मेरो कविताको सरिता पारी
तिमी उभिईरहनू
मेरो आगमन कुरीरहनू
शरदको स्नीग्ध नीलगगनमा
कावा खाँदै खाँदै म
अवतरित हुनेछु शिघ्र नै
तिम्रै वात्सल्यमय छातिमा ।
धेरै धेरै भो तिम्रा
रसिला शब्दमय प्रतिकृया पढेको
ती सामाजिक सञ्जालहरुमा
चन्द्रमाका अग्ला भागहरुलाई
मेरो चुच्चो नाक ठान्थ्यौ रे
अलि होचो भागहरुलाई
भाइको थेप्चो नाक भन्थ्यौ रे ।
हेर्दाहेर्दै कतै खाल्डो देख्यौ भने
एकोहोरीईरहन्थ्यौ रे तिमी
हाम्रा आत्मीय आँखाका
प्रतिबिम्ब सम्झेर ।
मलाई पनि त्यस्तै त्यस्तै लाग्छ
शारदीय सुग्घर गगनमा
सुन्दर शशी हेरीरहँदा ।
ओबडखावडहरु पढ्छु
त्यही न्यानो छातिका
उच्च पहाडहरु सम्झन्छु
हीमाच्छादीत शिखरहरु सुँघ्छु
गुथिएको निक्खुर सेतो
तपाईँकै मजेत्रो भन्ठान्छु ।
चन्द्रमाको मझेरी हेर्दा लाग्छ
मेरै तराइको फाँट झुलीरहेछ ।
त्यसैको न्यास्रोले नै त हो
आउँदैछु म औताएर
त्यही पहेँलपुर फाँटहरुमा
अनि निडर उभिरहेको
सगर चुम्दो सगरमाथाको
खोकिलामा पस्न
नन्दन वाटीका जस्तै
हरियालीमा रुमल्लिन
पृथ्वीको दन्तलहर जस्तै सेतो
हिमाली मुक्त हाँसोमा हराउन ।
नसल्बलाउँदा त्यस भूमिमा
मेरा बलिष्ठ पाखुराहरु
सुनेँ बर्षौँ सँुक्सुकायौ रे
हँसाउनेछु अव निर्धक्कसँग
आउँदैछु म मेघमार्ग हुँदै
ल्याउनेछु एक पसर सश्मी
जूनसँग फुत्काएर
अनि पोत्नेछु तिम्रो मुहारमा
अनि देख्नेछु तिमीलाई
आभायुक्त प्रेमील र उज्यालो ।
त्यसैले
मेरो कविताको सरिता पारी
तिमी उभिईरहनू
मेरो आगमन कुरीरहनू
शरदको स्नीग्ध नीलगगनमा
कावा खाँदै खाँदै म
अवतरित हुनेछु शिघ्र नै
तिम्रै वात्सल्यमय छातिमा ।