18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

रियालिटी शोसँग साक्षात्कार

कविता भीम ठटाल October 28, 2011, 6:11 pm

रोग अनि भोकग्रस्त नानीहरु सडकछेऊ मर्दैछन्

सिने स्टार अनि सुपर मोडेलहरुका यिनीहरुलाई बचाउने च्यारिटी कसमसँगै

रोग अनि भोकग्रस्त नानीहरु सडकछेऊ मर्दैछन्|

समयले सबै कुराहरुको खेती गरेको छ|

आफ्नो भविष्य सुरक्षित पार्न हाम्रा सन्तानहरुले

इज्ज़त, सम्मान अनि हुनुका अर्थवोधहरु

आफ्नो संस्कारको बारीबाट गोडेर फ्याँकिसकेका छन्|

टि.भि.-का सेलेब्रिटीहरु गरीब उत्थानका कसम खान्छन्

अनि आफ्ना मीडिया आँखाका विज्ञापन आँसुहरु नसुक्दै

तिनका कर्तव्यवोधका गोहीहरु र्याम्पमा फेसन शो गर्छन्

अनि गरिबीका गोहीहरु भने

दिउँसै गल्लीमा हाम्रा बच्चाहरु निल्छन्|

समानता मदिरा हो भने यसलाई पिउन हाम्रो पिंडीहरु

आमा-बाबुहरु तल कतै तलसम्म पनि नदेखिनेगरि उठ्न सक्छन्

आफुले आवेदन पत्र दिएर होइन अपितु हाम्रै रहरले जन्मेका हुनाले

यिनीहरुका कतिपय प्रश्न होलान् जस्तै:

किन बच्चाहरु बार नबिराई खाडलमा खस्छन्?

किन भ्रूणहरु डस्बिनमा फ्याँकिन्छन्?

किन नानीका हड्डीहरु नालीमा भेट्टिन्छन्?

किन दिन नबिराई रेल पल्टिन्छ?

किन शिक्षा र विवेक व्यापार बन्छ?

किन मन्त्रीहरु विभागसँग असन्तुष्ट हुन्छन्?

किन रियालिटी शोहरु यत्ति अनरियल?

@ @ @

दुक्छ सधैँ आफ्नो ए पोजिटिभ रगत

देशको राजधानीको ठूलो अस्पतालमा

एस.एम.एस गरेर पठाउन नसक्दा

अनि रगतले जर्जर युद्धले आक्रान्त रक्तामै सहरमा

रगत नपाएर एउटा बालक मर्दा|

लाग्छ सायद अत्ति नै भयो

कुनै मोर्चाको दवाबमा पानीमाथि राजनीति र म्युनिसिपलिटीको आग्रह

स्वतन्त्रता समारोहमा आत्मघाती हमला

अत्ति भयो|

भवनको बन्दकीमा आँसुको व्यापारका शोहरु

अन्तराष्ट्रिय वार्ताहरुमा छिनो-फानो हुन नसकेका हाम्रा मुद्दाहरुको

टि.भि.-ले कत्ति सरल समाधान निकालिदिन्छन्!

अनि कत्ति सफलतापूर्वक जनमानसको विश्वास जित्छन्

र थाँतीमा आवश्यकता थन्क्याएर युवतीहरू

कैल्यै नदेखेको निर्णायकलाई बिहेको प्रस्ताव दिन्छन्|

सायद समय आएको हो अब

विद्वानहरुले वनवास जानुपर्ने

विवेकहरुले वनवास जानुपर्ने|

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।