19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

आगमन

कविता कृष्णदेव रिमाल October 24, 2011, 6:11 am

मेरो कविताको सरिता पारी

तिमी उभिईरहनू

मेरो आगमन कुरीरहनू

शरदको स्नीग्ध नीलगगनमा

कावा खाँदै खाँदै म

अवतरित हुनेछु शिघ्र नै

तिम्रै वात्सल्यमय छातिमा ।

धेरै धेरै भो तिम्रा

रसिला शब्दमय प्रतिकृया पढेको

ती सामाजिक सञ्जालहरुमा

चन्द्रमाका अग्ला भागहरुलाई

मेरो चुच्चो नाक ठान्थ्यौ रे

अलि होचो भागहरुलाई

भाइको थेप्चो नाक भन्थ्यौ रे ।

हेर्दाहेर्दै कतै खाल्डो देख्यौ भने

एकोहोरीईरहन्थ्यौ रे तिमी

हाम्रा आत्मीय आँखाका

प्रतिबिम्ब सम्झेर ।

मलाई पनि त्यस्तै त्यस्तै लाग्छ

शारदीय सुग्घर गगनमा

सुन्दर शशी हेरीरहँदा ।

ओबडखावडहरु पढ्छु

त्यही न्यानो छातिका

उच्च पहाडहरु सम्झन्छु

हीमाच्छादीत शिखरहरु सुँघ्छु

गुथिएको निक्खुर सेतो

तपाईँकै मजेत्रो भन्ठान्छु ।

चन्द्रमाको मझेरी हेर्दा लाग्छ

मेरै तराइको फाँट झुलीरहेछ ।

त्यसैको न्यास्रोले नै त हो

आउँदैछु म औताएर

त्यही पहेँलपुर फाँटहरुमा

अनि निडर उभिरहेको

सगर चुम्दो सगरमाथाको

खोकिलामा पस्न

नन्दन वाटीका जस्तै

हरियालीमा रुमल्लिन

पृथ्वीको दन्तलहर जस्तै सेतो

हिमाली मुक्त हाँसोमा हराउन ।

नसल्बलाउँदा त्यस भूमिमा

मेरा बलिष्ठ पाखुराहरु

सुनेँ बर्षौँ सँुक्सुकायौ रे

हँसाउनेछु अव निर्धक्कसँग

आउँदैछु म मेघमार्ग हुँदै

ल्याउनेछु एक पसर सश्मी

जूनसँग फुत्काएर

अनि पोत्नेछु तिम्रो मुहारमा

अनि देख्नेछु तिमीलाई

आभायुक्त प्रेमील र उज्यालो ।

त्यसैले

मेरो कविताको सरिता पारी

तिमी उभिईरहनू

मेरो आगमन कुरीरहनू

शरदको स्नीग्ध नीलगगनमा

कावा खाँदै खाँदै म

अवतरित हुनेछु शिघ्र नै

तिम्रै वात्सल्यमय छातिमा ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।