19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

ब्युरोक्रेसी र कविता

कविता भीम ठटाल October 16, 2011, 8:41 am
भीम ठटाल
भीम ठटाल

कागहरु सभामा बसेका छन्

बनिदै गरको अटव्य भवनका छडहरुमा

आफु बसेको छड हल्लाउँदै

कुनै ठोस् मुद्धाबिनै

आ-आफ्नै मात्र नाम उच्चारण गर्दै

कागहरु सभामा बसेका छन् |

तल गल्लीबाट मेरो बाबु लौरो टेक्दै जाँदैछ

तेसले आफु गलेको बेला आमासँग सम्भोग गरेर छोरो जन्मायो

अनि जीवनमा आफ्ना अङ्गहरु नतंग्रिकन

त्यो अहिले बुडो भयो|

जस्तै असम्भवबाट पनि सहजै ‘अ’ निकालिदिनसक्ने

आफ्नो ब्युरोक्र्याट छोरोभन्दा

आफ्नै हातमा जत्तिनै बेला पनि समाइने

लौरो उसलाई धेर भरिलो छ|

उसले आज पनि कपाल कटाएन|

प्रकृतिमा पर्याप्त छ

काँचुली फेर्न नपाएको अनि अघाउँजी खाना नपाएको

मैते तामाङलाई खोलाको प्रकोप

पैह्रोको सन्त्रास, हरेक वर्ष घर बगाइमाग्नु

तर पनि उसकालागि प्रशासनमा राहत रकमसम्म नहुनु पुग्छ

मन्त्रीका घरमा फूलबारीको देवल लगाउन

राहत रकम डाइवर्ट भएजस्तो

तेत्रो फराकिलो मैदान हुँदा हुँदै पनि खोलाको पानी

मैते तामाङकै बारीतिर डाइवर्ट भएपछि

ब्युरोक्रेसीमा कविताभन्दा अरु केको विकास हुन्छ र!

कार्यालय त्येही हो

नमस्ते गर्दै टाउको कन्याउँदै

आफैले तिरेको करको रकमबाट तलब खाने अमिन र आर ओ-अघि

जिन्दगीभरिको कमाइको एक चौथाई घूस र तीन चौथाई दाम हालेर

मेरो लुलो बाबुले जमिन पंजीकृत गरेको भन्छन्!

परिवर्तन हुन्छ पक्का हो

योभन्दा अकाट्य सत्य अर्को छैन!

त्यहि कार्यालयको सर्वोच्च ओहोदामा मा पनि बसेकै हो

अशिक्षितहरु आज पनि छन्

अज्ञानीहरु आज पनि छन्

लुलाहरु आज पनि छन्

निमुखाहरु आज पनि छन्

अशिक्षितहरु, अज्ञानीहरु, लुलाहरु, निमुखाहरु

आज पनि जिन्दगीभरिको कमाइको एक चौथाई घूस र तीन चौथाई दाम हालेर

विद्युत, दवाई, भिआइपी साइटलाई बाँडेर उब्रेको

बाँदर अडिन नसक्ने जमिन पंजीकृत गर्न आउने गर्छन!

छेऊमा एउटा मान्छे आफ्नो घर भत्काउँदैछ

सरकारी सडकको नाली भत्केर छिरेको पानीले घर भत्केको हो उसको

जिल्ला प्रशासनले समयमै घर लडाइदिएन|

एस.डी.एम.-लाई उजूर पनि गरेको हो

तर प्रशासनभन्दा पैह्रो नै पैले आउला

अनि थिच्चिएर सपना र साँपे छोरी मर्ली भनेर

घर आफै भत्काउँदैछ|

@ @ @

कागहरु सभामा बसेका छन्

बनिदै गरको अटव्य भवनका छडहरुमा

आफु बसेको छड हल्लाउँदै

कुनै ठोस् मुद्धाबिनै

आ-आफ्नै मात्र नाम उच्चारण गर्दै

कागहरु सभामा बसेका छन्|

सायद कुनै फसेला हुन्छ

अनि त्यो मेरो बाबुले यो हप्ता कपाल कटाउँछ

अनि एस.डी.एम-ले भित्रको मान्छे जगाएर

उसको उजूरमाथि विचार गर्छ

सायद मान्छेहरुले नयाँ घर बनाउँछन्|

सिक्किम, भारत

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।