19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

शहर, मृत्‍यु र म

कविता योगेन्द्र राज शर्मा October 19, 2011, 9:06 am

आज मृत्‍युलाई भेट्नु छ

यो बन्द कोठाभित्र जीवनका

दुर्गन्धित संवेगहरुसगँ

सतरंज खेलको घोडा हुन

सिक्दासिक्दै हारेको अनुभुती हुन्छ

उफ् यो मिनेटमिनेटमा कत्रो अन्त्य

पेट्रोल नहुँदो हो,

के ले पोल्दा हुन् हँ लास

शहरका मान्छेहरु ?

मलाई मध्यरात

मसानघाट हुँदै कोठामा पुग्न डर लाग्दैन

यहाँ बस्तीसँगै हुन्छन् घाटहरु

गाउँतिर त...ल खोलामा हुन्थे

यहाँ प्रत्येक मान्छे

आफुसगै मसान लिएर हिंड्छ

यता घाटहरु भुस्याहा कुकुर जस्तै भेटिन्छन्

यता मसानहरु मान्छेसँग डराउँछन्

जस्तो भुस्याहा कुकुरहरु मसँग डराउँछन्

घाटमा मृत्‍यु हुँदैन

त्यहाँ मृत्‍युको पनि मृत्‍यु हुन्छ

हस्पिटलहरुमा मृत्‍युको सुगन्ध हुन्छ

ईमर्जेन्सी वार्डहरुमा मृत्‍यु टड्कारो हुन्छ

मृत्‍यु वासिङ्टन डि. सि. भित्र हुन्छ

थाहा छैन, मृत्‍यु कहिले मेरो मित्र हुन्छ ।

सबैभन्दा पहिले

यो शहरको मृत्‍यु होस् न !

म सबैभन्दा पहिले गाउँ जान्थें

थाहा छ ?, मलाई किन गाउँ जान डर लाग्छ ।

मलाई मान्छेहरु एल्गी भन्छन् ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।