजी प्रवृत्ति हो ।
समग्रमा धु्र्रवचन्द्र गौतमका कथात्मक प्रवृत्तिहरू निम्न छन्ः
सामाजिक, आर्थिक, राजनैतिक एवम् मानवीय विकृति र विस·तिप्रति व्यङ्ग्य,
मानवीय जीवनको मूल्यहीनताको उपेक्षा अनि जीवनमूल्यको खोजी,
परम्परित लेखनपद्धतिभन्दा भिन्न विषयवस्तु, शैलीशिल्पको खोजी,
सहरिया जीवनका स·तिहीनता र कुरुप यथार्थको चित्रण,
मान्छेका बैयक्तिक र मनोगत कमीकमजोरीप्रति व्यङ्ग्य,
अयथार्थको माध्यमबाट यथार्थको प्रकटीकरण गर्ने स्वैरकल्पनात्मक प्रविधिको प्रस्तुति,
अतियथार्थवादी लेखन,
काठमाडौं उपत्यकाका कुरुपता, नग्नता, दण्डहीनता, विद्रुपात्मकता र त्रासद स्थितिको अभिव्यक्ति,
श्यामव्यङ्ग्यको प्रारम्भ गरी त्यसको उच्चतम प्रयोग,
अकथात्मक कथा लेखन,
विम्ब, प्रतीकको प्रयोग गरी जनसामान्य भाषाका कथा लेखन,
अनौपचारिक लेखन,
कथानकहीन कथाबाट कथाभित्र प्रबेश,
अन्य कथाकारले त्याज्य वा चासो नराखेका सानो हेय वस्तुमा आधारित कथा लेखन,
अरैखिक ढा“चामा अधिकांश कथा लेखन,
कथाका भाषिक , चरित्रचित्रण , प्रस्तुति , दृष्टिविन्दु सम्बाद आदिमा प्रयोग ।
२ विषय विस्तार
२.१ संरचना
कथाकार धु्रवचन्द्र गौतमको ‘पहिलो प्रेमको संस्मरण’ कथा सङग्रह २०६६ सालमा रोशन थापा ‘नीरव’द्धारा सम्पादन गरिएको पुस्तकाकार कृति हो । जम्माजम्मी १५ वटा कथा रहेको प्रस्तुत सङ्ग्रह भित्रका कथाहरू विभिन्न समयमा (२०२२ देखि २०६५ सम्ममा) लेखिएका हुन् । आफ्नो कथायात्राको पहिलो चरणदेखि २०६५ सालसम्मका कथाहरू रहेका प्रस्तुत सङ्ग्रहका कथाहरूमा विविधता पाइन्छ । यी १५ वटा कथाहरू यिनको कथायात्राको विभिन्न मोडमा प्रकाशित भएका हुन् भन्ने कुरा पुस्तकको अन्त्यमा यसरी दिइएको छ ः
पहिलो प्रेमको संस्मरण रुपरेखाः वर्ष ५,अड्ढ १२ पूर्णाड्ढ ४८, २०२२ बैशाख
अन्त्य, मृत्युनिरै....सगुनः वर्ष २, अड्ढ ६–७, २०३३ माघ–चैत्र
एकान्त, कल्पनाः वर्ष ८, अड्ढ३, २०३१, पुस–माघ
अन्तर रैबारेः वर्ष १,अड्ढ ३, २०३७ कार्तिक–पुस
अवसर, गोधुलि, अड्ढ १, २०४९ वर्षा–शरद्
शताब्दीको महान् उपलब्धि, मनोभवः वर्ष ५, पूर्णाड्ढ १९, २०५६ पुस
समृद्धि, नेपालः २०६१ चैत्र २१ वर्ष ५ अड्ढ ३३
प्रिक्लोन–६० नेपाल ःवर्ष ५, अड्ढ ५, २०६१ भदौं २०
पूर्वपे्रमिका, समय, वर्ष २, अड्ढ ६५, २०६२ साउन ६
प्रमाद, समय ः वर्ष २ अड्ढ ७७, २०६२ असोज २७
प्रेम आयो, किन आयो? नेपाल ः २०६२ पुस २४
असफल, अस्तिता, वर्ष १, अड्ढ १,२०६३
निष्कर्ष, युद्ध र युद्धका कथा ः २०६३ माघ
अन्त्य संवाद, मिर्मिरेः वर्ष ३६, पूर्णाड्ढ २६०, २०६४ बैशाख
काल्पनिक, मधुपर्कः वर्ष ४१, पूर्णाड्ढ ४६८, २०६५ जेठ ।
आयाम वा संरचनाका दृष्टिले हेर्ने हो भने प्रस्तुत ‘पहिलो प्रेमको संस्मरण’ सङग्रहभित्रका कथाहरू मझौला किसिमका देखिन्छन् । चार पृष्ठदेखि बाह्र पृष्ठसम्मको आयाममा विस्तारित यी कथाहरू सशक्त छन् । सबैभन्दा लामो कथा ‘अन्त्य मृत्युृनिरै’, ‘एकान्त’ र ‘असफल’ गरी तीनबटा छन् (बाह्र पृष्ठका) भने छोटो कथा चाहि“ ‘शताब्दीको महान उपलब्धि’ हो जुन चार पृष्ठको छ, जसमा दशवटा सूत्रकथा छन् । केही कथाहरू आठ पृष्ठभन्दा लामो भए तापनि ती झर्को लाग्दा छैनन् र तिनले पाठकीय सम्मोहन जगाउ“छन् । समग्रमा १५ वटा कथा रहेको यस कृतिका कथाहरूमा बाह्य–आन्तरिक संरचनाको सन्तुलन छ ।
२.२ अन्तर्वस्तुको विन्यास
आधुनिक तथा उत्तरआधुनिक कथाकार ध्रुवचन्द्र गौतमको ‘पहिलो प्रेमको संस्मरण’ कथामा विषयवस्तुगत विविधता, प्रयोगशीलता र नवीनता पाइन्छ । यिनका कथामा युगबोध र समकालीन चेतना अत्यन्त डरलाग्दो, खरो र सपाटरुपमा पाइन्छ । स्रष्टा जुन युग र परिवेशमा बा“चेको हुन्छ, त्यसको प्रतिबिम्ब रचनामा पनि देखिन्छ र देखिनु पर्दछ । यसैलाई युगबोध र समकालीन चेतना भनिन्छ । यस सङ्ग्रहमा समाविष्ट कथाहरूले स्रष्टा बा“चेको युगलाई देखाएका छन् । मान्छेको क्षयोन्मुख जीवनमूल्य, सहरिया जीवनका अभाव र विपन्नता, राजनीतिक विकृति र विस·ति, विरानोपन र सहरिया यान्त्रिक जीवन, सशस्त्र युद्धमय परिस्थिति आदि यस सङ्ग्रह भित्रका कथाहरूले विषयवस्तुका रुपमा ग्रहण गरेका छन् । प्रत्येक कथाभित्रका अन्तर्वस्तु र त्यसभित्रका विविधतालाई यसरी देखाउन सकिन्छः
२.२.१ एक्लो अनुभव गर्दै गइरहेको मान्छेको चित्रणः अन्त्य मृत्युनिरै
आफ्नो सबै परिवार (स्वास्नी, छोराछोरी, बुवाआमा) हु“दा –हुु“दै पनि मान्छे एक्लो हुन्छ, अहिलेको सहरिया परिवेशले मान्छे विरानो र एक्लिदै गइरहेको छ, आफ्नो साथमा सबैछन् तर पनि ऊ एक्लै हुन्छ भन्ने विचार यसमा प्रकट गरिएको छ ।
२.२.२ अस्तिŒववादी–विस·तिवादी चिन्तनः एकान्त
मान्छेमा निस्सारता र ऐकान्तिकता वढ्दो छ । सहरमा यौनविकृति र विसङ्गति देखिन्छ भन्ने कुरा काफ्का, कामु र सात्र्रका कृतिहरूको चर्चा गर्दै प्रतीकात्मक रुपमा अभिव्यक्ति गरिएको छ ।
२.२.३ पुस्तान्तरणको प्रस्तुति ः अन्तर
सामाजिक विषयवस्तुमा पुस्तान्तरको कथा र व्यथाले यसमा ठाउ“ बनाएको छ । गरिब भएर जिउ“नुको कठिनाईलाई कथाले प्रस्तुत गरेको छ ।
२.२.४ सहरको वास्तविकता सम्पन्नतामा बढी छलकपटःअवसर
सहरमा धनी र गरिब वर्गबीच ठूलो विभेद छ । धनी वर्ग आडम्बरी, स्वार्थी र घमण्डी बन्दै गइरहेका छन् । उनीहरूले परिस्थिति जे–जस्तो भए पनि बाहिरीरुपमा आफूलाई सभ्य,सक्षम र बँैद्धिक ठान्दछन् भन्ने कथ्य यसमा पाइन्छ ।
२.२.५ समकालीन समाजको चूडान्त व्यङ्ग्यः शताब्दीको महान उपलब्धि
दशवटा सूत्रकथाबाट एउटा सि·ो कथाको निर्मिति हो यो कथा । यसमा समकालीन जीवनलाई व्यङ्ग्यात्मक पाराले चित्रण गरिएको छ । समकालीन समयमा मान्छे एक्लो बन्दै गइरहेको छ । ऊ शहरबीच हराइरहेको छ,मान्छेमा इमान्दारिता, त्याग र परोपकार पाइदैन भन्ने विचार दशबटा सूत्रकथाबाट व्यक्त गरिएको छ ।
२.२.६ रहस्य र कुतूहलताको संयोजनः पहिलो प्रेमको संस्मरण
स्वैरकल्पनात्मक शैलीमा लेखिएको प्रस्तुत कथामा आफ्नो वास्तविक पहिचान विर्सेको मान्छेको कथा छ । कथाको प्रारम्भदेखि अन्त्यसम्म नै रहस्य र कुतूहलतापाइने यसमा कथाभित्र नपाइने पात्रको संस्मरण गरिएको छ । प्रस्तुत सङग्रहको शीर्षकीकरण पनि यही कथालाई आधार बनाएर गरिएको छ । यसबाट अहिलेको मान्छे अनावश्यक दौडिरहेको छ भन्ने निष्कर्ष निस्कन्छ ।
२.२.७ विस·तिभित्र अस्तिŒवको अन्वेषण ः समृद्धि
समृद्धि कथामा कथाकारले बूढो हुनुको पीडालाई व्यक्त गरेका छन् । प्रारम्भमा मानिस जतिसुकै धनी भए पनि वुढेसकालमा मान्छेको जीवन निरीह, दयनीय र सामान्य हुन्छ, तर पनि उसले विस·गतिभित्र स·गति खोज्छ भन्ने मानवीय शाश्वत् पक्षलाई यसमा अभिव्यक्त गरिएको छ ।
२.२.८ सहरिया जीवनको साथी प्रिक्लोन–६० ः प्रिक्लोन–६०
सहरिया जीवन कृत्रिम छ । मान्छेको सहारा मान्छे नभएर अहिले औषधी बनेको छ भन्ने विचार यसमा व्यक्त गरिएको छ । प्रिक्लोन–६० औषधिको नाम हो र प्रतीक पनि हो । यसले मानवको कृत्रिमता र बनावटीपनलाई प्रतीकात्मक रुपमा अभिव्यक्त गरेको छ ।
२.२.९ लोग्नेमान्छेको आडम्बरी व्यवहारको प्रस्तुतिः पूर्व प्रेमिका
यसको परिवेश काठमाडौं छ । सहरमा मान्छे अनगिन्ती छन् । त्यसमा पनि मान्छे नारीसम्पर्कमा पुग्न खोजिरहन्छ । उसलाई यौनिक प्यासले छोड्दैन भन्ने सन्दर्भलाई यसमा व्यक्त गरिएको छ ।
२.२.१० मानवीय नियतिको प्रतिविम्बन ः प्रमाद
यसमा कथाकारले ‘म’ पात्र र ‘ऊ’ पात्रको जीवनलाई तुलना गर्दै मनुष्यको नियतिको चर्चा गरेका छन् । जसरी पनि मान्छे बा“च्दो रहेछ । प्रत्येक मान्छेका बचाइ“ आ–आफ्नै किसिमका हुन्छन् भन्दै अस्तिŒववादी विस·तिवादी दृष्टिकोण प्रस्ुतत गरिएको छ ।
२.१.११ यान्त्रिकोन्मुख मानवको प्रस्तुति ः प्रेम आयो, किन आयो ?
समयको अन्तरालमा मान्छे कति परिवर्तन हुन्छ भन्ने कुरा यसमा देखाइएको छ । अहिलेको मान्छे शक्तिको पछाडि दौडन्छ । ऊ विगतलाई बिर्सेर कतिसम्म यान्त्रिक बन्न सक्छ भन्ने विचार यसमा प्रकट भएको छ ।
२.२.१२ काठमाडौं जीवनचित्र ः असफल
मानिसहरू प्रगति गर्ने दृष्टिकोणले काठमार्डौ आउ“छन् र त्यहा“ अनेक काम गर्दछ । काम गर्दागर्दै कसैले सफलता प्राप्त गर्दछ भने कसैले असफलता । सफलता प्राप्त गर्नेले असफलता प्राप्त गर्नेलाई हेर्दैनन् अनि असफलता प्राप्त गर्नेको अवस्था कस्तो हुन्छ भन्ने चित्र यसमा उतारिएको छ ।
२.२.१३ युद्धविरुद्धको कथाः निष्कर्ष
यसमा युद्धबाट शान्ति आउ“दैन भन्ने निष्कर्ष प्रस्तुत गरिएको छ । एउटा युवकले युद्धभइरहेको बेलामा बहिनीखोज्दै हिडेको सन्दर्भ देखाइएको प्रस्तुत कथामा स्वैरकल्पनात्मक शैली पाइन्छ । अन्त्यमा दाइले पनि बहिनीलाई नभेटेको अनि बहिनीले पनि दाइलाई नभेटेको सन्दर्भ देखाएर कथाकारले युद्धबाट त्रास डर मात्र पाइने शान्ति नपाइने विचार प्रकट गरेका छन् ।
२.२.१४ समकालीन देशको त्रासदी ः अन्त्य संवाद
नेपाल कसरी अगाडि बढिरहेका छ, यहा“को कफ्र्यु बन्द हडताल कस्तो छ ? आदि प्रश्नको उत्तर यसमा पाइन्छ । लोडसेडि·को समस्या, युद्धजन्य समस्या आदि यसमा अभिव्यक्त भएको छ । त्यसै गरी पर्यावरणीय विनाश र त्यसबाट उत्पन्न हुन सक्ने समस्याप्रति पनि यसले व्यङ्ग्य गरेको छ । समग्रमा समकालीन देशको समस्यालाई रेखाङ्कन गर्नु यसको उद्देश्य देखिन्छ ।
२.१.१५ आफू पनि कथाको पात्र बनेको व्यथाः काल्पनिक
समकालीन समाजमा लेखक वा साहित्यकारलाई समाजको द्रष्टाका रुपमा हेरिन्छ तर लेखकको वास्तविकता कस्तो हुन्छ थाह छैन । साहित्यमा पात्र वा चरित्र विविध प्रकारका हुन्छन् । यस कथामा काल्पनिक पात्र कथाकार स्वयं भएको स्वीकारेका छन् । पाठकलाई आफू स्वयं कथाको पात्र भएको जानकारी दिएर अकथाको निर्माण गरेका छन् ।
“थाल्नुभन्दा अघि एउटा जरुरी सूचना भने अवश्य दिन चाहन्छु । जुन पात्रलाई मैले काल्पनिक भने“ त्यो वास्तवमा मै हु“ । अब त स्पष्ट भयो होला यही एउटै पात्र मस“ग कसरी बा“की हुन गयो ? अनि, म स्वयम् पनि त जीवनमा काल्पनिक भन्दा के कम भएको छु र ?” (पृ. ११३)
यस प्रकार ‘पहिलो प्रेमको संस्मरण’ भित्रका १५ वटा कथाहरूमा अन्तर्वस्तुको विविधता र बहुलता छ । तिनले जुनसुकै र जस्तो सुकै शैली अपनाए तापनि यथार्थलाई नै प्रकट गरेका छन् । लामा–छोटा विविध आयाममा समेटिए तापनि तिनले समकालीन चेतनालाई नै प्रतिबिम्बन गरेका छन् । यथा तथ्य प्रस्तुति र जीवनबोध यसका पहिचान हुन् ।
‘पहिलो प्रेमको संस्मरण’ सङ्ग्रह भित्रका कथाहरूको विशेषता निम्नानुसार देखाउन सकिन्छः
२.३ सहरिया त्रासदीको प्रस्तुति
आधुनिक तथा उत्तरआधुनिक कथाकार ध्रुवचन्द्र गौतमको ‘पहिलो प्रेमको संस्मरण’ कथा सङ्ग्रहका कथाहरूमा सहरिया त्रासदी, विद्रूपात्द्मताको सशक्त प्रस्तुति पाइन्छ । सहरिया जीवनको यावद असहिष्णु प्रवृत्ति, एक्लोपन, सङ्गहीनता जटिल तथा फोहोरी जीवन कतिपय कथाहरूमा पाइन्छ । ‘प्रिक्लोन–६०’ ‘अवसर’ ‘असफल’ ‘पूर्वप्रेमिका’ आदि कथाहरू यस दृष्टिले महŒवपूर्ण छन् काठमाडौं सहरिया त्रासदीको जीवन्त चित्र उतार्ने केही उदाहरण यस प्रकार छन्ः
– सहरमा कफ्र्यू छैन ।
सहरमा कफ्र्यु छैन ।
कुनै बमसम्म भेटिएन ।
भेटिएन ।
नाराजुलुस केही पनि छैन ।
छैन ।
मानिस उदास घुमिरहेका छन् ।
उदास छन् ।
कफ्र्यु हुनुपर्ने ।
किन ?
विना कफ्र्युको सहर हु“दैन ।
बिना कफ्र्युको सहर हुदैन ।
विना कफ्र्युको सहर नि ?
त्यो पनि हु“दैन ।
– त्यसकारण काठमाडौं जानासाथ दुवै भाग्य खोज्न जुट्यौं भाग्य कहा“ पाइन्छ । कसैसित सोध्न भएन । हा“स्छन् । भाग्यको पसल हुन्छ र ? उल्टै सोधिदिन सक्छन् । गल्लीमा उभिएर हामीसित भेट्न आतुर भएर पर्खेको छ र भाग्य भन्ने व्यक्ति ? हामी चुपचाप हि“डेर भाग्यको खोजी गरिरह्यौं । त्यो भनेको के ? पृ.८४ ।
– आफ्नो अन्तिम वाक्यमा मै हा“से । आफुलाई बेकुप बनाइरहेको थिए म । कसलाई चाहिएको छ आदर्श, बा“च्नलाई । यति सारा मानिस, मेरा अन्य कतिपय इष्टमित्र, आफन्त नातेदार जो मेरा वरिपरि छन्, कहा“ चाहिएको छ आदर्श तिनीहरूलाई ? आदर्शलाई त तिनले फ्या“किसके हामी माथि । हामी तिनको डम्पिङ् साइट बनेका छौं । तिनीहरू आदर्शमुक्त, कति सुकिलो, रमाइलो, घमाइलो, जीवन बा“चिरहेका छन् पृ.९०) ।
यस्ता धेरै त्रासदीहरू यस कथासङ्ग्रहहरूमा छन् । तिनले काठमाडौंको त्रासद जीवनलाई देखाएका छन् ।
२.४ वि·तिवादी–अस्तित्ववादी प्रवृति
ध्रुवचन्द्र गौतमले मान्छेको जीवन निरर्थक छ, उसको जीवन अस्तिŒवहीन छ भन्ने दृष्टिकोण यस सङ्ग्रह भित्रका कथामार्फत अभिव्यक्ति गरेका छन् । उनका कथाका पात्रहरूले अस्तिŒवका लागि सङ्घर्ष गर्दछन् तर ती विस·ति अवस्थामा पुगेको भेटिन्छ । राजनैतिक विचलन, कुण्ठित सामाजिक परिवेश, मानवताको ह्रासोन्मुख प्रवृत्ति, जीवनका अस·त पक्षहरू यिनका कथामा बारम्बार दोहोरी रहन्छन् । यस प्रकारका प्रवृत्तिहरूको प्रतिनिधिŒव गर्ने केही उदाहरण यस प्रकार छन्ः
यहा“ झ्यालमा हरबखत एउटामूच्र्छित आकाश सास फेरिरहन्थ्यो । तलतिर मानिसहरूअनेक आकृति–विकृतिमा हि“डिरहन्थे । पसिना, स्वा“स्वा“ र धपेडीमा मुच्र्छिदै । आकाशले फी“ज काटेझै । हिजो बिस्तारै–बिस्तारै ओछ्यानमा वीर्यझै अध्यारो पोख्खि“दै गएको यसले सम्झ्यो ।(पृ.१)
यसलाई लाग्यो–यहा“ यसको मृत्यु छाडिएको थियो । त्यसैलाई बटुलिरह्यो । त्यसैका लागि आएको पनि थियो अथवा पर्खिरहेको थियो । चारैतिरबाट सबै उसलाई हेरिरहेका थिए अनि त्यस्तै अनुभव भयो र यो लाग्यो, आफूलाई कतै झुण्डाउन लाग्दै छ । यस्तो आकाशमूनी सम्भव हुन्थ्यो । पृ . ११–१२)
२.५ अभाव, गरिबी र बेरोजगारी
‘पहिलो प्रेमको संस्मरण’ कथा सङ्ग्रहका कथाहरूका अधिकांश पात्र अभाव, गरिबी र बेरोजगारीले पीडित छन् । हाम्रो मुलुकको अशिक्षा, गरिबी र बेरोजगारी सबैभन्दा ठूलो समस्या हो ।यस सङ्ग्रहका पात्रहरू काम र मामको खोेजीमा काठमाडौं आउ“छन् । त्यहा“ उनीहरूले झन ठूलो समस्या भोग्छन् । कुनै काम पाइन्न, पाइहाले भने पनि उनीहरूलाई जीवन धान्न धौ–धौं पर्छ । अभाव र बेरोजगारीको शिकार हुन्छन् । उनीहरूको जीवन निरुपाय र निरुद्देश्यका साथ वित्छ । त्यसैले उनीहरू एकाकीपनको सिकार भएर समाजबाट भाग्न खोज्ने, आत्महत्या गर्न खोज्ने आफूले आफैलाई नचिने जस्तो हुन खोज्ने देखिन्छ । यसप्रकारका प्रवृत्तिहरूको प्रतिनिधित्व गर्ने केही उदाहरण यस प्रकार छन्ः
– अचानक यसलाई लाग्यो सा“च्चीकै यो एउटा हत्या हो,जसलाई कसैले देख्दैन र यो दण्डित हुुनुबाट पनि वञ्चित हुन्छ, यो उठ्यो । मनमा आयो–झ्यालबाट हामफालेर निस्कोस् । एउटा सानोतिनो चाहना गरेको थियो–कसैले नदेखून् । लाग्यो, अघि बद्नासाथ ढोका थुनिएको पाउ“छ र अनि कोठा यसका लागि, एउटा ज्यानमारा मात्र रहन्छ, जो यसको अतीत,भविष्य र वर्तमानद्वारा बिस्तारै यसलाई, त्यसै पनि भयानक लागेर आएको थियो । बिस्तारै उठ्यो । सा“च्चिकै कुनै अपराध छाडेर जान लागे झै । पृ.११
– त हेनुस्, काठमाडौंमा भाग्य बनाउन आएका हामी, के बनेर बा“च्न थाल्यौं ? तैपनि आशावाद भन्ने एउटा कुरा छ, त्यसलाई हामीले छाडेनौं । त्यसअन्तर्गत सोच्न थाल्यौं, एक दिन भाग्य भन्ने वस्तुले आएर हामी दुबैसित पालैपालो हात मिलाउ“छ । हाम्रो जीवन धेरै दिन यस्तरी चल्नै सक्दैन् । हामीलाई भाग्यले पर्खेको हुुुनुपर्दछ । यो ‘वेटिङ फर गोदो’ जस्तै पर्खाइ हुनेछैन ।पृ.८५
दुई वस्तुको प्रयोग यसरी पनि हुन्थ्यो । हामीलाई एम्बेसीसम्मको पार्टी विनानिमन्त्रण भ्याइदिन्थ्यौ“ । कुनैकुनै ठाउ“मा कार्ड माग्थे, त्यहा“ अलि गाहारो हुन्थ्यो । तैपनि कार्ड हुनेहरूको हूलमा मिसिएर छिरिहाल्दथ्यौ“ ।
२.६ स्वैरकल्पना
अवास्तविकताको माध्यमले वास्तविकतालाई देखाइदिने महत्वपूर्ण टेक्निक हो स्वैरकल्पना वा फ्यान्टयासी ।“ध्रुवचन्द्रको आख्यानकारितामा पाइने शक्तिशाली हतियारमध्ये एउटा फ्यान्टयासीको प्रयोग हो । फ्यान्टयासी परीकथा, दन्त्यकथा, लोककथाका तिलस्मी ऐयारी रोमान्सतिर बढी पाइने तत्व हो ” (भट्टराई, २०६१ः३१–३२) । यस्तो प्रवृत्तिको प्रयोग यिनको आख्यानमा पाइन्छ । काल्पनिक कथानक, काल्पनिक पात्र र काल्पनिक घटनामार्फत वास्तविक कथानक, वास्तविक पात्र र वास्तविक घटना देखाइदिनु यिनको विशेषता हो । स्वैरकल्पनाका बारेमा स्वयम् धु्रवचन्द्र गौतम भन्छन् (भट्टराई, २०६१ः७०–७१) ।
“आफ्नो स्वैरकल्पनालाई म अलिक अलग्ग रुप दिन खोज्दछु । प्रायः पश्चिममा स्वैरकल्पना अवचेतन तहबाट झिकेर ल्याइएको हुन्छ । मेरो त्यस्तो हु“दैन । म आख्यानमा स्वैरकल्पनाको प्रयोग चेतनशील तहमा सजग भएरै गर्दछु । त्यसले गर्दा स्वैरकल्पना सोझै यथार्थसित जोडिन्छ । जोडिएर यसले वास्तविकतालाई तीक्ष्ण बनाउ“दछ । अझ कति ठाउ“मा मेरो स्वैरकल्पना मिथकीय प्रयोगस“ग गा“सिनसमेत आएको हुन्छ । त्यसले गर्दा स्वैरकल्पनाको आफ्नो एउटा अलग्ग र सम्प्रेषणीय प्रभाव उत्पन्न हुन जान्छ । तपाइ“ले ध्यान दिनु भयो भने पाउनु हुनेछ, जुन आख्यानमा स्वैरकल्पनाको प्रयोग मैले गरेको छु, त्यहा“ स्वैरकल्पना छाडेर अन्य वर्णनात्मक उपाय अ“गालेको भए, त्यो त्यति प्रभावकारी वन्थ्यो बन्ने थिएन”।
यसप्रकारको स्वैरकल्पना ध्रुवचन्द्र गौतमको आख्यानकारिताको गतिलो शैली नै बनेको छ । ‘पहिलो प्रेमको संस्मरण’ भित्रका कथाहरूमा पनि स्वैरकल्पनात्मक प्रयोग पाइन्छ ।
२.७ अनौपचारिक लेखन
औपचारिक लेखनका विपरीत लेखिने लेखनलाई अनौपचारिक लेखन भनिन्छ । नेपाली आख्यान साहित्यमा अनौपचारिक लेखनको प्रादुर्भाव गर्ने सर्जक हुनाको सर्वप्रथम श्रेय ध्रुवचन्द्र गौतमलाई जान्छ (सम्पा.रोशन थापा ‘नीरव’ २०६६ः ११७) । यसमा बोलचालका शब्दहरूको प्रयोग अत्यधिक गरिन्छ । अनौपचारिक लेखन अहिलेको समयको, युगको वा समकालीन समयको विशिष्ट उपलब्धि हो । उत्तरआधुनिक लेखनले पनि यही लेखनलाई आत्मसात गर्छ । अनौपचारिक लेखनको बारेमा यसै सङ्ग्रहका सम्पादक एवम् समालोचक रोशन थापा ‘नीरव’ ले यसै पुस्तकको अन्त्यमा ‘प्रारम्भदेखिका कथाहरूको सङ्ग्रह’ भन्ने समालोचनात्मक लेखमा यसरी व्यक्त गरेका छन् । पृ. ११७
“यसमा बोलचालका शब्दहरू एवम् अभिव्यक्तिहरूमा लेखकीय विशिष्टता प्रयोग हुने गर्दछ । यसका साथै विरोधाभासहरू उपयोग गरिएको हुन्छ । यस लेखनमा दृष्टिविन्दुका प्रथम, द्वितीय वा तृतीय पुरुषको राम्ररी प्रयोग गरिएको हुन्छ । यस खाले लेखनमा सामान्य पाठकलाई पारम्परिक रचनाको अभ्यस्ततामा कहिलेकाही“ विषयको कठिनाइ अस्वीकृति एवम् समानुभूति हुन सक्छ, किनभने अनौपचारिक लेखनले पाठमा विशिष्टताको आग्रह गर्दछ । जस्तो सोचेर पढ्ने गरिन्छ, त्यस्तो प्राप्त यस लेखनमा हु“दैन । यो लेखन परम्परामा नवीन मार्गको प्रयोग हो र यो प्रयोगको आविष्कारक आख्यानकार ध्रुवचन्द्र गौतम नै हुन् । यसर्थ यी गुणलाई आत्मसात गरी पढ्नाले वा यस्ता लेखनको परिचय दिई अध्ययन गर्नाले कथाकारिता एवम् कथाको संरचना र शैली बुझ्न कुनै कठिन पर्नेछैन” ।
यसप्रकारको लेखन ध्रुवचन्द्र गौतमको ‘पहिलो प्रेमको संस्मरण’ भित्रका कथाहरूमा पाइन्छ । कथानकहीन कथाभित्र प्रवेश गर्नु अनि त्यसबाट जीवन समाज,राष्ट्र आदिका विषयमा महत्वपूर्ण चिन्तन व्यक्त गर्नु यिनको विशेषता हो ।
२.८ व्यङ्ग्य
ध्रुवचन्द्र गौतमको ‘पहिलो प्रेमको संस्मरण’ भित्र व्यङ्ग्यको प्रयोग पनि पाइन्छ । सामाजिक विकृति र विस·तिप्रति व्यङ्ग्य, भ्रष्टाचारी नेताहरूप्रति व्याङ्ग्य, सहरिया कृत्रिम, खोक्रो र निरुद्देश्य जीवन विताई रहेका मान्छेहरूप्रति व्यङ्ग्य, राताराता कालोकाम गरेर धनी बनिरहेका भ्रष्टाचारीहरूप्रति व्यङ्ग्य, मानवताहीन मान्छेहरूप्रति व्यङ्ग्य, प्रजातन्त्रको नाउ“मा देशको ढुकुटीलाई रित्याउने व्यक्तिहरूप्रति व्यङ्ग्य आदि यिनका कथाहरूमा पाइन्छ । “व्यङ्ग्यको यति प्रचुर प्रयोग अरु कुनै पनि नेपाली लेखकले गरेको छैनन् । उनले प्रयोग गर्ने व्यङ्ग्यको सूक्ष्म भेद गरेर नेपाली समालोचकले श्यामव्यङ्ग्य नाम दिएका छन्” (भट्टराई, २०६१ः ३३) । यस प्रकारको व्यङ्ग्य गौतमको लेखनीको विशेषता बनेको छ । अझ भन्नु पर्दा ध्रुवचन्द्र गौतमको कथाभन्दा व्यङ्ग्य अनि व्यङ्ग्यभन्दा कथा आउ“छ । यसरी व्यङ्ग्य ध्रुवचन्द्र गौतमको कथाकारिताको पर्याय नै भइदिएको छ ।
३. विषय समापन
नेपाली आख्यानका फा“टमा आख्यान पुरुषका रुपमा चर्चित ध्रुवचन्द्र गौतमको लेखनीको सबैभन्दा मुख्य क्षेत्र उपन्यास हो भने त्यसपछि कथा र नाटकलाई लिइन्छ । नेपाली साहित्यका प्रायः सबैविधामा कलम चलाएका ध्रुवचन्द्र गौतम आधुनिक तथा उत्तरआधुनिक कथाकार हुन् । नेपाली कथामा २०२० को दशकदेखि कथा लेख्न प्रारम्भ गरेका यिनका प्रारम्भिक कथाहरूमा प्रयोगवादी प्रवृत्ति पाइन्छ । विषयवस्तु, शैलीशिल्प आदि विभिन्न क्षेत्रमा नया“–नया“ कथा लिएर आएका गौतमका पछिल्ला कथाहरूमा उत्तरआधुनिक विशेषता पाइन्छ । वि.स. २०२० साल देखि लिएर २०६५ साल सम्मका १५ वटा कथाहरूको सङ्ग्रह प्रस्तुत ‘पहिलो प्रेमको संस्मरण’ (२०६६) मा विषयगत विविधता पाइन्छ । प्रायः मझौला आकारमा संरचित कथा रहेका प्रस्तुत सङग्रह भित्रका कथाहरूमा सहरिया त्रासदी, मानवीय विकृति र विसङ्गति, एक्लिदै गइरहेको मान्छे, भ्रष्टाचार, आदिप्रति व्यङ्ग्य गरिएका छ । कथानकहीन कथानक, अनौपचारिक लेखन शैली आदि यस सङ्ग्रहका विशेषता हुन् । नवीन,बिम्ब र प्रतीकहरूको प्रयोग, प्रायः प्रथम पुरुष दृष्टिविन्दु, संवादात्मक शैली यसका पहिचान हुन् । समग्रमा जीवनको पहिलो चरणदेखि अहिले सम्मका कथाहरू एकै ठाउ“मा सङ्कलन हुनु, विषयगत विविधता पाइनु, पृथक् शैलीको खोजी गर्नु यस सङग्रहका विशेषता हुन् ।
सन्दर्भसामग्री
गौतम, ध्रुवचन्द्र, पहिलो प्रेमको संस्मरण , (सम्पा. रोशन थापा ‘नीरव’) काठमाडौं ः अर्किड बुक्स, २०६६ ।
प्रेरणा, गोविन्द गिरी, कथाकार ध्रुवचन्द्र गौतम, आख्यानपुरुष डा. ध्रुवचन्द्र गौतम, (सम्पा. खुमनारायण पौडेल र अन्य) चितवन ः चितवन बाङ्मय प्रतिष्ठान, २०६० ।
लुइटेल, खगेन्द्रप्रसाद, नेपाली साहित्यमा ध्रुवचन्द्र गौतमको योगदान, आख्यनपुरुष डा. ध्रुवचन्द्र गौतम, (सम्पा. खुमनारायण पौडेल र अन्य) चितवनः चितवन वाङ्मय प्रतिष्ठान,२०६० ।