विज्ञान प्रविधिको यो डिजिटल युगमा हरेक बस्तुको आयतन दिनप्रतिदिन कम हुँदै गएको छ । हरेक वस्तु ‘कम्प्याक्ट’ हुँदै छन् । ‘च्याट’ तथा ‘एसएमएस’को बढ्दो प्रचलनले थोरै र संक्षिप्त शब्दको प्रयोग बढ्दो छ । ती छोटा वाक्य तथा संक्षिप्त शब्दले ब्यापक अर्थ बुझाउने सामथ्र्य राखेको छ । ‘ट्वीटर’ तथा ‘फेसबुक’ जस्ता लोकप्रिय सामाजिक संजालले थोरै शब्दमा धेरै कुरा भन्न सिकाउँदै लगेको छ । यी सबै समय, प्रविधि र बाध्यताले सिकाएका संक्षिप्तिकरण हुन् ।
लघुकथा छोटो समयमा पढ्न सकिने, तिब्र गामी प्रभाव छाड्न सक्ने र कथाको अन्त्य प्रभावकारी हुन्छ । लघुकथा पढेपछिको प्रभाव पछिसम्म पाठकमा रहिरहन्छ । यसैका कारण लघुकथाको लोकप्रियता बढदै गएको छ ।
ब्यस्त दिनचर्या, धेरै काम तथा धपेडी जीवन बाँची रहेका अहिलेको पुस्ताको लागि साहित्यिक खुराक लघुकथा भएको छ । समयका कारण खासगरी डायास्पोराका साहित्यिक पाठक तथा लेखकको लागि लघुकथा रुचिकर विधा भएको छ ।
नेपाली साहित्यमा लघुकथाको ईतिहास त्यति लामो छैन । त्यसमा पनि डायास्पोरिक साहित्यमा लघुकथाकार अत्यन्त कम छन् । डायास्पोराको ब्यस्त जीवनमा साहित्य सिर्जना गर्ने थुप्रै सजर्कहरु भए पनि लघुकथा संग्रह प्रकाशन गर्ने क्रममा साहित्यकार तथा सम्पादक होम क्षेत्री दोस्रो लघुकथाकार हुनुहुन्छ । यो भन्दा अघि कृष्ण बजगाईंको ‘यन्त्रवत’ र ‘रोडम्याप’ लघुकथासङ्ग्रह प्रकाशित भएको छ । होम क्षेत्री यो ‘मुक्ति’ लघुकथासङ्ग्रह मार्फत नयाँ स्वाद र अलग्गै विषय वस्तु लिएर पाठक समक्ष आएका छन् । यस कुतिका लघुकथाहरुले पाठकका मन मष्तिस्क तरंगित मात्र पार्दैन पाठकलाई सन्देश पनि दिएर जान्छन् ।
होम क्षेत्री मूलरुपमा नेपाली साहित्यमा भारतिय–नेपाली लेखकका रुपमा कलम चलाएर स्थापित भएका साहित्यकार हुन् । कुवेतको तेल कम्पनीको विशिष्ट श्रेणीका कर्मचारी भारत छाडेर आए पछि पनि आफ्नो लेखनलाई निरन्तरता दिएका छन् । र अहिले डायास्पोरिक साहित्यकारको रुपमा उनको अर्को परिचय थपिएको छ । त्यसैले उनका लघुकथामा मुख्यरुपमा भारतिय नेपाली भाषाको प्रभाव र डायास्पोरिक भाषा शैलिको छिपछिपे प्रभाव देख्न सकिन्छ ।
यस ‘मुक्ति’ सङ्ग्रहका लघुकथा बौद्धिक स्तरका छन् । केही लघुकथाको भाव र अर्थ बुझ्न समसामयीक घटनाक्रमसँग जानकारी राखेको हुनुपर्दछ । उनका केही लघुकथाहरुमा दार्शनिक चिन्तनहरु पनि पाईन्छ । त्यसबाट जीवन बाँच्ने र नाम साँच्ने प्रेरणा पनि मिल्दछ । सङ्ग्रहका धेरै जसो लघुकथामा समसामयीक विषय वस्तु, विसंगति, अन्याय, अत्याचार र शोषणका बिरुद्ध तिखो कलम चलाएका छन् ।
यीनका लघुकथामा लयात्मकता र सरसता पाईन्छ । क्षेत्री कवि पनि भएकोले यीनका लघुकथामा प्रशस्त शब्द बिम्ब देख्न पाइन्छ ।
लघुकथामा धेरै कम लघुकथाकारहरुले कलम चलाएको ‘पशुअधिकार’ तथा ‘पर्यावरण’ जस्ता विषयमा पनि यीनले प्रसस्त लघुकथा लेखेका छन् । ती लघुकथाहरुबाट उनको लेखन क्षमताको उच्चता नाप्न सकिन्छ ।
राजनैतिक तथा सामाजिक विसंगतिमाथि तिब्र प्रहार, यौन तथा वासनामा लिप्त अहिलेका पुस्ताहरु उपर ब्यङ्ग्य बाण, फ्रायडको यौन मनोविज्ञान, पैसा तथा सत्ताको लालसामा मैमत्ता भएर लाग्नेहरुको चित्रण, मानिसहरुको दानविय प्रवत्ति उपर तिब्र प्रहार यस लघुकथा सङग्रहमा पढ्न पाईन्छ ।
नेपाली जातिको परिचय संकटको समस्या, नेपाली भाषा साहित्य उपरको उदासिनता माथिको चिन्तामा क्षेत्रीको नेपाली प्रेम उजागार भएको छ ।
प्रकृतिमाथिको दोहन र मानिसले भविष्यमा सामना गर्नु पर्ने भयावह पर्यावरण विनाशको चिन्ता ब्यक्त गरेर लेखकले आफूलाई ‘इको राइटर’को रुपमा पनि प्रस्तुत गर्न सफल भएका छन् ।
नाफाखोर ब्यापारी र तिनको ब्यापार चलाउने कायदा उपर तिखो प्रहार गरेका छन् केही लघकथामा ।
साहित्यमा लाग्ने कवि साहित्यकारको हविगत, कार्यक्रम गर्न आयोजकले श्रोता जुटाउनु पर्ने जस्ता समस्याको वास्तविक चित्रण यीनले लघुकथा मार्फत ल्याएका छन् । कवि भन्ने बित्तिकै जहाँ भेटे पनि कविताकै कुरा गर्ने, पुस्तक तथा पत्रपत्रिका भिडाउने ब्यक्ति भनेर हाम्रो समाजमा चित्रित भएका छन् । यस्तो अवस्थामा पनि होम क्षेत्री जस्ता साहित्यकार तथा दानवीरले सित्तैमा पत्रिका दिँदा पनि भाग्नेहरुको जमात भएको आफ्नै वास्तविक कथा लेखेररु उपर सटिक ब्यङ्ग्य गरेका छन् ।
बढ्दो विज्ञान प्रविधिमाथिको निर्भरताले गर्दा भविष्यमा मानिसहरु प्रविधिको दास र परामुखी हुने सुदुर भविष्यावाणी पनि गरेका छन् यीनका लघुकथाहरुले ।
जातीय बैमनश्यता तथा राष्ट्र विखण्डनको चिन्ताले ग्रस्त लेखकको राष्ट्र प्रेम तथा नेपाली जाति प्रेम अंकित थुप्रै लघुकथा यस सङ्ग्रहका महत्वपूर्ण लघुकथाहरु हुन् ।
लघुकथाको विषय वस्तुमा विविधता भएकोले यस सङ्ग्रहमा डायास्पोरिक लघुकथा कम छन् । तर पनि डायास्पोरिक लघुकथाकारको रुपमा होम क्षेत्रीको उदय भएको छ । नेपाली साहित्यमा ‘मुक्ति’ लघुकथासङ्ग्रह उत्कृष्ट कृतिको रुपमा आएको छ ।
लन्डन, बेलायत