14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

विश्वविद्यालयका अनुसन्धानप्रति निराधार आशंका

विचार तुलसी प्रवास October 28, 2011, 5:00 am

नेपाली साहित्यमा स्याङ्जाली अग्रज साहित्यकारहरुले निर्माण गरेको इतिहास निकै प्रशंसनीय छ । हुनत साहित्यको क्षेत्रमा मोफसललाई अलिकति हेप्ने र राजधानीमा रहेका स्रष्टाहरुलाई नै महत्व दिने प्रवृत्ति हाम्रो देशमा छ तर स्वतन्त्र मुल्याड्ढन गर्ने हो भने राजधानीमा बस्नेहरु पनि अधिकांश मोफसलबाटै झुल्केको इतिहास प्रष्ट हुन्छ ।

स्याङ्जाली अग्रज साहित्यकारको नाम लिनुपर्दा देवीप्रसाद वनवासी यो नाम पनि अग्रपंक्तिमै आउँछ । हालसम्म विभिन्न विधा र विषयका दुई दर्जन भन्दा बढी कृतिहरु लेखन र सम्पादन गरिसकेका वनवासीबाट अझै पनि स्याङ्जाले धेरै आशा गर्न सक्छ । बालसाहित्यबाट राष्ट्रिय स्तरमै ख्याति कमाउन सफल वनवासी पछिल्लो समयमा आएर लोकसाहित्यको (विशेष गरी आँधीखोले लोकसंस्कृति) खोज अनुसन्धानतर्फ अग्रसर हुन खोजेको पाइन्छ । आकृति र अनुभूति (२०४४), आँधीखोले लोकसंस्कृति (२०५५), हरेलो(२०६१) लगायत उनका केहीे कृतिहरुमा स्याङ्जा जिल्लाभित्रका साँस्कृतिक झलकहरुको धेरथोर प्रस्तुति भेटिन्छ । तिनलाई अनुसन्धान भन्न नमिले पनि टिपोट भन्न मिल्छ । अनुसन्धान एउटा नितान्त प्राविधिक विषय हो । यसका आफ्नै परिपाटी हुन्छन् । विश्वविद्यालयहरुले सम्बन्धित क्षेत्रका विशेषज्ञहरुको निर्देशनमा यस्ता अनुसन्धानहरु गराउने गर्दछन् ।

हरेलो पृ.य अन्तर्गत उनले झुल्क्यौनी नामको लेख उल्लेख गरेका छन् । त्यसमा आँधीखोले लोकगीतको विषयमा चर्चा गर्दै जाँदा यस लेखका लेखकको शोधपत्रको विषयमा पनि चर्चा गरिएको रहेछ । त्यसैगरी सगुन(वर्ष ४, अङ्क १०) मा पनि सोही विषयमा चर्चा गरिएको रहेछ । एक अर्थले मलाई साह्रै खुसी पनि लाग्यो । उनीजस्ता अग्रज साहित्यकारले आफ्नो कृतिमा मेरो शोधपत्रको बिषयमा पनि चर्चा गरेका रहेछन् । यसको निम्ति म उनलाई हार्दिक धन्यवाद पनि दिन चाहन्छु । मैले स्नातकोत्तर तहको दशौं पत्र अन्तर्गतको शोधपत्रका लागि अाँधीखोले लोकगीतलाई छनौट गरी त्यही शोधपत्रद्वारा मेरो स्नातकोत्तर पूरा भइसकेको छ । यसको लागि आदरणीय साहित्यकारद्वय देवीप्रसाद वनवासी र विश्वप्रेम अधिकारीका कृतिहरुले केही हदसम्म मलाई सहयोग पुर्याएका थिए । त्यसका अलावा अन्य कुराहरु अनुसन्धानको क्रममा विभिन्न पुस्तक, पत्रपत्रिका, प्रत्यक्ष भेटघाट आदि मेरो निम्ति महत्वपूर्ण रहे । त्यसको उल्लेख मेरो शोधपत्रको सन्दर्भ सूचीमा उल्लेख गरेकै छु । अब त्यस झूल्क्यौनी शीर्षकमा देवीप्रसाद वनवासीले मेरो शोधपत्रको विषयमा उठाएका शंका–उपशंकाहरुको प्रसङ्गको विषयमा चर्चा गरौं ।

वनवासीले उक्त लेखमा आफनो कृति आँधीखोले लोकसंस्कृतिबाट सोझै सारिएका केही गीतहरु भनी सूचीबद्ध गरेर उल्लेख गरेका रहेछन् । उनका बुढ्यौली आँखाले केही केही कुराहरु ठम्याउन नसकेजस्तो लाग्यो । शायद बुढ्यौलीमा आँखा कमजोर हुदै जान्छ । चश्माको पावरले नभेटेपछि के गर्नु र ? उनले त्यहाँ उल्लेख गरेकोे सामग्रीको पहिलो नम्बरको दाइँ गीतको सन्दर्भ नै अत्यन्तै झुठो र कपोलकल्पित छ । मेरो शोधपत्रको पृ.४५ मा उल्लिखित दाइँ गीत र उनको कृतिको पृ.३० को दाइँ गीतका शब्दहरु नै फरक छन् । त्यसैगरी बालगीत, टेलीफोन गीत, राजनीतिक गीत, लोकभजन, तीजगीत, रोईला गीत, आरती भजन, साईला दाई दोहरी गीत आदि मेरा अनुसन्धानद्वारा उल्लिखित शीर्षकहरुमा उनले अनावश्यक शंका उपशंका र मेरो शोधपत्र माथि नै लाञ्छना लगाउन पुगेका रहेछन् । मलाई यस सम्बन्धमा उनको टिप्पणी गरिराख्नुपर्ने आवश्यकता त केही पनि थिएन तैपनि उनीजस्ता अग्रज स्रष्टाले यस्ता बकम्फुसे र कपोलकल्पित लेखहरु लेख्दै गएमा उनले हालसम्म प्राप्त गरेको सम्मानित स्थान खस्कने हो कि भन्ने भयले मात्र मैले यहाँ स्पष्टीकरण दिन लागेको हुँ । केही समय अघि बनवासीले लक्ष्मीप्रसाद रेग्मीज्युको शोधपत्रमा पनि यस्तै लाञ्छना लगाएका थिए । त्यसको गतिलो जवाफ लक्ष्मीप्रसाद रेग्मीको रजस्थलमा प्रकाशित लेखबाट पाइसकेका थिए । त्यसैगरी वनवासीले डा.चुडामणि बन्धु, डा.कुसुमाकर न्यौपाने लगायतका अनुसन्धानमुलक लेखहरुमा समेत गलत टिप्पणी गरेको भेटिन्छ ।

त्रि वि.वि जस्तो राष्ट्रकै सर्वोच्च शैक्षिक संस्थाबाट मूल्याङ्कन गरी उच्च अङ्कक प्राप्त गरिसकेका यस्ता शोधपत्रहरुमाथि उनले लाञ्छना लगाउनु उनको अत्यन्तै तुच्छपन हो जस्तो लाग्दछ । भनिन्छ, हरेक मानवभित्र मै ठूलो हुँ भन्ने सुपेरियरिटी कम्प्लेक्स हुन्छ । त्यसलाई विभिन्न समयमा विभिन्न माध्यमद्वारा प्रस्तुत गरिदै जान्छ । त्यही स्वभाव यी पछिल्ला दिनहरुमा गएर वनवासीले प्रदर्शन गरिरहेका छन् । उनलाई मैले बताइरहनु नपर्ने हो कि लोकगीत भनेको कुनै व्यक्ति विशेषले रचना गरेको नभई लोकले अथवा समाजले त्यसलाई गाउँदै अगाडि बढाएको हुन्छ । लोकगीतका स्रष्टा अज्ञात रहन्छन् । मानिस सामाजिक प्राणी हो र ऊ समाजमा हुर्कदै जाँदा आफूले बालककालमा खेलेका, गाएका गीतहरु उसको मस्तिष्कमा पछिसम्म रहिरहन्छन् । उतिबेला वास्ता नगरेका यस्ता गीतहरुको मर्म पछिल्लो समयमा मात्र बुझ्न सकिने हुन्छ । त्यही प्रभाव मलाई पनि पर्न गयो । आफू बालककालमा साथीहरुसँग खेल्दै–उफ्रँदै, गाउँदै गरेका गीतहरुलाई नै शोधपत्रमा उल्लेख गरेर बालगीतको शीर्षकमा राखेको हुँ । त्यसैगरी दार्इं गर्न जाँदा गोरु घुमाउँदै

मियाको टुप्पोमा बसिहाल्यो कोइली

आजका दयेंरालाई खीरको चोइली

हो भाइ हो भाइ.................................................

यस्ता गीतहरु भन्ने चलन हरेक अपठित गाउँले जनसाधारणहरुमा अद्यपि जीवित छन् । यो कुरा वनबासीको किताव पढेर मात्र ती गाउँलेले जानेका होइनन् । वनवासी जन्मनुभन्दा अघि नै पनि ती गाइन्थे । मेरै कृतिबाट सारेको भन्ने लाञ्छना लगाउनु त उनले आफूलाई नै आँधीखोले लोकगीतको सर्वेसर्वा ठान्नु जस्तै हो । त्यसैगरी अन्य भजन, रोइला आदि गीतहरुमा पनि उनले लगाएका आरोपहरु झूटा ठहरिन्छन् ।

शोधको नियमका सन्दर्भमा देवीप्रसाद वनवासीलाई साधारण ज्ञानसम्म पनि नभएकोले हुनसक्छ उनले हरेक शोधमाथि शंका गर्न थालेका छन् । अबका दिनमा यस्ता बकम्फुसे लेखहरु लेखेर त्रि.वि.वि.र सर्वसाधारण पाठकहरुलाई समेत भ्रमित नपार्न उनलाई सुझाव दिन चाहन्छु । त्यसको लागि शोधपत्र सम्बन्धी केही नियम र प्रक्रियाको सम्बन्धमा उनलाई बताउन चाहन्छु ।

विश्वविद्यालयहरुले विभिन्न प्रयोजनार्थ शोधका लागि प्रस्ताव आहवान गर्दछ । त्यो प्रस्ताव पास भइसकेपछि शोध निर्देशक चयन गर्दा सम्बन्धित विषयमा विज्ञ, अनुभवी र विश्वविद्यालयकै प्राध्यापकहरु छनौट गरिन्छ । उनीहरुकै निर्देशनमा रही शोधकर्ताले शोध पत्र तयार गर्दछ । तयार भइसकेपछि त्यसलाई स्वीकृति प्रदान गर्नको लागि शोधनिर्देशक, बाह्य परीक्षक र विभागीय प्रमुख लगायत विज्ञहरुको टोलीले अन्तर्वार्ता लिइसकेपछि र उनीहरुबाट हस्ताक्षर भएपछि मात्र त्यो शोधपत्र स्वीकृत भएको ठहरिन्छ । यस्ता विद्वत् वर्गबाट सवै प्रक्रिया पूरा गरेको ठानेर हस्ताक्षरसहित बाहिर आएको शोधपत्रमाथि शंका गर्नु भनेको सूर्यको प्रकाशलाई हत्केलाले छेक्ने दुष्प्रयास मात्रै हो भन्ने मलाई लाग्दछ ।

हरेक व्यक्ति भित्र केही न केही कमजोरी अवश्य हुन्छन् । शोधपत्रको प्रस्तुतिमा पनि त्यस्ता केही सामान्य कमजोरी होलान् र छन् पनि । त्यसलाई म स्वीकार्दछु । कति मेहनत गरेर कुटेर, केलाएर, निफनेर पकाएको भातमा त कताकति बियां फेलापर्दछ भने शोधखोज गर्दै, व्यक्ति पिच्छे प्रश्न गरेर, विभिन्न सामग्रीहरु संकलन गरेर लेखेका यस्ता लेखहरुमा केही कमजोरीहरु हुन सक्छन् । त्यसलाई चामलमा बियाँजस्तै स्वभाविक मानिन्छन् । जहांसम्म वनवासीको आपत्ती भनेको फुटनोट (खुट्टेटिपोट) मा उनको नाम राखिएन भन्ने रह्यो । त्यस सन्दर्भमा लोक गीतका स्रष्टा हुदैनन् । सङ्कलन जताबाट पनि गर्न सकिने भएकोले एक जना व्यक्तिको मात्र नाम उल्लेख गर्नु उपयुक्त नहुने भएकोले गीतहरुको फुटनोट नराखिएको हो आवश्यक ठाउँमा राखिएकै छ । यो कुरा मेरा शोध निर्देशककै निर्देशनमा भएको हो । त्यस्ता साना र झिनामसिना कुरालाई आधार बनाएर त्रि.वि.वि.जस्तो सम्मानित संस्था माथि शंका उपशंका उब्जाउन खोज्नु उनकोे कमजोर मानिसकता र अज्ञानताको उपज हो भन्ने लाग्दछ । उनीबाट उद्धृत विचार भावना आदिको फुटनोट राखिएकै छ र सन्दर्भ सूचि, पूर्वकार्य समीक्षामा पनि उनको नाम स्पष्टसँग उल्लेख गरिएकै छ ।

वनवासीले लगाएको अर्को आरोप शोधनायकको चरित्रमाथि मैले शंका उठाएँ रे । वनवासीले एक पटक शब्दकोश पल्टाएर हेर्नु प¥यो चरित्र भनेको के हो ? कसैको चरित्रमा शंका उपशंका गर्नु हामी शोधकर्ताको धर्म होइन । हामी त स्रष्टाहरुका सिर्जनाको अनुसन्धान गर्ने हो । व्यक्तिगत चरित्रको होइन । अर्को कुरा, मेरो शोधनायक कुनै एक जना व्यक्ति मात्र होइन यसमा वनवासीले आफूलाई शोधनायक भनेको हो कि मसानेलाई त्यो कुरा स्पष्ट छैन । मैले भन्नु पर्दा वनवासी मेरो शोधनायक त हुदै होइन, मसानेलाई पनि शोधनायक नै भन्न मिल्दैन । मसानेको जन्म मिति जस्तो सामान्य कुरामा उनले शंका गरेका छन् । स्रष्टा जन्म्यो त्यो नै महत्वपूर्ण कुरा हो । कहिले, कुन मितिमा जन्म्यो त्यो गौण कुरा हो । यसमा पनि म आफै मसानेको जन्मथलोमा पूगी उनकै छोराबाट नागरिकताको अस्थायी पुर्जीमा हेरी उनको जन्म मिति वि.सं.१९६० भाद्र १२ पत्ता लगाएको हो । वनवासीले खोजेको कुरा ठीक र अरुले खोजेको बेठीक हुन्छ भने त मेरो त्यसमा केही लागेन ।

यसरी देवीप्रसाद वनवासीले आफ्नो कृति “हरेलो”, सगुन लगायतका पुस्तक तथा पत्रपत्रिकाहरुमा अनावश्यक र झूठा लान्छनाहरु लगाएर विश्वविद्यालयका शोधपत्रमाथि शंका गरेका छन् । उनका कृतिहरु सन्दर्भ सामग्रीको रुपमा जसले पनि लिन सक्छ । हुबहु उनकै गीतहरु सारेको होइन भन्ने कूरा उनले नै दिएको सुचि र मेरो शोधपत्र पल्टाउदा पनि अवगत हुन्छ । स्याङ्जामा मात्र सिमित रहेका उनका कृतिहरु राष्ट्रिय स्तरमै पुर्याउन यस्ता शोधपत्रहरुले महत्वपूर्ण भुमिका खेल्दछन् । उनले यसरी शोधपत्रहरु माथि नै शंका गर्ने हो भने त अबका दिनहरुमा उनका कृतिहरुको शोध गर्दा र सन्दर्भको रुपमा लिदां सोचविचार गरेर मात्र लिनुपर्ने अवस्था आउन सक्छ । वनवासीको यो व्यवहार आँधीखोले लोकसँस्कृतिप्रतिको डसाहा मनोवृत्तिको उपज हो । आँधिखोले सँस्कृतिप्रति समर्पित हामीजस्ता युवाहरुको उत्साहलाई वनवासीले साँपले झैँ डस्न खोजेका छन् । यिनका मूल्यहीन र तर्कहीन कृति तथा लेखहरुले आँधीखोले र समस्त स्याङ्जाली संस्कृतिको धज्जी उडाएका छन् । कोठाभित्र बसेर जे मन लाग्यो त्यही लेखेर ‘लाटो देशमा गाँडा तन्नेरी’ बन्दै आएका वनवासीहरु अब स्याङ्जामा अनुसन्धानको लहर उठेको बुझ्दैनन् । के यी गीतहरु हामीले वनवासीको पुस्तकबाट चोर्नु पर्छ ? एकपटक हेरौँ त वनवासीका बकम्फुसे आरोपहरु ः

रामलाई वनिवास भरतलाई रजाई

ढोका खोल राम भौती आए मन्दिरमा

राधा पियारी खै लेउ मेरो मुरली

त्यसैगरी

चिं मुसी चिं ....

तिम्रा दाजै हाम्रा दाजै माछा मार्न गाछन्.....

..............................................

गल्ला लाहुरेले रल्लै पार्यो दाइ मलाई

मियाको टुप्पामा बसीहाल्यो कोइली

आजका दयेरालाई खिरको चोइली

आदि

माथि उल्लेख गरिएका गीतहरु मेरो पुस्तकबाट सारेको भन्ने आरोप पढ्दा मलाई वनवासीप्रति दया लागेर आएको छ । लोकगीतको बारेमा सामान्य लेखपढ गर्न जान्नेले पनि वनवासीप्रति दया गर्नुपर्ने बेला आएको छ । धन्य उनको अध्ययन, धन्य उनको सांस्कृतिक लगाव ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।